MENU
जान्डो
 : 571 views
-दिपक तोलंगे   Aug 04, 2018

 

 

 

इडिफु गाउँ पुर्वी अफ्रिकी देश तान्जानियाको राजधानी शहर डोडोमादेखी करिब डेढ घण्टाको वस दुरीमा पर्छ । बाओ बाब रुख यो बस्तीको शानझै लाग्छ । रमणीय देखिन्छ । वसोवासको लागि स–साना छाप्रा छन् । पिउने पानीको श्रोत खासै छैन । विजुली वत्तिको सुविधा पनि छैन । केहि घरको छतमा सोलार प्यानेल टल्केका देखिन्छन । राति निष्पट्ट अन्धकार छ, वस्ति नै नरहे जस्तो ।

 

 

इडिफु पुगेको दोस्रो दिनमा नै प्रोजेक्टको काम सुरु गर्न जागर लागेन । बरु गाउँ चिन्ने, मानिसहरु भेट्ने र अन्र्तक्रिया गर्नु ठिक होला जस्तो लाग्यो । पानी नपर्दा छाता ओडेको देखेर गाउँलेहरु तीन छक पर्थे । बेला बेला ‘मुजुङो’ (गोरा) भनेको सुनिन्थ्यो । अफ्रिकीका लागि म पनि गोरा भए । हामीलाई देखेर एक रसिला अधबैसे व्यक्ति लाठीको आडमा बाटो छेउमा उभिरहेका थिए । राम्रो चिनजान नै नभइकन पनि जान्डो नामक एक रितिरिवाज हेर्न निम्ता दिए । मलाई पनि भोकोलाई खीर जस्तो भयो । खासमा म पनि त्यसै अवसरको खोजीमा थिए । म र मेरो दोभाषे ती व्यक्तिको पछीपछी लाग्यौं ।

 

 

आमा जोयसी र बुवा विलिएमका छोरा बाटोनी चिनिङा खतना ( मुस्लिम धर्मानुयायीमा लिङगगको छाला काट्ने संस्कार) पश्चात आगनको छेउ छाप्रोमा खरानी धसेर अर्ध नग्न बसेका थिए । गोगो जातिमा केटा र केटीको किशोर किशोरी अवस्था सुरु हुँदा फरक रितिरिवाज छ । जान्डो केटाहरुमा र उनयोगो केटीका लागि गरिन्छ । यो जातिको आफ्नै गोगो भाषा पनि छ, तर प्रायले सहजै स्वाहिली भाषा बोल्छन् । ऐतिहासिक रुपमा गोगो जाति अर्धघुमन्ते पशुपालक अर्थात सेमिनोमाड पास्टोरालिस्ट हुँन् ।

 

 

 

 

बाटोनीको खतनापछि घाऊ निको नहुँदासम्म छाप्रो भित्रै पकाउने, खाने, सुत्ने व्यवस्था थियो । यस अवधी उनी घर भित्र पस्न नहुने रहेछ । राती कुर्न छाप्रोमा गाउका केटाहरु जम्मा भएका थिए । केटीहरुले यस छाप्रोमा दिन या रात पस्न नहुने ।

 

 

केही दिनपछि बाटोनीको छाप्रो अगाडि गाउका केटाहरुको जमात भेला भयो । त्यो जमातमा एक जना पाको मानिस पनि थिए । छाप्रोबाट गीत गाउदै, नाच्दै जंगलतर्फ लाग्यो, त्यो जमात । म पनि क्यामरा लिएरपछि लागे । महिलाहरु निषेधित रहेछन् । मेरो महिला भएको कारण त्यो यात्रा २÷४ शब्द स्वाहिली र बाँकी सांकेतिक भाषाले गुजारा गरियो टर्यो । १÷२ घण्टाको पैदालपछि बाओ बाब जंगल पुग्यौं । जंगलमा नाच्ने, गाउने प्रकिया चली रह्यो । बाटोनीलाई किशोर अवस्थाबारे ज्ञानगुन पनि दिदै थिए पाको व्यक्ति ।

 

 

केटाहरु जंगलमा जे जे पाउँछ त्यहि शिकार गर्न थाले । गाउँ फर्किदा घर घरमा महिलाहरुले पिठो दिदै स्वागत गरे । राती छाप्रोमा कुर्दा ढिडोसँग चरा, मुसा आधी पोलेको व्यञ्जन बन्यो ।

 

 

जान्डो रितिरिवाज अझै बाँकी थियो । केही दिनपछि छाप्रो भित्र बाल्टिनमा बिशेष किसिमको माटो पानीमा घोलिएको थियो । घरको मुली मान्छे अर्थात बाटोनिका बुवाले बाटोनीको शरीर भरी माटो दलिदिए । त्यसपछी एक एक गर्दै गाउँका महिला, पुरुष, बच्चा, बुढाबुढी सबैलाई शरीरको नाङो भागमा माटो दलिदिए । नाचगान सुरु भयो । छाप्रोमा महिला प्रवेश निषेध फुकुवा भयो ।

 

 

 

 

जान्डोको अन्तिम दिन ।

 

 

दिउसैबाट गाउँलेहरु बाटोनीको आगनमा जम्मा भए । मादल जस्तो ड्रमहरु बज्न थाले । केही महिलाहरु भान्सामा पकाउन व्यस्त । केही महिलाहरु नयाँ युवा पुरुष भान्सातर्फ तान्न लागे । केही पुरुष बुरुक्क उफ्रिएर भागे त कोही भान्सातर्फ लजौदै तानिए । तानिएका दुई नयाँ युवा पुरुष मध्ये म पनि परे । थुप्रै महिलाहरुले घेरे, हामीले लगाएको कपडामा हात लगाउँन थाले । मैले मेसो पाइन । त्यो केटा २००० तान्जानियन शिल्लिङ दिएर उम्कियो ।

 

 

अब म एक्लो परे । पैसा देउ नत्र सबको अगाडि लुगा खोलिदिन्छम भनेका रहेछन्, ती महिलाहरुले । २००० टान्जानियन शिल्लिङ मैले नि ठीक पारे । महिलाहरु रोकिएनन । मेरो सर्ट झन्डै उतार्न लागे । एक मन् त जे सुकै होस् किन पैसा दिने भन्ने लाग्यो । परम्परा रमाइलो रहेछ – जान्डो चलिरहदा पुरुषहरु भान्सा भित्र जान जान बन्देज गरिन्छ । कोही गइहाले भने नाङिनु पर्ने वा छुट्काराको लागि महिलालाई पैसा दिनुपर्ने । परम्परागत संस्कृति, रितीरिवाजप्रति मेरो केही लागेन । उभिएको धर्ती, त्यस ठाउँको रितिरिवाजको सम्मान गर्नु पर्छ । मैले ५००० तान्जानियन शिल्लिङ दिएपछि बल्ल छुट्कारा पाइयो । महिलाहरु खुशी भए । त्यो सब हेरेर दोभाषे हाँस्दै थिइन् । उनको लागि यो राम्रै ठट्ठा भएको हुनुपर्छ ।

 

 

त्यस दिन बाटोनी खतनापछी पहिलो पटक घर भित्र पसे । बाटोनी र उनको हजुरआमावाहेक कोठामा अरु कोही पस्न नपाईने रहे छ । कोठामा हजुर आमाले बाटोनीलाई नुहाइदिन र नयाँ कपडा लगाइदिइन ्। बाहिर नाचगान चल्दै थियो । बाटोनी बाहिर निस्के । भेट्न आएकाहरुले ल्याएको कपडा, पैसा आदी उपहार ग्रहण गरे । भोजन तयार भयो । ४÷५ जनाको समुहको लागि एउटा ठुलो थालमा भोजन, एउटै थालबाट खानुपर्ने । म पनि एउटा समुहमा बसे । बिल्कुल नयाँ अनुभव, भोजनपछि फेरी नाचगान ।

 

 

त्यस रातदेखि बाटोनी घर भित्र सुते, उनको किशोर अवस्था प्रारम्भ भयो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Comments

Photography