MENU
कुमुदका कविताहरु
 : 65 views
  Jun 09, 2018
कुमुद शर्मा 

सपनाको बो

 

स्वास लिन एक मुठी स्वच्छ हावा देउन

एक अंजुली स्वच्छ पानी पिउन देउ लौन

हावा पानी स्वच्छ नभै कसरी हो बाँच्ने

कति तिम्रो सपनाको बोझ लिई हाँस्ने ।

 

 

 

 

मेट्रो रेल गाडी चढ्ने धोको हुंदै होइन

त्यै नभएर बाँच्नै गाह्रो भाको पनि छैन ।

यौटा अर्को ठूलो धोको शान्तिसँग बाँच्ने

कति तिम्रो सपनाको बोझ लिई हाँस्ने ।

 

 

 

 

सुरक्षित कहाँछ सबको जीउ अनि धन

यसैले त अशान्त छ आज सबको मन ।

विकृती छन् यत्ति भन कसरी यो मास्ने

कति तिम्रो सपनाको बोझ लिइ हाँस्ने ।

 

 

 

 

भाषा, धर्म संस्कृतिको फेरी पाटो अर्को

त्यसैमानि लागेका छन् यौटा ठूलो लर्को ।

भाँचिएका मनलाई सोध कसरी हो गाँस्ने

कति तिम्रो सपनाको बोझ लिइ हाँस्ने ।

 

 

 

 

खस्कदै छन् सदाचार दिन प्रति दिन

बढदो छ यसको गति छिन प्रति छिन ।

यो र यस्ता विकृतिलाई नास्नेकि ननास्ने

कति तिम्रो सपनाको बोझ लिइ हाँस्ने ।

 

 

 

 

 

दैनिकीमा बिझ्ने सबलाई हुन् इनै कुरा

देखाइदेउ सक्छौ भने गरी यिनलाई पूरा ।

मात्र पोष्टर बनाएर हो कि यस्लाई टाँस्ने

कित फाल्तु कुरा भनी पेट मिची हाँस्ने ।

 

 

 

 

वातावरण

 

धुवाँ, धुलो, रसायनले प्रदुषित छ वायु

तेसैलेत जोखिममाछ मानिसको आयु

वर्षदिनमै मास्करहित बन्छ भन्थे यहाँ

यस बारे अहिलेे आई गर्नै छाडे च्याहाँ

 

 

 

 

ज्यादै शौखिन हुँदै गए मानिसको जात

वर्षैपिच्छे मगाउँदै छन् सवारीका खात

कारखाना हुन् अर्का प्रदुषणका खानी

श्वासफेर्ने प्रणालीलाई गर्छ जस्ले हानी

 

 

 

 

 

हावा मात्रै कहाँ हुुन्थ्यो प्रदूषित छ पानी

पानीसँग गाँसिएकोछ हाम्रो जिन्दगानी

रसायनछन् अनेक अनि प्रदुषणछ सारै

बिरुवा र जिवलाई यस्ले पारेकोछ गार्‍है

 

 

 

 

 

अर्कोतिर प्रयोग बढ्दो रासायनिक मल

गरेको छ यसले भूमि प्रदुषणलाई बल

कीट नाशक विषादीको छैन रोक तोक

छूट पूरापूर छ, छर्न पाइन्छ सब थोक

 

 

 

 

 

एकातिर नजानिदो छ मानिसको हल्ला

उद्योग  कारखाना पनि रातोदिन चल्दा

त्यसमाथि सवारीले निकाल्दछन् ध्वनी

प्रदुषण एवम् रितले बढ्दै जान्छ अनि

 

 

 

 

 

कृतिम प्रकाश जसैगरि हुंछ झिलिमिली

तेस्को पनि होलान्नि त आफ्नै तिरिमिरी

खाली छैन हात सबको मोबाइल्छ साथ

तेसैको तरङ्गले पक्कै गर्दो होला घात ।

 

 

 

 

 

कहिँ अति कहिँ खण्डे फरक छ वृष्टि

प्रकृतिको पनि समान कहाँ रैछ र दृष्टि

कहिले बाढी अनिखेरी कहिले छ पहिरो

यसले पनि दिएकोछ घाउ सार्है गहिरो  ।

 

 

 

 

हत्केलामा प्राण राखी हिडेका छौं हामी

अहिलेसम्म जसो तसो राखेकैछौं धानी

प्रदुषण यत्तिमा नै सीमित कहाँ छ र !

राजनीतिको प्रदुषण छ झनै भयङ्कर।

 

 

 सन्दर्भ : वातावरण दिवस

Comments

Competition middle banner