देशको मायाले आँखाबाट आँसु होइन रगत चुहिन्छ आमा ।

परदेशमा सबै थोक छ आमा तर देश छैन आमा तिमी छैनौ, तिम्रो माया छैन, बुबाको हप्काइको अभिभाव्कत्व छैन । बडाबाको आदेशात्मक माया मिसिएको अवाज छैन, काकाको साथित्व र स्नेह छैन । साइली दिदीले पोल्टामा हालेर दिने एसेलु र चुत्रो छैन, चमेली बैनीको घांगरको खल्तीमा रहेको काफलको संवाद छैन ।


प्यारी आमा,सेवा ढोग !         

औपचारिकताको लागि सन्चै छौं भन्नुपर्छ तर हर परदेशवासी शारीरिक रूपमा आराम र सन्चो भए पनि मानशिक र भावनात्मक रुपमा कहिल्यै सन्चो र आराम भएका हुन्नन यो हाम्रो नियति भयो । आमाको माया देशको हालत र आफ्नो विवशताले सधैं सधै पिरोलिएका हुन्छौं । तन पो यता छ मन  तनसँग बस्न  सक्तैन देशकै कुना कन्दरा, शहर, बजार, पाखा, पखेरा, हिमाल र  तराईतिरै रहेको हुन्छ । नारायण गोपालले गाएको गीत ” म जन्मे जहाँ, म हुर्के जहाँ त्यहीँ आंगन प्यारो छ, यो छाती भरी मुरीका मुरी नेपालको माया छ ” भने झैँ आफ्नै देश र परिवेशमा हुन्छ । देशमा चाड पर्व उत्सव र मेला हुँदा यहाँ हाम्रो मन भने खपीनसक्नु गरेर दुख्छ तर बाध्यताको बिकराल पर्खालको सामु कठोर मुटु पारेर सहनुको विकल्प छैन।

देश छोडेर आउँदा नै मुटु कठोर बनाउने अभ्यास भएको हुन्छ । कठोर मुटु नहुदो हो त ? एक गाँस खान र एक आंग ढाक्न अनि स्वास्नी र छोराछोरीको भविष्य केही बनाउन सकिन्छ कि भनेर यो बंजर भुमिमा पसिना बगाउन आउनु परेको कटु यथार्थ छ । आफ्नै देश, आफ्नै गाउँमा यति अवसर सजिलै मिल्थ्यो भने यति टाढा रहेर आफ्नो भाग्यलाई धिक्कार गर्नु पर्दैन थ्यो । आंटाे पिठो आफ्नै जहान परिवारसंग बसेर मिठो नमिठाे जस्तो हुन्छ खाइन्थ्यो । बुढा बाबुको दम र प्रेसरको औसधि, अनि आमाको सुगर र थाइराइडकाे टयाबलेट आफ्नै हातले सांझ बिहान खुवाउन सकिन्थ्यो । दुखका साथ भन्दैछु आमा बुबाको औसधि किन्ने पैसा आफ्नै ठाँउमा बसेर कमाउन पाएको भए कति जाति हुन्थ्यो । सरकारले नै संबिधानमा लेखेको जनताको स्वस्थ रहने हक सरकारले पूरा गरिदिने हो भने, निशुल्क औसधोपचारको ब्यबस्था गरिदिने हो भने आफ्नै बाबू आमाको काखमा बाबुआमा संग अन्तिम समय सम्म सगै रहने अवसर गुम्दैन्थ्यो ।

काकाको मलामी जान नपाउदा र बैनीको बिहेमा बैनी अन्माउदा माइलीआमालाई सान्त्वना दिन नपाउदा कति पोल्छ यो छाती भत्भती ? खै कसलाई गुनासो गरौ आफ्नो भाग्य र नियति नै खोटाे छ । वीर बहादुर भाइकी दुलही अर्कै केटासंग बेपत्ता भै लाला बाला नानी छोडेर भन्दा र काइली बैनीका जुवाइले सौता हाले भन्दा कति सकस र पीडा हुन्छ हामी परदेसीलाई । यो विरानो मुलुकमा बसेर रातदिन गरेर कमाएको पैसा वीर बहादुरले सबै श्रीमतीको नाममा पठाएका हुन आफ्ना छोराछोरीको लागि र श्रीमतीको खुशीको लागि तर दुलहीले कुबाटाे हिडिन भनेर वीर बहादुर भाइ विक्षिप्त छन ।

छोराछोरी र लोग्नेको खुसीको लागि जिन्दगी हत्केलामा राखेर जवानी जोखिममा राखेर अस्मिता रक्षा गर्दै कमाएको धन दौलत सौता हाल्न जुवाइले खर्च गरेपछि काइली बैनीको हालत देखेर आफै पनि सपनामा खुब झस्किन्छु आमा कहाँ चैनले निदाउन पाइएको छ र ? झन हिजोआज त दिनै पिछे कुनै न कुनै घटनामा नेपालीले ज्यान गुमाएको खबर पाइन्छ अनि रातो काठकाे बाकसमा आफ्नै सहकर्मी, छिमेकी र नेपालीको लास देस फर्काउन अनेकन ठाँउमा हारगुहार गर्दा दूतावास धाउदा आफ्नै पनि कुन दिन यस्तो नियति हुने हो भनेर मन अतासिन्छ त्यसै त्यसै, मुटु कांप्छ उसै कसै । भक्कानिन्छ छाती, झर्छ आँसु सुस्ताउछ मन, गल्छ शरीर फतक्क । लोलाउछ नयन ।

कहालीलाग्दो भविष्य सम्झेर खै कता हराउछ कता बिलाउछ मन । झट्ट छोडाै यो बिरानो देश र जाउ आफ्नै आमाको काख झै पनि लाग्छ तर गाउँ फर्केर पनि के गर्ने उचित अवसर र वातावरण अझै छैन काम गर्न भन्ने मान्छेहरुको कुराले मन मारेर पुन अर्काकै देशलाई आफ्नो श्रम र पसिना आँसु र रगतले सिन्चन गर्न र मलिलो बनाउन , बालुवामा फल फलाउन लागि पर्नु पर्छ । मनमा त लाग्छ नि एक थोपा पसिना भए पनि आफ्नै भुमिमा खसाउन पाए हुन्थ्यो । हामी बिदेशिएका झन्डै पचास लाख नेपाली नेपाल फर्केर देशको माटाेमा पसिना पोख्न पाए मरुभूमिमा सुन फलाएको श्रम र सीपले देशको मुहार फेर्न योगदान गर्ने थियौँ ।

हुनत प्रवासमा रहेर पनि देश थेग्ने रेमिटान्स हाम्रै पाखुरीको आर्जन हो जसको कारण नेताहरू आज देशको ढुकुटीलाई आफ्नै माइती, मावली, ससुरालीको पेवापात दाइजो र दान झै खर्च गर्न सकेका छ्न, उपचार गर्न विदेश पुगेका छन एक अर्थमा त गर्व पनि छ आफू, आफ्ना जहान, परिवार, छोराछोरी, बाबुआमालाई भोकै नाङ्गै राखेर , सिटामाेल र जीवन जल खुवाउन नसके पनि नेताहरू पाल्ने हैसियत र विश्वका महंगा र उच्चस्तरीय अस्पतालमा उपचार गरेर चोला फेर्ने अवस्था हामी विदेशिनुको कारण संभव भएको हो । स्थानीय तह देखि प्रदेश हुँदै संघीय संसदका संसद, कर्मचारी, पदाधिकारी, सरकार र मन्त्रीहरू हाम्रा आर्जनमा सेवा र सुबिधाको नाममा देशमा ब्रम्ह लूट मच्चाउन सफल छन् । परदेश भुमिमा मरौ परौ हुन्छ, आपद विपद पर्छ दुर्घटना हुन्छ, भवितव्य पर्छ, अनाहकमा जेल पर्छ्न, चेलीबेटी बिचल्ली र बलात्कारमा पर्छ्न त्यतिबेला उद्दार गर्न हाम्रो हर प्रयत्न र जोड रहन्छ त्यो बेला गरिने सहयोग कुन नेपालीको समाजसेवा भन्दा कम र घटी हुन्छ र ? तसर्थ हाम्रो सामाजिक योगदान पनि छैन सेवा भावमा कटौती छैन ।

देश परदेश जहाँ रहे पनि नेपाली मन उस्तै हो ,कोमल छ, सहयोगी छ । सेवाभावमा सदैव तत्पर र क्रियाशिल रह्न्छ । आखिर नेपाली रगत न हो सहयोग, सेवा, सत्कार र मानवीय धर्म हाम्रो पहिचान र अमुल्य निधि हो सम्पत्ति हो जहाँ गए पनि मुखररित नभइरहन सक्तैन । नेपालीहरुको सेवाभाव, सहयोग गर्ने बानी, परिश्रम र जोखिम मोल्ने प्रवृति प्रति विदेशीहरु पनि कहिलेकाही प्रसंसा गर्छ्न त्यतिबेलाको खुशी संसार जिते बराबरको अनुभुती हुनेगर्छ । तर बिदेश भनेको बिदेश नै हो आफ्नो ममत्व र माया स्नेह कमै हुन्छ । उनीहरू हाम्रो काम हेर्छ्न र ज्याला दिए पछि जसरी पनि काम सक्नु सकाउनु पर्छ भनेर पुछर निमोठि रह्न्छ्न ज्यानको सन्चो सुबिस्ता दुख बिमारको ख्याल राख्दैनन् । ज्यानलाई सुबिस्ता नभए पनि पेलान सहदै घरपरिवारको दुरावस्ता सम्झेर काममा जोतिनु पर्छ । खटिन नामन्जुर गर्न सकिदैन । मानवीय अर्थ र महत्त्व भुलेर पनि काम, काम र कामको लागि जोडबल गर्छ्न साहु, मालिक र तिनका मतियार, त्यतिबेला भने मरेतुल्य भएको भान पर्छ र देश छोडेर आउनुको पिडाले सताउछ नमज्जासंग । आफ्नै देशमा यति मेहनत र परिश्रम गरियो भने के असम्भव छ र ? भन्ने लाग्छ । फेरि आफ्नै सुदुर अतीत  सम्झन पुग्छु ।

गाउँमै केही गर्छु भनेर रिन खोज्न जादा साहुको दैलो सयौ पटक चाहर्दा पनि नपत्याएको तर विदेश जान्छु भन्दा रिन दिन साहुहरु घर नै आइपुगेको संस्मरण ताजै छ । म त सामान्य मान्छे मेरो हकमा चित्त बुझाउने ठाँउ छ तर मास्टट डिग्री सकेर गाउँमै केही गर्छु भनेर कृषि सम्बन्धि प्रोजेक्ट सन्चालन गर्न रकमको जोहो गर्न साहुहरुको दैलो चाहर्दै हिड्ने राम्ककृष्ण दाइको कथा र ब्यथा पनि कम दुखद छैन । सस्तो सहुलियतमा रिन दिने सरकारी प्रतिबद्धता र बैंकहरुको रवैया काम गरेर खाने उध्योग धन्दा संचालन गर्नेहरुको हितमा छैन जसरी हुन्छ आफ्नो आयस्ता वृद्धि गर्ने मात्रै छ । नत्र बैंकहरुको आम्दानी वर्ष वर्षमा सधैं उल्लेख्य वृद्धि हुने तर रिनि उध्योगी चै हरितन्नम हुने स्थिति कसरी आउथ्यो ? गाडी किन्न सजिलै लोन दिने बैकले तरकारी खेती फल्फुल खेती गर्न लोन पत्याउदैन । उत्पादनशिल कर्ममा लोन नपत्याउने तर अनुत्पादक चिज विलासी गाडी घोडामा लोन लगाए पछि कसरी देश आत्मनिर्भर र रोजगारीको बाटोमा जान्छ ? खै मैले नबुझेको हो कि सरकार नीतिनिर्माताले यतातिर ध्यान नदिएका हुन ? उद्धमीमारा र कृषकमारा बैंकको निति रहेसम्म देशमा युवा फर्कने, उद्धम गर्ने र बस्ने वातावरण बन्दैन भन्ने मेरो बुझाइ छ । 

त्यत्रो पढेलेखेका देश विदेश घुमेका रामकृष्ण दाइको योजना, कार्यक्रम उदेश्यलाई बैंकले सघाएन, सघाउन हिच्किचायो । कुनै साहु महाजनले रिन दिएर ब्याज असुलेर सहयोग गर्ने हिम्मत देखाएनन । उनको उदेश्य थियो गाउँमै रमाउने र कमाउने वातावरण  बनाउने कृषिलाई उध्योग र किसानलाई उधमी बनाउन प्रयत्न गर्ने अरुहरुलाई गाउँ जाऊ, जाऊ, गाउमै बसौं बसौ लाग्ने बनाउन गाउँ केन्द्रित विकास निर्माण गर्ने  ? युवा पुस्तालाई उधमी बनाएर  स्वराजगार प्रवर्द्धन गर्ने उपाय र तरिका अबलम्बन गर्ने । अर्ग्यानिक खेती गर्ने, हरियाली वृद्धि गर्न बनजंगल जोगाउने सुख्खा जमीनमा वोट बिरुवा लगाउने, ब्याबसायिक पढाईमा जोड दिने । आरोग्यताको लागि प्राकृतिक उपचार र औसधालय खोल्ने, अमुल्य जडिबुटीको खेती गर्ने, प्रसोधन गर्ने निर्यात गर्ने, पशु पंक्षीपालन, गाई भैंसी पालन  लगायत विभिन्न उदेश्य र सपनाहरु थिए तर ती सपना पूरा गर्न सरकारले फ्यासिलेटेड गरेन, बैंकले धितो राखेर पनि लोन दिन आनाकानी गर्यो ।

शैक्षिक प्रमाणपत्र धितोको कर्जा पनि घोषणामा सिमित बन्यो व्यवहारिक कार्यन्वयमा आएन ।  विभिन्न झन्झटिलो सर्त र अप्ठ्यारो स्थितिले लोन लिनु भन्दा बरु काम नै नगरी बस्नु अर्थात परचक्रीको द्वारपाले बन्नु ठिक देखियो । पढेलेखेका मान्छेहरुले नै साथ सहयोग, समर्थनको सट्टटा हेप्ने उडाउने र असहयोगको निति अबलम्बन गरे, उर्जा दिनुपर्नेहरुले निरन्तर निरुत्साहित गरे । आखिर एउटा मान्छे देश समाज र देशको नीति नै विपक्षमा भए पछि कसरी टिक्न सक्नु अन्ततः विदेश पलायन भएर आफै मालिक र आफै नोकर बन्ने सपना केवल अरुको नोकर बन्न विवस भयो । यो हदको पराकाष्ठा छ काम गर्छु भन्नेहरुका निमित्त, पढेलेखेका मान्छेहरुका निमित्त हामी जस्ता सामान्य पढाई र झन पढ्ददै नपढेका मान्छेहरुको लागि झन विकराल स्थिति छ आफै कमाउछु उध्योग गर्छु र रोजगारदाता बन्छु भन्ने सपना । 

तब देश कसरी बन्छ हामी कसरी देशमै बस्नेगरी फर्कनु ? जहाँ बसे रहे पनि हृदयभरी देशको माया छ । आँखा भरी देश बनाउने सपना छ । बिदेशी भुमिमा बसेर हेर्दा लाग्छ हामी निर्धन होइनौ हाम्रो देश गरिब र विपन्न होइन  तर एउटा कुरा पक्का हो हामी धन चिन्न नसकेर गरिब भएका हौ । हाम्रो ठूलो धन हाम्रो मेहनत गर्ने स्वभाव हो जुन कुरा हाम्रो गाउँ छोडेर आएपछि गहिरोसंग अनुभुत भएको छ । हामीसँग सबथोक छ तर यता गर्ने कर्म त्यता गर्ने र काममा देश बस्दा जस्तो लज्जाबोध नहुने हो यता गरे झै त्यता गर्ने हो भने नहुने र नपाउने चिज हाम्रोमा छैन।

आफ्नो उर्बर र मलिलो जग्गा बर्जर र बन्जड पारेर बालुवामा तेल निकाल्न युवा निर्यात गर्ने निति सरकारहरुले अख्तियार गरेको देख्दा पो दिक्क लाग्छ, उदेक लाग्छ । हाम्रो श्रम शक्ति र उर्जा देशले नै सदुपयोग गरे हुन्थ्यो हामी पनि कलिला नानी बाबुको तोते बोली र आमा बाको न्यानो काख बाट बिमुख हुनुपर्ने थिएन । जन्ती र मलामी गरेर सामाजिक दायित्व र पिडा सुख दुख गाउलेसगै शेयर गर्न पाउथ्यौ । हरि कृष्ण बाजे स्वर्गे हुँदा मलामी जुटाउन अर्को एकदिन घरमा नै लास राख्नु परेको दुखद खबर फेसबुकमा सरिता दिदीले राख्नु भएको देखेर धुरु धुरु रुन मन लाग्यो । हुनत यो संसारमा सबैलाई दुख छ आफ्नो आफ्नो तरिका र प्रकारको । गाउँमा हुनेको दुख, पहाडमा हुनेको दुख तराई र बेसीमा हुनेको दुख, शहरमा हुनेको दुख अनि बिरानो देश झन परदेश हुनेको दुख र खिन्नता भनीसाध्य हुन्न ।

परदेशमा सबै थोक छ आमा तर देश छैन आमा तिमी छैनौ, तिम्रो माया छैन, बुबाको हप्काइको अभिभाव्कत्व छैन । बडाबाको आदेशात्मक माया मिसिएको अवाज छैन, काकाको साथित्व र स्नेह छैन । साइली दिदीले पोल्टामा हालेर दिने एसेलु र चुत्रो छैन, चमेली बैनीको घांगरको खल्तीमा रहेको काफलको संवाद छैन । छ साहु र उनका चम्चाहरुको निर्दयी आदेश, निर्देश र कर्कस रुखो आवाज कानमा घन ठोके जस्तै बिहान देखि बेलुकी सम्म । यन्त्रमानव झै कामको गति र लय मात्रै । पचास पचपन्न डिग्रीको तातो घामको बालुवामा पसिना झार्न अनि शुन्य डिग्री भन्दा धेरै तल झरेको रगत जम्ने चिसोमा काम गर्नु कुनै रहर र सौख हैन आमा बाध्यता हो । लालाबालको उज्ज्वल भविष्यको लागि जोखिम मोलेको हो । देश सम्झदा  मायाले आँखाबाट आशु  होइन रगत चुहिन्छ आमा ।