MENU
प्रिय मान्छेप्रति !
 : 958 views
-सन्जिव कार्की   Sep 08, 2018
प्रिय मान्छे,
प्रेम समर्पण हो,  प्रेम त्याग हो,  प्रेम विश्वास हो,  प्रेम इज्जत र  प्रतिष्ठा  हो,  प्रेममा प्रयाप्तता कहिल्यै र कसैगरी हुँदैन, अप्रयाप्तताको कारण नै प्रेमको खोजीमा मान्छे भौतारिन्छ,  प्रेमको याचना गर्छ,  प्रेमको महत्त्व र गरिमा यसको अमरत्वसंग छ । आदर्श प्रेमको मान्छे याचक हो जहिल्यै र जहाँ पनि । प्रेममा निष्ठा , र नैतिकताले आँखा उघारेको हुन्छ । हुनुपर्छ । आध्यात्मिक “प्रेम” शरीर र मनभन्दा माथिल्लो हो, जसको सम्बन्ध आत्मासँग हुन्छ। प्रेम जटिल हुनु हुदैन समस्याग्रस्त बन्नु हुदैन। प्रेम सरल र सहजानुभुतिले भरीएको हुनुपर्छ । प्रेम चित्त ( संकुचनमा ) हैन ( ब्यापक ) चैतन्यतामा बुझौं , खोजौ ।
प्रिय मान्छे,
तिमी छौ र न यो जिन्दगी सहज र सरल छ । प्रेम अन्तरहृदयको प्रतिध्वनि हो । मन, मुटुको स्पर्श हो । यो साक्षत तर, निराकार छ । मान्छे प्रेमलाई आकारमा खोज्ने, ग्रहण गर्ने प्रयत्न गर्छ अनि भुमरीमा जाकिन्छ, निराकार प्रेम आकारमा सिमित गर्ने भुल गरेर नै हामी भ्रममा छौं ।
प्रेम बजारमा सजाइएको बिक्रीवितरणको वस्तु होईन । प्रेम अमुल्य र अतुलनीय छ, हुन्छ । प्रेम सर्वब्यापी छ, अमुल्य छ । निस्संदेह प्रेम पवित्र र चोखो अनि अजम्बरी थियो, छ , हुनेछ । सुख देहसँग र खुशी आत्मा र भावनासँग सम्बन्धित विषय हो । आम मानिसहरु आत्मिक र भावनात्मक खुशी छोडेर मात्र देह सुखलाई प्राथमिकिकरण गर्छन् । शास्त्रहरुमा भनिएको छ , ‘म तिमीलाई भावनात्मक प्रेम गर्छु, आध्यात्मिक स्पर्श गर्छु, स्नेह गर्छु तर, भावना र विश्वासको सबैभन्दा ठूलो प्रमाण विश्वास नै हो अरु मिथ्या !’
अभिनय , शब्द र वचनमा  मात्र हुन सक्तैन प्रेम । प्रेममा आकर्षण, आशक्ति, शारीरिक भोक अस्वाभाविक मानिन्न र वर्जित गर्नुपर्ने विषय पनि यो होइन तथापि यसका मुल्य, मान्यता, सिमा, बाध्यता र सामाजिक नैतिक मूल्यको पनि ख्याल राख्नु शोभनीय र पृतिकर हुनजान्छ । प्रेम, स्नेह र आकर्षणको शसक्त सिद्धान्त , बलियो खांबो, आजसम्मको प्रामाणिक आविष्कार भनेको नै स्नेह, विश्वास र सम्मान हो । प्रेमको यो तीन खम्बे नीति तब मात्र धर्मराउँछ जब यी तीनमध्ये एकमा विचलन देखिन्छ ।
जसरी अरबौं मान्छे पृथ्वीमा प्रमाणविना नै भगवानको नित्य स्तुति गर्छन् , विश्वास गर्छन् , त्यसरी नै म तिमीप्रति स्नेह गर्छु , प्रेम गर्छु , विश्वास गर्छु अनि सम्मान गर्छु । कुन उषा ? कुन दिवा ? कुन सन्ध्या ? तिम्रै नामको ध्यान, जप र पुजा गर्छु ।
प्रिय मान्छे,
योभन्दा ठूलो प्रमाण म अरु के पेश गरौं ? अशेष अशेष प्यार ! भगवानसमेत पूर्ण र दोषरहित छैनन् भनेर कल्पना, परिकल्पना गरिएको छैन भने हामी त सामान्य मानव ! जो दोष नै दोषको भुमरी र निरन्तरताबाट आएका छौं । त्यसैले हामीसँग दोष, अवगुण हुनु के अनौठो कुरा भयो र ? अनौठो त यो हुन्छ जो थाहा पाएर पनि बारम्बार दोहोर्याउने गर्छ ।
तिम्रो र मेरो परिवेश र धरातल समान छन,  तर हाम्रो उचाइ समान नहुन सक्छ ।
व्यक्तित्व कस्तो अनि कत्रो बनाउने भन्ने त आआफ्नै परिश्रम, लगाव र निरन्तरताले निर्क्योल अनि निर्धारण गर्ने कुरा हो । मानवीय हैसियत भनेको नै सबै समान हुन्छ्न, हुनुपर्छ अनि बनाउनुपर्छ । हामीले जात, धर्म,  कुल, बंश र परम्परा अनि कथित सामाजिक र आर्थिक हैसियत हेरेर पवित्र मानावीय भाव भुल्यौ भने वर्तमानले गिज्याउने छ।  अनि भविष्यले दुत्कार्ने छ । तसर्थ मानवता भुलेर जात, धर्म र परम्परागत तूलोमा जोखिनु र जोख्नु बुद्धिमता होईन । जो तिमीलाई सुहाउँदैन । न मलाई नै सुहाउँछ ? हामी जातले केवल मान्छे हौ ! केवल मान्छे ! मानवतामा छोइछिटाे हुन्न, छोइछिटाे गर्ने चेतना अस्वस्थ हो, हामी त मानवताले स्वस्थ मान्छे बन्नु पर्छ । तिमी मानव हौ र मलाई पनि मनाव ठान , अरु कमि-कमजोरी भनेको त क्रमश: सच्याउँदै जानु पर्छ ।

Comments

NIC Asia