MENU
         हजुरआमाको भाइटीका
 : 851 views
-भागवत खनाल   Nov 03, 2018

हजुर आमाको जन्म हुँदा नेपालमा जंगबहादुरको शासन थियो, विवाह हुँदा रनिद्दिप सिंहको ।  उहाँको जीवनकालमा चार जना राजा भए भने सोह्रजना प्रधानमन्त्री ।

 

 

 -भागवत खनाल

 

म सात आठ वर्षको थिएँ, हजुरआमाको उमेर चौरानाव्वे वर्ष।  हजुरआमा कानै नजिक मुख राखेर जोडले भन्यो भने आधा कुरा सुन्नुहुन्थ्यो, त्यो पनि भन्न खोजेको कुरा अर्कै, हजुरआमाले बुझ्ने अर्कै ।  आँखाले देख्ने क्षमता अत्यन्त कम, जे देख्नुहुन्थ्यो धमिलो र अपुष्ट मात्र ! आफू को हो भनेर चिनाउन कानमा म फलाना भनेर चिच्याउनु पर्ने ।   लक्ष्मीपूजाको दिन थियो ।   शरदको अन्त र हेमन्तको आगमनको बेला, विहानको चिसोले हजुरआमाको जीर्ण कायामा हमला गर्ने नै भयो ।  हजुरआमाले विहानभरि खोक्नु भयो ।  जाडो ऋतुभरिका सवै विहानीहरु उहाँका लागि साह्रै कठोर र निष्ठुर भएर आउंथे ।

 

 

दर्दनाक खोकीसंगै हजुरआमा आफूलाई कालले पनि बिर्स्यो भन्दै गुनासो गरिरहनु हुन्थ्यो ।  तर, जव अलिकता घाम लागी शीत ओभाएर वातावरण न्यानो हुँदै जान्थ्यो उहाँ विस्तारै सारा दुख विर्सेर आफू एकशय आठ वर्ष नपुगी नमर्ने कुरा गर्नुहुन्थ्यो ।  दिनको बाह्र बजेको हल्का रापिलो घाम आधा पिढीसम्म पुगेको थियो ।  हजुरआमा न्यानो घामको आनन्द लिंदै भित्तामा ठड्याएको तकियामा अडेस लाएर बसिरहनु भएको थियो ।  उहाँ बेहोसीमै सकिनसकी लौरो टेकेर हिड्ने र लडेर घाइते हुने डर हुँदा निगरानीको लागि कोही न कोही नजिकैमा रहनु पर्दथ्यो ।  त्यो दिन हजुरआमाको सेरोफेरोमा रहेर चौकीदारी गर्ने काम मेरो भागमा परेको थियो ।

 

 

बूढाबूढी र केटाकेटी भएका घर रमाइला हुन्छन ।  बूढाबूढी भएका घरमा धेरै छिमेकी र कुटुम्ब आवत जावत गर्दछन ।  सम्पर्क धेरै हुन्छ, घर परिवार चलायमान र आतिथ्यप्रेमी हुन्छन ।  बूढाबूढी भएको घरमा लक्ष्मीले वास गर्छिन भन्ने विश्वास गरिन्छ ।  बूढा बाबुआमालाई पालनपोषण गर्ने छोरा वुहारीको इज्जत पनि उच्च हुन्छ, समाजमा ।  धेरै समयसम्म बाबुआमाको स्नेह पाउनु पनि अहोभाग्य हो, यस्तो मौका थोरैले मात्र पाउँछन् ।  तर, बूढाबूढी भएको घर  गृहस्थी चलाउन सहज छैन ।  वृद्धवृद्धालाई अरु सामान्य मानिसलाई जस्तो साधारण खाना खुआउन मिल्दैन ।  पोसिलो र ताजा खाना खुवाउनु पर्ने हुन्छ, पटकपटक खुवाउनु पर्दछ ।  वृद्धवृद्धाहरु बालक जस्तै जिद्धी हुन्छन  रुन्छन, झगडा गर्दछन, हल्ला गर्दछन र आउने जानेसंग छोरा बुहारीले हेला गरेको आरोप लाउन पनि बेर लाउँदैनन् ।  जसरी बालकले आफ्नो आमालाई अन्जानमा निर्दोष रुपमा सताउँछ, त्यसैगरी वृद्धवृद्धा पनि निर्दोष र निष्कलंक हुन्छन ।  उनीहरु कलुषित हुँदैन, तर के बोल्ने र के नबोल्ने होस् हुँदैन ।  वृद्धवृद्धा भएको घर ज्यादा खर्चिलो पनि हुन्छ ।  वृद्ध बाआमा र बाजे बज्यै पाल्न र उनीहरुलाई खुसी राख्न कति कठिन छ, भोगेकालाई मात्र थाहा हुन्छ ।

 

 

हजुरआमा घामले रनक्क तातिसक्नु भएको थियो ।  उहाँले मलाई नजिकै बोलाउनु भयो ।  हजुर आमा मिस्री, गुण, छोहारा र नरियल लुकाएर राख्नुहुन्थ्यो पटुकामा बेरेर ।  केही काम अह्राउनु पर्ने भयो वा सोध्नु पर्ने भयो भने नजिकै बोलाउनु हुन्थ्यो ।  उहाँले बोलाएपछि हात लामो पारेर पसार्दै नजिक जाने र केही नपाउंदासम्म हात थापिरहने बानी थियो, मेरो ।  हजुरआमालाई राम्ररी थाहा थियो उहाँका असंख्य नातिनातिनामध्ये सवैभन्दा माया गर्न, भनेको कुरा मान्ने, तर खानेकुराको सवैभन्दा लोभ गर्ने पनि मै हुँ भनेर ।  म हात पसार्दैसंगै गएर बसें ।

 

 

उहाँले सोध्नु भयो, तेरो बा खै ? मेरो बा हजुरआमाको कान्छो छोरा हुनुहुन्थ्यो ।  बाहरु छुट्टिने बखत कान्छोसित बस्छु भनेर हजुरआमाले बालाई रोज्नु भएछ ।  बाले जहाँ जानु परे पनि आफू जानुपर्ने ठाउँ र कामको बारेमा भनेर उहाँको निकटमा रहनेगरी एकजनालाई भर्ना गरेर मात्र जानुहुन्थ्यो ।  तर, बा हिंडेको केही बेरमै हजुरआमाले सवै कुरा बिर्सनुहुन्थ्यो र कान्छो खै भनेर खोज्न थाल्नुहुन्थ्यो ।  उहाँलाई पुराना कुरा सवै अक्षरस: सम्झना थियो, तर वर्तमानका कुरा एक दुइ मिनेटमै बिर्सने ।  हजुरआमाले मलाई एउटा छोहारा दिंदै भन्नु भयो, भागोत, आजको दिन शुभ छ ।  ऊ हेर् केराको हरियो पातैमाथि वसेर कौवा कराउंदै छ ।  हजुरआमाले भन्नुभयो “सुवोल सुवोल सुवोल” ! काग उडेर गयो ।

 

 

यस्तैमा घरको तगारोनेर एकजना अत्यन्तै वृद्ध व्यक्ति आएर उभिए ।  उनी तगाराको खाँबो समातेर स्वाँ स्वाँ गर्दै थिए ।  सिलाएको सेतो टोपी, सेतै भोटो र कछाडमा बेरिएका वृद्धले काँधमा सानो कुटुरो बोकेका थिए ।  स्वाँ स्वाँ केही कम भएपछि उनी विस्तारै घरतिर पाइला सार्न थाले ।  ठ्याक ठ्याक लौरो सार्दै र त्यसैको पछिपछि पाइला चाल्दै थिए वृद्ध ।  करिव दश बाह्र पाइला सारेपछि उनी फेरी स्वाँ स्वाँ गर्न थाले र पिढीको पल्लो छेउँमा ढिकीको बगलमै गोडा तल झुन्डाएर बसे ।  बस्दाबस्दै उनलाई खोकी लाग्न थाल्यो ।  खोक्दा खोक्दा उनको अनुहार रातो भयो, नाकबाट सिंगान बग्न थाल्यो ।

 

 

अलि बोल्न मिल्ने भएपछि उनले आफैलाई भने “यस्तो हुँदा पनि नमर्ने तँ अभागी ! अझै के के भोग्न बाँकी छ र जिउँदो छस ?” मलाई कताकता डर लाग्यो ।  मैले हजुरआमाको कानैमा मुख लगेर भनें “एउटा बूढो आछ” ।  यत्तिकैमा ती वृद्ध फेरि उठे, विस्तारै ठ्याक ठ्याक लौरो टेक्दै अघि बढ्दै आए, खाँबो समातेर पिढीमा चढे र हजुरआमाको नजिकै गएर बसे ।  हजुरआमाले भन्नुभयो हेर हेर भागोत को आएको यो ? वृद्धले मलाई हेरे , मैले पनि उनलाई हेरें ।  एक हप्तादेखि नकाटेको पातलो पातलो सेतो दारी जुँघा, रातो वर्णको अनुहार, फुङ्ग सुन्निएका हातखुट्टा ! देख्दै दयालाग्दो अवस्था ।  उनी दन्तविहीन राता गिंजा देखाउदै मुसुक्क हाँसे, दूधे दाँतसमेत नउम्रेको बालकको जस्तो हाँसो ! अलि अगाडि कताकता डराएको मेरो मनमा उनीप्रति डरभन्दा पनि टिठ लागेर आयो ।  उनको निर्दोष र शालीन हेराइमा मैले नवजात शिशुको जस्तो निश्छलता देखें ।

 

 

हजुरआमा कराइरहनु भएको थियो, यो को हो ? ए भागोत को हो यो मेरो छेउमा साख्खै भएर बस्ने ? किन बोल्दैन यो ? अनि यत्तिकैमा बूढाले मेरी दिदै भन्दै हजुरआमाको खुट्टामा ढोगे ।  हजुरआमाले वृद्धको टाउको छाम्नु भयो, निधार छाम्नु भयो, हात समाउनु भयो र भन्नुभयो तँ कान्छो त हैनस ? वृद्धले फेरी हजुरआमाको कानैमा भने “मेरी दिदै” ! हजुरआमाले वृद्धको गाला चिमोट्नु भयो, उनका हात, खुट्टा, निधार, कान, शिर, कांध सवै ठाउँमा हातले स्पर्श गर्दै हवाँ हवाँ गर्दै रुन थाल्नुभयो ।  कान्छा मेरो भाइ ! हे भगवान यो सपना त हैन ? आज लक्ष्मीपूजा, पर्सी टीका छ, हे धर्मराज, हे यमराज, हे यमुना रानी मेरो भाइको रख्य गर, मेरो भाइको टाउको पनि नदुखोस !

 

 

यता वृद्ध मेरी दिदै, हे मेरी दिदै तिमीलाई देख्न पाउँछु भन्ने आशा थिएन, खस्यौली नपुग्दै बाटैमा मर्छु जस्तो लागेको थियो, हे भगवान, हे धर्मराज ! तिमीलाई कोटी कोटी नमस्कार भन्दै रुँदै थिए ।  दिदी भाइको त्यो हृदयश्पर्शी, निर्दोष, निस्छल र निस्वार्थ माया देख्ने मबाहेक कोही थिएन त्यहाँ ।  चौरानव्वे वर्षकी दिदी र अठासी वर्षको भाइवीच भाइटीकाको पूर्वसन्ध्यामा त्यो मिलन, त्यो बालसुलभ रोदन, त्यो माया, निस्काम लगाव र स्नेहमा रापिएर झरेका आँशु, आहा ! सम्झंदा अहिले पनि मेरो हृदय द्रवित हुन्छ र लाग्छ, त्यो अपूर्व दृश्य देख्न पाउनु मेरो अहोभाग्य थियो, किनकि यस्ता घटना दुर्लभ हुन्छन ।

 

 

हजुरआमाले मलाई भन्नुभयो, तेरी आमा कहाँ गई ? कान्छो भोकायो ।  आमा त तत्काल घरमा हुनुहुन्थेन तर मेरी विवाहित दिदी भाइटीकाको अवसर पारेर आउनुभएको थियो ।  मैले सान्दिदी सान्दिदी भनेर बोलाएँ, उहाँ आउनुभयो ।  हजुरआमाले भन्नुभयो “सान्नानी हेर् कान्छो भोकायो, सानो कसौंडीमा भात पकाइदे ।  कान्छाले केराको तिहुन असाध्यै रुचाउँछ ।  ऊ त्यो केराको घरीबाट दुईटा कोसा टिपेर रसिलो तिहुन पकाइदे ।  भात गिलो बनाइदिनु, यसलाई गल लाग्छ ।  एक थुर्मी घिउ दिन नबिर्सेस ।  मनतातो पानी दिनु, फेरि ठण्डी लाग्ला यसलाई ।  सानैदेखि रुघा खोकी लागेर सोंखोर सोंखर गर्ने बानी थियो यसको ।”

 

 

एकछिन सुस्ताएपछि हजुरआमाले सोध्नुभयो “रुप्सेबाट कहिले हिडिस कान्छा ? के पाहुर ल्याएको छस  ?”  मामा हजुरबाले भन्नुभयो, “द्वादशीको दिन सवेरै भात खाएर हिडेको, आज चारदिन भयो । ” रुप्सेबाट खस्यौली पुग्न छरितो र स्वस्थ मानिसलाई सामान्यतः चार घण्टा लाग्थ्यो ।  अहिले त मोटरबाटाले पुराना पैदल बाटा खाइसक्यो ।  कसैले हिड्छु भने पनि बाटो पाइन्न ।  उस बखत नेपालमा त्रिभुवन राजपथ चालू थियो, सुनौली पोखरा सडक करिव पूरा हुँदै थियो ।  पहाडमा अन्यत्र कतै पनि मोटर बाटो थिएन ।  मेरो गाउँ खस्यौली तानसेन श्रीनगरबाट पश्चिम करिव आठ किलोमिटर पर पर्दछ ।  तानसेनबाट दक्षिणपूर्वमा माडीफाँट सकिनेवित्तिकै रुप्से पुगिन्छ ।  अठासी वर्षको उमेर पुगेका कमजोर र दमका दीर्घरोगी वृद्धलाई चार घन्टाको बाटो पार गर्न पूरा चार दिन लाग्नु स्वाभाविकै थियो ।

 

 

उहाँले हजुरआमाको कानैमा भन्नुभयो “द्वादशीको दिन लालपाटी, तिरदशीको दिन बर्तुंग, चतुर्दशीको दिन हटिया भैरवस्थान वास बसेर आज औंशीको दिन बल्लतल्ल आइयो दिदै” ।  भाइको कुरा सुनेपछि हजुरआमाले भन्नुभयो “हेर कान्छा यो सवै दोष हाम्रा बाको हो ।  मलाई बाले यति टाढा नदिएको भए आज तँलाई यतिका दुख हुने थिएन ।  नजिकै फाँट वरीपरी दिएको भए बाको के जान्थ्यो ? यति टाढा आटो खाने गाउँमा के देखेर दिनुभयो कुन्नी । ” यत्तिकैमा हजुरबाले आफ्नो कुटुरो फुकाउन थाल्नु भयो ।  निकै सास्तीपछि मात्र गाँठा नै गाँठा परेको कुटुरो फुकाउन सफल हुनुभयो उहाँ ।  कुटुरोमा एउटा भोटो, एउटा कछाड, एउटा लंगौटी र ती सवैभन्दा पनि भित्र एउटा कागजमा बेरेको एक चाका गुण रहेछ ।  हजुरबाले त्यो गुण हजुरआमाको हातमा राखिदिंदै भन्नुभयो “दिदै ! यही हो तिमीलाई पाहुर ।  माघे संक्रान्तीमा मरमराका अधिकारी रिडी नुहाउन गएका रहेछन, त्यहींबाट दुई चाका गुण ल्याइदिएका थिए ।  एउटा मैले खाएँ, यो चाहीं बडो जतनले जोगाएर तिम्रो लागि राखिदिएको थिएँ ।  गुण भनेपछि हुरुक्क हुन्थ्यौ नि ! खाऊ ।”

 

 

करिव दुईबजे खाना तयार भयो ।  मैले हजुरबालाई डोर्याएर भान्सासम्म लगें ।  हजुरबा पिर्कामा बस्नु भयो ।  उहाँले भातको थाल, केराको तरकारीको कचौरा र घिउ राखेको रिकापी उचालेर पालैपालो नजिकैबाट हेर्नुभयो ।  रिकापीको घिउतर्फ इसारा गर्दै सान्दिदीलाई हेरेर भन्नुभयो “के देको यति ?” हजुरबाले घिउ बहिस्कार गर्नुभयो ।  उहाँ खाना खाइवरी चुठेर कछाडको फेरोले हातमुख पुछ्दै हजुरआमाको छेउँमा बस्नुभयो ।  हजुरआमाले सोध्नुभयो “राम्रोसंग खाइस कान्छा ?” हजुरबाको जवाफ थियो  “भात तिहुन त राम्रै पकाकी, घिउ भने यत्ति पित्को रहेछ, खान मन लागेन, न हात चिल्लो, न मुखै चिल्लो ।” एक्कैछिनपछि हजुरबाले मलाई इसाराले बोलाउनुभयो र भन्नुभयो “ए नानी त्यो अघि मलाई टक्र्याएको घिउ छ नि, ल्याउ त हातमा दल्नुपर्यो ।” मैले चुपछाप रिकापी नै ल्याएर हजुरबाको हातमा राखिदिएँ ।  उहाँले यताउता हेर्नुभयो र त्यो घिउको डल्लो क्वाप्प खानुभयो ।  हजुरबालाई घिउ नखाएकोमा पछुतो लागेको रहेछ ।

 

 

 

 

साँझ सवैजना जम्मा भएपछि भित्र अँगेनामा आगो बालियो ।  हजुरआमा, मामा हजुरबा, बा, आमा र सवै भाइबहिना जम्मा भइसकेका थिए ।  बाले आँगनमा गाडिएको सालको अग्लो लिंगोको टुप्पामा कार्तिक महिनाभरि बाल्ने गरिएको आकाशदीप सल्काउनु भयो ।  दिदी दाइहरुले पाला र खोरीमा सजाइएका बत्तीहरु आँगनको पर्खाल, पेटी, गाईको अगाडि र माथि अटालीमा पनि बालेर औंशीको साँझलाई उज्ज्वल बनाए ।  आज हजुरआमाको फूर्ति बेग्लै थियो ।  सवैजना अँगेनाको वरिपरी बसेपछि उहाँले भन्नुभयो “असमको तिहार पोहोर परारको जस्तो हैन , यो मेरो कान्छो भाइ आएको तिहार हो ।

 

 

आज रातभरि र भोलि दिनभरि रोटा पकाउनु ।  कान्छो फिनी र अनर्सा भनेपछि हुरुक्कै हुन्छ ।  मेरो भाइलाई फर्सीको बियाँको फुराएको घाँजी पनि अति मन पर्छ ।  चिउरीको पातको ठूलो टपरीमा रोटी टक्र्याउने हो ।  कान्छालाई सक्कली ढाकाको टोपी पहिराउनु पर्छ ।  भोलि मैले पान सुपारी दिएर कान्छालाई निम्तो गर्नु पर्छ ।” हजुरआमाले यतिका कुरा गरिरहँदा उहाँका कान्छा भाइ भने न्यानो वातावरण पाएर  चार दिनको हिंडाइको थकाइ मेटाउँदै हुनुहुन्थ्यो ।  उहाँले प्यारी दिदैका ममतामय वाणिहरु सुनिरहनु भएको थिएन ।  दुईटा घुंडाभित्रसम्म टाउको घुसाएर लामो मामो सास फेर्दै घुरिरहनु भएको थियो ।

 

 

नारीहरु माइतीलाई देखेपछि कति फुरुङ्ग हुन्छन भन्ने मेरो बालाई राम्रो ज्ञान थियो ।  बालाई हजुरआमाका मागहरु सुन्दा रमाइलो लागेछ, बाले भन्नु भयो “अरु के के गर्नुपर्छ आँबै कान्छो मामको लागि ?” अव त हजुरआमा झन् खुसी हुनुभयो र भन्न थाल्नुभयो “तेरो बाले भनेका कुरा आज म भन्छु सुन् ।  जेमराज भैंसीमा चढेर हिड्छन गरे, कालका देउता हुन, न्याय अन्याय, धर्म अधर्म, पुण्य पाप सवैको हिसाव राख्छन ।  उनकी बहिनी जमुना हुन ।  जेमराज यो चराचर जगतको पाप पुण्यको हिसाव राख्ने र न्याय अन्याय छुट्याउने देउता भएर के गर्नु नि ! जेमराजलाई कसैले पनि बोलाउन्नन, जेमराजसंग भेट हुन्छ कि भनेर भागाभाग गर्छन ।

 

 

सवै देउता, मन्छे र असूरहरु आपसमा भेटघाट गर्ने, भलाकुसारी गर्ने, तर बरा जेमराजलाई कसैले पनि नडाक्ने ।  धन्न बहिनी जमुनाले बोलाएर जेमराजलाई पूजा गरिछन, टीका लाइदिइछन् र खूव मीठा मीठा कुरा खान दिइछन् ।  कहिल्यै कसैको घरमा पाहुना हुन नपाएका जेमराज खुसी भएर बहिनीलाई बरदान माग भनेछन ।  बहिनीले भनिछन तिहारको पन्चकको समयमा कोही भाइबहिना नमरुन ।” हजुरआमाका कुरा सुनेर बाले विस्तारै भन्नुभयो, “सत्य जुगका कुरा जम्मै सम्झने, अहिले भरखरका कुरा सवै बिर्सने ।” बाको कुरा हजुरआमाले बुझ्नुभएन, तर बुझेजस्तो गरी भन्नुभयो, “भो भो धेरै खर्च हुने भयो भनेर नकरा, मेरै खसमको सम्पत्ति हो ।”

 

हजुरआमाका सवै माग पूरा भए ।  उहाँले भव्य तरिकाले भाइटिका मनाउनुभयो ।  टीकाको दिन बिहानै घाम लागेको हुँदा खोकी पनि उस्तो लागेन ।  बाले हजुरबाको दारी र हातखुट्टाका नङ काटिदिनु भयो, तातोपानीले नुहाइदिनु भयो ।  हजुरआमाले भाइलाई तेल लाइदिनु भयो, सान्दिदीको सहारामा लामो निधारभरिको सप्तरंगी टीका लाइदिनु भयो ।  ठूलो टपरीभरि सेल, अर्सा, अनर्सा, झर, फिनी, पपरा र झिनिया  रोटी, ओखर र फर्सीको बियाँको घाँजी उपहार दिनुभयो ।  सक्कली ढाकाको टोपी पहिराउनु भयो ।  यी सवै सत्कार र माया पाएर हजुरबा अत्यन्त मक्ख हुनुभयो ।  उहांको अनुहारमा म पनि केही हुँ, मेरा पनि कोही छन्, अझै पनि मेरो महत्व छ भन्ने भाव प्रकट भइरहेको देखिन्थ्यो ।  हजुरआमाको त झन् के कुरा चाउरी परेको अनुहारमा त्यो टिन जुन आभा देखियो, त्यसपछिका तिहारमा देख्न पाइएन, किनकि त्यसपछि दिदीभाइको भेट भएन ।

 

 

टीकाको सवै काम सकिएर खानपिन गरेपछि हजुरआमाले बासङ्ग थप माग गर्दै भन्नुभयो “हेर् कान्छा, माइती देशमा मेरो ठूलो नाम छ ।  ऐले पो जान नसकेको धेरैदिन भयो, जुन बेला म आवतजावत गर्थें, खस्यौलीको दिदी भनेपछि कत्रो मनिता गर्थे ।  खस्यौलीको पाहुर पो पाहुर भन्दै कति बखान हुन्थ्यो ।  तिमीहरुलाई कत्रो मान थियो रुप्सेमा ।  खस्यौलीका भान्जाभान्जी इजेतदार घरका हुन, हेर है बितल पर्ला भन्दै तेरो यही मामाले कति खातिर गर्थ्यो ।  ऐले पो बरा त्यत्रो सम्पत्ति भएर पनि अर्काले अडकलेर देको खान र लाउनु परेको छ यसलाई ।  दिदै दुख पाइयो, काल आएन भन्दै रुन्छ, घरको राजा भएर पनि असक्य भएपछी रैतीजस्तो हुनुपर्दोरहेछ दिदै भन्छ ।  मेरो भाइलाई इजेत बढ्नेगरी रुप्से पठाउनु पर्छ ।  तिहारका रोटा, तामा, कागती, कुराउनी, चुक, खुदो सवै मिलाएर कुरुप्प भारी पुर्याएर भरिया लाएर पठा ।” हजुरआमाको यो माग पनि पूरा भयो ।  मामा हजुरबा सक्कली ढाकाको टोपी पहिरेर भरियापछि लाएर सानदार तरिकाले घर फर्कनु भयो ।

 

हजुर आमाको जन्म हुँदा नेपालमा जंगबहादुरको शासन थियो, विवाह हुँदा रनिद्दिप सिंहको ।  उहाँको जीवनकालमा चार जना राजा भए भने सोह्रजना प्रधानमन्त्री ।

 

 

 

 

 

 

 

 

 

 

Comments

NIC Asia