MENU
कथाजस्तै लाग्ने सेतो धरतीको पूर्वकथा
 : 255 views
-अमर न्यौपाने   Aug 04, 2018

 

 

अमर न्यौपाने

 

 

मेरो आडको सिटमा एक जना पहेंलो वस्त्र धारण गरेकी वृद्धा थिइन् । मैले अनुमान लगाएँ, उनले संन्यास ग्रहण गरेकी छन् । पातलो र हँसियाझैं कुप्री परेको शरीर; खद्दरको लुगा भिजाएर निचोरेपछि जसरी खुम्चिन्छ त्यसरी नै मुजामुजा परेको अनुहार; अनुहारमा गहिरा तर रसिला आँखा ।

 

 

 

२०६७ सालको कुरा हो । मेरो मनोलोकमा एउटा प्रश्न उठ्यो— सानासाना नानीहरुको भविष्य हुन्छ; युवाहरुको वर्तमान हुन्छ तर बुढाबुढीहरुको के हुन्छ ?

 

यो प्रश्नको उत्तर बुढाबुढीहरुकै जीवनमा खोज्ने र कथा लेख्ने विचार गरें । सामग्री खोज्न त नेपालका पहाडी गाउँहरु लगभग सबै बृद्धाश्रमजस्तै भएका छन् । क्षमता र पहुँच हुने युवाहरु युरोप, अमेरिका र अष्ट्रेलिया गएका छन्; नहुनेहरु खाडी मुलुक गएका छन् । गाउँमा मलामी पनि पाउन मुस्किल छ । म बेलाबेलामा काठमान्डुकै केही बृद्धाश्रममा पनि गएँ । यसै सिलसिलामा ०६७ सालको दशैं बिदामा घटस्थापनादेखि फूलपातीसम्म देवघाट बस्छु र सामग्री सङ्कलन गर्छु; त्यसपछि घर गएर दशैं मान्छु भन्ने सोचेर देवघाटतिर लागें ।

 

साथमा सविना भान्जी पनि थिइन् । उनी भर्खर पन्ध्र वर्षकी । ‘भो नजाऊ, त्यहाँ कुनै रमाइलो छैन’ भनें । तर मानिनन् ।

 

देवघाट जान नारायणगढको पोखरा बसपार्कमा बस चढ्नुपर्छ । चढ्यौं । बसमा रङ्गीन लुगा लगाउनेभन्दा पहेँला लुगा लगाउनेहरु धेरै थिए । अर्थात् देवघाटमा बस्नेहरु धेरै थिए ।

मेरो आडको सिटमा एक जना पहेंलो वस्त्र धारण गरेकी वृद्धा थिइन् । मैले अनुमान लगाएँ, उनले संन्यास ग्रहण गरेकी छन् । पातलो र हँसियाझैं कुप्री परेको शरीर; खद्दरको लुगा भिजाएर निचोरेपछि जसरी खुम्चिन्छ त्यसरी नै मुजामुजा परेको अनुहार; अनुहारमा गहिरा तर रसिला आँखा । हिमालझैं सतै कपाल । तर कपाल छोटो थियो ।

 

उनको केही क्लिप्स तस्बिरहरु खिँचें तर उनले थाहै पाइनन् । पाँच किलोमिटर यात्रा गरेपछि त्रिशूलीको किनार आइपुग्यो; जहाँ झोलुङ्गे पुल छ । त्यो पुल पार गरेपछि देवघाट पुगिन्छ ।

 

ती आमालाई मैले पछ्याएँ । झुलुङ्गे पुलमा पनि उनी लठ्ठी टेकेर अगाडिअगाडि फुर्तिका साथ हिँडेकी थिइन् । पुल तरेपछि एउटा चौतारो आउँछ । म चौतारोमा पुग्दा उनी त्यहीं सुस्ताइरहेकी थिइन् । त्यही चौतारोमा स्थानीय केरा देखेर एक दर्जन किनें र आमालाई भनें— ‘आमा केरा खानुहुन्छ ?’

उनले भनिन्— ‘किन खाँदैन्ते !’

उनको प्रयोग गरेको भाषिकाबाट अनुमान लगाएँ, उनी पक्कै पनि पर्वत, बागलुङतिरको हुनुपर्छ ।

त्यसपछि मैले उनलाई केरा दिएँ । उनले भनिन्— ‘भारा लाम्च नि बा !‘

मैले भनें— ‘तपाईंलाई पनि कत्तिले भारा तिर्नुहोला नि ?‘

उनले भनिन्— ‘मैले कल्लाई के अर्न सौचु र ?‘

— ‘सक्ने बेलामा त गर्नुभयो होला नि आमा ?‘

— ‘ऊ बेलाँ त केके अरियो केके नि बा !‘

त्यसपछि एकएक कोसा केरा हामी मामाभान्जीले लिएर दशओटा कोसा केरा आमाको झोलामा राखिदिएँ ।

 

एकछिन सुस्ताएपछि उनी गलेश्वर आश्रमतिर उकालो लागिन् । मैले उनलाई पछ्याएँ । दाहिने हातले लठ्ठी टेके पनि देब्रे हातमा बोराको गह्रुँङ्गोजस्तो लाग्ने झोला थियो । मैले भनें— ‘दिनोस् आमा म झोला लिइदिन्छु ।’

 

 

मेरो सात वर्षां बिआ भो अरे । बाहुन बनारास जानुभथ्यो अरे पढ्न । गङ्गा डुबेर हो कि मोटरले हानेर उतै वित्नुअच । म नौ वर्षां विधवा भएँ अरे । एकदिन भान्छा जुठो लोटाउँदै थें । सासूले मेरो छोटो कपालाँ समाएर भान्छाट मझेरीआँ, मझेरीट पिँढीआँ, पिँढीट आँगनाँ ल्यार लडाइदिइन् । किन रच भनेको म पुडो सरेकी रचु ।

 

 

फेरि उनले उही वाक्य दोहो¥याइन्— ‘भारा लाम्च नि बा !’

मैले भनें— ‘म तपाईंको नातिनातिनाजस्तै त हो नि ।’

उनले सहज रुपमा भनिन्— ‘मेरा नातिनातिना छैनन् ।’

मैले जिज्ञासा राखें— ‘छोराछोरी नि ?’

उनले उसरी नै भनिन्— ‘छोराछोरी नि छैनन् ।’ त्यसपछि भने उनी हाम्रो नजिकै बगिरहेको त्रिशूली नदीझैं सुसाएर भन्न थालिन्— ‘मेरो सात वर्षां बिआ भो अरे । बाहुन बनारास जानुभथ्यो अरे पढ्न । गङ्गा डुबेर हो कि मोटरले हानेर उतै वित्नुअच । म नौ वर्षां विधवा भएँ अरे । एकदिन भान्छा जुठो लोटाउँदै थें । सासूले मेरो छोटो कपालाँ समाएर भान्छाट मझेरीआँ, मझेरीट पिँढीआँ, पिँढीट आँगनाँ ल्यार लडाइदिइन् । किन रच भनेको म पुडो सरेकी रचु । विधवा भएको सात वर्षपछि पुडो सरेकी थें । त्यसपछि घर बस्नै मन लान । के भनेर बसम् ? को भनेर बसम् । अनि माइत आर बसें । बाआमा बिते पनि माइत पनि बस्न मन लान । दाजुभाइहरुको आआफ्नै घरपरिवार भो । म बोझ जस्तो भएँ । अनि देवघाट आएर बस्न थालें । एकातिरट गोसाइँकुण्ड बग्दैबग्दै त्रिशूली भर आकी छन्; अर्कोतिरट दामोदर कुण्ड बग्दैबग्दै कालीगण्डकी भर आकी छन् । भगवान्को शरनमा छु; जीवनको अन्तिम चरनमा छु; अब आनन्दले मर्न पाम् यत्ति भए पुग्छ ।‘

 

आमाले यति भनिसक्दा उहाँको कुटी आइसकेको थियो । उनले पटुकाबाट चाबी झिकेर दैलो खोलिन् । हामी पनि उनको पछिपछि भित्र पस्यौं । यस्ती बूढी आमाले कसरी खाना पकाएर खान्छिन् होला ? कसरी लुगा धुन्छिन् होला भनेर सोधें— ‘आमा ! कुटीमा एक्लै हुनुहुन्छ ?’

 

उनले लामो निश्वास छोडेर भनिन्— ‘भगमान् हुनुहुन्च नि !‘

त्यसपछि आवाज ननिकालिकन उनी रोइन् । तर उनका आँसु उनका गालामा देखिएनन् । उनकै उमेरले बनाएका अनुहारका चाहुरीहरुमा बिलाए । लाग्यो, बुढाबुढी भएपछि आँसु पनि देखिँदोरहेनछ ।

उत्तिखेरै मनमा एउटा गहन प्रश्न उठ्यो— ‘भगवान् पाएर पनि यी आमा किन रोइन् हँ ?‘

लाग्यो, म कथा यही हरफमा टुङ्ग्याउँछु । दोस्रो विश्वयुद्धपछिको विध्वंशबाट निराश भएर नित्सेले ईश्वरको मृत्युको घोषणा लेखेका थिए । उनले ईश्वरमाथि कति रुखो र ठाटो तरिकाले प्रश्न गरेका थिए तर यी आमाले जिन्दगीभर ईश्वरका नाममा बाँचेर कति कोमल ढङ्गले ईश्वरमाथि प्रश्न गरेकी छन् । मलाई नित्सेको भन्दा यी आमाको प्रश्न गर्ने तरिका कता हो कता मन प¥यो ।

 

म त बुढाबुढीहरुको कथा लेख्न गएको मान्छे । जाँदाजाँदै एउटा कथा तयार भयो भन्ने लाग्यो । त्यसपछि चार दिन बसेर अरु कथाहरु पनि खोजें ।

 

फूलपातीको दिन घर गएर दशैंपछि फेरि काठमान्डु फर्कें । एकरात निद्रा लागेन । किनभने मैले ती आमालाई सम्झें । त्यो रात अबेरतिर एउटा निर्णय गरें— ‘म यसलाई कथा बनाएर लेख्दिनँ; उपन्यास बनाएर लेख्छु । उपन्यासमा उनको जीवनका धेरै पक्षहरुलाई अटाएर लेख्न सकिन्छ ।‘

यसरी उपन्यासको थिम मेरो मनोलोकमा क्लिक भयो ।

 

 

मलाई तीन जना पात्र चाहिएको थियो । ताराजस्तै, पवित्राजस्तै र यमुनाजस्तै । ती पात्रहरु मैले पाएँ । आफूले पाएका पात्रहरुमा आफूलाई पनि मिसें । मलाई लाग्छ, लेखक नीलो रङ हो भने पात्र पहेंलो रङ हो । दुवै रङलाई मिसिदियो भने हरियो रङ बन्छ । मेरा पात्रहरु मैले हरियो बनाएको छु ।

 

 

त्यसपछि ०६८ सालको वैशखमा एक महिनासम्म देवघाटमा आमाहरुसँग बसेर उपन्यासको सामग्री जम्मा गरें । आफूले पनि आमाहरुले झैं दिनचर्या बिताएर बस्दा आफू पनि संन्यस्त बालविधवा हुँ कि भन्ने भान भएको थियो।

 

मलाई तीन जना पात्र चाहिएको थियो । ताराजस्तै, पवित्राजस्तै र यमुनाजस्तै । ती पात्रहरु मैले पाएँ । आफूले पाएका पात्रहरुमा आफूलाई पनि मिसें । मलाई लाग्छ, लेखक नीलो रङ हो भने पात्र पहेंलो रङ हो । दुवै रङलाई मिसिदियो भने हरियो रङ बन्छ । मेरा पात्रहरु मैले हरियो बनाएको छु । सबै पात्र वास्तविक हुन् । कल्पना पनि गरेको छु तर सत्यलाई अझ सत्य देखाउन कल्पना गरेको छु ।

 

देवघाटमा बसेर सामग्री सङ्कलन गरेपछि काठमान्डुको बबरमहल डेरामा बसेर लेखें । ०६८ साल मङ्सिर २८ गतेबाट पुस २८ गतेभित्र पहिलो लेखन सकेको थिएँ ।

 

लेखिसकेपछि दुई महिना सम्पादनमा लागें । यो उपन्यास लेख्दा मैले दिन थियो कि रात कहिल्यै विचार गरिनँ । लेख्दालेख्दै कापीलाई नै सिरानी बनाएर धेरैपटक निदाएको छु । त्यो बेला जतिखेर निदाउँथें त्यो रात थियो; जतिखेर ब्युँझन्थें त्यो बिहान थियो । म पात्रहरुमा यति धेरै डुबेछु कि कहिले त म लोग्नेमान्छे हो भन्ने पनि बिर्सन्थें ।

 

मेरा बाले मेरा प्रत्येक किताबको पाण्डुलिपि नै पढ्नुहुन्छ र सुझाव पनि दिनुहुन्छ । आमा संवेदनाको खानी हुनुहुन्छ । उहाँबाट लेखनमा संवेदना भर्न सिकेको छु । लेखिसकेपछि पहिलोपटक बालाई नै देखाएँ । त्यो बेलाको चालचलन बारेमा केही कुरा बनाइदिनुभयो । बाले ‘सपनामा द्रौपदी’ भन्ने पाठ साह्रै मन प¥यो भन्नुभएको थियो । बा र म बसेर नै उपन्यासको परिवेशको नक्सा कोरेका थियौं ।

Comments

NIC Asia