MENU
संसदमै सिके राउतको पक्षमा राजपा, भाला र बन्दुकको चेतावनी
 : 135 views
  Sep 14, 2018

काठमाडौँ, २९ भदौ : राष्ट्रिय जनता पार्टी (राजपा)ले संसदमै नेपाल टुक्राएर छुट्टै देश बनाउने अभियान चलाइरहेका सिके राउतको पक्षमा आवाज उठाएको छ । राजपा सांसदले प्रहरी हिरासतमा मृत्यु भएका राउत कार्यकर्ता राममनोहर यादवको विषयलाई लिएर संसद नै अवरुद्ध पारेको छ ।

 

संसदको शुक्रबारको बैठक सुरु भए लगतै राजपाका सांसदले उठेर बिरोध गरे । त्यसलगतै सभामुखले समय दिएपछि बोल्दै राजपा सांसद लक्ष्मणलाल कर्णले सुरक्षा दिनुपर्ने प्रहरीकै हिरासतमा यादवको हत्या भएको दाबी गरे । जबकी मेडिकल रिपोर्टले उनी मुटुको बिरामी भएको र त्यहीकारण मृत्यु भएको पुष्टि गरिसकेको छ ।

 

कर्णले प्रश्न गरे, ‘प्रहरी हिरासतमै मान्छे मर्छ भने कसले सुरक्षा गर्छ ?’ उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने क्रममा यादव पक्राउ परेको र प्रहरीको यातनाका कारण मृत्यु भएको उनको दाबी छ ।

 

कालो झण्डा देखाउनु सबैभन्दा शान्तिपूर्ण विरोध प्रदर्शन भएको भन्दै सिके राउत शान्तिपूर्ण विरोधमा रहेको जनाउ दिए । राजपा सांसद कर्ण त्यतिमै रोकिएनन् उनले भाला र बन्दुकसम्मको चेतावनी दिए । कर्णले भने, ‘कालो झण्डा नदेखाएर के भाला बन्दुक देखाउने पर्ने थियो ?’ उनले घटनाबारे अध्ययन गर्न संसदले सर्वदलीय छानबिन समिति गठन गर्नुपर्ने माग पनि गरे ।

 

रोगका कारण मृत्यु : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा बादलले राजपा सांसदको प्रश्नको जवाफ दिँदै प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका रामनमोहर यादव सीके राउतका कार्यकर्ता भएको बताएका छन् । यादवले राष्ट्रिय हित प्रतिकुल गतिविधि गरेकाले पक्राउ गरेर राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको बादलले जानकारी दिए । उनको मृत्यु यातनाको कारण नभइ रोगको कारण भएको पुष्टि भइसकेको बादलले बताए ।

Comments

NIC Asia