MENU
तीज : त्यो उल्लास, यो विलास !!
 : 804 views
-भागवत खनाल    Sep 12, 2018

 

स्वयं विशीर्णद्रुमपर्णवृत्तिता परा हि काष्ठा तपसस्तया पुनः

तदप्यपाकीर्णमत: प्रियंवदां वदन्त्यपर्णति च ताम पुराविदः

भावार्थ : स्वयं झरेको द्रुमपर्ण खानु नै  ठूलो छ  काष्ठा तपको परन्तु लौ

तिनी उमाले उ पनि त्यजिन अनि भने ”अपर्णा” भनि ती पुराणले

                                                                                     कुमारसंभव ।

 

भागवत खनाल 

तीज :

त्यो उल्लास, यो विलास !!

 

पौराणिक मान्यता अनुसार महादेवकी पत्नी सती आफ्नै माइतीमा आफ्नै पिता दक्षप्रजापतिबाट पतिप्रति अपार अपमान र लान्छना सुन्दा असह्य भई अग्निकुण्डमा फाल हालिन । कुनै पनि नारीको लागि आफ्नो पतिको अपमान सह्य हुँदैन, न त पतिलाई आफ्नी पत्नीमाथिको लान्छना सह्य हुन्छ । सतीको अर्को जन्म हिमालय पर्वतकी छोरी पार्वतीको रुपमा भयो । सानै उमेरदेखि उनको महादेव पति पाउने अभिलाषा थियो । जव विवाहयोग्य उमेर हुन थाल्यो घर र समाजमा उनको विवाह बारे चर्चा चल्न थाल्यो । जव आफ्नो विवाह विष्णुसंग हुन थालेको कुरा चाल पाइन् उनले सो विवाहप्रति असहमति जनाइन् । तर कूलको इज्जतको सवाल थियो, समाजको कुरा थियो, छरछिमेकको कुरा थियो, लोकापवादको कुरा थियो ।

 

 

बावुआमालाई छोरीको चिन्ता लाग्न थाल्यो, आमा विशेष चिन्तित बनिन । तर पार्वती टस मस भइनन । उनले महादेव बाहेक अर्को कुनै पुरुषसंग विवाह नगर्ने कुरा आमालाई सुनाइन । उनले महादेवाकै ब्रत, पूजा, स्मरण आदि गर्न थालिन, घरमै कठोर तप र ब्रत गर्न थालिन । माता मेनकाले “उ” “मा” अर्थात हे छोरी त्यसो नगर भनेर सम्झाइन, तर माने पो ! बरु यसै कथनबाट पछि पार्वतीको नाम नै उमा रहन गयो । विहेबारे धेरै नै चर्चा चल्न थालेपछि पार्वतीले घरै छाडेर जाने विचार गरिन । उनका विजया आदि सखीले उनलाई घरबाट टाढा गोप्य ठाउँमा लगेर राखे । यसरी उनलाई साथीहरुले घरबाट हरण गरेर लुकाएको हुँदा यसै घटनाबाट हरिता अर्थात हरण गरिएकी र आलिका अर्थात सखी वा साथीको रुपमा हरितालिका शव्द प्रशिद्ध भयो ।

 

 

 

 

पार्वतीको यो ठूलो विद्रोह थियो । महादेव महान योद्धा, वीर, सत्यशंकल्प, परम पावन र सुन्दर एवं दैहिक वलले ओतप्रोत थिए । तर उनको वसउठ, खानपान, संगत, लवाइ, जीवनचर्या र सोच फरक थियो । सत्य कुरा पनि सवैलाई पाच्य कहाँ हुन्छ ! न उतिबेला न आज । समाज आफ्नो तरिकाले हिड्न खोज्छ, समाज जहिले पनि यथास्थितिप्रेमी हुन्छ र समाजका सदश्यलाई सधै फसादमा पारिरहन्छ । यस्तो अवस्थामा नै त हो कुनै हिम्मतीलो र सामना गर्न सक्ने समाजसुधरकको आवश्यकता पर्ने । शिवजी समाजमा अपहेलित, तिरस्कृत, निष्कासित, आरोपित, परित्यक्त, रोगी, विचलित र दुखीहरुका सहारा थिए । आजको दिनमा पनि आध्यात्मिक र सनातन धर्ममा अगाध आस्था हुनेका लागि उनी देवाधिदेव महादेव हुन भने घोर भौतिकवादीका लागि पनि उनी दुखी, गरिव, पछाडि पारिएका, समाजले अनाहकमा तिरस्कार गरेका र वहिस्करणमा परेकाहरुका सहारा हुन ।

 

 

पार्वतीले गुप्त ठाउँमा पनि ठूलो तपस्या गरिन । उनले अन्न, फल र जल समेत त्याग गरिन र रुखबाट आफै झरेका पात पतिंगर खान थालिन् । पछि त झन् त्यही पात पनि खान छाडेर अटल र घोर अनसन गरिन । इतिहासमा उनले जुन त्याग र सत्याग्रह गरिन त्यो न भूतो न भविष्यति । आफ्नो माग पूरा गराउन पार्वतीले गरेको सत्याग्रह अलौकिक थियो र रहने छ । यही झरेको पात पनि खान छाडेको हुँदा उनको नाम “अपर्णा” रहन गयो । उनको सविनय, अहिंसक तर अदम्य सत्याग्रह काम लाग्यो, घर र समाज मात्र हैन, महादेव पनि उनको पाणिग्रहण गर्न राजी भए । जस्तो भव्य विवाह उमाशंकरको भयो त्यस्तो न त्यस अघि भयो न त्यसपछि भयो, न भविष्यमा हुनेछ । अलौकिक सुन्दर नंगा धडंगा दुलाहा, नन्दी भ्रिंगी, पिशाच, आदि अपहेलित, परित्यक्त, विस्थापित, अनाहक आरोपित, लखेटिएका, भोका, नांगा तर मेहनती र इमान्दार जन्ती ।

 

 

त्यो जन्तीमा महादेवको शोभा देखेर कति सुन्दरीहरु वेहोस भए, कतिले आफ्नो पतिप्रति नै एकक्षेण भए पनि तिरस्कारभाव राखे, कतिले आफ्नो काखको बालकको समेत वास्ता गर्न विर्से र कतिले पार्वती त के उनका दासीभन्दा पनि अभागिनी ठाने आफैलाई । यति सुन्दर र मनमोहक छन् हाम्रा महादेव । यही विवाहको प्रभाव हो तीज, यही महात्म्य हो तीजको, यही हो आस्था र पौराणिकता । वास्तवमा सवै नारीका अभिष्ट त महादेव नै हुन, तर त्यो सम्भव छैन । सवैलाई थाहा छ महादेव पति पाउन सकिन्न, किनकि उनी एक पत्नीब्रत हुन । यसरी महादेव पति पाउन नसकिने भयो, तर उनी जस्तै पति पाउने इच्छा मात्र गर्न सकिने भयो । त्यसैले महादेव जस्तै या महादेव समान पति पाउने आकांक्षा राख्नु र विवाहिताको हकमा जसलाई जे जस्ता पति प्राप्त छन् उनको सुख, दिर्घायु, आरोग्य र समृद्धिको लागि कामना गर्दै शिवपार्वतीको पूजा गर्नु नै हाम्रो शास्त्रीय र आस्थाको तीज हो ।

 

 

 

तीज नेपालको महान चाड हो । यसले जात जाति, वर्ग, क्षेत्र र वैसम्यको सीमा तोडेको छ, पर्खाल भत्काएको छ । यसरी सारा सीमा र बारबंदेज पार गरेर सवैले समान रुपमा तीज मनाउनुको कारण हो हाम्रो समाजमा नारी जातिलाई परेको समान मर्का, समान पीडा, समान दुख र समान वेदना । यसको मनोविज्ञान र सामूहिक भाव विचित्रको छ । नेपालमा यो चाड जतासुकै मनाइन्छ , तरिका र छटामा केही फरक पर्नु त लौकिक नियम नै हो । हिन्दुस्थानमा हरियाली तीज, कजरी तीज र खास गरी हरितालिका तीज मनाइन्छ । हरियाली तीजमा हरियो वस्त्र लाउने र श्रावण महिनामा मनाउने गरिन्छ । हरितालिका तीज नेपालमा मनाउने दिनमै मनाइन्छ । हरितालिका खासगरी उत्तराखण्ड, युपी र बिहारमा र अन्य तीजहरु राजस्थान, मध्यप्रदेशमा समेत मान्छन् । त्यहाँ त्रितिया तिथिमा मनाइने अन्य तीजरु पनि प्रचलनमा छन् । हिन्दुस्थानमा तीज अत्यन्त सौम्य, सज्जन र अनुशासित तरिकाले मनाइन्छ । नारीहरु भक्तिभावले गौरीशंकरको पूजा गर्छन ।

 

 

तीजमा कालो रंगको बालुवाको शिव, गौरी र गणपतिको मूर्ति बनाई स्थापाना गरी पूजा बन्दना गर्दछन । शंकरलाई केराको पातमा धतुरो, बेलपत्र, समीको पात, वस्त्र र उमालाई सौभाग्यका सामग्रीले पूजा गर्दछन । तीजका कथा सुन्ने सुनाउने र रातभर जाग्राम बस्ने गर्दछन । त्यहाँ यस्ता भक्तिमय चाडमा तडकभडक र हल्ला हुँदैन । भोलिपल्ट ब्रत उपासना गर्ने हुँदा नेपालमा जस्तो राति बाह्र बजेसम्म मासु र मद्यपान गर्दैनन् । उनीहरु भन्छन रे नही करना है तो मत करो, अगर करना है तो विधिपूर्वक करो, तमासा मत दिखाओ । अनि त्यता ब्रतालु पत्नीको लागि उनी ब्रत बस्ने दिनमा पति र परिवारका अन्य सदस्यले पनि सम्मानसाथ सहयोग गर्ने र अखाद्य र अपेय पदार्थको सेवन नगर्ने चलन रहेछ ।

 

 

तीजलाई सौभाग्य कामनाको चाडको रुपमा लिइन्छ । तीजको  मनोविज्ञान बडो सुन्दर छ । यसमा पतिको दिर्घायु र आरोग्यको लागि कठोर निराहार ब्रत लिन्छन विवाहित नारीहरु । तर त्यही ब्रतको दिन दिनभरि डाँडामा जम्मा भएर जव गीत गाउँछन् गीतको मुख्य पात्र नै पति हुन पुग्छ । पतिले दिएका दुख र सासु, ससुरा नन्द आमाजु र कुटुम्बले दिएका ताडनाको मीठो बयान हुन्छ गीतमा । तर यसरी गीत गाउँदा कसैले पनि ती गीत जुराउने र गाउने नारीप्रति दुख मनाउ गर्दैन । स्वयं पतिलाई पनि थाहा हुन्छ, तीजको मौकामा पत्नीले आफ्नै बारेमा गीत जुराउने छन्, तर त्यसमा कुनै दुख मान्ने वा झैँ झगडा गर्ने परम्परा छैन । नारीहरुले आफ्ना माइतीले सानै उमेरमा बिहा गरिदिएको, टाढा पठाएको, दरिद्र घरमा दिएको र छोरालाई पुग्दैन कि भनेर छोरीको विहामा कन्जुसी गरेको कुरा समेत तिनै माइतीको सामुन्नेमै पोख्छन । सवै घरमा छोरी वुहारी हुन्छन र सवैले आफ्नो माइती देशमा गएर आफ्नो आफ्नो पति, सासु र नन्द आमाजुलाई उडाउँदा हिसाव किताव बरावर हुन्छ ।

 

 

लौकिक व्यवहारमा तीजको मुख्य प्रशंसनीय पात्र आमा हो । सवै चेलीहरुको अघोषित सल्लाह छ , कतै पनि आमालाई दोष दिएका गीत पाइदैनन । आमा !  सामान्यतया आमा नै निरीह हुन्छिन हर घरमा । आमाको हातमा न धन पैसा, न त घर व्यवहार, न कसैलाई फकाउने र हप्काउने पारिवारिक र सामाजिक हैसियत ! तैपनि चेलीको लागि आफ्ना दुख र वेदना सुनाउन पाउने पात्र हुन आमा । जव सारा जगत सुत्दछ त्यसै नीरवतामा आमाको कानमा मनको वह कहेर हलुङ्गो हुने मौका पाउँछिन चेलीले । आमा मात्र हुन, जो छोरीका सवै कुरा सुन्छिन, बलिन्द्र आँशुले छोरीको तालु भिजाएर उसलाई शान्त पार्छिन ।

 

 

त्यसैले त जति रोगी, दरिद्र, बृद्ध, गलित र कमजोर भए पनि आमा आमा हुन । आमाको अगाडि संसारको समस्त बैभव मूल्यहीन छ, लोष्टवत छ । शास्त्रीय रुपमा तीज शिव हुन तर लौकिक रुपमा त तीज आमा हुन, आमा गाना हुन, आमा गहना हुन, आमा धन हुन, आमा गुरु हुन, आमा गुहार हुन, आमा विद्वान शिक्षक हुन, आमा कोमल हृदय हुन, आमा हाँसो हुन, आमा आँशु हुन, आमा उल्लास हुन, आमा सुन्दर निर्झरी हुन, आमा पवित्र गण्डकी हुन, आमा करुणाकी महासागर हुन, आमा आमा हुन, आमा नै जगत जननी हुन । आमा चौरासी व्यंजन हुन, आमा नै हुन जसले पकाएको कर्कलाको डाँठ अमृतभोग हुन्छ, गावाको पात व्यंजन हुन्छ,  अमिलो तामाको झोल खुवा हुन्छ ।

 

 

चेलीको लागि आमा पछिका तीजका साथी हुन दिदी बहिनी । आफ्ना घरका कुरा, लोग्नेका कुरा, देवर जेठाजुका कुरा, नन्द आमाजुका कुरा गरेर मन हल्का पार्ने आमा मुनिका पात्र । घरका दुखद कुरा मात्र हैन, राम्रा कुरा पनि सुनाउछन् चेलीहरु । चेलीले आफ्नो घरका राम्रा र लोभलाग्दा कुरा पनि माइतीमा सुनाएर आफ्नो सान र इज्जत बढाउँछन् । तीजमा आफ्नो माइतीदेशबाट अन्यत्र बिहा भएर गएका सारा संगिनीहरु जम्मा हुनेहुँदा यस अवसरलाई गुमाउन चाहंदैनन् चेलीहरु ।

 

 

के हाम्रो तीज अझै पनि माथि भनेजस्तै छ त ? हो छ । छ, तर पहाडी गाउँमा छ, गरिवीमा छ, इमान्दार आमा र चेलीमा छ, आफ्नो संस्कृति र संस्कारमा विश्वास गर्नेमा छ । अझै पनि खोला र जंघार तर्दै लड्दै पड्दै आउँछन   चेली । अझै पनि साना भाइ र बृद्ध बावु छोरी लिन जान्छन । शास्त्रसम्मत तरिकाले पूजाआजा गर्छन र आफ्ना दुख र वेदना गीतको माध्यमबाट अभिव्यक्त गर्दछन । तीजको मनोविज्ञान अझै जीवन्त छ, तीजको उल्लास छ, विलासले जित्न सकेको छैन गाउँमा । तर यो अत्यन्त पातलो रुपमा छ । अलिकता हुने खानेहरु शहर पसे, श्रीमान् विदेशमा हुने महिलाहरु जिल्ला सदरमुकाम गएर डेरा लिएर बसेका छन् । आधुनिकताले केही वर्षभित्रमै बाँकी रहेको तीज पनि खत्तम पार्ने डर छ ।

 

 

 

 

तीज वेदनालाई उल्लासमा परिणत गर्ने पर्व हो । आस्थाको रुपमा यो देवाधिदेव महादेवको पूजा गर्ने अवसर हो भने लौकिक रुपमा सारा दुखलाई गीत र स्वस्थ मनोरन्जनको माध्यमबाट बिर्सने चाड हो । वास्तवमा तीज संस्कार र सामाजिक परम्पराको संगम हो । यो उल्लास मनाउने चाड हो तर विलास गर्ने चाड हैन । हामी नेपालीहरुले मनाउने पर्वमध्य सवैभन्दा सात्विक पर्व हो यो, यो श्रीकृष्ण जन्माष्टमी जस्तै सात्विक भोजन गर्ने, किर्तन र पूजा गर्ने अवसर हो । पहिले पहिले तीजको दर खाने दिन दुग्ध पदार्थ र वनस्पतिजन्य खाना मात्र खाने चलन थियो । हो हाम्रो परम्परामा कतिपय चाडमा मांसाहार गर्ने चलन थियो र छ, जस्तै दशैं, चैते दशैं, फागु पूर्णिमा आदि । तर तीजमा सात्विक पूजा गरिने हुँदा मांसाहार गरिन्नथ्यो, त्यसको कल्पना पनि हुन्नथ्यो । यहाँ मांसाहारको विरोध गर्न खोजिएको हैन, र यो आलेखको उद्देश्य पनि त्यो हैन । तर यो पुनीत पर्वमा नै मांसाहार र मद्यपान गर्ने प्रचलन नगरे कति वेश हुँदोहो भन्ने मनसाय मात्र हो । पर्व भनेको तोकिएको तिथिमा प्रचलित मान्यता अनुरुप मनाउदा नै त्यसको गरिमा रहन्छ र परिवार, समाज  र अन्ततोगत्वा देशलाई नै सुपाच्य र सह्य हुन्छ ।

 

 

अहिले त दुई महिना अगाडिदेखि नै दर खाने होड सुरु हुन्छ । सहकारी संस्था, बैंक, सार्वजनिक प्रतिष्ठान र सरकारी अड्डामा समेत अफिस समयमै तीजको दर चल्छ, त्यो पनि लगभग पालै पालो दिनदिनै । कहाँ आमा, दिदीबहिनी र संगीहरुसंग वेदना बाँडेर दुखलाई उल्लासमा रुपान्तरण गर्ने संस्कृति कहाँ कैयौं दिनसम्म करिव दिनदिनै खाइने भोज, नाचिने नाच र गाइने गीत । कहाँ भगवान शिव, ममतामयी आमा, निस्वार्थी र मेहनती बाबा, साना कलिला स्नेही भाइ, प्राणभन्दा प्यारो जन्मभूमि र प्रिय सखीबारेका गीत कहाँ पोइल जाने तीज गीत । कहाँ साधारण र सादगीपूर्ण प्राकृतिक तीजका लुगा कहाँ पोते तल झुन्डिएका र डण्डी काँधमा राखिएका आडम्बरी  तिलहरी ! धन्न केही सुसंस्कृत स्कूले नानीहरुले राम्रा राम्रा र ज्ञानवर्धक गीत र शालीन नाच देखाएर कालो बादलमा चाँदीको घेरा देखाएको पाइएको छ । धन्न केही संस्कृतिप्रेमी र समाजरक्षाका हिमायती नारीहरुले यो क्रियाकलापको मधुरो भए पनि विरोध गर्दै छन् ।

 

 

कसै कसैले तीजलाई नारीमाथि शोषणको पर्वको रुपमा पनि लिएको पाइन्छ । बरु यो तर्कमा तुक छ, र तीजको कडा ब्रत र पूजा नगर्न पनि सकिन्छ । यो व्यक्तिगत स्वतन्त्राको कुरा हो । वास्तवमा तीजको ब्रत बस्दा श्रीमती मात्र हैन एक अर्काको आरोग्य र सुस्वास्थ्यको कामना गर्दै पतिपत्नी दुवै जना ब्रत बस्नु उत्तम हुन्छ । तीजको संस्कृतिप्रति पूरा विमति र अस्वीकृति जनाउने तर त्यही तीजको नाममा होडवाजी गर्दै दैनिक काम कर्तव्यलाई थाति राखेर अनेक पल्ट भोज भतेर गर्ने कथित शहरिया प्रवृत्ति त्याग्नु नै श्रेयष्कर हो । यसलाई सम्यक, अनुशासित सादगीपूर्ण, आडम्बररहित र सुसभ्य बनाउनु आवश्यक छ । यसमा सार्वजनिक जिम्मेवारीमा बसेका दिदीबहिनीहरु, सामाजिक अभियन्ताहरु र नारी अधिकारवादीहरुको ध्यान जानु आवश्यक छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Comments