MENU
सम्पदा बस्ति मौलिक स्वरुपमा पुनर्निर्माण गरिने, काष्ठमण्डपको पहिलो तल्ला पुनर्निर्माण २०७६ असार मसान्तभित्र गरिसक्ने, थप २३ सय पुनर्निर्माण लाभग्राही सूचीमा
 : 99 views
  Sep 14, 2018

सम्पदा बस्ति मौलिक स्वरुपमा पुनर्निर्माण गरिने

 

सदृष्य सम्वाददाता, काठमाडौं, भदौ २९ः राष्ट्रिय पुननिर्माण प्राधिकरणको शुक्रबार बसेको कार्यकारी समितिको बैठकले काठमाडौं उपत्यकाभित्रका खोकना, बुङमती, सांखु, किलागलजस्ता परम्परागत बस्तिहरु तथा उपत्यकाबाहिरका नुवाकोट, गोरखाका दरबार क्षेत्र एवं दोलखाको भीमसेन बजारजस्ता क्षेत्रहरुमा परेका बस्तिहरुको पुनर्निर्माण गर्दा बस्तिको मौलिक स्वरुपलाई यथावत कायम गर्ने गरी पुनर्निर्माण गर्ने निर्णय गरेको आज राष्ट्रिय पुननिर्माण प्राधिकरणले एक विज्ञप्तिमार्फत जनाएको छ ।

 

 

बैठकले सम्पदा क्षेत्रमा आवश्यक बाटो, खानेपानी, ढलनिकास जस्ता आधारभुत पूर्वाधारहरुको पुनर्निर्माण पनि प्राधिकरणमार्फत् नै लगानी गर्ने सरकारले निर्णय पनि गरेको छ । त्यस्ता बस्तीहरुमा रहेका निजी आवास पुनर्निर्माण गर्नुपर्ने घरधनीहरुलाई मौलिक÷पुरातात्विक शैलीमा पुनर्निर्माण गर्न थप ५० हजार रुपैयाँ अनुदानसमेत उपलब्ध गराउने भएकोे उक्त विज्ञप्तिमा उल्लेख छ ।

 

काष्ठमण्डपको पहिलो तल्ला पुनर्निर्माण २०७६ असार मसान्तभित्र गरिसक्ने

 

यसैगरि काण्ठमण्डप पुनर्निर्माण निर्देशक समितिको हालै सम्पन्न बैठकले काण्ठमण्डप पुनर्निर्माणमा हालसम्म भएका कार्यप्रगतिको समिक्षा गर्दै २०७६ असार मसान्तभित्र काष्ठमण्डपको पहिलो तल्ला पुनर्निर्माण गर्ने लक्ष्यको साथ योजना कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको जानकारी राष्ट्रिय पुननिर्माण प्राधिकरणको अर्को छुट्ठै विज्ञप्तिमा उल्लेख छ ।

 

काष्ठमण्डप पुनर्निर्माणमा प्रयोग गरिने सामग्रीको परीक्षण गरिएको र आगामी दिनमा पनि युनेस्को र पुरातत्व विभागको मापदण्ड अनुरुप परीक्षण गरिने भएको छ । साथै काण्ठमण्डप पुनर्निर्माणका लागि आवश्यक सबै रकम काठमाडौं महानगरपालिकाले लगानी गर्ने छ भने पुरातत्व विभागले आवश्यक प्राविधिक र सुपरिवेक्षणको सहयोग गर्ने उक्त राष्ट्रिय पुननिर्माण प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ ।

 

थप २३ सय पुनर्निर्माण लाभग्राही सूचीमा

 

अर्कोतर्फ राष्ट्रिय पुननिर्माण प्राधिकरण तेस्रो विज्ञप्तिअनुसार योभन्दा अगाडि छुटेका २ हजार ३ सय ४५ गुनासोकर्तालाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले पुनर्निर्माण लाभग्राही कायम गरेको छ । शुक्रबार बिहान बसेको बैठकले भूकम्प अति प्रभावित १४ जिल्ला र प्रभावित १६ जिल्लाबाट २०७४ मंसिर मसान्तसम्म दर्ता भएका १३ हजार ३ सय ७९ गुनासो फर्छर्यौट गरेको हो । साथै बैठकले ९ हजार ८ सय ३७ गुनासोकर्तालाई प्रबलीकरण लाभग्राहीमा सूचीकृत गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी, ८ सय ५९ गुनासोकर्तालाई संभावित लाभग्राही कायम गरेको छ । अर्कोतर्फ समितिले १४ जिल्लाका अति प्रभावित ७ हजार ८ सय ८४ गुनासोकर्तालाई गैरलाभग्राही कायम गरेको छ । पुनर्निर्माण लाभग्राहीले नीजि घर पुनर्निर्माण गर्न प्राधिकरणबाट तीन किस्तामा तीन लाख र प्रबलीकरण लाभग्राहीले दुई किस्तामा एक लाख रुपैयाँ अनुदान पाउँने व्यवस्था रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको पे्रस वक्तब्यमा उल्लेख गरिएको छ ।

Comments

NIC Asia