MENU
पानी छोएको निहुँमा कुटपिट गर्नेलाई ६ महिना जेल
 : 56 views
  Jul 11, 2018

सदृश्य संवाददाता, महोत्तरी, २७ असार : बर्दिवास–४ स्थित सार्वजनिक धाराको पानी छोएको भन्दै दलित महिलालाई कुटपिट र दुर्व्यवहार गर्ने दुई जनालाई जिल्ला अदालत महोत्तरीले ६ महिना कैद सजायको फैसाल सुनाएको छ । स्थानीय कमला गिरी र उनका नातेदार रामबाबु दाहाललाई कैद गर्ने फैसला भएको हो।

पीडित बुद्धमाया र उनकी छोरी मनीषा

जिल्ला न्यायाधीश दण्डपाणि शर्माको इजलासले गत आइतबार नै सो फैसला सुनाएको हो। जिल्ला अदालत महोत्तरीका श्रेस्तेदार रामानन्दप्रसाद अधिकारीकाअनुसार जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ बमोजिम कमलालाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तथा पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूतिको फैसला गरेको छ। अर्का प्रतिवादी रामबाबु दाहाल भने १६ वर्ष मात्र भएकाले नाबालकको हकमा उनलाई यसको आधा सजाय हुने भएको छ । उनी तीन महिना मात्र जेल बस्नुपर्नेछ ।

उनीहरुले स्थानीय बुद्धमाया विश्वकर्मा र उनकी छोरी मनिषालाई पानी छोएको निहुमा कुटपि गरेका थिए । विश्वकर्मा समाज नेपाल प्रदेश २ का अध्यक्ष एवं स्थानीय मीन रहपालका अनुसार उनीहरूले गत वैशाख १५ मा कुनपिट गरेका हुन् ।

पीडितका तर्फबाट अधिवक्ता दीपककुमार विश्वकर्मा र मनोजकुमार यादवले बहस गरेका थिए । उनीहरुलाई मुद्दा लड्न बर्दिवासस्थित मानवअधिकार शान्ति स्थापना केन्द्रले सघाएके थियो ।

गत वैशाख १५ मा बर्दिवास नगरपालिका वडा नं. ४, भब्सी टोलस्थित सार्वजनिक धारामा स्थानीय कमला गिरीकी छोरी दीपिका पानी भर्न गएकी थिइन्। त्यस क्रममा स्थानीय बुद्धमाया विश्वकर्माकी छोरी मनीषाले धाराको पक्का छोइदिएको भन्दै दीपिकाले जातीय रूपमा होच्याउने गाली गरिन्।

घर नजिकै धारा भएकाले यो भनाभन दीपिकाकी आमा कमलाले सुनिन् । उनले धारामा आएर मनीषाई गाली गर्दै कुटपिट गरिन्। मनिषा रुँदैरुँदै घर गएपछि आमा बुद्धमाया धारामा आएर कुटपिटको विरोध गरिन् ।

त्यस क्रममा कमलाले ‘सानो जाति भएर बढी कुरा गर्छेस् ?’ भन्दै गाली गलौज गरिन् । त्यही क्रममा आफन्त रामबाबु दाहाल आइपुगेपछि दुवै जना मिलेर बुद्धमाया र मनीषालाई कुटपिट गरेका थिए ।

घटनापछि वडा कार्यालय गएपनि वडाध्यक्ष दीपबहादुर कार्कीले असहयोग गरेको पीडितले बताएका छन् । वडाध्यक्षले सहयोग नगरेपछि पीडितहरु विश्वकर्मा समाज नेपाल प्रदेश २ को कार्यालय पुगेका थिए ।

Comments

Photography