MENU
कथा : हात बाहिरको चरा
 : 130 views
ध्रुव मधिकर्मी   Dec 01, 2018

 

यसो चल्दाचल्दै तिनीहरुको हातमा भएको चरा छुट्यो र भुर्रर उडेर गयो । रङ्गीचङ्गी प्वाँखहरु भएको त्यो चरा सानो, तर मीठो सुसेली हाल्ने र आँखा तान्ने खालको आकर्षणयुक्त थियो ।

 

सोच्दै नसोचे झैं गरी खेल्दाखेल्दै केटाकेटीहरुले एउटा चरा समातेका थिए । केटाकेटीहरु त्यति राम्रो चरा हात परेकोमा खुशीले उफ्रिरहेका थिए । ती अत्यन्त चकचके भएर चरालाई पालैपालो “खै खै म पनि हेरुँ कस्तो छ ?” भन्दै पालैपालो हातमा लिएर हेरिरहेका थिए । रमाउँदै त्यसको प्वाँख, चुच्चो, आँखा तथा अन्य अंगहरु आदि छोइछोइ हेरिरहेका थिए । ती सब पालैपालो त्यसरी चलिरहेकाले चरा बीचबीचमा छटपटाएर उम्कन बल पनि गथ्र्यो ।

 

बाटोमा हिंडिरहेका एकजना वृद्ध बटुवाले केटाकेटीहरुको यो चाला देखेर सम्झाएका पनि थिए – ए केटाकेटी हो ! धेरै चकचक नगर , हातबाट उम्केला है ।

 

यति सजिलोसित हात परेको चरा कहाँ उम्कनु ! यो त हामीसँग निकै रत्तिएको पो छ त , त्यसमध्ये एकजनाले भन्यो ।तैपनि के ठेगान , पखेटा भएको जीव । छुटेपछि त उडिहाल्छ नि , अनुभवी वृद्धले थप सम्झायो ।वृद्धको कुरा ती केटाकेटीहरु के मान्थें । मानेनन् ।

 

शायद तिनीहरुलाई चरा हातबाट उम्केला भन्ने कुरामा कुनै ज्ञान र अनुभव थिएन । तिनीहरुको लागि उड्दाउड्दैको चरा हात पर्नु आफैमा सजिलो र एउटा रमाइलो खेल जस्तै थियो ।चल्दाचल्दै र खेल्दाखेल्दै चरा तिनीहरुको हातबाट अनायास फुत्केर उडिहाल्यो ।

 

सोच्दै नसोचे झैं गरी तिनीहरुको हातबाट त्यो चरा यस्तरी सजिलोसित भुर्रर उडेर गएकोमा तिनीहरुमध्ये केही खिन्न भए । एकछिन त ती अवाक् बने । हातमा भएको पैसा कतै बाटोमा खसेर हेर्दाहेर्दै नै एकैछिनमा हराए जस्तो । कत्रो संयोग र भाग्यले समातेको त्यो चरा राम्ररी पालुँला र सजाएर राखुँला भन्ने थियो । तर, अब खिन्न भएर के गर्ने ! उड्नु उडिहाल्यो । गुँड नबनाएको चरा फर्केर के आउँथ्यो !

 

चरा उडेर गएकोमा अर्कोथरि भने बडो खुशी थिए । तिनीहरु चरा उडेर जावोस् भन्ने पक्षमा थिए । मनमनै ती चरा उडेर जाओस् भन्ने कामना पनि गरिरहेका थिए । कारण ती चरासित खेल्न पाइरहेका थिएनन् । जसले चरा समातेका थिए तिनले उनीहरुलाई एकछिन पख भन्दाभन्दै छुनै दिएको थिएन । त्यसै त चरा छुन नपाएको रीस त्यसमाथि ती आफै पनि चरा समातेर एकाधिकार जमाउँन चाहन्थे । त्यसका लागि ती भित्रभित्रै केही चलखेल पनि गरिरहेका थिए ।

अन्ततः तिनीहरुले सोचे झैं भयो ।

००

 

चरा भुर्रर उडेर रुखको हाँगामा बस्यो ।

 

केटाकेटीहरु चरालाई च् च् र आ आ गर्दै बोलाउँन थाले । मानौं त्यसरी बोलाएपछि चरा फर्केर तिनीहरुको हातैमा बस्न आइहाल्छ । तर, चरा तिनीहरुको डरले झन उडेर अर्को हाँगामा गएर बस्यो । केहीले चरालाई लोभ्याउँन अलिकति चारो हावामा छ¥यो । तर, चरा तिनीहरुको चारोले प्रभावित भएन । हाँगामा बसेर केटाकेटीहरुको चर्तिकला हेरेर बसिरह्यो । त्यही बेला एउटा चकचके केटाले ढुङ्गा टिपेर चरालाई हिर्कायो । ढुङ्गा चरासम्म पुगेन । त्यसले फेरि ढुङ्गा टिपेर हान्यो । ढुङ्गाले चरालाई त लागेन, तर त्यसले हाँगामा लागेर केही पातहरु भने झरे । त्यसलाई कसैले पनि ढुङ्गा नहान भनेन बरु त्यसले ढुङ्गाले हिर्काएको देखेर अर्को केटोले पनि त्यसैको सिको गरेर भुईँको ढुङ्गा टिपेर हान्न थाल्यो । एउटा चकचके केटो रुखमा चढेर हाँगा हल्लाउँन थाल्यो । हाँगा भाँच्यो, त्यसले चरालाई केही भएन बरु चरा त्यहाँबाट उडेर अर्को हाँगामा बस्यो ।

 

रामै्र भयो । यो चरा त्यति राम्रो छैन । न यसको चुच्चो नै राम्रो छ न त प्वाँख नै त्यतिबिघ्न रङ्गीचङ्गी छ । यसको स्वर पनि मधुर छैन । कर्कश आवाज निकाल्छ । के काम यस्तो चराको ,चरा उडेर गएकोमा खुशी हुनेहरुले बडो बुज्रुक पारामा भने ।

 

चरा त्यतिबिध्न खराब थिएन । तर राम्रो भनेर पनि अब चरा फर्केर आउने सम्भावना रहेन । आफ्नो मूर्खता छोप्न पनि तिनले चरा अवगुणले युक्त, सुन्दरता अपुग भएको र आफूहरुलाई असुहाउँदो ठहर गर्नुप¥यो । ती सकेसम्म अब फुत्केको चराको अवगुण बढीभन्दा बढी खोतलेर आफूलाई अग्रगामी तथा चराविज्ञ भएको देखाउँन थाले ।

 

अब के गर्ने त ? चराको लागि बनाएको पिञ्जरा त खाली हुने भयो, चरा उडेर गएकोमा दुःखी हुनेहरुले निराशा र खिन्नता व्यक्त गरे ।

 

किन चिन्ता गर्ने योभन्दा राम्रो चरा कति पाइन्छ कति । यसो छानेर राम्रो चरा समाते त भइहाल्यो नि, अर्कोले सल्लाह दियो ।

त्यसै सजिलो छ र, उडिरहेको चरा समात्न ।

 

प्रयास गरे किन नसक्नु । हामी पनि सघाउँला नि । तर, जस्तो पायो उस्तो चरा समाउँने होइन नि । समाएपछि अलि महत्वपूर्ण र सबैलाई चित्त बुझ्ने, सबैलाई काम लाग्ने खालको समाउँनु पर्छ, तिनीहरुले सुझाब दिए ।

 

अब यही उपाय बाँकी छ । हातको चरा नउड्नु उडिहाल्यो । अब त्यसलाई समात्न कहाँ कहाँ मात्र दौडादौड गरिरहनु ! हातबाट फुत्किसकेकोलाई अब सजिलै कहाँ समात्न सक्नु ! त्यसैले अब समात्नै परेपछि अर्को राम्रो मीठो बोल्ने र पाल्नलायक चरा समात्नु पर्छ ।

 

यस कुराले ती सब सहमत भए – सबैलाई चित्त बुझ्ने अर्को राम्रो चरा समात्न । हाँगामा थरिथरिका चराहरुको बथान थियो । ती कुन चरा समात्न पर्ला भनेर सोचविचार गर्दै खोज्न थाले । एउटाले भन्यो – अब सानो चरा हुन्न अलि ठूलै खोज्नु पर्छ ।

 

हो, सानो चराको कामै छैन । देखिहालियो नि सानो चरा समाउँदासमाउँदै कस्तरी फुत्कंदो रैछ ।

 

हो त, अर्कोले भन्यो– अब धेरै माथिसम्म नउड्ने खालको चरा समाउँनु पर्ला, ताकि फेरि फुत्क्यो भने पनि दौडेर त्यसलाई सजिलैसित समाउँन सकियोस् ।

 

कुरा ठीक हो । केही गरी फुत्किहाले भने पनि त्यो हाम्रो नियन्त्रण बाहिर नहोस् । हाँस कुखुरा जस्तो चरा समाउँनु पर्छ ताकि त्यसबाट फुल र मासु पनि पाइयोस् । यसो भयो भने पाल्नुको उपयोगिता पनि हुन्छ ।

 

जेजस्तो होस, तर रङ्गीचङ्गी भने हुनुपर्छ , हेर्दै लोभलाग्ने । कसो ?

 

त्यहाँ थरिथरिका केटाकेटीहरु पनि थिए । ती आआफ्ना अनुकूल तर्कहरु राख्दै, विवाद गर्दै हाँगामा भएका मध्ये राम्रा र आकर्षक चरा समाउँन यता र उता दौडादौड गरिरहेका छन् । थाहा छैन तिनीहरुको दौड कहाँ गएर टुङ्गिने हो ।

Comments

NIC Asia