भ्रमण वर्ष २०२० ( फोटो फिचर )

बीस लाख पर्यटक भित्र्याउने उद्देश्यसाथ शुरु भएको नेपाल भ्रमण वर्षको दशरथ रङ्गशालामा औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आगमनपछि राष्ट्रिय गीतबाट कार्यक्रम शुरु गरिएको थियो । नेपाली सेनाका टुकडीले देशभक्तिको गीत गाउनुको साथै मञ्च अगाडि नेपाल भ्रमण वर्ष–२०२० को छोटकरी रूप ‘भि एन वाई’ चित्र बनाएका थिए । समारोहमा हिन्दू, बौद्ध, मुस्लिम, जैन, इसाइ, शिख समुदायले आ–आफ्ना पाठ पढेर नेपालमा विभिन्न समुदाय रहन्छन् भन्ने सन्देश दिएका थिए । हिन्दूले शङ्खध्वनी बजाउनुको साथै वैदिक स्वस्ति पाठवाचन गरेका थिए । वौद्ध धर्मालम्बीले बौद्धसम्बन्धी पाठवाचन गरेका थिए । कार्यक्रममा १०८ बटुक र १०८ बौद्धधर्मालम्बीले उक्त पाठवाचन गरेका थिए ।

उद्घोषकले समारोहको सञ्चालन नगर्दै नेपाली चलचित्रका महानायक राजेश हमाल मञ्चमा देखिएपछि प्यारापिटमा रहेका दर्शकले ‘हुटिङ’ गरेका थिए । सम्बोधनकै क्रममा हमालले नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण मुलुक रहेको र विभिन्न पर्यटकको आकर्षक गन्तव्य रहेकाले विदेशी पाहुनालाई नेपाल भ्रमण गर्न आग्रह गर्नुभयो ।

त्यसपछि पर्यटन व्यवसायी र विभिन्न सङ्घ संस्थाको झाँकी प्रदर्शन गरिएको थियो । पर्यटन व्यवसायीले पर्यटनसम्बन्धी सामग्री बोकेर झाँकी प्रदर्शन गरेका थिए । करिब एक घण्टा विभिन्न जातजाति, भाषा संस्कृतिका झाँकी प्रदर्शन गरिएको थियो ।

शुरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षमा नेपाल घुम्न आउन सबै पर्यटकलाई निम्तो दिँदै आर्थिक विकासको आधार पर्यटनलाई बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले एकताको दिपज्योति प्रज्वलन गरी भ्रमण वर्षको उद्घाटन गर्नुभएको थियो । – रासस





नेपाल भ्रमण वर्ष सन् २०२० को शुभारम्भका अवसरमा बुधबार काठमाडौँको दशरथ रङ्गशालामा आयोजित समारोहमा नेपाली चलचित्रका महानायक राजेश हमाल शुभकामना दिँदै । तस्वीरः प्रदीपराज वन्त÷रासस