डाक्टर गोविन्द के सी मरे भने …?

लाग्छ गोविन्द मर्दैछन । हामी सबै चुपचाप बसेर मार्दैछौ,भनौ अब यस्तै परिस्थिति रह्यो भने छिटै मारिन्छन। गोविन्द मरेपछि सर्वप्रथम हाम्रो सरकारले गोहीको आँशु खसाल्ने छ। खिन्न मन गरेर उदास मुहारमा दुख मनाउ गर्दै दुई चार शब्द बोल्ने छ , लेख्ने छ । महान मान्छे र महानताको गाथा कोरल्ने छ। उनको नाममा स्ट्याच्यू बनाउने र उनलाई संधै सम्झने वाचा कसम खानेछ।

सर्वप्रथम यो दुर्वाच्य यहाँ उल्लेख गर्नु पर्दा मलाई ठूलो खेद छ। नेपालीको भाग्य र भविष्यप्रति नियतिको खेल र हाम्रो नियत देखेर अच्चम लागेको छ । हामी सबैलाई थाहा छ सरकारहरु अहिंसाको भाषालाई  सुन्न र बुझ्न चाहदैन । शान्तिपूर्ण माग र आन्दोलनलाई गन्दैन र गम्भीरतापुर्वक लिदैन । अभिरुचिपूर्ण नजरले हेर्दैन । कारण प्राय सत्ता जो सुकेको होस् सत्ताको भाषा निर्मम र कठोर हुन्छ । कठोर भाषा बिनाको सुनुवाई हतपत्त सरकारको प्राथमिकता भित्र पर्दैन भन्ने उदाहरण हामीकहाँ काफी छ ।

१६औं अनशनको बेला गोविन्द के सिलाई सरकारले आफ्नो शक्ति देखाएकै हो । झन् हत्या र हिंसाको प्रयोगलाई आफ्नो अभिस्ट सम्झने र त्यहि पृष्ठभूमिबाट शक्ति आर्जन गर्ने शक्तिलाई विनम्रताको भाका र भाषा चूत्थो लाग्नु अस्वाभाविक होइन । त्यसैले छुद्र गालीगलौज र निन्दा गर्छन सत्ताका मतियारहरु डाक्टर के सिलाई । सत्याग्रह भन्ने शब्द एवं आमरण अनशन उच्च नैतिकता सहितको लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्नेहरुले सम्मान गर्ने र झुक्ने पद्दति र संस्कार हो। भद्र आग्रह र आफैलाई पिडा दिएर, पिडा खपेर सरकारलाई दवाव दिने संस्कार उन्नत हो, महान आदर्श हो तर यसलाई बुझ्ने र सरोकार राखेर सम्झने राज्य पनि उत्तिकै जिम्वेवार र नैतिकवान हुनु जरुरी छ । निहत्था नागरिक भोकै बस्दा र मर्दा लाज भएको राज्यलाई लाज हुन्छ तर लाज नभएको लाज पचेको निर्लज्ज राज्यलाई लाज हुदैन सरम लाग्दैन ।

गैरजिम्वेवार र जबाफ देहिता बिहिन सरकारहरु बन्ने देशमा भद्र अवज्ञा र भद्र आन्दोलन केवल उपहासको घटना हुन्छ । खिज्याउने र उडाउने मेलो बन्छ जसको उदाहरण बनेको छ  डाक्टर गोविन्द के सिको चरण चरणका सत्याग्रह र सरकारहरुको हेलचेक्र्याइँ उदासी र लार्परबाही । बन्दुक बोकेर मान्छे मार्दै हिड्दा क्रान्तिकारी बन्नेहरु भोकै लम्पसार सुतेर अहिंसाको भाषा र अस्त्र अंगाल्दा सत्याग्रहलाई शान्तिको मन्त्र बोक्दा निम्छरो र लाछीपना देख्छन । “शुरु शुरुमा महात्मा गान्धीको सत्याग्रहलाई विस्टर्न चर्चिलले एक अर्धनग्न फकिर भोकै लम्पसार पर्दा हामीलाई कुनै फरक पर्दैन ‘भनेर होच्याएको इतिहास धेरै पुरानो छैन ।

 शुरुको अनशन केवल आफू कार्यरत अस्पताल त्रि वी शिक्षण अस्पताल सुधारको माग राखेर सत्याग्रह थालेका के सी त्यतिबेला छक्क परे बेथिति र गंजागोलको जालो र जरा त्याँहाबाट शुरु भएर बिभिन्न तह र तप्का हुदै मन्त्री र प्रधानमन्त्रीको टेवल सम्म पुगेको रहेछ । समस्या तल मात्रै होइन माथि सम्म रहेछ जसको मूल जरोलाई प्रहार नगरे सम्म देसमा शुशासन कहिल्यै आउदैन त्यसैले राजनीतिक माग भने पनि उनले चरण वद्द आन्दोलन गर्दा भोगेको अनुभवले दण्डहीनताको लागि पनि बोल्ने बनायो। थुप्रैले बिमति र असहमति प्रकट गरेको उनको एक बुँदा दण्डहीनताको अन्त्यको लागि हिजो द्वन्द कालमा राज्यपक्ष र विद्रोही पक्ष दुवैद्वारा भएका ज्यादती र जोर जबर्जस्तीको छानबिन र दोषीलाई सजाय पनि हो।

लहरो तान्दा पहरो थर्कन्छ भनेर यो इस्यू र मागमा सत्ता पक्ष र विपक्षको तीव्र असहमति र बिरोधको स्वर एकै ठाउँमा छ। समस्या र गाँठी कुरा यहि हो दण्डहीनताको अन्त्य गर्दा अहिले भएका नेताहरु प्राय सबै मुछिएका छन र दण्डको भागीदार बन्नेछन। तसर्थ आफ्नो मृत्यु पत्रमा हस्ताक्षर गर्न किन राजी हुन्छन र नेताहरु ? देशलाई सुशासन र प्रजातान्त्रिक मुल्य र मान्यतामा हिडाउने हो भने दण्डहीनताको अन्त्य गर्नैपर्छ। आज सम्म भएका भ्रस्टाचार अनियमितता र घोटाला देखि निर्ममतापूर्वक गरिएका गैर न्यायिक हत्याको इन्शाफ पिडितहलाई दिने पहिलो मलम र औसधि हो।

देशमा बिध्यमान यावत विकृतिको छानबिन हुनुपर्छ। देशका बौद्दिक जमात पनि यो असम्भव देख्छन किनकि उनीहरुलाई आ आफ्नो पार्टीलाई समर्थन गरे बापद पाउने बिभिन्न नियुक्ती , अवसर र जुठो पुरोको लोभ छ त्यसैले दण्डहिनताको अन्त्यलाई असम्भव भन्दै यस मानेमा गोविन्दको मागलाई अर्घेल्याई ठान्छन। लोभ मोह र सत्ता आसक्तिको आशा नराखी देश र जनतालाई दिने सुशासनको पक्षमा बोल्ने हो भने बौद्दिक, प्राज्ञिक र जानेबुझेका मान्छेको समर्थन यो मुद्दा र मागको खातिर हुनुपर्ने हो। बिडम्बना बौद्दिकता लोभको पोखरीमा चुर्लुम्म छ त्यसैले गोविन्द गर्जन नदेखे झैँ गर्छन। हुनत हिजो लोकमानका विरुद्द गोविन्द बोल्दा र प्रधान न्यायधिसको विरुद्द आगो ओकल्दा अब आकासै खस्छ भनेर डराउने पनि यहि वर्ग हो जसले बिगतमा राज्यबाट केहि मोफतमा लिएको थियो।

छुट्टै फाइदा भोगेको थियो , अनधिकृत लाभले लाभान्वित बनेको थियो । यही बर्ग समर्थन गर्छ तर शर्त राखेर त्यो बुँदा हटाउने भए यो बुँदा थप्ने भए हामी साथ दिन्छौ भन्छ। एकपटक पुष्प कमल दाहालले रोष प्रकट गरेका थिए सुकिला मुकिला मध्यम बर्गीय बौद्दिक भनेर । त्यस्तै छ बौद्दिक जमात नै सकभर अनदेखा गर्छ आफ्नो हित र स्वार्थमा मात्रै साथ दिने रहर गर्छ। यस्तो देख्दा लाग्छ गोविन्द बाच्नु भन्दा मर्नु नै जाती हो। जुन देशमा न्याय हुन्न, न्याय किनबेच हुन्छ त्यस्तो देशमा सादगी, भद्रता र अहिंसात्मक आन्दोलनको दर्दनाक अन्त्य हुनु के अनौठो भयो र ?  लोभ पाप बिना जनताको भलाइको लागि काम गर्दा मर्न राजि हुदा साथ् दिने जमात हुदैनन्, गुण र बैगुनको भिन्नता जान्दैनन्  भने न्याय किनबेच भएको हेरेर वाच्नुको के अर्थ ? बौद्दिक पढेलेखेको, जानेबुझेको, देखेसुनेको बर्ग न्याय र अन्याय छुट्याउन सक्दैन भने त्यो देशमा सर्वसाधारणले न्याय पाउने कुरा कल्पना मात्रै गर्न सकिन्छ ।

 लाग्छ गोविन्द मर्दैछन । हामी सबै चुपचाप बसेर मार्दैछौ,भनौ अब यस्तै परिस्थिति रह्यो भने छिटै मारिन्छन। गोविन्द मरेपछि सर्वप्रथम हाम्रो सरकारले गोहीको आँशु खसाल्ने छ। खिन्न मन गरेर उदास मुहारमा दुख मनाउ गर्दै दुई चार शब्द बोल्ने छ , लेख्ने छ । महान मान्छे र महानताको गाथा कोरल्ने छ। उनको नाममा स्ट्याच्यू बनाउने र उनलाई संधै सम्झने वाचा कसम खानेछ। औपचारिकता वस जनतालाई देखाउन सुनाउन गहिरो शोकको अनुभूति गर्नेछ। गोविन्दका समर्थक केहिदिन मैन बत्ती बाल्नेछन शोक व्यक्त गर्नेछन, केहि ठाउँमा श्रद्दान्जली सभा हुनेछ त्यसपछि समय हो त्यो घाउ निको हुनेछ बिस्तारै अनि यदाकदा सम्झना गर्नेको स्मृतिमा पनि विस्मृतिको बाक्लो कुहिरो लाग्नेछ। गोविन्द ओझेलमा पर्नेछन । 

गोविन्दको प्रार्णान्तको केहि समय पछि गोविन्दको जीवनलीला समाप्त गर्न सकेको खुशीमा माफिया, दलाल र बिचौलियाहरुले महाभोज आयोजना गर्नेछन सरकारका मन्त्री, प्रधानमन्त्री र सांसदहरु निम्तालु हुनेछन । चर्चा  चल्ने छ गोविन्द आफ्नै ढिपी र हठको कारण मर्यो, आफ्नै कमजोरीले मर्यो । हामीले त बाँच गर खाउ हामी अवसर दिन्छौ किन भोकै प्यासै बस्छौ ? बुढेसकालमा आनन्दको जिन्दगी बाँच भनेकै हो । टि यू को भी सी खाउ, पार्टीमा आउ संसद मंत्री बन भनेकै हो मुर्ख मान्छे आफ्नै जिद्दीले मर्यो । सरकारले गोविन्द के सी मारेकोमा कुनै अप्ठ्यारो मान्नु पर्दैन किनकि केसीलाई गोली हानिएको होइन , झुन्द्याइएको होइन, भीरबाट खसालिएको होइन, गाडीले किच्न लगाइएको होइन उनले आफै जीवनको सट्टा मृत्यु रोजेका हुन ।

भीरबाट लड्ने गाईलाई राम राम भन्ने हो काँध थाप्न त सकिन्न नि भनेर एकापसमा कुराकानी हुनेछ तर्क बितर्क जम्नेछ।  कतिपय गोविन्द के सीको सत्याग्रह ठिक भनेर बेलाबेलामा केसीको जुलुसमा देखिनेहरु सत्याग्रहको सच्चा अनुयायीहरु जस्ताहरु  पनि महाभोजमा पुगेर आफुले गरेको जासुसी र रिपोर्टिंग साहसिक कथा सुनाउने छन। शहर बजार हुदै गोविन्द अन्त्यको घटना क्रमशः सेलाउदै जानेछ। अनि अर्को नयाँ अध्याय शुरु हुनेछ। खुल्न खोजेका खुलेका र खुल्ने सबै किसिमका मेडिकल कलेज र अस्पतालले सम्बन्धन पाउनेछन, सिट निर्धारण देखि शुल्क निर्धारण सम्म उनै माफियाहरुको हात र काँध हुनेछ । वैधानिकताको जामा पहिरेका  बिभिन्न आयोग र निकायहरु बन्नेछन। विज्ञ भनेर अवसरवादी चरित्रका स्वनामधन्य केही बरिस्ठहरुले जागिर पाउनेछन ’emले भटाभट माफिया पोस्ने  पक्षमा फैसला र निर्णयहरु गर्नेछन।

 प्रधानमन्त्री,मन्त्री सांसदहरु अनि अरु लब्धप्रतिष्ठित मान्छेको मुहारमा एक प्रकारको चमक आउनेछ त्यो चमकमा गोविन्दको निरिह सरिर अनि नेपाली जनताको हाड र छाला मात्र भएको रोगी सरिरको बिम्ब देखिने छ। नेता शासक प्रशाशकहरुको खुशी अरु चुलिने र द्रव्यको व्यापार फलिफाप हुने सपनाको रंग गाढा हुनेछ । थुप्रै अस्पताल र कलेजहरु मृत्युको भय बेच्न र डाक्टरी प्रमाणपत्र बेच्न जताततै खोलिनेछन, लुटको संसार स्थापित हुनेछ। कसैले पनि अचाक्लीको बिरोध र असहमति व्यक्त गर्न सक्ने छैन। यदि बिरोध गर्ने हिम्मत कसैले गर्यो भने आलमले चलाएको उद्ध्योग झैँ मान्छेहरु इँटा भट्टादेखि अन्यत्र त्यस्तै खाल्डो र आगोको रापका प्रिय भोजन बन्ने छन्। एक किसिमको छुट्टै राज चल्ने छ। जसरी बसुरिद्दिनको नेशनल मेडिकल कलेजमा अहिले पनि राज्यको उपस्थिति बेगरको छुट्टै संसारमा छ।

लुटेर कमाउनेहरूको बिरोध गर्ने सामर्थ्य आज त छैन भने भोलि झन् असम्भव हुनेछ। नैतिक शिक्षा पढाउन बसुरिद्दीन अन्सारीहरु आउनेछन, सदाचार र अनुशासनको ठेक्का दिपक मनांगेहरुको भागमा हुनेछ। न्यायको तराजु बोकेर गोपाल श्रीमानहरु सर्वोच्चको कमाण्ड सम्हाल्न पुग्नेछन, दीप बस्नेत र राज नारायण ठाकुरहरू अख्तियारमा हावी हुनेछन। अस्पतालको लापरबाही कच्चा डाक्टरको मात्राले धेरै मान्छे यमपुरीको यात्रा गर्नेछन त्यतिबेला गोविन्द र उनका समर्थक मात्र मर्नेछैनन सबै त्यो बेथितिको शिकार सबै सबै निमुखा गरिब जनता हुनेछन। आज समर्थन र बिरोध गर्न जसरी मान्छेहरु विभक्त छन् त्यतिबेला मृत्युले यो मेरो र तेरो भन्ने छैन। मेडिकल शिक्षामा हुर्केको विकृतिले धेरैलाई अकालमा लैजाने ।

अहिले त यति धेरै क्षतविक्षत छ स्वास्थ्य क्षेत्र त्यतिबेला झन् कस्तो हुने हो कल्पना गर्दा सम्म पनि आंग सिरिंग गर्नेछ । मुटु काप्ने छ । तसर्थ पनि हामी सबै चुप रहेर मौन बसेर के सीलाई मृत्यु रोज्न बाध्य पारौ, सरकार खुशी बनोस सधैको लागि सरकारहरुको घाँडो समाप्त होस। डाक्टर के सी नहुनु भनेको स्वास्थ्य र शिक्षाका माफियाहरुको आंगमा चैनको सुर्यदय हुनु पनि हो ।

दूरदराजका गाउँका मान्छेको पिडा बुझ्ने मान्छे, दुख बिमार पर्दा औसधि मुलो बोकेर हिड्ने मान्छे , बाढी पहिरो आपद विपदमा सहयोगको मलम र औसधि बोकेर जताततै कुदने मान्छे, निष्ठा र सतमा रहने मान्छे अब यही सत्रौं अनशनमा मर्यो भने तपाई हामीलाई के फरक पर्छ र ? हामी अर्काको लागि त के, आफ्ना लागि समेत एक दिन त के,एक छाक भोको बस्न सक्दैनौ भने भोकै बसेर कोही मरेछ भने त्यो दोष भोकै मर्नेको हो । बस हामी टन्न खाउँ भद्र भएर बसौ, सरकार रिसाउने गरि गोविन्द वचाउन नबोल्ने कसम खाउँ ।

मौनता रोजौ । हामीलाई अहिल्यै मरिहाल्नु परेको छैन, मरे नाथे रैतीका छोरा छोरी मर्ने हुन्, सस्तो र सुलभ पढन नपाए गरिबका छोराछोरीले नपाउने हुन्, बिरामी भए उपचार गर्न नसक्ने तिनै गरिब र निमुखा हुन् । गरिब, निमुखा र विपन्नले कहिले पो अवसर पाएका थिए र अहिले दिनु पर्यो ? गरिब निमुखा र दीनहीनको पक्षमा, सबैको लागि अवसर भन्दै कोही भोकै मर्छ भने हामीले वचाउने दायित्व किन लिनु पर्यो ? सत्र सत्र पटक सम्म सधै समर्थन गर्न गोविन्द के सीको ऋण त हामीले खाएका छैनौ नि गाँठे ?

एकदिन त्यो बिमार, त्यो मृत्यु, त्यो भय, त्यो अत्याचार, त्यो आपद विपद, त्यो दैवी र प्राकृतिक प्रकोप तपाईलाई पनि आउनेछ मलाई पनि पर्नेछ, हाम्रा बाबुआमा र छोराछोरी पनि कमसल डाक्टरको हातमा परेर मृत्युको मुखमा रहनेछन त्यतिबेला हामीलाई पाप धर्मको ख्याल आउला , आफ्नो नियति प्रति धिक्कार गर्न मन लाग्ला जतिबेला हाम्रो लागि बोलिदिने पागल गोविन्द मरिसकेका हुनेछन । जे गर्नुछ समय हुदै गरौ अन्यथा पश्चाताप गरेर मात्रै केही हुदैन । पश्चातापले जल्नु अघि नै बुद्दिको भाँडोमा घाम झुल्कियोस ।