MENU
लेते खोला र त्यो ‘ईङलिस बाइबल’
 : 302 views
सरोज पोखरेल   Nov 03, 2018

दुई सुकिला मनुवा ‘ईङलिस इम्प्रुभ’ गर्ने भनेर छोडेर गएका कितावमा आँखा गयो । त्यो किताव बाइबल रहेछ, गतिलो खाले प्लाष्टिकको ‘ट्रान्सपेरेन्ट’ कभर भएको । मेरो मनमा एकैसाथ धेरै प्रश्न उब्जिए र सेलाए । सोझै धर्मको किताव नभनेर ‘ईङलिस इम्प्रुभ’ गर्ने किताव भनेको होला ?

 

 

मुस्ताङ यात्रामा मसँग खास भिन्न अनुभूति सायदै केही थिए जो बिषयमा केहि लेख्ने जाँगर चलोस् अनि पाठकको रुची र ध्यान र तानोस् । तर, ३० वर्षदेखि मनमा गडेको ‘लेते खोला’सँगै अर्को एक विषय पनि थपियो, मुक्तिनाथ पुग्दा । र, केहि लेख्ने निधो गरें । यी दुई कुरा नभएको भए मलाई मुस्ताङ यात्राबारे लेख्ने जाँगर चल्ने थिएन । भूपि शेरचनको ‘लेते खोला’ र त्यो टेवलमा देखिएको ‘ईङलिस बाइबल’ !

 

 

शुरूवात लेते खोलाको प्रसंगबाट नै गरौं ।

र, मलाई अनायास याद आइरहेछ आफ्नो गाउँको

जहाँ एउटा खोला छ —‘लेते खोला’

तिमीजस्तै शान्त र दुब्लो

तर, जब त्यो सानो खोलामा बाढी आउँछ

वरिपरिका ठूल्ठूला चट्टानहरुको पनि पाइला डग्मगाउँछ

र बाढी थामिएपछि

त्यसलाई छेक्न खोजेका घमण्डी पहराहरुले

आफुलाई भत्केको, भास्सिएको र चोइटिएको पाउँछन् ।

 

 

माथि यिनै हरफहरू नै मेरो मस्तिष्कमा थिए, जब म गत हप्ता लेते पुगें । हाम्रो युगलाई आफ्ना शक्तिशाली कविताबाट सर्वाधिक प्रभावित गरेका भूपि शेरचनको होचि मिन्हलाई चिठ्ठी भन्ने कवितांश हो, यो ।

 

 

करिव ३० वर्ष पहिले, पहिलो पटक पढेको ‘घुम्ने मेचमाथी अन्धो मान्छे’ भन्ने किताव भित्र यो कविता पनि थियो । यो पुस्तकका धेरै जसो कविता मलाई त्यति वेलै कण्ठस्थ थिए र आज पनि धेरै कविता मेरो स्मरणमा ताजा छन् ।

 

 

मेरो किशोर मनलाई त्यति खेरदेखि नै लेते खोलाको विंम्बले कौतुहलता उत्पन्न गरेको थियो । जब लेते पुगें, आँखाले लेते खोला खोज्न थाल्यो, त्यही भूपिको लेते खोला ।

 

 

त्यसो त केही पहिल्यै मुस्ताङ यात्रा गरिसकेका साथीभाई र ‘ट्रिप एडभाइजरका’ सूचनाहरू मलाई खासै काम नलागेको महसुस भएको थियो । त्यसैले तल्लो मुस्ताङको यात्राबारे केही जानकारी दिंदा यात्राको लागि मन बनाई रहेका पाठकका लागि केही उपयोगी हुन्थ्यो होला ।

 

 

यसै त हामी कहाँ कम खर्चमा राम्रो यात्राको ‘ट्रिप एडभाइजरीको’ पनि अभाव छ । उदाउँदो मध्यम बर्गको देशमा जहाँ आन्तरिक यात्रा ह्वात्तै बढिरहेकोछ, यस्ता सूचना खोजिन्छन् र पढिन्छन् पनि । यो यात्रासँग सम्बन्धित, तर फरक आलेखमा यसबारे पनि केही उल्लेख हुनुपर्छ भन्ने चेत पनि लेख्न बस्दा पलाएको छ । म यत्ति भन्न सक्छु, यहाँ उल्लेखित केही न केही कुराहरू उपयोगी हुने छन्, त्यसतर्फ यात्रा गर्ने सोंच बनाएकाहरूका लागि ।

 

 

अरू कुरा लेख्नभन्दा पहिला लेते कै थप कुरा गर्न मलाई प्रिय लागि रहेको छ । भूपि मुस्ताङमा जन्मिएका हुन् भन्ने मलाई उनको कविता पढेको १० वर्षपछि मात्र थाहा भएको हो । र, लेते खोला त्यहीँकै बिम्ब हो भन्ने पनि धेरैपछि चाल पाएको हुँ ।

 

 

हिमालको काखमा थुपुक्क बसेको लेते गाउँ साँच्चै मनमोहक छ । अलिपर कालिगण्डकीको कलकल, नजिकैका झरना अनि घना र हरियो जंगल यहाँवाहेक लेतेदेखि उत्तरको मुस्ताङतिर खासै देख्न पाइदैन । लेते छोडर उत्तरतिर उक्ले पछि त हिँउले चपाएर अलपत्र छोडेका नाङ्गा पहाडहरू मै मजा लिनुपर्ने हुन्छ । पानीको कलकल जताततै भेटिए पनि आँखा अडिने हरियाली देखिंदैन । डाँडामाथीका चुचुरामा फलेको हिँउ हेरेपछि मात्र आँखाले केही सन्तोष मान्छ ।

 

 

तर, लेते भने त्यस्तो निरस छैन । प्रकृतिले लेतेको काखलाई हरतरहले सिंगारेको छ । अचेल थुप्रै होटलहरू पनि बनेका रहेछन, लेते गाउँमा । घुम्न जानेले समय विताउँनु पर्ने ठाउँ हो, यो । तर, आफूलाई एक रात पनि बस्ने मेसो मिलेन त्यहाँ, त्यस्तै पर्यो । मनमा अतृप्त प्यास बाँकी रहेकै छ, खै कहिले मेटिने हो यो प्यास !

 

 

लेते गाउँ पुग्दा प्रकृतिको कालिगढीले त तान्ने नै भयो, तर मेरा आँखाले ‘लेते खोला’ खोजिरहे । वरपर खोल्साहरू देखिए, तिनै खोल्साहरूलाई मैले ‘लेते खोला’ ठानें । भूपि अन्तरध्यान भएको दशकौं भइसकेको वेला कसलाई सोध्नु ? कसैलाई सोध्न मन लागेन । खोल्सो त जसले पनि देखाइदेला, तर त्यो बिंम्व सम्झाउन सक्ने कसले ? त्यसैले, आफ्नै मनले सोध्यो र आफै मनले जवाफ दियो, बस् ।

 

 

लेते पुगेको अघिल्लो रात बास बस्न काठमाडौंदेखि म्याग्दीको बेनी पुगेका थियौ, हामी । सायद यात्राका लागि यो सही निर्णय थियो, जसले गर्दा अर्को दिनको जोमसोमतर्फको यात्रा त्यति बोझिलो नबनोस् ।

 

 

तर, बेनी बजारमा बस्ने होटल खोज्न नै करीब २ घण्टा लाग्यो । ‘बेनीको बजार, जता माया उतै छ नजर’ भन्ने गीत गुन्गुनाउँदै बास खोज्न दर्जनौं होटल चाँहारियो । अन्तमा जसोतसो बास पाइँदा रातको साढे नौं बजिसकेको थियो ।

 

 

मुक्तिनाथका लागि यात्रुहरूको घुइँचो सँधैको भन्दा अलि बढि नै थियो सायद । र, त बेनीको मायाको अंगालोमा अटाइरहेका थिएनन, मानिसहरू !

 

 

बेनीबाट विहानीको मिठासपूर्ण किरणसँगै बसमा चढ्दा पनि एक प्रकारको द्वीविधा थियो, मनमा । बसमा जाने की जीपमा जाने भन्ने । अलि खल्ति मोटो भएका र हतारहतार फर्कन चाहने यात्रुहरू जीपतिर लागे । विन्दास यात्रा रोज्नेहरू बसतिर ।

 

 

आफ्नो रोजाई बस नै थियो, त्यो पनि आम मान्छेहरूको भिडमा हराउने रहर । किनभने पोखरासम्म हरियो प्लेटको बसमा यात्रा गर्दा मजा आएको थिएन । बर्ग उत्थानको गन्ध आउने मान्छे विच रहँदा अलि सकस नै हुँदो रहेछ ।

 

 

मान्छे कम र उपभोक्ता ज्यादा । आम मान्छेहरू वीच, सिटको अभाव र खोसाखोस वीच अनि त्यहाँ पाइने माया र सहयोगका वीच जुन सत्य देख्न र भोग्न पाइन्छ त्यो ’ग्रीन प्लेटको’ बसमा थिएन । कथित आराम त थियो, मजा थिएन । आराम त आफ्नै घरको कोठामा थियो, तर मजा खोज्न पो निस्किनु परेको थियो, बाहिर यात्रामा ।

 

 

दाना भन्ने ठाममा खाना खान पुग्दा दिउँसो अवेर भैसकेको थियो । ’एडभेन्चर’ यात्रामा रमाउनेहरूले त ठिकै ठान्लान, तर आम मान्छेको मुटुले ठाउँ छोड्ने खालको बाटो, त्यसमाथी पनि लामै ब्याक गरेर विपरित दिशाबाट आइरहेको गाडीलाई बाटो दिनुपर्ने । खासमा भगवान नै थिए ती बस चालकहरू ।

 

 

अँ, दानामा खाना खाएर पुगेको लेतेलाई बाइबाई गरेर अघि बढ्दा पनि आँखा र मनभरी लेते नै आइरह्यो । धवलागिरी र त्यसपछि निलगिरी हिमाललाई हेर्दै जब टुकुचेमा पाउडर दुधको चिया खाने मेसो मिल्यो अनि बल्ल केही तसल्ली भयो शरीर र मनलाई ।

 

 

निलगिरीलाई क्यामरामा कैद गर्न यात्रुहरू मोबाइल क्यामरा फर्काइरहेका थिए । त्यतिकैमा स्याउबारीको दृष्य पनि आँखामा ठोक्किन थालिसकेका थिए । मार्फा पुग्दा भूईँमा रातै खसेका स्याउ देखेर मनमा लोभ लाग्यो र मार्फा ब्राण्डीको रहस्य पनि उद्घाटन भयो । कसैले सम्झाउनै परेन, ती भूईँका स्याउहरूले नै कथा भने । ती स्याउ भूईँमा नखस्ने भए, कसरी बन्थ्यो होला र मार्फा ब्राण्डी, है !

 

 

मार्फा कटेर जोमसोम पुग्दा बेलुका भइसकेको थियो, तर जोमसोमको हावाको जोड सेलाइसकेको थिएन । हाम्रो टोलीले त्यहाँ बास नबसी मुक्तिनाथ पुग्ने निधो गर्यो । र, पछि चाल पाइयो, यो निर्णय सही निर्णय थिएन भन्नेकुरा । मुक्तिनाथ पुग्दा अँध्यारोले छोपिसकेको थियो ।

 

 

त्यहाँ पनि बास खोज्न सास्ति नै भयो । मोटर साइकल र गाडीमा गएकाले होटलका सबै कोठामा पहिले नै कब्जा जमाइसकेका थिए । होटल त थुप्रै देखिए त्यहाँ, तर खाली कोठा थिएनन् । कोठा छ हजुर भनेर सोध्दै जाँदा एकजना थकाली दाईले हाँस्दै भनि पनि हाले ‘कोठा त छ, खाली छैन’ ।

 

 

जसोतसो एकजना न्यानो मन भएकी आमैले पीँढी मै बास दिइन् । बेलुकाको खाना खाइ सकेपछि खाना खाने ठाउँमै विस्तारा लाग्यो र ज्याकेट पनि नखोली सिरक खप्याएर सुत्यौं । विहान उठ्दा धारामा पानी थिएन । अत्यधिक चिसोले पानी जमे छ । तरूनी साउनीले भनिन् “हिँजोसम्म त धारामा राम्ररी पानी झरेको थियो, आज चिसो अलि बढेछ ।”

 

 

मुक्तिनाथ मन्दिर र गुम्वा क्षेत्र घुमेर हिमाल र फुस्रा डाँडामा आँखा पसार्दै बसपार्क नजिक पुग्दा मध्यान्न हुन लागिसकेको थियो । जोमसोममा रात बस्ने सोंच भएकाले त्यति हतार पनि थिएन र चिया नास्ता गर्ने विचारले बसपार्कमाथीको रेष्टुरेण्टमा पस्यौं । त्यहाँ पनि चिया नास्ताको अडर दिने धेरै यात्रु थिए । नास्ताका लागि कुर्ने जाँगर चलेन र चियाको लाइनमा बसियो ।

 

 

त्यति बेला अर्को एउटा अजव दृष्यसँग साक्षात्कार हुने मौका मिल्यो । रेष्टुरेण्ट भित्र दुई सुकिला मान्छेहरू देखिए । एउटाले साउनीलाई साइनो लगाउँदै भन्यो, “भाउजु तपाई व्यस्त हुनुहुन्छ, हामी जाँन्छौं अहिले । नानुको ‘ईङलिस इम्प्रुभ’ हुन्छ भनेर एउटा किताव ल्याइदिएको छु, किताब टेबलमा छ, पढ्न भन्नु होला है ।”

 

 

ती सुकिला दुई मनुवा बाहिरिएपछि उनले छाडेर गएको ‘ईङलिस इम्प्रुभ’ गर्ने कितावमा आँखा गयो । त्यो बाइबल रहेछ, गतिलो खाले प्लाष्टिकको ‘ट्रान्सपेरेन्ट’ कभर भएको । मेरो मनमा एकसाथ धेरै प्रश्न उब्जिए र सेलाए । सोझै धर्मको किताव किन नभनेको होला ?

 

 

ती भाउजुलाई हेरे, निधारमा रातो टिका थियो । त्यसो त टिका बाइबल मान्नेले पनि लगाउँन पाउँछन । गीता मान्नेहरूको विर्ता त निश्चित नै होइन रातो टिका ! तर पनि ‘ईङलिस इम्प्रुभ’ गर्ने किताव भनेर त्यो घरमा छिरेको ‘ईङलिस बाइबलमा’ धर्मान्तरण गर्ने नियतको गन्ध मेरो नाकले सुघ्यो र अनायास नाक खुम्चियो ।

 

 

मेरा लागि कृष्ण र क्राइष्ट उस्तै लाग्छन् । बुद्ध अलि हृदयको नजिक भएझैं लाग्छन् मलाई । खासमा म ‘रिलिजियस’ मान्छे होइन । पृथ्वीमा पाइला टेकेका ती महामानवहरूले समकालिन युगमा चलन चल्तिको प्रवृत्ति विरूद्ध विद्रोहको नेतृत्व गरे र युगलाई अगाडी बढाए ।

 

 

उनीहरूले जीवनमा खुब सास्ति पाए समकालिन धर्मभीरूबाट, तर अन्त्यमा युगलाई सिकाइ छाडे । पछि तिनै महामानवका अनुयायीहरूले उनको बाटोलाई कुरूप बनाए र मान्छे मान्छेवीच भेदको कृत्रिम पहाड ठड्याए । अरूलाई कमसल र आफ्नो अनुसरणलाई सही सावित गर्न के कुरा नै बाँकी राखे र ? मैले पाउडरवाला दुधको चियाको घुट्कोसँगै भर्खरैको तीतो दृष्यलाई पनि निल्ने असफल प्रयास गरें ।

 

 

व्यक्तिगत आस्था र विश्वासमाथीको धेरै खाले अतिक्रमणका भद्दा रूपहरू देखिएको थियो, यसअघि । कलिलो दिमागमा ‘ईङलिस इम्प्रुभमेण्ट’का नाममा हुने अतिक्रमण पनि देख्न पाइयो, मुक्तिनाथमा । अभिभावकको ईङलिस मोहलाई धर्मान्तरणको औजार बनाएको देख्दा मनमा सकस त लाग्यो नै, उनीहरूको यो ‘इन्नोभेसन’ देखेर चकित पनि खाएँ ।

 

 

त्यसको एक घण्टापछि जोमसोम पुग्दा, त्यहाँ घण्टौं घुम्दा, स्याउ बारीमा फोटो खिंचाउँदा र तिब्र बेगको हावासँगै झुलुङ्गे पुलमा कपाल उडाउँदासमेत त्यो टेवलमा रहेको ‘ईङलिस बाइबल’ झल्झल्ति आँखामा नाचि रह्यो । र, नाचि रह्यो ती नानीको अनुहार ।

 

 

होस, कति सिरियस कुरा मात्रै लेख्नु । अँ, तपाईँ जोमसोममा बास बस्ने भए, होमस्टेमा बस्नुस् है । हाम्रो मुस्ताङ यात्राका दौरानमा सबैभन्दा आरामदायी बसाई थियो, त्यो । हँसिलो अनुहार भएकी आमैले स्थानीय परिकार पस्केको र परिवारको हालचाल सोध्दै न्यानो आतिथ्य दिएको बसाई थियो, दाम्म्म्मी क्या !

 

 

कसम, यी दुईकुरा नभएको भए मलाई मुस्ताङ यात्राबारे लेख्ने जाँगर चल्ने थिएन, भूपिको ‘लेते खोला’ र त्यो टेवलमा देखिएको ‘ईङलिस बाइबल’ !

Comments

NIC Asia