MENU
अशेष मल्लका तीन किस्सा
 : 432 views
  Jul 07, 2018

 

अशेष मल्ल

 

१. ‘चोर अशेष मल्ल, तँ काठमाडौं फर्किहाल’

 

०३६ सालको घटना हो । पाकिस्तानमा पूर्वप्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई फाँसी दिइएको थियो । त्यहीकारण नेपालमा आन्दोलन चर्कियो । अस्कल क्याम्पसमा छिरेर प्रहरीले विद्यार्थी कुटे । विद्यार्थीलाई छतबाटै खसालियो । एक विद्यार्थीको मृत्यु नै भयो ।

 

 

यो घटनाले विद्यार्थी आन्दोलन देशभरि सुरु भयो । म एमए अन्तिम वर्षको विद्यार्थी थिएँ । आन्दालन चर्किरहँदा परीक्षा रोकियो । अनि म धनकुटातिर लागेँ । धनकुटा पुग्न धरानबाट पैदल जानुपथ्र्यो । धरानमा बास बसेँ । एक रात मात्र बस्ने योजना थियो । त्यहाँ साथीहरुसँग भेट भयो । ठूलो आमसभा भइरहेको रहेछ । हरिहर दाहाल, गिरिराज आचार्यलगायत हुनुहुन्थ्यो । काठमाडौंको आन्दोलनबारे जानकारी दिन साथीहरुले आग्रह गरे । मलाई गिरिराज आचार्यले बोल्न आग्रह गर्नुभएको थियो ।

 

 

मञ्चमा उक्लिएँ । ठूलो समुदाय थियो । मसँग पनि जोश थियो । राजालाई गाली गर्नेदेखि लिएर जनतालाई सरकारविरुद्ध उक्साउने काम गरियो । मपछि हरिहर दाहाल बोल्न थाल्नुभयो । उहाँले बोल्दाबोल्दै पुलिस स्टेजमा नै आएर लाठीचार्ज गर्न थाल्यो । अश्रुग्याँस पनि हान्यो । म भीडमा छिरेँ । स्टेजमा भएका सबैलाई पुलिसले खोजी खोजी समात्यो । मलाई पनि खुब खोज्यो । नयाँ मान्छे थिएँ । चस्मा खोलेर गोजीमा हालेँ । पुलिसको अगाडि नै थिएँ । तर, चिनेनन् । त्यसपछि लुसुलुसु निस्किएर हिडेँ।

 

 

दाइको जुत्ता पसल थियो । त्यहीँ गएर बसेको थिएँ । एकछिनपछि त दाइ आएर ‘तलाईँ पुलिसले खोजिरहेको छ, यहाँबाट गइहाल,’ भन्नुभयो । म अलिपर फुपुको घर गएँ । त्यहाँ एउटा कोठामा १०÷१५ दिन थुनेर राखे । बाहिर आन्दोलन थियो । पुलिसले मैलाई तार्गेट गरेर खोजिरहेको रहेछ । सबैजना डराएका थिए । झन्डै दुई हप्तापछि बिहानै उठेर धनकुटातिर लागेँ ।

 

 

धनकुटामा पनि मलाई पुलिसले खोजिरहेको रहेछ । म साँझ पुगेको थिएँ । हाम्रो घरमा सेतो चुन लगाएको थियो । पुगेको भोलिपल्ट सबैभन्दा पहिला आमा उठ्नुभयो । उहाँले भित्र गएर हतार हतार मलाई उठाएर काठमाडौं हिँडिहाल्न भन्नुभयो । उहाँ खुब आत्तिनुभएको थियो । के भएछ भनेर बाहिर आएँ । बाहिर मेरो घरको भित्तामा ‘चोर अशेष मल्ल, तँ काठमाडौं फर्किहाल,’ भनेर लेखेको रहेछ । त्यसपछि त आमाले बस्नै दिनुभएन ।

 

 

आमा यसरी तर्सनु भएको पनि कारण रहेछ । ०७ सालमा कसैले हाम्रो घरअगाडि एउटा चिर्कटो छाडेको रहेछ । त्यो चिर्कटोमा के लेखेको थियो भन्ने कसैलाई थाहा भएन । तर, पुलिसले हाम्रो परिवारका सबै पुरुष सदस्यलाई लगेर बेस्सरी कुटेछ । त्यहीकारण पुलिस भनेपछि आमा तर्सनुहुन्थ्यो । उहाँको करले नै म तुरुन्तै काठमाडौं आएँ ।

 

 

२. बादल सरकारलाई भेट्ने लहड

 

सडक नाटक महोत्सव गर्ने भूत सवार थियो । महोत्सवको उद्घाटन भारतमा सडक नाटकका पिता भनेर चिनिएका बादल सरकारबाट गराउने इच्छा भयो । तर, उनीसँग सम्पर्क थिएन । कलकत्ता बस्छन् भन्ने मात्र थाहा थियो ।

 

 

साथी दीपक लोहनीको दिदी कलकत्तामा हुनुहुन्थ्यो । उहाँको बंगलाीसँग बिहे भएको थियो । त्यो दिदीलाई भेट्दा कलकत्ताको लागि निमन्त्रणा दिनुभएको थियो । म प्लेनबाट कलकत्ता गएँ ।
त्यहाँ बंगाली भिनाजुले धेरै सहयोग गरे । उनले बादल सरकारको नाम सुनेका रहेनछन् । चिने जतिलाई सोधे, कसैले चिनेको छु भनेन । तीन दिन निरन्तर खोज्दा पनि फेला परेन । जबकी बादल सरकारले अकादमी पुरस्कार पाएका थिए ।

 

 

चौंथो दिन साँझ एक जना पत्रकारसँग भेट भएछ । भिनाजुलाई उसले एरिया बताइदिएछ । ट्रेनमा जानुपर्ने । त्यही रात ट्रेन चढियो, ८ बजे । राति ११ बजे पुगियो । कलकत्ताको गाउँ जस्तो एरिया रहेछ । खोज्दै जाँदा घर पत्ता लाग्यो ।

 

 

पुरानो घर । माथिल्लो तलामा बस्दो रहेछ । सिँढी उक्लिँदै गयौ । बत्ति बलिरहेको थियो । माथिल्लो तलामा केही मानिसहरु देखिए । अधिकांश युवा थिए । एक जना भने बुढो, केश सेतै फुलेको थियो । दारी पनि झप्प फुलेको । मैले त फोटो पनि देखेको थिइनँ । बादल सरकार उ नै हो भनेर चिनेपछि मैले सीधै गएर खुट्टामा ढोगिदिएँ । ऊ त छक्क प¥यो ।

 

 

मैले भनें, ‘म नेपालबाट तपाईंलाई नै खोज्दै आएको ।’ ऊ छक्क प¥यो र भन्यो, ‘पागल ।’ उसले मलाई त्यही शब्द प्रयोग गरेको थियो अंग्रेजीमा क्रेजी । मलाई त्यतिबेला उसको त्यो शब्द पनि निकै मीठो लाग्यो । मैले उसको पागल घोडा भन्ने नाटक पढिसकेको थिएँ ।

 

 

त्यतिबेला ऊ केही युवालाई नाटक सिकाएर बसेको थियो । कलकत्तामा मान्छे दिउसो सुत्छन् र राति काम गर्छन् । गर्मी छल्ने उपाय होला । उनीहरुको काम ७-८ बजे सुरु हुन्छ र १२-१ बजेसम्म काम गर्छन् ।

 

 

मैले उसका पढेजति नाटकबारे बताएँ । आफ्नोबारे पनि भनेँ । र यो पनि भनेँ कि तिमी मेरो आदर्श हौ । तिमीलाई म लिन आएको नेपालमा । हामी दक्षिण एसियाली सडक नाटक महोत्सव गर्दैछौं । मेरो कुराले ऊ गम्भिर भयो । उसलाई भारतमा फादर अफ स्ट्रट थिएटर भन्छ ।

 

 

‘तिमीभन्दा म धेरै कान्छो हुँ । मलाई सडक नाटकको जन्मदाता भन्छ नेपालमा, तिमी त पिता हौ, मेरो पनि पिता, तिमीलाई प्रमुख अतिथि बनाउँछु, नाइँ नभन’ भनेपछि खुसी भयो । हामीलाई त्यो रात त्यहीँ बसायो । त्यति ठूलो घरमा ऊ र ऊसको फुपु मात्र बस्दा रहेछन् ।

 

 

उसले मलाई सात दिन कलकत्ता बसेर नाटकबारे बुझ्न भन्यो । भोलिपल्टदेखि म उसँगै हिँडे । सात दिनसम्म बिहानदेखि बेलुका र रातिसम्म ऊ जहाँ गयो त्यहीँ गएँ । प्रायः ऊ प्रमुख अतिथि भएर जान्थ्यो । जहाँ जान्थ्यो मेरो पनि परिचय दिन्थ्यो । मैले धेरै नाटक हेरेँ ।

 

 

३. सडक कवितामा चर्चित त्यो मुक्तक

 

०३६ सालको जनमत संग्रहअगाडि हामीले सडक कविता आन्दोलन गरेका थियौँ । यो योजना न्युरोडको पिपलबोटमा बनेको थियो । त्यतिबेला पिपलबोट कवि लेखक भेला हुने चर्चित ठाउँ थियो । भवानी घिमिरे दाइले त्यहीँ यस्तो योजना सुनाउनुभयो । त्यतिबेला मोबाइल हुने कुरै भएन । फोन पनि थिएन । मुख मुखले नै प्रचर गरियो ।

 

 

खुलामञ्चमा केही कवि भेला भयौं । भवानी घिमिरे, मोहन कोइराला, हरिभक्त कटुवाल, दिनेश अधिकारी, विष्णुविभु घिमिरे, ओममणि शर्मा, गगन विरही, किशोर पहाडीलगायतका कवि कविता भन्न आइपुग्नुभयो । हामीले धमाधम कविता भन्न थाल्यौं । सुरुमा थोरै मान्छे थिए । कविता भन्दै जाँदा मान्छे पनि थपिदै गए । पछि त त्यहाँ धेरै ठूलो मास भयो । राजनीतिक भाषण सुन्नभन्दा धेरै मान्छे कविता सुन्न जम्मा भए ।

 

 

कार्यक्रमको सञ्चालन भवानी घिमिरेले गर्नुभएको थियो । मैले त्यतिबेला मुक्तक पनि सुनाएको थिएँ । मेरा मुक्तक धेरै चर्चित थिए । जस्तै–

 

कागजमा पाँच वर्षअघि नै नहर खुल्यो
यसैले कागज ल्याफ्याक्क भिज्यो
कागज कामै नलागेर फाल्दा फाल्दा टोकरी भरियो
नहरको नक्सा फेरि अर्को कागजमा कोरियो

 

हामीले यस्ता विकृति र विसंगतिविरुद्ध कविता, मुक्तक सुनाएका थियौं । कार्यक्रमको खास प्रचार गरेका होइनौं । तर, कविता भन्दै जाँदा मान्छे स्वस्फुर्त थपिँदै गए । यतिधेरै मान्छे जम्मा भएकी हामीले माइकबिना भनेको कविता सुन्न छाड्यो । कसैले भीडबाटै माइक ल्याएर राखिदियो । मान्छे एकदमै उत्साहित भए । यतिसम्म कि त्यही भिडबाट कसैले तन्ना ल्याएछ । अनि हाम्रा लागि पैसा उठाउन थालेछन् । उनीहरुले अन्त पनि गएर कार्यक्रम गर्नका लागि यसरी पैसा उठाइदिएका थिए । माइक पनि हामीलाई नै दिए । हामीले त्यहीँ भालिपल्टको कार्यक्रम गौशालामा गर्ने घोषणा ग¥यौं ।

 

 

गौशालाको अहिलेको ट्राफिक कार्यलयभन्दा माथि कार्यक्रम ग¥यौं । त्यहाँ पनि विशाल कार्यक्रम भयो । सडकमा नै कविता भनेका थियौं । जनताले नै गाडी रोकेर कार्यक्रम गर्न लगाए । हामी जाने भन्ने हल्ला भएपछि व्यानरसमेत बनाएर ल्याएछन् । त्यो व्यानर हामीले बनाएको होइन । कसले बनायो भन्ने पनि थाहा पाएनौं । यसरी हाम्रो कार्यक्रमको पक्षमा जनता आफैं जागेका थिए ।

Comments

NIC Asia