MENU
कोटेश्वर–सूर्यविनायक सडक : पछाडि टिपर आउँदैछ ? होशियार !
 : 271 views
  Jul 11, 2018

मृत्युमार्ग बन्दैछ भक्तपुरको फराकिलो सडक

सदृश्य संवाददाता, काठमाडौँ, २७ असार : कोटेश्वर–सूर्यविनायक सडकअन्तर्गत जडीबुटीमा बा ८५प ७१६ नम्बरको मोटरसाइकल ट्राफिकको निर्देशनअनुसार जेब्राक्रसअगाडि रोकिसकेको थियो । तर, पछाडिबाट आइरहेको बा ४ख नम्बरको टिपर राकिएन । तीव्र गतिको सो टिपर अगाडिको मोटरसाइकललाई ठक्कर दिएर अघि बढ्यो । मोटरसाइकलको पछाडि बसेका भक्तपुर सल्लाघारीका १८ वर्षीय रोयल सुवेदीको घटनास्थलमा नै मृत्यु भयो । चालक अमन ढुंगेलको खुट्टा भाँचिएपछि ट्रमा सेन्टर लगिएको छ ।

जडिबुटीमा नै गत ३० जेठमा टिपरले स्कुटरलाई ठक्कर दियो । दुर्घटनामा काभ्रे बस्दै आएकी अस्मिता भण्डारीको मृत्यु भयो । बा ७०प नम्बरको सो टिपरले पनि स्कुटरलाई पछाडिबाट नै ठक्कर दिएको थियो । ठक्करपछि अन्य सवारीका यात्रु र स्थानीयले टिपरमा आगो लगाएका थिए ।

गत जेठमा यो सडकमा टिपरले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । गत वर्षको साउन यता ११ महिनामा उपत्यकामा मात्र टिपरको ठक्करबाट ३९ जनाको मृत्यु भइसकेको छ । धेरै दुर्घटना भक्तपुरकै सडकमा भएका छन् ।
महाशाखाका अनुसार रिङरोडभित्र भने पिक–आवरमा टिपरलगायत मालबाहक सवारीलाई कुदाउन रोक लगाइएको छ । बिहान ९ देखि ११ र अपरान्ह ४ देखि ६ बजेसम्म मालबाहक गाडी गुड्न पाउँदैनन् । तर, भक्तपुर रिङरोडबाहिर पर्ने हुनाले यहाँ निर्बाध गुड्ने गरेका छन् ।

यसकारण टिपर खतरा

टिपरको बनावटअनुसार यो सहर क्षेत्रमा कुदाउन मिल्दैन । यसको चालकको सिट निकै उच्च स्थानमा हुन्छ । अगाडिको भाग केही अगाडि निस्किएको हुन्छ । जसले गर्दा चालकले टिपरको ठ्याक्कैअगाडि देख्न सक्दैन । अग्लो स्थानमा हुँदा दायाँ बायाँ पनि राम्रोसँग देख्न सक्दैन । जसले गर्दा दुर्घटनाको जोखिम धेरै हुन्छ ।

अधिकांश टिपरले गिटी, बालुवा, ढुंगा बोक्ने गर्छन् । टिपर मालिकले चालकलाई जति धेरै खेप सामान ओसा¥यो त्यहीअनुसार भत्ता दिने गर्छ । भत्ताको लोभमा धेरैभन्दा धेरै खेप गर्नका लागि चालकले टिपर तीव्र गतिमा कुदाउँदा दुर्घटना बढेको छ ।

अदक्ष र कम उमेरका चालकका कारण पनि दुर्घटना बढेको छ । प्राय टिपरका चालक ३० वर्षभन्दा कम उमेरका छन् । धेरैजसो २२ देखि २६ बीचका छन् । चालकले सवारीभित्र ठूलो आवाजमा गीत बजाएर चलाउँदा पनि ध्यान अन्यत्र गइ दुर्घटनाको जोखिम बढ्छ ।

भक्तपुरमै किन हुन्छ धेरै दुर्घटना ?

कोटेश्वर–सूर्यविनायक सडकमा उच्च गतिमा सवारी कुदाउन सकिन्छ । फराकिलो र सीधा सडक हुने हुनाले साना र ठूला सवारी निर्बाध कुद्छन् । तर, भाडाका सवारी जथाभावी रोक्ने, जथाभावी लेन क्रस गर्ने र मोटरसाइकलहरुले गलत दिशाबाट ओभरटेक गर्ने गर्दा दुर्घटना बढेको हो । यो सडकमा राखिएका सडक बत्ति मर्मत नहुँदा बेलाबेला बिग्रिने गरेका छन् । सडक बत्ति कहिले बल्ने र कहिले नबल्ने गर्दा पनि सवारी चालक झुक्किन्छन् ।

यस्तो छ कानुन

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ (१) ले चालकले ज्यान मार्ने मनसाय लिएर दुर्घटना गराएर तत्काल ज्यान गएमा सर्वश्वसहित जन्मकैदको व्यवस्था छ । सोही दफाको उपदफा २ लापरबाही ढंगले सवारी चलाएर दुर्घटना गराई मान्छे मारेमा दुई वर्षदेखि १० वर्षसम्म कैद व्यवस्था छ । त्यस्तै उपदफा ३ मा चालकले कसैको ज्यान मर्न सक्छजस्तो लागेपनि उसले नदेखी कुनै दुर्घटना भई ज्यान गएमा एक वर्ष कैद र दुई हजार जरिवानाको व्यवस्था छ ।

कानुन कडा भएपनि यातयात व्यवसायीसँको मिलेमतोमा प्रहरीले जुनसुकै दुर्घटनामा पनि उपदफा ३ अनुसार मुद्दा दर्ता गर्ने गरेको छ । त्यसकारण चालक बढीमा ६ महिनाभित्रै जेलबाट छुट्छन् । यसरी छुटेका चालक फेरि काममा फर्कने हुँदा उनीहरु झनै लापरवाहीपूर्ण तरिकाले सवारी चलाउने गरेका छन् ।

Comments

NIC Asia