MENU
जंकफुडका कारण मानसिक रोगदेखि क्यान्सरसम्म
 : 42 views
  Dec 20, 2018

आम मानिसको दैनिकी कुनै न कुनै खानाबाटै सुरु भएको हुन्छ। व्यस्तताका कारण सहरमा बसोबास गर्ने मानिस तयारी खानामा बढी नै भर पर्न थालेका छन्। विश्वव्यापी रूपमै तयारी खानाको प्रयोग बढिरहेकोछ। केही विकसित मुलुकले त्यसको प्रयोगमा गुणस्तरीयता र विकल्प खोज्न थालिसकेका छन्। तर नेपाललगायत एसियाली मुलुकमा जंकफुडको प्रयोग बढ्दो रुपमा नैछ।

भ्रुणावस्थादेखिनै जंकफुड प्रयोगमा अभ्यस्त हुन थालेको छ नेपाली समाज। मन्टेश्वरीदेखि मन्दिरसम्म जंकफुड प्रयोगले सजिलो पनि भएको छ। खाँदा स्वादिलो, सबैको पहुँचमा पुग्न सक्ने र तयारीका लागिलामो समय पनि खर्चनु नपर्ने भएकाले यसको लोकप्रियता चुलिएको हो।

 

अधिकांश बालबालिकाको स्कुलको खाजा जंकफुड हुन थालेको छ। अभिभावकको व्यस्तता र बालबालिकाको रोजाई दुवै कारणले जंकफुडको प्रयोग दैनिक रूपमा वृद्धि भइरहेकोछ।

 

सहज र सरल खाजाका रुपमा प्रयोग गरिने जंकफुड मन्द विष भएको कुरामा चाँहि धेरैले हेक्का पुर्याएका छैनन्। दैनिक खाइने जंकफुडले केही समयको भोक मेटाएकोमा आभारी हुनेहरू धेरै छन्। विद्यालयमा आफ्ना नानीबाबुलाई माया गरेर दिएको खानेकुरा मन्दविष भएको पत्तो पाउन सकिएको छैन।

 

केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा जंकफुड सम्बन्धी अध्ययन प्रकाशित भएका छन्। फुड रिभोलुसन डट ओआरजीअनुसार नियमित जंकफुड खाने मान्छेको दिमागको गम्भीर असर पर्छ। यसकारण उसको सोचाइदेखि दैनिक क्रियाकलापसम्ममा समेत नकारात्मक असर पर्दछ। सोही पोर्टलमा पोषणविद् जोएल फर्मन लेख्छन्, ‘हामीमा खाद्यपदार्थ, पोषण र स्वास्थ्यका विषयमा जानकारी पाउन एउटा क्रान्तिकै आवश्यक छ, जुन हामी आफैबाट सुरुगर्नुपर्छ।’

 

फास्टफुड तथा तयारी खानेकुराले भोको मानिसलाई चाँडै सन्तुष्टि दिने तर त्यसले समाजका हरेक अवयवमा नाटकीय हानी गरिरहेको हुन्छ, उक्त पोर्टलमा उल्लेखछ।

 

जंकफुडले दिमाग नकारात्मक असर गर्नेदेखि सोच्ने शक्तिमा ह्रास ल्याउने दाबी गर्छन् फर्मन। जंकफुडले मधुमेह, मोटोपन, सानो उमेरमै हृदयघात हुनेदेखिलिएर क्यान्सरजस्ता घातक रोग निम्त्याउन सक्नेसम्म उनको भनाइ छ। झनक्क रिसाउने, छिनभरमै निराश बनाउने र मानसिक रुपमा कमजोर बनाउनजंकफुडले योगदान दिने उनी ठोकुवा गर्छन्।

 

त्यस्तै पब्लिक हेल्थ जर्नलमा प्रकाशित एक अध्ययनअनुसार हप्तामा एकपटक मात्र पनि फस्टफुड खाने मान्छे डिप्रेसनको रोगी हुने संभावना ५१ प्रतिशत सम्भावना गरेको पाइएकोछ।

 

त्यस्तै जर्नल अफ एडोल्सेन्स हेल्थमा प्रकाशित अध्ययनले फेन्चफ्राई खाने महिलामा स्तन क्यान्सर हुने २७ प्रतिशत सम्भावना हुने उल्लेख छ। ‘पछिल्लो समय हरेक सहरका बासिन्दा शरीरलाईचाहिनेभन्दा बढी क्यालोरी फास्टफुड र जंकफुडबाट प्राप्त गर्छन्। अतः यस्ता खानेकुराले स्वास्थ्यमा गम्भीर चुनौती निम्त्याइरहेकोछ,’ सो अध्ययनमा उल्लेख छ।

 

विश्वव्यापी रूपमै तयारी खानाको प्रयोग बढिरहेकोछ। यससम्बन्धी उद्योगहरू दैनिक रूपमा बढिरहेकाछन्। जंकफुड उत्पादन गर्ने नेस्ले केएफसी र यमसी डोनाल्डजस्ता कम्पनीले आक्रामक रूपमा बजार विस्तार गरिरहेका छन्। ब्राजिल, घाना, चीन, भारतलगायत एसियाका मुख्य सहरमा यस्ता कम्पनीको उपस्थिति आक्रामक छ। नेपालजस्ता विकासोन्मुख देशमा जंकफुडको प्रशोधन गुणस्तरीयनहुने र त्यसमा प्रयोग हुँदै आएका केमिकल झनै बढी घातक हुने पाइएकोछ।

 

पोषण तथा मनोरोग अनुसन्धानका लागि अन्तराष्ट्रिय समाजका अध्यक्ष फेलीके जक्कका अनुसार मानव शरीरका लागि खाद्यपदार्थको महत्व हुन्छ,जति बढी हुन्छ त्यति नै बढी मानसिक स्वास्थ्यमा पनि महत्वपूर्ण हुने गर्दछ। उनी भन्छन्, ‘स्वास्थ्यकर खानेकुरा सुरक्षात्मक हुन्छ भने अस्वस्थकर खानेकुराका कारण डिप्रेसन र एन्जाइटीको संभावना पनि उति नै बढी खतरनाक हुन्छ।’

 

कन्जुमर हेल्थ डाइजेस्ट डटकममा उल्लेख भएअनुसार एक चौथाइ अमेरीकी नागरिक कुनै न कुनैइ मानसिक समस्याबाट पीडित छन्। सन् २०२० सम्ममा मुटु रोग पछिको दोस्रो ठुलो समस्या डिप्रेसनको हुने अध्ययनले देखाएकोछ। त्यसले गर्दापनि हरेक सहरमा डिप्रेसन र एन्जाइटी बढिरहेकोछ। जसको मुख्य कारण जंकफुड भएको अध्ययनले दाबी गरेको छ।

 

सोही अध्ययनअनुसार जंकफुड चाँडै पग्लने प्रकृतिको हुन्छ। शरीरले अघाएको महसुस गरेपनि दिमागमा खाएको महसुस हुन पाउँदैन। त्यसैले छिटोछिटो भोक लाग्ने र मानिसले पटकपटक बढी खानेकुरा खान्छ। यसले गर्दा शरीरलाई चाहिनेभन्दा बढी क्यालोरी र कार्बोहाइड्रेड शरीरमा पुग्ने भएकोले मोटोपन र मधुमेहको समस्या बढ्दै गएको छ।

 

जंकफुडमा पाइने क्यालोरी सर्कुलेसन नहुने खालको हुन्छ अर्थात् जाम भएर रहन्छ। मानिसको दिमाग सक्रिय बनाउन क्यालोरीले निरन्तर काम गर्नुपर्ने हुन्छ तर जंकफुडबाट प्राप्त हुने क्यालोरी शरीरका लागि मात्र प्रयोगमा आउँछ। जंकफुडमा दिमागको लागिचाहिने क्यालोरीको मात्रा शून्य हुन्छ।

 

जंकफुड मन्द विष मात्र नभएर एक प्रकारको कुलत पनि हो। यसको बानी परेपछि बिर्सेर अर्को खानामा बानी लगाउन गाह्रो हुने हुन्छ। एकपटक स्वाद लिएपछि लामो समयसम्म त्यसको प्रभाव दिमागमा रहिरहन्छ।

 

जंकफुडमा पाइने अत्यधिक सोडियमका कारण ब्लड प्रेसर बढाउने र कहिलेकाँही ब्लड सर्कुलेसन रोक्ने काम गर्छ। कोलेस्टेरोलका कारण धमनीमा उच्च रक्तचाप बढ्न गई मुटुमा समस्या निम्तने खतरा हुने उल्लेख छ। पोषण, भिटामिन र मिनरलको कमीका कारण बच्चा कुपोषण हुने सम्भावना बढी हुन्छ।

 

जंकफुडमा पाइने अत्यधिक फ्याटका कारण बालबालिका र किशोर-किशोरीमा दमरोगको जोखिम बढेको बताइएकोछ। लामो समयसम्म लगातार काम गर्न नसक्ने, हिड्न वा दौडन नसक्ने, घरको भर्याछङ चड्न डराउनेजस्ता समस्या जंकफुडकै कारण हुने सोही पोर्टलमा उल्लेख छ।

 

त्यस्तै टोरोन्टो विश्वविद्यालयले गरेको अध्ययनअनुसार जंकफुड खाने मानिसहरूसामान्य मानिसका तुलनामा अधैर्य, अल्छी र छटपटे स्वभावका हुने सो अध्ययनमा देखाइएको छ।

 

बालमनोचिकित्सक डा सागर रिमालका अनुसार पछिल्लो समय सानो उमेरका बालबालिका पनि चाँडै रिसाउने, तनावमा हुने, एकान्त मनपराउने, अभिभावकसँग भन्दा जंकफुडमा बढी रमाउने गर्न थालेकाछन्।

-स्वास्थ्य खबरपत्रिका

Comments

NIC Asia