MENU
असार सकियो तर, मुगुमा रोपाइ भएन
 : 172 views
  Jul 16, 2018

मुगु, ३२ असार : असार सकिएपछि जिल्लाको पश्चिम खत्याड गाउपालिका–१० ह्याङलु गाउँमा रोपाइ भएको छैन । सो गाउँमा पानी नपर्दा रोपाइ नभएको हो । लामो समयदेखिको खडेरीले खोलो पनि सुकेको छ ।

 

ह्याङलुमा असार तेस्रो सातातिर धानको बिउ राख्ने गरिएपनि यो वर्ष खडेरीले बिउ राखिएको छैन । साउन अन्तिमतिर धान रोप्न सुरु गरिने यो गाउँमा यो वर्ष रोपाइ नहुने संभावना छ । खोलामा पानीको थोपा नभएपछि धानको बिउन राख्न नपाएको स्थानीय ६९ वर्षीय पद्मसिंह चदाराले बताए ।

 

तीन बर्ष देखी खडेरी परेर राम्रो संग धान रोप्न नपाउदा भोकमरीले सताइरहेको चदाराले बताए । ‘यो वर्ष त खोलामा पानी नभएर कमिला हिँडिरहेका छन्,’ ह्याङलु गाउँका चदाराले भने, ‘खडेरीले खोलामा पानी सुकेपछि धानको बिउँ घरैको भाडा, कोठी र भकारीमै थन्किएको छ, खेतगरा बाँझै छन्, सम्झिदा आँखाबाट आशु आउछ ।’

 

तर, खेतको तलतिर भने मुगु कर्णाली नदी बगिरहेको छ । त्यो पानी डाँडातिरको खेतमा पु¥याउन पाए धेरै राहत हुने स्थानीयको भनाइ छ । ह्याङलु गाउँमा एक सय ८ घरधुरी छन् ।

 

चुनावको बेला पार्टीका नेता प्रचार प्रसारमा आउदा कर्णालीको पानी लिफ्टिङ्ग प्रणाली प्रयोग गरेर खेतमा तानेर सिचाइ गरिदिने आश्वासन दिने गरेको स्थानीय शोभु बढाले बताइन् । चुनाव जितेर गएपछि फर्केर पनि नआउने उनको भनाइ छ । गाउँको उत्पादनले पाँच महिना पनि खान नपुग्ने स्थानीय बताउँछन् ।

Comments

NIC Asia