MENU
आधुनिक अलैँची भट्टी नहुँदा किसानलाई समस्या
 : 89 views
  Oct 27, 2018

 

 

तेह्रथुम, १० कात्तिक  : आठराई गाउँपालिका–४, इवाका किसान महेन्द्रकुमार इङ्नामको परिवारले अलँैचीको खेती गर्न थालेको पुस्तौँ बित्यो । अलैँचीखेतीबाटै उहाँकोे परिवार चलेको छ । मूल्य राम्रो पाएका बखत इङनाम परिवारले राम्रै आर्थिक उन्नतिसमेत ग¥यो । उहाँ अलैँची खेतीमा काम गरेको वर्षौंको अनुभव छ।

परम्परागत भट्टीमा अलैँची सुकाउँदै आठराई गाउँपालिका–४, इवाकी किसान बुधमाया गुरुङ । आधुनिक भट्टी र त्यसबारे ज्ञान नहुँदा किसानले हानीकारक परम्परागत भट्टीको प्रयोग गर्न बाध्य रहेका छन । तस्विर : रासस

 

इङनामलाई अलैँची टिप्नुभन्दा सुकाउन झण्झटिलो लाग्ने गरेको छ । अलैँची टिप्न सहज भए पनि सुकाउन आधुनिक प्रविधिको ज्ञान नहुँदा असजिलो भएको हो । गाउँमा किसानले ढुङ्गा र माटोले बनेको परम्परागत भट्टीमा अलैँची सुकाउँछन् । उहाँले पनि घर नजिकै परम्परागत भट्टी बनाउनुभएको छ ।

 

परम्परागत भट्टीमा अलैँची राम्रो नसुक्नाका साथै किसानको स्वास्थ्यमा समेत असर पुग्ने गरेको छ । किसानलाई अलैँची आधुनिक भट्टीमा सुकाउनपर्छ भन्ने प्राविधिक ज्ञान छैन । प्राविधिक ज्ञान नभएकै कारण आधुनिक भट्टीको प्रयोग पनि शून्यजस्तै छ । जिल्लाका किसानलाई उद्योग वाणिज्य सङ्घले केही वर्षअघि १०० वटा आधुनिक भट्टी अनुदानमा उपलब्ध गराए पनि अहिले किसानले ती भट्टी प्रयोगमा ल्याएका छैनन् । किसानले लगेका आधुनिक भट्टी प्रयोगमा नरहेको अलैँची व्यवसायी सङ्घका जिल्ला महासचिव तुलसी ढकालले बताउनुभयो । “किसानलाई आधुनिक भट्टीको प्रयोगबारे ज्ञान छैन, अनुदानमा पाएका भट्टी पनि प्रयोगमा छैनन्”, उहाँले भन्नुभयोे ।

 

अनुदानमा पाएको भट्टी जडान गर्न पहिलो वर्ष प्राविधिक सहयोग पाए पनि दोस्रो वर्षबाट जडान गर्नै समस्या भएको फेदाप गाउँपालिका–५, इसिवुका किसान वृखबहादुर तामाङले बताउनुभयो । उहाँले भन्नुभयोे, “भट्टी त पाइयो, तर प्राविधिक ज्ञान पाइएनँ, त्यसैले प्रयोगमा आएनँ ।” आधुनिक भट्टीले अलैँचीको गुणस्तरमा सुधार हुने भए पनि त्यसको प्रयोगबारे किसानलाई थाहा नै नभएको उहाँको भनाइ थियो । “परम्परागत भट्टीमा छिटो सुक्छ तर आधुनिक भट्टीमा सुकाउँदा धेरै समय लाग्ने रहेछ” उहाँले भन्नुभयो । कतिपय किसानलाई परम्परागत भट्टीको प्रयोग गर्नु अलैँची गुणस्तरको हिसाबले गलत हो भन्ने नै थाहा छैन ।

 

परम्परागत भट्टीका कारण अलैँची कालो हुने, राम्रो नसुक्ने, डढेर नष्ट हुने, आगलागीको जोखिम हुने, धुवाँ र आगोले मानव स्वास्थ्यमा असर गर्नेजस्ता समस्या किसानले बेहोर्दै आएका छन् । यस वर्ष भट्टीमा सुकाउन थालेको अलैँची आगो दन्किएर सबै जलेर खरानी भएको लालीगुराँस नगरापालिका–८, सोल्माका किसान चन्द्र लिम्बूले बताउनुभयो ।

 

“अलैँची सुकाउन भट्टीमा हालेको थिएँ, खै के मिलेनँ सबै जलेर खरानी भयो”, उहाँले भन्नुभयो । काँचो दाउरामा अलँैची सुकाउनु पर्दा आँखा पाक्ने, दम, खोकीजस्ता समस्या बढ्ने गरेको लिम्बूले बताउनुभयो । आगोको झिल्को उडेर गएर घरमै आगलागी भएका घटना पनि छन् । भट्टी लगाउँदा किसान अत्यन्तै सचेत हुनुपर्छ । नसुकुञ्जेल रात दिन नभनी अलैँची भट्टी रुँघेर बस्नुपर्छ ।

 

आधुनिक भट्टी प्रयोगमा पहुँच नहुँदा समस्या ब्यहोर्नु परेको किसान लिम्बूले बताउनुभयो । परम्परागत भट्टीको सबैभन्दा जोखिमको पक्ष भनेकै आगोबाट अलैँची जोगाउनु र धुवाँबाट बच्नुभएको मेन्छ्यायेम गाउँपालिका–३, श्रीजुङका किसान विनय लिम्बूले बताउनुभयो । “हामीलाई आधुनिक भट्टीको ज्ञान छैन, परम्परागत भट्टी प्रयोग गर्दा समस्यै समस्या छन्”, उहाँले भन्नुभयो । यो वर्ष लिम्बूले एक पटक सुकाउँदा राम्रो नसुकेपछि दुई पटक अलैँची सुकाउनु परेको सुनाउनुभयो ।

 

“अलैँची बेच्न लिएर त गइयो तर व्यापारीले फिर्ता पठाइदिए फेरि सुकाएर लगेपछि मात्रै विक्री भयो”, किसान लिम्बूले भन्नुभयो । अलैँचीको गुणस्तर वृद्धि गर्न पहल शुरु भए पनि किसानलाई गुणस्तरीय अलैँची उत्पादनका लागि आधुनिक भट्टी प्रयोगबारे प्राविधिक ज्ञान र सीपसहित अनुदानमा आधुनिक भट्टी वितरण गर्नेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने उहाँले बताउनुभयो ।

 

अलैँचीको याममा बगानबाट अलैँची टिपेर छोडाउनु पर्ने र भट्टीमा सुकाएपछि मात्रै बेच्नका लागि तयार हुन्छ । किसानले परम्परागत भट्टीमा सुकाउनुपर्दा १० केजी अलैँची सुक्न करीब १७ घण्टासम्म लाग्ने गरेको छ । काँचो दाउरामा अलैँची सुकाउनुपर्दा समस्या हुने आठराई गाउँपालिका–४, इवाका किसान नरेन्द्र इङनामले बताउनुभयो ।

 

“अलैँची राम्रो सुक्दैनँ, काँचो दाउराले अलैँची सुकाउँदा आफूलाई उत्तिकै गाह्रो हुन्छ”, उहाँले भन्नुभयो, “पाए त आधुनिक भट्टीमा अलैँची सुकाउन सजिलो हुन्थ्यो नि ।” परम्परागत भट्टी आफैँले बनाउन सकिने भए पनि आधुनिक भट्टीभन्दा कम खर्चिलो र एक पटक बनाएपछि वर्षौंसम्म प्रयोग गर्न सकिने हुन्छ । आधुनिक भट्टी पनि पटक–पटक प्रयोग गर्न सकिन्छ तर प्रयोग गरेपछि त्यसलाई फुकालेर राख्नुपर्छ । पुनः जडान गर्न प्राविधिक ज्ञान नभएकाले समस्या भएको सम्बद्ध किसानको भनाइ थियो ।

 

जिल्ला कृषि विकास कार्यालयले वर्षौंदेखि अलैँची खेती प्रविधि र विस्तारका लागि कार्यक्रम सञ्चालन गर्दै आए पनि गुणस्तरीय उत्पादन तथा आधुनिक भट्टीको प्रयोगतर्फ किसानको ध्यान तान्न सकेको छैन । अब स्थानीय सरकारको पहलमा अलैँची खेतीको विकास तथा गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने अलैँची व्यवसायी सङ्घका जिल्ला अध्यक्ष अमृत सुवेदीले बताउनुभयो ।

 

तत्कालीन जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्ष जिल्लामा २२० मेट्रिक टन अर्थात् रु ४६ करोड २० लाख मूल्य बराबरको अलैँची उत्पादन भएको थियो । यस वर्ष पनि मौसम अनुकूल रहेकाले अलैँची उत्पादन बढ्ने आँकलन कृषि प्राविधिकको छ । यो वर्षको अलैँची मूल्य बढ्ने आशाले किसानले अहिले पनि अलैँची थन्क्याएर राखेका छन् ।–प्रकाश धौलाकोटी(रासस)

Comments

NIC Asia