MENU
डर भाग्यो… बोल्दे–फेदिचेबाट डर भाग्योे !
  Jul 19, 2017

 

आच्या ! सुकवीर त मेरै नाम हो नि, कान्छा दाइ आफ्नो नागरिकताको नाम सुनेपछि खितित्त हाँस्न थाले…

 


सदृश्य टिम         
तिमाल, काभ्रेपलांचोक ।
आफू भन्दा कान्छालाई पुरुष भए भाइ र महिला भए बहिनी भन्ने चलन छ नेपालमा । झुक्किएर पनि दाइ वा दिदी भनिदैन । भन्यो भने गल्ती स्वीकारेर संबोधनलाई नै सच्याइन्छ ।

 

तर काभ्रेपलान्चोकको तिमाल गाउपालिका वडा नं ४ बोल्दे फेदिचेमा एउटै मानिस यस्ता छन्, जस्लाई कान्छो भनिन्छ र दाइ भनेर पुकारिन्छ । सेतै फुलेका बुढाबुढीदेखि कलिला केटाकेटीसम्म पनि उनलाई खुलेआम कान्छा पनि र दाइ पनि भन्छन् ! कसैले पनि यसो भन्दा न गल्ती स्वीकार गर्छ र न भन्न नै छोड्छन् ! आफू भन्दा डेढी उमेरका ब्यक्तिले कान्छा दाइ भनेर बोलाउदा पनि सहर्ष स्वीकार गर्दै कान्छा दाइ पनि भन्दारहेछन्– हजुर, ज्यू !

 

बोल्दे फेदिचेका कान्छा दाइ कर्मले पनि साँच्चैका अपवाद रहेछन् । मेचीदेखि महाकालीसम्म नेपालका चप्पा चप्पा हिमाल, पहाड र तराई डुलिसकेका रहेछन् । आफू एक्लै डुल्ने होइन, अरुलाई पनि संगसंगै घुमफिर गराउदा रहेछन् । यही नै उनका गाउलेका निम्ति उनको परिचय रहेछ ।

 

तर पूरै गाउका यी कान्छादाइमा निहित रहेको अचम्मको आँट, क्षमता र बहादुरी कसैलाई थाहा थिएन । यो त्यतीबेला मात्र गाउले अगाडि प्रकट भयो जतिबेला बोल्देको आकाशमा एउटा हेलिकोप्टर चक्कर लगाएर बारीको पाटामा उत्रियो ।

 

गाउभरिका मानिस हेलिकोप्टर हेर्न भेला भए तर हेलिकोप्टरबाट उत्रिएका बुढाबुढीले कान्छादाइको खोजी गरे । सेतै फुलेका बुढा र उनकै उमेरकी बिदेशी बुढी ‘ह्वेर इज कान्छादाइ’ भनेर सोध्न थाले ।
यी बुढाबुढी कोही थिएनन्, कान्छादाइले मुक्तिनाथबाट मनाङ पदयात्रामा लैंजाँदा लेक लागेर मर्लान्त भएकी उर्शला र उनका पति होस्र्ट थिए । कान्छादाइले आफ्नो ज्यानको बाजी लगाएर यिनै बुढी उर्शलालाई बोक्दै थोराङ्ग भन्ज्याँग कटाएर बचाएका थिए ।

 

बारीमा हेलिकोप्टर बसेपछि
कालको मूखमा पुगेकी आफूलाई कान्छादाइले दोस्रो जन्म दिएको ठानेकी उर्शला र उनका पति हेलिकोप्टर चार्टर गरेर कान्छादाइको गाउ बोल्दे आइपुगे । गाउमै कान्छा दाइको खोजी भयो । उनी पनि हेलिकोप्टर उतारिएको बारीको पाटोमा आइपुगे । आफ्नो अगाडि आफूले ज्यान बचाएकी बुढी र उनका बुढा देखेर छक्कै परे ।

हातले गुड गर्दै बुढाबुढीले गला पनि मिलाए । त्यो देखेर सबैले ताली पड्काए । कान्छादाइ भने गाउलेका अगाडि लाजले रातै बने ।

 

उर्शला दम्पती जीवनदाता कान्छादाइप्रति कृतज्ञता जनाउन बोल्दे आएका थिए ।
भावविह्वल उर्शलाले भनिन्, तपाइले सहयोग नगरेको भए मर्थें भन्ने मलाई थाहा छ । तपाईको कारणले बाँचे । आज हामी तपाईलाई भेट्न र बुढाबुढी मिलेर तपाई र तपाईको गाउलाई केही सहयोग गर्न चाहन्छौं भन्ने बताउन आएका हौं !

 

कान्छादाइले उनीहरुलाई आफ्नो घर लगे । गाउ डुलाए अनि भने, तपाईहरुलाई के कस्तो सहयोग गर्न मन लागेको छ गर्नुहोस् ।

 

जर्मन बुढाबुढीले सुनकोशी नदी किनाराको तर एक डेढ घण्टा उकालो चढेपछि मात्र पुगिने सुन्दर बोल्दे र आसपासका गाउको स्वास्थ्य अवस्था सुधार्नुपर्ने देखे । गाउका अन्य पक्षहरु शिक्षा, कृषि, खानेपानी, बाटोघाटोमा पनि सुधार गर्नुपर्ने आबश्यकता रहे पनि स्वास्थ्य क्षेत्रको सुधारपछि मात्र अरु विषयमा लाग्ने निश्कर्ष निकाले । कान्छादाइले पनि सहमती जनाए । अनि हेलिकोप्टर चढेर उनीहरु काठमाण्डौं फर्किए ।

 

२० वर्षपछि बोल्दे पुग्दा

 

 

 

हेलिकोप्टर उत्रिएको बीस वर्षपछि जेठ ०७४मा सदृश्य टोली बोल्दे पुगेको थियो ।
धुलिखेलबाट भकुण्डेबेसी हुँदै तिमाल भएर नारायण मन्दिर, गुम्बा हुँदै गाडीबाट ओर्लिएर सुन्दर डाडा पाखा, हिमाल, खोंच, गुम्बा, मन्दिर र गाउ हेर्दै बटुवासंग कुरा गर्दा गर्दै एक घण्टा हिंडेपछि बोल्देको स्वास्थ्य केन्द्र पुगेका थियौं । गेष्ट हाउसको कड्कुरोमा एक छिन आराम गरेपछि खाना खान भान्छामा गयौं ।

 

एउटा हँसिला ब्यक्तिले म कान्छादाइ भन्दै खाना खाने टेबलमा बस्न आग्रह गरे । सफा, तात्तातो खाना थपीथपी खुवाउदै भने, मज्जाले खानुहोस्, यहाँ खाने तरकारी हामीले यहीको बारीमा उत्पादन गरेका हौं । विषादी र देशीमल हालेका छैनौं । गाइवस्तुको मल हालेर फलेको गोलभेंडाको अचारमा हालेको बाबरी पनि यहींको हो । लसुन प्याज पनि यहींको हो । उनले आरु, आलुपखडा, लिची पनि चखाए ।

 

फोटो पत्रकार चन्द्रशेखरले सोधिहाले, यो भित्तामा भएको फोटो त कान्छादाइसंग मिल्दो रहेछ । तपाईकै हो ? उनले लजाउदै भने, हो सर, होस्र्टले खिचीदिनु भएको ।

 

को हुन् होर्स्ट  ?

 

उनले भने, यिनै बुढा हुन् भन्दै सेतै फुलेका एकजना दाह्रीवाल विदेशीको तस्वीर देखाए । यी चाँहि उनकी बुढी उर्शला हुन् । उहाँहरुले यो स्वास्थ्य केन्द्र बनाउन मद्धत गर्नु भएको छ ।

 

खाना खाइसकिने बेलामा अस्पतालका सुकवीर तामांग आएर भने, बिरामी आएको छ । डा. रविन्द्र गोले हतार हतार चुठेर विरामी जाँच्न हिंडिहाले । हामी खाना खाएर आँगनमा गाउको स्वास्थ्य अवस्थावारे कुराकानी गरिरहेको बेला डा रविन्द्र फर्किएर भने, सरी है म विरामी हेर्न दौडिएँ । गर्मीको बेला भएकोले यतिखेर विरामी आउने समय बिहान र साँझ हो तै पनि इमर्जेन्सी परेका विरामी एक दुइ जना आइहाल्छन् ।
डा रविन्द्रले ल्यापटपमै जर्मन जोडीले बीस वर्षदेखिको कामलाई समेटेर बनाएको डकुमेन्ट्री देखाए । आधा घण्टाको त्यो प्रस्तुतिले बीसवर्षदेखि गरिइरहेको कामलाई एकै झड्कामा प्रस्तुत ग¥यो, जो अचम्मै लाग्ने रहेछ ।

 

धुलिखेल अस्पतालले नौ जिल्ला (काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्बु, नुवाकोट, धादिंग, पर्वत, ललितपुर, सिन्धुली) मा आउट रिच अर्थात बाहिरी क्षेत्रका जनतामा पहुँच पु¥याउन २० वटा मिनी अस्पताल संचालनमा ल्याएको रहेछ । त्यसैमध्ये काभ्रेको बोल्दे फेरिचे दोस्रो आउट रिच हो ।
अहिलेसम्म नौ जिल्लाका बीस ठाउ जहाँ आउट रिच सेवा केन्द्रहरु खुलेका छन्, त्यस्ता ठाउमा स्वास्थ्य केन्द्र खुलेका छन् जहाँका जनता न्यूनतम स्वास्थ्योपचार सुविधा प्राप्त गर्नबाट समेत बंचित छन् ।
जुन ठाउ सडक संजालसंग जोडिएको छैन र यातायातका साधनहरु पुगेका छैनन् । परंपरागत कृषि र पशुपालनमा आश्रित र आर्थिक रुपमा विपन्न मानिसहरु बसोवास गर्छन् । यस्ता क्षेत्रलाई प्राथमिकता दिएर धुलिखेल अस्पतालले आउट रिच सेवा केन्द्र खोल्ने गर्दो रहेछ । जसको निर्माणदेखि संचालनसम्म स्थानीय मानिसहरुकै सहभागितामा गरिने रहेछ ।

 

 

शुरुको गाउको अवस्था, स्वास्थ्य चौकी, त्यतीबेलाको रहनसहन, खेतीपाती र अहिले गाउमा आएको परिवर्तन आश्चर्यजनक छ । यही परिवर्तनले गर्दा तिमाल र वरिपरि गाउका वासिन्दाले हरेक दिन ढुक्क रहेर सुत्ने गरेको गाउलेहरुले नै बताए ।

 

जुन स्वास्थ्य सुविधा राजधानी उपत्यका र मुलुकका सम्पन्न शहरका वासिन्दाहरुलाई समेत प्राप्त छैन, त्यो बोल्देका सर्वसाधारण उपभोग गरिरहेका छन् !

 

यही पाउनलाई सुविधासम्पन्न ठाउका मानिस कानूनी–गैरकानूनी, नैतिक–अनैतिक केही नहेरी आँधो जसरी दौडादौड गरिरहेछन् । साम दान दण्ड भेद नीति अपनाएर हेराफेरी गरिरहेछन् तर त्यही कुरा सहज रुपमा उपभोग गर्न सुदुर गाउका बासिन्दालाई कसरी प्राप्त हुनसक्छ ? यो कम आश्चर्यको विषय होइन ।
यो सुखद अनुभूति नै हो । यस्तो सहज, सर्बसुलभ र स्तरीय सेवा पाएर बोल्देवासी सुखी र खुशी छन् ? यो प्राप्त भएको अनुभूति उनीहरुलाई भैरहेछ ?

 

शहरमा बसिरहेकाहरु विकासको चरम अवस्था भनेर जेकुराको लागि दौडधुप गरिरहेन् त्यो चरम विकास र सुविधा अर्थात समृद्धि बोल्देवासी गएका कतिवर्षदेखि भोगिरहेका छन् भन्ने बोध उनीहरुलाई छ ?
सुलभ स्वास्थ्योपचार कसरी संभव हुन सक्यो ? यसलाई मेलैसंग खोजवीन गरेर यो तरीका देशव्यापी रुपमा फैलाउन सकियो भने मुलुककै स्वास्थ्य क्षेत्रमा कायापलट हुनसक्छ ?

 

भनौंन, एउटा धुलिखेल शिक्षण अस्पतालले देशका बीस ठाउमा आधुनिक सुविधायुक्त यस्ता ‘आउट रिच’ स्वास्थ्य चौकीहरु स्थापना गरेर जुन सेवा गाउलेहरुलाई दिइरहेको छ, यो प्रयोगलाई नेपालभर विस्तार गर्न सकियो भने साँच्चै नेपालमा स्वास्थ्योपचारबाट बंचित जनसमूदायको लागि आमूल परिवर्तन संभव होला ?
हजारौं हजार जनतालाई स्वास्थ्य जस्तो संवेदनशील, खर्चिलो र गरीवको पहुँच नै नभएको विषयलाई उनीहरुको पहुँचमा पु¥याउने डा रामकण्ठ मकाजु टिमको मौलिक सोच र खुला प्रयोग हो ?
यदि यो प्रयोग मौलिक र सत्य सावित भयो भने केही वर्षमा नेपाली ग्रामीण क्षेत्रमा विकराल समस्याको रुपमा रहेको स्वास्थ्यको प्राथमिक चुनौतिपूर्ण समस्या समाप्त नै हुन्छ होला ?

 

ग्रामिण स्वास्थ्य समस्या समाधानको मकाजु टिमको मोडल सफल भयो भने नेपालले विश्वविद्यालय शिक्षाको माध्यमबाट सुदुर गाउका स्वास्थ्य समस्याहरुलाई समाधान गरेको जस पाउने छ ।
नेपालमा उच्चतहको स्वास्थ्य शिक्षा पढाउने कतिवटा कलेजहरुले विश्वविद्यालयहरुबाट संबन्धन प्राप्त गरेका छन् ? कुन कलेजका कति बेडका शिक्षण अस्पतालहरु छन् ? तिनीहरु प्रत्येकलाई तिनका क्षमता अनुसार देशका गाउ÷नगरपालिकाहरु धुलिखेल अस्पतालले संचालन गरेका आउट रिच मोडलमा संचालन गर्न ७ सय ४४ स्थानीयतहमै पु¥याउन सकिदैन ? सकियो भने त्यसको के परिणाम निस्कन्छ होला ?
उपचारको अभावमा नेपालमा मृत्युवरण गर्नुपर्ने, घरखेत बेचेर महंगो उपचार गर्न बाध्य हुनुपर्ने र आफ्नो क्षेत्रमा स्वास्थ्य उपचार सेवा नै उपलब्ध नभएका वासिन्दाका समस्या समाधान हुनेछन् ।

 

कस्ता विरामी आउछन् यहाँ ?

 

 

 

अस्पतालका डा रविन्द्र गोले, स्वास्थ्यकर्मी चन्द्रबीरसिंह तामांग, अरुणा लामा, दिपेन्द्र बजगाई सहयोगी सुकबीर तामांग र सुशील लामाले छलफलमा भाग लिंदै भने, यहाँ आउने बिरामीहरुलाई हामीले जाने बुझे र उपलब्ध भएसम्मको उत्कृष्ट सेवा दिन्छौं । यहाँबाट उपचार संभव नहुने खालका विरामी छन् भने उनीहरुलाई ठूला अस्पतालमा जान सिफारिस गर्छौं ।

 

यहाँ जचाउन आउने बिरामीहरु सबैले शुल्क तिर्नुपर्छ तर त्यो ज्यादै न्यून छ । यो स्वास्थ्यको क्षेत्रमा नाफा कमाउने संस्था नभएकोले नयाँ आउने विरामीले दश रुपैयाँ र फलोअपका विरामीले पाँच रुपैया तिरेपछि उपचार हुन्छ । इमर्जेन्सीमा आउने विरामीले पचास रुपैयाँ तिर्नुपर्छ । बस्ने बेडको दिनको सय रुपैया लाग्छ, तीन छाक खाना सहित । ल्याव टेस्ट न्यूनतम खर्चमा हुन्छ भने औषधिको मूल्य त्यती मात्रै लाग्छ जति रुपैयाँमा अस्पतालले किनेको हुन्छ ।

 

यो शुल्क पनि तिर्न नसक्ने विपन्न विरामीहरुलाई हेल्थसेन्टरले निशुल्क रुपमा उपचार गर्छ । त्यसको लागि गुठी संचालनमा छ ।
डा रविन्द्र गोलेले भने, स्वास्थ्य केन्द्रमा कस्ता कस्ता विरामी आउछन् भन्ने बताउनु अघि कसरी बिरामी ल्याइन्छ भन्ने जानकारी दिन्छु । विरामी दुइ किसिमले यहाँ ल्याइन्छन्, एउटा स्टचारमा सुताएर र अर्को डोकोमा राखेर ।

 

यसरी बिरामी ल्याउनुको पनि कारण छ, उनले भने–सुताएर ल्याएको विरामी अनेक खालका भए पनि डोकोमा हालेर ठड्याएर बोकेर ल्याएको बिरामी भने दम वा निमोनीयाँको बिरामी हुन्छ किनभने, दमको विरामीलाई स्टचारमा सुताएर ल्याउदा बढ्ता स्वाँस्वाँ हुने भएकोले गाउलेले ठड्याएर ल्याउछन् ।

 

 

 

डा गोलेले भने, तीन वर्ष अघि म पनि यहाँ भर्खर भर्खर आएको थिए, एकजना गर्भबतीलाई लामो समय बेथा लागेर पनि बच्चा जन्माउन सकिनन् भनेर ल्याइयो । उनको बच्चा त उल्टो पो रहेछ । जाँचबाट थाहा पाइयो । एम्बुलेन्स बोलाएर धुलिखेल अस्पताललाई सिफारिस गरेंर पठाएँ । त्यहाँ उनको बच्चा सकुसल जन्मियो । अहिले त्यो बच्चा स्कूलमा कुदिरहेको हुन्छ । भेट्न सक्नुहुन्छ ।

 

अर्को डरलाग्दो केस आयो । सत्तरी वर्ष उमेरकी एउटी आमालाई स्टचारमा हालेर गाउलेले ल्याए । उहाँ त बेहोस हुनुहुन्थ्यो । स्याउला काट्न गएको रुखबाट लडेर मासु र छाला काटिएर फर्किएर पल्टिएको छ, बिभत्स ! पहिला भित्रको मासु सिएर पछि छाला सिलाएर उपचार गरियो ।

 

बीष खाएका केस यो क्षेत्रमा निकै नै हुनेगर्छ । खेतीपातीमा धेरै कडा मेटासिडदेखि अरु कम कडा विष ब्यापक उपयोग हुने भएकोले त्यसको दुरुपयोग घरघरमा अत्यधीक हुनेगर्छ । बुढाबुढी, युवा र किशोर किशोरीहरुले खाएको विष पेटबाट निकालेर पानीले पखालेर उपचार गर्नुपर्छ । कतिपयलाई त ठूला अस्पतालमा सिफारिस पनि गर्छु किनभने आइसियुमै राखेर त्यस्ता विरामीको उपचार गर्नुपर्छ ।

 

त्यस्तै यहाँ प्राय ल्याइने अर्कोथरि विरामी निमोनियाका हुन् । कतिपयलाई त यहाँ उपचार शुरु गरेर एम्बुलेन्स बोलाएर पठाउनु पनि पर्छ । एकजना बुढी आमालाई घरपरिवारका मानिसले घाट लैजान आँटेका रहेछन् । कसैले भन्यो घाट होइन, स्वास्थ्य चौकी लैजाऔं । दमको विरामी रहिछन् । अक्सिजन र अरु औषधि चलाइयो उहाँ त चार वर्ष बढी बाँच्नुभयो ।

 

बस वा अन्य दूर्घटना मात्र होइन, सिकिस्त बिरामीलाई अस्पताल सिफारिस गरेर एम्बुलेन्समा पठाइयो तर बस दूर्घटनाले गर्दा बाटो रोकिएर एम्बुलेन्स अगाडि जान सकेन । बिरामी त उपचार गर्ने ठाउमा नपुग्दै खतरामा पर्ने भयो । के गर्नु न के भयो । त्यहीबेला मेरो दिमागले भन्यो, तेरो मोटर साइकलमा हालेर अस्पताल पु¥या । मैले त्यसै गरें । बिरामी बाँच्यो । मैले जीवनमा साह्रै ठूलो सेवा गरेंको अनुभव भयो ।

 

यहाँ अनेक थरिका केससंग सामना गर्नुपर्छ । म यो विषयको डाक्टर हुँ भन्न पनि पाइदैन । अलराउण्डर नबन्ने हो भने गाउमा उपयोगी डाक्टर होइदैन । मैले धुलिखेल अस्पतालबाट एमबीबीएस गरेको हुँ । म यही ठाउको नभए पनि काभ्रे जिल्लाको ब्यक्ति भएकोले मलाई स्थानीय तामांग भाषा पनि आउने हुनांले गाउलेहरुसंग हेलमेल हुन समय लाग्दैन । उनीहरुको मर्म म पहिल्याउछु र उनीहरु मेरो ।

 

मैले उपचारलाई जागीरको रुपमा नलिएकोले हामीबीच असमझदारी हुनै पाउदैन । त्यसवाहेक धुलिखेल अस्पतालको हेल्थसेन्टर भएकोले यहाँ एमबीबीएस्, एमडी पढिरहेका विद्यार्थीहरु, देशी विदेशी प्रोफेसरहरु पनि समुदाय तथा स्वास्थ्य केन्द्रमा विभिन्न खालका अनुसन्धानका लागि आइरहनु हुन्छ । विशेष खालका क्याम्पहरु पनि गाउ गाउहरुमा संचालन गरिरहनु हुन्छ । त्यसैले यहाँका विरामीहरुले उहाँहरुको विशेषज्ञता पनि अप्रत्यक्ष रुपमा पाइरहनु हुन्छ ।

 

भनौन, भुकम्पपछि हात खुट्टा भाँचिएका घाइतेहरुले स्वास्थ्य केन्द्रमा पनि आउन परेन, डाक्टर र स्वास्थ्य सहायकहरुले उहाँहरुको घरघरमै गएर उपचार गरिदिन अनेक किसिमका क्याम्पहरु नै संचालन गर्नुभयो । त्यसवाहेक हाम्रै हेल्थ सेन्टरले समय समयमा आँखा, सर्जरी, मुटु, स्त्रीरोग, जनस्वास्थ्य, बालबालिका, पेट, हाइड्रोसील, दाँत, हाडजोर्नीका क्याम्पहरु पनि संचालन गरिरहेको हुन्छ ।

 

हेलिकोप्टरबाट फर्केपछि

 

बोल्देबाट हेलिकोप्टरमा काठमाण्डौं पुगेपछि त्यो जर्मन जोडी (उर्शला र होस्र्ट) पर्यटन ब्यवशायी तिलक लामालाई भेट्न सिधै ठमेल पुगे । उनीहरुले तिलकलाई भने, हामी बोल्देमा स्वास्थ्य क्षेत्रमा काम गर्न चाहन्छौं । हामीलाई ‘बेर्ग डक्टर’ भेट्टाइदेउ !

 

तिलक लामा जिल्ल परे । उनले सोधे को हो, के हो ? बेर्ग डक्टर ?
‘बेर्ग डक्टर’ जर्मनी भाषाको शब्द हो । यसको नेपालीमा अनुवाद हो, पहाडी डाक्टर ! उनीहरुले जर्मनीमै नेपालको एकजना पहाडी डाक्टरबारे डकुमेन्ट्री हेरेका रहेछन् । उसले पहाडका दुर्गम गाउहरुमा गएर गरेका कामबाट उनीहरु एकदमै प्रभावित भएकाले त्यो डाक्टरलाई भेटेर बोल्दे गाउमा स्वास्थ्य क्षेत्रमा कसरी काम गर्न सकिन्छ भनेर आफूले सल्लाह लिन चाहेको बताए ।

 

पहाडी डाक्टर को हो भनेर उनीहरुले मलाई पनि डकुमेन्ट्री देखाए । ए ती डाक्टर त धुलिखेल अस्पतालका रामकण्ठ मकाजु पो रहेछन् । मैले उनको टेलिफोन खोजेर दिएँ । तिलक लामाले भने, तर ती मकाजु यति ब्यस्त डाक्टर थिए कि भेट्नलाई समय मिलाउनै गाह्रो ।

 

आखिर होस्र्ट र उर्शलाको भेट मकाजुसंग त्रिभुवन विमानस्थलको ट्रान्जिटमा तीन मिनेट मात्र भयो । डा. राम जर्मनी भाषा बुझ्ने भएकाले जर्मन जोडीले पनि मज्जासंग कुरा राखे । धुलिखेल अस्पतालको समेत सहभागीतामा बोल्देमा स्वास्थ्य क्षेत्रमा काम गर्ने सहमती भयो ।

 

 

 

काठमाण्डौं विश्वविद्यालय चिकित्सा शास्त्र संकायका डिन डा राजेन्द्र कोजुले भने, डा रामले उतिबेला मलाई बोलाएर तिमालको बोल्देमा स्वास्थ्य क्षेत्रमा काम गर्ने सहमती भएको बताउदै भन्नुभयो, तिमी बोल्देमा जाउ । हेर । के अवस्था रहेछ ? अनि हेल्थक्याम्प गर्नुपर्छ ।
म बोल्दे गएँ र फर्किए ।

डा रामले सोध्नु भयो, के रहेछ बोल्देमा ? मैले भने, त्यहाँ त केही पनि छैन ! उहाँ ट्वाल्ल परेर मलाई हेर्दैभन्न थाल्नु भयो, हो त्यस्तै केही नभएको ठाउबाट काम शुरु गर्नुपर्छ ।

 

पहिलो पल्ट बोल्दे जाँदा

 

डा कोजुले भने, धुलिखेलबाट बिहानै तिलक लामा र म हिड्यौं । कोशी देखाबाट साँढे तीन घण्टा हिंडेपछि बोल्दे पुगियो । त्यहाँ हेल्थपोष्ट छ भन्ने थाहा पाएँ । त्यहाँ गएँं, हेरें र कुराकानी गरें ।
गाविस भवनको एउटा कोठामा स्वास्थ्य चौकी रहेछ । सामान्य औषधिको पनि अभाव । सानो ठाउँ । बिरामी जाँच्ने, उपचार गर्ने सबै काम त्यही गर्नुपर्ने ।

 

माथिको कोठामा स्वास्थ्य कर्मचारी सिरानमा खुकुरी र टर्च राखेर सुत्दा रहेछन् । उनले भने, कतिखेर कस्ले आक्रमण गर्छ आफू निहत्था भएर भएन । बत्ती छैन, टर्च नराखी भयो ? दिशा पिसाव गर्न बारीतिर जाँदा बाल्नु पनि परिहाल्यो ।

 

डा कोजुले भने, म हेल्थ असिस्ट्न्ट हुँदा बागलुंगको हेल्थपोष्टमा काम गरेको अनुभवी थिएँ । गाउमा कति प्रतिकूल अवस्थामा काम गर्नुपर्छ भन्ने मलाई थाहा थियो ।
त्यहाँको गोरेटो बाटो, वाटो वरिपरि दिशा–पिशाव र गन्ध, झिंगा भन्किरहेको । पानी पहुल थिएन र उपलब्ध भएको पनि राम्रो थिएन । घरहरु माटोले लिपपोत गरिएको थियो ।

 

भोकले हत्तु भइएको थियो । तिलकजीको आमा बुवा बस्नु हुने रहेछ । अँगेनुमा बसेर उसिनेको सानासाना पिडालु खाइयो । त्यो संझदा अहिले पनि मुखमा पानी निक्लन्छ । त्यती मिठो । बेलुका दाल, भात, तरकारी, अलिकति घरको घ्यु । दही दुध थियो, अनि के चाहियो ?

 

हेल्थ क्याम्प

 

 

 

अनि यही स्वास्थ्य चौकीमा हामीले पहिलो हेल्थ क्याम्प आयोजना ग¥यौं । सर्जन डा मकाजु, म , नर्स र जापानी एकजना भोलिन्टियर । हाम्रो टिममा यत्ती नै थिए । सयजना बिरामी जाँच्यौं । केही अपरेशन पनि गर्नुपर्ने भयो ।

 

डा मकाजु युरोपमा काम गरेर आएको सबैकुरा टाकटुक्क मिल्नुपर्ने । क्वालिटीमा नो कम्प्रोमाइज ! गाउमा उपलब्ध भएका कुरा मिलाएर भए पनि काम भने गुणस्तरकै हुनुपर्ने । त्यतीबेला पनि भनिरहनु हुन्थ्यो, अभावग्रस्त ठाउमा हामीले काम गर्दा झन् लगावका साथ सेवा दिनुपर्छ है । त्यसो गरेनौं र हामीले गरेको काम विग्रीयो भने उ झन् गरीव हुन्छ । त्यसैले हामी यस्तो ठाउमा झन् बढी जिम्मेवार हुनुपर्छ ।

 

अनि स्वास्थ्य चौकीको कोठामा माथिबाट झर्ने धुलो रोक्न तन्ना टाँग्यौं । अपरेशन गर्न स्वास्थ्यकर्मी र न्यूनतम सुविधाको पनि कमी । म ढाडमा इन्जेक्सन दिएर बिरामीलाई बेहोस पार्ने, डा राम अपरेसन गर्ने र रामकी पत्नी उज्यालोको लागि टर्च बालेर अपरेशन गरिरहेको ठाउमा देखाउने । यसरी पनि विरामीको अपरेशन शुरु गरियो । काम फत्ते गरिकन छाडियो ।

 

केही समयपछि स्वास्थ्य चौकीका अहेब पनि सरुवा मागेर अन्यत्रै गए । पछि त स्वास्थ्य कार्यकर्ता विहिन त्यही स्वास्थ्य चौकीलाई पनि माओवादीले बम पड्काएर उडाइ दिए । गाउमा स्वास्थ्य सेवा शुन्य भयो ।

 

नियमित स्वास्थ्य सेवा

 

त्यस्तो बेलामा हामीले गाउलेको घरबाट स्वास्थ्य सेवा शुरु ग¥यौं । हेल्थ असिस्ट्न्टलाई स्थायी रुपमा राख्न थाल्यौं । पन्ध्र पन्ध्र दिनमा डाक्टर गएर दिनभर बिरामी हेर्ने र उपचार गर्न थाल्यौं । धुलिखेल अस्पतालको काम गर्ने शैली अनुसार बोल्देमा ‘आउट रिच’ बनाउने हो भने स्थानीय वासिन्दाहरुको सहभागिता चाहिन्छ । हामीले भन्यौं, यहाँ भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्य केन्द्रको आवश्यकता छ । धुलिखेल अस्पताल यसमा सहयोग गर्छ, सहयोग जुटाउछौ तर यो गाउका वासिन्दाहरु जस्ले अत्याधुनिक स्वास्थ्य सेवा आफ्नो घर दैलोमा पाउछन् उनीहरुले पनि यसमा योगदान गर्नुपर्छ । खास गरेर स्वास्थ्य केन्द्र बनाउने जमीन उपलब्ध गराउनु पर्छ ।

 

यसका लागि गाउलेहरुलाई बताइयो । गाउलेहरुले नौ सदस्यीय स्वास्थ्य सेवा ब्यवस्थापन समिति बनाए । समितिले सामुदायिक स्वास्थ्य भवन निर्माण गर्न चार रोपनी जमीन घुलिखेल अस्पतालको नाउमा पास गरिदियो ।

 

भवन निर्माण शुरु

 

त्यसपछि हेल्थसेन्टरको भवन बनाउन शुरु गरियो । यसका लागि चाहिने फलामका रड, सिमेन्ट र बाहिरबाट ल्याउनु पर्ने अन्य सामान ल्याउन बाटो नभएकोले काठमाण्डौंबाट दोलालघाट सम्म गाडी र त्यसपछि ¥याफ्टिंगमा हालेर बोल्देको फेदीमा उतारेर त्यहाँदेखि एक घढटा उकाले भारी बोकेर स्वास्थ्य केन्द्र निर्माणस्थलसम्म पु¥याउनु पर्दथ्यो ।

 

यसरी स्वास्थ्य केन्द्रको अत्याधुनिक भवन, विरामी जाँच्ने र भर्ना गर्ने ठाऊँ, शौचालय, स्टाफ क्वार्टर, पाहुना घर, भान्छा समेत बनाइयो । खानेपानी योजनाको काम भयो । म त्यहीं स्लीपिंगब्याग बोकेर काममा खटें । जे गरिएको छ त्यो गुणस्तरको हुनुपर्छ भन्ने काठमाण्डौं विश्वविद्यालयको मापदण्ड हो । त्यो बेला वडाध्यक्ष दमैसिंह हुनुहुन्थ्यो ।

 

कोशीपारीका पनि टाढा टाढाका बिरामी ल्याउन र लैजान सुनकोशी नदीमा पुल नभएकोले अप्ठेरो परिरहेको थियो । स्वास्थ्य ब्यवस्थापन समितिको सक्रियता, सामुदायिक संलग्नता धुलिखेल अस्पतालको सहयोगमा भन्ज्याँग र रानी दहमा आधुनिक तुइन हालियो । समयमै स्वास्थ्यकेन्द्र निर्माण गरी सन् १९९८देखि आधुनिक सेवा सुविधा सहितको बोल्दे फेदिचे स्वास्थ्य केन्द्र, तिमाल गाउपालिका–४ बोल्दे फेदिचेमा शुरु भयो ।

 

गाउमा सधै डाक्टर

 

स्वास्थ्य केन्द्र बनेसंगसंगै बोल्देमा एमबीबीएस् डाक्टर बस्न थालेका छन् । अहिले त स्वास्थ्य केन्द्रमा मेडिकल ल्याब र त्यसका प्राविधिक समेत छन् । नर्स, हेल्थ असिस्टेन्ट, अहेब छन् । उनीहरुलाई सघाउने स्वास्थ्य प्रशासक छन् ।

 

गाउमा चौबिसै घण्टा स्वास्थ्य सेवा उपलब्ध छ । त्यसवाहेक प्रसुती, नाँक कान घाँटी, दाँत, आँखा, हाडजोर्नी, परिवार नियोजन, इमजेन्सी लगायतका सेवा उपलब्ध छन् ।
काठमाण्डौं विश्वविद्यालयको धुलिखेल अस्पताल अन्तर्गतको स्वास्थ्य केन्द्र भएकोले यहाँका स्वास्थ्य कर्मचारीहरुलाई स्वदेशी तथा विदेशी विशेषज्ञहरुले वर्षमा एकपटक तालिम पनि दिन्छन् । यसले स्वास्थ्य कर्मचारीहरु आधुनिक प्रविधि र ज्ञानबाट अध्याबधिक भैरहेको देखिन्छ ।

 

एक्सरे, अल्ट्रा साउण्ड, रगत दिशा पिशाव जाँच्ने ल्याब, सुपथ मूल्यमा औषधि वितरण कक्ष छ । अपरेशन थिएटर, विरामी कुरुवा बस्ने ठाउ, उनीहरुलाई खाना उपलब्ध हुने मात्र होइन यहाँ उपचार गर्न नसकिने विरामीहरुलाई धुलिखेल लैजान र ल्याउने इमजेन्सी एम्बुलेन्सको पनि ब्यवस्था नारायण चौरमा उपलब्ध छ, जो अस्पतालको च्यारिटी फण्डबाट संचालित छ ।

 

स्वास्थ्य केन्द्रमा गर्भवती तथा प्रसुति सेवा भएकोले अहिले घरमा बच्चा जन्माउने खतरा वरिपरिका गाउमा पनि कसैले मोल्दैन । धुलिखेल–बनेपा वा काठमाण्डौं जान नसक्ने गर्भवतीहरुको यहीं नियमित जाँच हुन्छ र सुत्केरी हुन पनि उनीहरु केन्द्रमै आउछन् ।

 


 

 

Comments