MENU
     सुवेदारको चिट्ठी
 : 1,975 views
  Jun 09, 2018

बोल्दा बोल्दै, खाँदाखाँदै , हिड्दाहिड्दै अचानक के भयो भयो मलाई त साह्रै कपाल दुख्यो भनेर सुतेकी, सुतेकी सुत्यै भई। कालले बूढाबूढी दुवैलाई एकैदिन पारेर नालैजाने रहेछ, बूढीलाई अकस्मात टपक्क टिपेर लग्यो, निष्ठुरी खुरुक्क गई एक्लै। बूढो धनबहादुरले दुख पाउला भनेर कालले दया गरेन।

 

भागवत खनाल

 

 

श्री प्यारो मीत सुवेदार जोग बहादुर गुरुङमा सुवेदार धनबहादुर आले मगरको तर्फबाट नमस्कार।

 

तिमीले पठाएको चिट्ठी हिजो २०५१ साल जेठ २३ का दिन प्राप्त भयो । धेरै महिनापछि मीतको कुशलक्षेम मालुम गर्न पाउँदा साह्रै खुसी लाग्यो, तर भाउजुको स्वर्गवास भएको मालुम हुँदा धेरै सुर्ता लागेको छ । दैवको विधान हो, सबैले जानै पर्छ, शोक गरेर केही हुनेवाला छैन । तर साला  मनले कहाँ मान्दो रैछ र ! मेरी बूढी पनि अस्ति माघमा खसी । बोल्दाबोल्दै, हिड्दाहिड्दै, खाँदाखाँदै अचानक के भयो भयो, मलाई त साह्रै कपाल दुख्यो भनेर सुतेकी, सुतेको सुत्यै भई । मभन्दा वर्षीले कान्छी हो, बलियै थिई, तर के गर्नु सहनै पर्यो । स्वास्नीलाई लोग्ने, लोग्नेलाई स्वास्नी त यो बुढेसकालमा पो चाहिने रहेछ ।

 

 

तन्नेरी हुँदा त के छ र रमझममै बित्यो, कामकाजमा व्यस्त भैयो, साथीभाइ पनि भेट हुने, रमाइलैमा बिताइयो । जवानीमा स्वास्नी चाहिने, रमझम र रसरंग गर्न पनि मन लाग्ने, रसिलो बेला, तर साला अलिकता बासनावाला र स्वार्थी खालको हुने । के गरम बूढेसकालमा एक्लो जिन्दगी सास्ती भयो मीतज्यू, कालले बूढाबूढी दुवैलाई एकैदिन पारेर नलैजाने रहेछ, बूढीलाई अकस्मात  टपक्क टिपेर लग्यो, निष्ठुरी खुरुक्क गई एक्लै । बुढो धनबहादुरले दुख पाउला भनेर कालले दया गरेन । तर मलाई बुढी अघि लागेको ठीकै पनि लागेको छ । अहिलेको बूढाबूढीले दुख पाउने कली कालमा त्यसले दुखिया भएर बाच्नु परेन बेलैमा बाटो तताई ।

 

 

तिमी र म गोर्खा पल्टनमा भर्ती भएको एकै दिन त हो । सन् बयालीसको जनवरी महिना थियो । माघे झरी लागेको थियो, अत्यन्त जाडो, म घरबाट भागेर गोरखपुर पुगेको थिएँ । त्यसै भौंतारिदै थिएँ, एक ठाउँमा केटाहरु लाइनमा उभिएको देखें । भोकले ब्याकुल थिएँ, खानेकुरा पो बाड्दै छन् कि भनेर लाइनमा लागें, अलि पर पुगेपछि एउटा गोराले छाती नाप्यो उचाइ नाप्यो र मलाई गुड ! टुम पास हो गया भन्यो, के भनेको हो मैले बुझिन। एकजना भारतीय सिपाहीले इधर आ लड़के भनेर अलि पर लग्यो ।

 

 

त्यहाँ केटाहरु लाइनमा लागेर खाना खाँदै रहेछन। मलाई पनि खाना दिए, आधा खाना खाइवरी अलि सास आएजस्तो भएपछि संगै उभिएको नेपाली केटालाई केको लाइन हो भनेर सोधें। उसले यो गोर्खा पल्टनमा भर्ती हुने लाइन हो, अव हामी भर्ती भयौं, तालीम लिएर लडाइमा जानुपर्छ भन्यो। म अति खुसी भएँ, मैले चाहेको नै त्यही थियो। मेरो जीवनको सबैभन्दा खुसीको दिन यसरी अचानक जुरेको थियो। यति सजिलै पल्टनमा भर्ना भइएला भनेर सपनामा पनि सोचेको थिइन। पछि थाहा भयो दोस्रो विश्वयुद्ध चलिरहेको हुनाले पो धमाधम भर्ती खुलेको रहेछ।

 

 

एक महिना बन्दुक् चलाउने तालिम दिएर हामीलाई लडाइमा होमिदियो। मलाई त्यो लड़ाइ सम्झदा अहिले पनि जोसिन मन लाग्छ। तिमीलाई सम्झना होला जापानीसंगको लडाइमा धेरै गोरखालीले ज्यान गुमाए। कस्तो जोस गोरखालीको, दुश्मनले धमाधम गोला बर्साइरहेको छ, यताबाट गोरखाली सिपाही हातमा नाङ्गो खुकुरी नचाउदै जबर्जस्ती तोप गोलाको मोहोरीमा पस्थे। त्यस्तै जोसमा त हो नि म नाङ्गो खुकुरी नचाउदै जापानी उपर जाइलागेको। फेरि तिमीलाई पनि के झोंक चलेछ, मेरो पछि पछि दगुर्दै आयौ , अनि हामी दुवै मिलेर तोपको मुख बैरीतिरै फर्काएका थियौं , अहिले सम्झदा आफैलाई आश्चर्य लाग्छ। त्यसै दिन गोरा साहेव खुसी भएर हाम्रो तरक्की गरिदियो, त्यसै दिन हो हामीले मीत लाएको।

 

 

त्यो सुन्दा मलाई खुकुरीली हानेर मारिदिउं कि जस्तो लाग्यो त्यस गोरालाई, तर रिस ठण्डा गरेर चुप लागें।

 

 

लडाइ सकिएपछि पहिलो छुट्टी आउँदा तिमी र म दुवैजना बटौलीसम्म संगै आएर त्यहीं बास बसेको आजैजस्तो लाग्छ। तन्नेरी हुँदा त तिमी पनि कहाँ कम  हो र ! अलिकति लगाएपछि त के चाहियो। धन्न बटौलीमा बिग्रने मेसो मिलेन र चोखो घर पुग्यौ। पहिलो छुट्टी बिताएर फर्केपछि हामीलाई गोरा कर्नेल स्मिथ साहेवले पढ्ने मौका दिएको थियो। नत्र त यही चिट्ठी पनि कसरी पो लेख्नु, मनको कुरा मनमै रहन्थ्यो। त्यसबखत मगर गुरुंगले पढ्न पनि त हुँदैनथ्यो।

 

 

प्यारो मीतजी अव त बाच्ने बाटो नै पुराना सम्झना त हो। तिमी मलाई भेट्न खोज्छौ, म तिमीलाई भेट्न खोज्छु  तर एक्लै आउन जान सकिन्न, पुर्याइदिने कोही छैन। एकपल्ट मानिहाल्छ कि भनेर कान्छो छोरालाई बाबु हिड  जाम मीत बालाई भेटेर आम भनेको, के मान्थ्यो अव कतै जानु पर्दैन बा, थपक्क घरमा बस्ने र राम नाम जप्ने पो भन्यो। मुखले त केही भनिन मनमै सोचें आफ्नो दुनो सोझ्याउन पर्दा त तँ जस्ता नास्तिकलाई पनि राम चाहिदो रहेछ ! कतै जान सक्दिन स्वाँ स्वाँ दम आउँछ, दिनभरि  आँगन, रातभरि दलान भएको छु।

 

 

पर्वततिर कस्तो छ कुन्नी यहाँ पाल्पामा त चार पैसा कमायो कि कोही काठमाडौँ, कोही बटौली, कोही भैरहवातिर  लागिहाल्छन। कस्तो चलन आयो , केही कमायो कि आफ्नो जन्मभूमि नै छाडेर हिड्ने। हाम्रो पालामा त यस्तो थिएन। बाहिरबाट कमाएर ल्याएको रकम गाउमै लगाए पो गाउको विकास हुन्छ, मानिसले काम पाउछन, गाउँ गुल्जार हुन्छ। आधुनिक सुविधाको लोभ र शहरमा बस्ने रहरले गर्दा अलिकति कमाएको र टाठो बाठो मान्छे गाउँमा फर्केर आउँदैन। यस्तै चाला हो भने केही वर्षपछी नेपालका गाउँको हालत कस्तो हुने हो कुन्नी।

 

 

आज भोलि त समाज पनि खुव भाँडिएको छ। बहुदल आएपछि सबै राम्रो  हुन्छ, बोल्न्ने स्वतन्त्रता पाइन्छ, सबैको सम्मान हुन्छ, जनताको सरकार बन्छ, विकास हुन्छ भन्थे। सुरुमा त होला कि जस्तो लाग्यो, तर बिस्तारै बोल्न मात्र थाले, काम गर्न छाडे। बोल्न पाइन्छ भन्दैमा तथानाम गाली गर्न पाइन्छ ? पहिलो चुनाउकै  समयदेखि घर घर टोल टोलमा बोलचाल बन्द, भात पानी बाराबार। बिहे गर्ने कुरामा समेत पार्टी मिल्नु पर्ने रे ! दुई भाइ चुनाउ लडेर आवत जावत बन्द गर्ने त कति छन् कति। यस्तो नगर बाबु हो भन्यो माने पो ! त्यता तिम्रो छिमेकमा पनि यस्तै त होला नि ?

 

 

म पल्टनबाट दोस्रो छुट्टीमा आउँदा पाल्पा तानसेनमा आन्दोलन भएर जनताको सरकार बन्यो रे भन्ने हल्ला थियो। सात सालको कुरा त हो नि ! त्यसै सालदेखि हो जनताको सरकार भन्न थालेको। अहिलेसम्म कति सरकार आए गए, सबैले आफूलाई जनताको सरकार भन्छन, तर जनताको काम गर्दैनन्। उनीहरुलाई जनताले मान्नु पर्ने तर उनीहरुले जनतालाई मान्नु नपर्ने। यस्तो सरकार पो हुँदो रहेछ त जनताको सरकार भनेको। यी नेताहरु भनेका के हुन र को हुन, जनताले अझै भेउ पाउन सकेको छैन।सरकारलाई जनता कति सस्तो, जनतालाई सरकार कति महँगो।

 

एक जना गोराले मेरो छाती नात्यो, उचाइ नाप्यो र मलाई good टुम पास हो गया भन्यो, के भनेको मैले बुझिन।

 

 

मलाई एउटा कुरा खुव खड्की रहन्छ, त्यो के भने यो नेपाल बिगार्न हामी लाहुरेको पनि हात छ कि जस्तो लाग्छ मीतज्यू। एक दिन एकजना गोरा साहेवले भनेको थियो, तिमी गोरखाहरू अंग्रेजले काम नदिएको भए के खाएर बाच्थ्यौ होला ?  त्यो सुन्दा मलाई खुकुरीले हानेर मार्दिउं जस्तो लाग्यो त्यस गोरालाई, तर रिस ठण्डा गरेर चुप लागें। त्यसबेला त म चुप लागेर बसें, तर त्यो वचनले मेरो मनलाई कहिल्यै शान्त हुन दिएन। अनि मैले नेपालीहरु कसरी फिरंगीको पल्टनमा आउन थालेछन भनेर अध्ययन गर्दा र सबै कुरा केलाउँदा पो वास्तविक कुरा  थाहा भयो ।

 

 

अंग्रेजहरुले दया माया गरेर आफ्नो पल्टनमा लगेको हैन रहेछ, नेपालीहरुको वीरता, लगन, जोस, जाँगर र इमान्दारी बुझेर पो लागेको रहेछ। अझ रणभूमिमा उनीहरुले लिन सक्ने जोखिम, निडरता र बहादुरीलाई चिनेर पो लगेको रहेछ। अनि सुगौलीको सन्धीबाट चोट खाएर घाइते भएको गोरखाली केटाहरुलाई आफ्नो कव्जामा लिन पो भर्ती खोलेको रहेछ। यसरी लाखौँ केटाहरु अंग्रेजको छातामुनी गयो, देश त चोखो रह्यो तर नेपाली जमामर्द केटाहरु अंग्रेजको नोकर भयो।

 

 

नेपालीहरु अंग्रेजी सेनामा जानु अघि नेपाल तामा, फलाम, सिसा, कपास, लत्ता कपडामा आत्मनिर्भर रहेछ।त्यो बेला नेपालले बेच्ने कुरा धेरै हुँदो रहेछ, तर किन्ने कुरा थोरै। जुन दिन लाहुरेले फालो कोदालोको लागि फलाम, तामाका गाग्री, लत्ता कपडा ल्याउन थाल्यो, यहाँका परम्परागत उद्द्योग बन्द हुँदै गयो।  लाहुरेले मखमल, अत्तर, चुरोट, तास पनि ल्यायो। लाहुरेले मानिसका सीमित आवश्यकतालाई असीमित बनाउदै लग्यो। खानी बन्द भए, देश परनिर्भर हुँदै गयो। लाहुरेको सान देखेर सारा युवकको लागि अंग्रेजी फौज आकर्षणको केन्द्र बन्यो। बाहुन, क्षेत्री, नेवार कोही बाँकी रहेनन्। जो अंग्रेजको नोकर बन्न सफल भयो, त्यसले आफूलाई भाग्यमानी सम्झन थाल्यो, समाजमा त्यही सम्मानको पात्र हुन थाल्यो। यसरी विस्तारै आफ्नो मान गुमाउंदै गएको नेपाली पाए फौजमा नपाए चौकीदार, भान्से, डोले, भरिया, बन्न समेत तयार हुन थाल्यो।हिन्दुस्थानबाट खाकी लुगा र कालो जुत्ता लगाएर जो आयो, त्यो लाहुरे।

 

 

मीतज्यू, मलाई नेपालीको चाला देखेर उदेक लाग्छ। विदेशमा गएर जे काम पनि गर्न हुने, आफ्नो देशमा काम गरे इज्जत जाने। अंग्रेजले हिन्दुस्थान छोडेपछि उसले गोर्खा भर्ती लगभग बन्द गर्यो। केही युवा भारतीय फौजमा भर्ना भइइरहे। त्यतिले सबै युवाको माग धान्न नसकेपछि मेरा छर छिमेकका केटाहरु खेत बेच्दै कोरिया मलेसिया र अरवतिर जान थालेका छन्। सरकारले स्वदेशमै काम दिनुभन्दा युवाशक्ति विदेशतिर भासिँदा नै हाइसन्चो मानेर बसेको देखिन्छ। विदेशमा जाने कसैले त राम्रै काम पाएको भन्ने सुन्छु, तर कोही कोही त जेलमा छन् रे, कोही उतै मरे रे, केटीहरुको इजेतको कुनै पर्वाह हुँदैन रे ।

 

 

आफ्नो आँगनको घास उखेल्न लाज लाग्छ, गाई भैंसी पाल्न, कुखुरा खसी पाल्न, खेती गर्न, सानोतिनो व्यावसाय चलाउन मन लाग्दैन, तर परदेशमा भाँडा माझ्न, भुई पुछ्न,  भारी बोक्न, उँट गधा चराउन, जे गर्न पनि हुने। झुठो सान र सुखको खोजीमा कति दुखी हुँदै छ नेपाली, तर कसैलाई होस छैन। म पल्टनबाट निस्केर आउँदा एकथरीले गोरखा भर्तीको खुव बिरोध गर्थे। खै अहिले त थुप्रा देशमा कामदार पठाउँन सरकारले नै भर्ति केन्द्र जस्तो काम गर्छ रे भन्ने पो सुन्छु।

 

एकपल्ट मानिहाल्छ कि भनेर कान्छो छोरालाई बाबु हिंड जाम, मीतबालाई भेटेर आम भनेको के मान्थ्यो, अव कतै जान पर्दैन बा, थपक्क घरमा बस्ने र रामनाम जप्ने पो भान्छ। मुखले त केही भनिन तर मनमनै बिचार गरें, आफ्नो दुनो सोझ्याउनु पर्यो भने त तँ जस्ता नास्तिकलाई पनि राम चाहिने रहेछ।

 

 

मीतज्यू, तिमीलाई सम्झना छ होला नि, हामी नेपालीलाई गोराहरूले इमान्दार सिपाही भनेर सराहना गर्थे।संसारभरी नेपालीहरुको इमान्दारीको बखान हुन्थ्यो। अहिले त त्यो पनि छैन रे, विदेशतिर जाँदा सबैभन्दा सोध खोज र शंका नेपालीमाथि नै हुन्छ रे, दिल्ली बम्बैमा पनि पहिले जस्तो शाख छैन रे। अहिले त नेपाली केटाहरु चरेस, सुन र के के हो के के  धन्दामा लग्न थाल्यो रे, भुँडीमा लुकाएको लागू पदार्थ फुटेर केटाहरु मर्छ रे। भन त मीतज्यू, आर्काको मुलुकबाट पैसा कमाएर ल्याएर पनि देशको प्रगति हुन्छ र ? कस्ता बुद्धि नाभाका नेताहरु हाम्रा। नेपालीले विदेशमा काम गरेर कमाउन थालेको पौने दुईसय वर्ष भैसक्यो, खै हाम्रो देश धनी भाको ?  मास्टर बाबुले भन्थे नेपाल संसारकै सबैभन्दा गरिव देश रे ।

 

 

मेरो गाउँको एउटा बाहुनको छोरा काठमाडौँमा सिंहदरबार हो कि के जाति दरवारमा कारिन्दा रहेछन, पोहोर दशैंमा आएका थिए, के छ त बाजे नेपालको खवर भनेको त के हुनु नि लाहरे बा  बेहाल छ, बेच्ने कुरा केही छैन, अन्न पनि किनेर ल्याउनु पर्छ, हाम्रो देशमा सियो पनि बन्दैन पो भन्छन त। मलाई पनि रिस उठ्यो के खान त्यो दरवारमा बस्छौ त केही गर्न नसक्ने भए ? बरु यहीं गाउँमा भैसी पालेर बस, बाउको खुट्टा मलेर बस, धर्म हुन्छ भनिदिएँ। बिचरा बाजे यो लाहुरे बा त  साह्रै कडा भन्दै घोप्टो मुन्टो लगाएर गए। त्यो प्रधानमन्त्री भन्ने मान्छेलाई भेटाउन पाए त मैले के के पो भन्ने थिएँ।

 

 

यस्तै छ मीतज्यू, मेरो हाल। जति बुढो भए पनि मन झन् तरुनो हुँदो रैछ। केही पनि चित्त बुझ्दैन, करायो, कोही सुन्दैन।घर ठीक भए समाज ठीक हुने हो, समाज ठीक भए देश ठीक हुने हो केरे के गर्नु सबै भताभुङ्ग छ। अव म जस्ता एक्ला बुढा बुढीको दिन बिग्रे, राम्रोसंग स्याहार नपाएर सकिने अवस्था छ। गाउँले ठिटा ठिटी धेरै विदेशतिर जान्छन, अलिअलि बाँकी रहेका पनि तास जुवा खेल्ने, रक्सी खाने झगडा गर्ने गरेर बिताउन। प्रजातन्त्र आएपछि त मास्टरले पनि पढाउन पर्दैन रे, सरकारले त्यसै तलव दिन्छ रे। कर्मचारीले पनि सरकारलाई टेर्दैनन रे, नेता भएर हिड्छन रे। पहिले केटाकेटी सानासाना हुँदा, यी नहुर्कदसम्म लडाइमा परेर मर्नु नपरे हुन्थ्यो भन्दै बित्यो, अहिले यिनीहरुको बानी व्यहोरा र चालामाला देख्दा चिन्ता लाग्छ। आखिर के रहेछ त मीतज्यू  जिन्दगी ? साला चिन्तै चिन्तामा बित्दो रहेछ।

 

 

लौ त मीतज्यू दुई दिन लगाएर गरेको गन्थन हो, यो पत्र पाएपछि सबै पढी बुझी त्यताको विस्तार पनि पठाउनु।

 

उही तिम्रो मीत सु . धनबहादुर आले मगर

पाल्पा।

 

 

 

 

 

 

 

Comments

Competition middle banner