MENU
काँग्रेस नै सक्कली पार्टी, काँग्रेसी नै इमानदार प्रतिनिधि !
 : 57 views
  Sep 13, 2017

 

 

सदृश्य संवाददाता
सिमरा, भदौ २८ ।


नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सक्कली पार्टी र इमानदार प्रतिनिधिलाई असोज २ गते हुने चुनावमा जिताएर विकास निर्माणमा अघि बढ्न मतदातालाई आग्रह गरेका छन् ।

बारास्थित जीतपुर उपमहानगरपालिकाको २ नं र ३ नं वडामा आयोजित भिन्नाभिन्नै चुनावी कार्यक्रमहरुलाई सम्वोधन गर्दै डा महतले भने देशको सबैभन्दा पुरानो र सक्कली पार्टी नेपाली कांग्रेस हो ।

जीतपुर उपमहानगरमा कांग्रेसले पहिला गाउँ विकास समितिको अध्यक्ष भै उत्कृष्ठ र नमूनायोग्य काम गरेर पुरस्कृत समेत भएका कृष्णब्रत सिंहलाई मेयरमा र समाजसेवी नारायणी रायमाझीलाई उपमेयरमा उम्मेद्वार बनाएको छ । सिंह मात्र होइन, उनका पितापुर्खा समेत सामाजिक काममा लागेकोले उनको प्रियता यस क्षेत्रमा बढी नै देखिन्छ ।

यस नगरमा काँग्रेसको अत्यधीक पकड भएकोले नै माओवादी केन्द्रसँग कांग्रेस नेतृत्वले गर्न खोजेको तालमेललाई पनि हामी राक्यौं, कार्यक्रमका प्रमुख अतिथि डा महतले भने, परिवर्तन र विकासको अभियन्ता कांग्रेस नै हो भन्ने यहाँका प्रत्येक मतदातालाई थाहा छ ।

काँग्रेसले सँधै नै जनताको हकहितको कुरा गरेको छ, अधिकार दिलाउन ठूलो संघर्ष गरेको छ र अधिकार दिलाई छोडेको छ । अन्य पार्टीहरुको नक्कली र ढोंगी कुरा हामीले बताउनै पर्दैन ।

बीस वर्षपछि हुन लागेको तेस्रो चरणको स्थानीय निर्वाचनमा विकास निर्माणको काम गर्न पनि जनताले कांग्रेसजनलाई नेतृत्व सुम्पिने कुरामा आफू विश्वस्थ भएको उनले दावी गर्दै भने, हिजोका दिनमा कोही पनि बहुलवादी थिएनन्, विकासवादी थिएनन् ।

जनतालाई अधिकार दिलाउने संसदीय पद्धतिको पक्षमा यहाँ कोही थिएनन् । बीपीले प्रतिपादित गरेको यो विशाल चुनावी दायरामा बल्ल सबै पक्ष आएका छन । यो कांग्रेस र कांग्रेसप्रेमी सबैको जीत हो, डा. महतले जोड दिएर भने । मेरो तपाईहरुसंग एउटै आग्रह हो परिवर्तन !

देश विकास र जनतालाई अधिकार दिलाउन अगुवाई गर्ने कांग्रेसका प्रतिनिधिहरुलाई जिताउनुहोस । अधिकार तपाईको घरदैलोमा आउने छ । नेपाली काँग्रेसका इमानदार र सक्षम उम्मेद्वारहरुले मात्र तपाईको सेवा गर्ने छन् ।

 

 

नेपाली जनतालाई अधिकार दिलाउने मात्र होइन, मध्य पहाडी लोकमार्ग, हुलाकी राजमार्ग,, काठमाडौं तराई द्रुतमार्ग, निजगढको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काममा दत्तचित्त भएर लागेको पार्टी नै कांग्रेस भएकोले यो विकासवादी पार्टीलाई निर्वाचित निकायको जिम्मा दिने छन् भन्नेमा आफू ढुक्क भएको महतले बताए । लामो समय देशको अर्थमन्त्री रहेका नेता महतले भने, स्रोत साधन बढाएर विकास बजेटको कुल रकमको ७० प्रतिशतभन्दा बढी गाउमा हामीले पु¥यायौं ।

कार्यक्रममा नेपाल महिला संघका अध्यक्ष उमा रेग्मीले कांग्रेसले नै जनताको घरदैलोमा अधिकार ल्याइदिएको र उसैलाई जिम्मेवारी दिएर आगामी दिनमा विकास निर्माणका काम गर्न स्थानीयबासीलाई आग्रह गरिन् । पूर्व सांसद शोभाकर पराजुलीले डा महतले नै नेपालको अर्थतन्त्रलाई आधुनिकीकरण गरी स्रोत साधन बढाएको र गाउँ गाउँमा विकास बजेट पुग्न सकेको दावी गरे । कार्यक्रममा महासमिति सदस्य क्षितिज भण्डारी, मेयरका उम्मेद्वार सिंह, उपमेयर रायमाझी लगायतका वक्ताहरुले काँग्रेसलाई किन मत दिनु पर्छ भनेर आआफ्नो बिचार ब्यक्त गरे ।

Comments