त्यो दशैं – भागवत खनाल


दशैं साँस्कृतिक चाडभन्दा पनि आमोद प्रमोद , रमाइलो , फजुल खर्च र आडम्बरको अवसरमा परिणत हुँदै छ । भावनात्मक महत्व खस्कदै छ , तैपनि दशैं भिन्न स्वरुपमा जीवीतै छ । दशैं नै एउटा जरिया बाँकी छ जन्म ठाउमा जम्मा हुने , दुख सुखका कुरा गर्ने , अनुभवहरु साटासाट गर्ने , पुराना कुरा सम्झने र फेरि भेट्ने बाचा गर्ने ।
आफूले बिहा गरेकी दुलही नचिनेका ती किशोर ज्वाईहरु उस्तै परे यसपाली पनि जीवंसंगीनीलाई नचिनिकनै फर्कनु पथ्र्यो । एकछिन मुख ढाकेर ढोग्न आउँदा लाजले आफ्नै मुख रात्तै पार्ने दुलहाले कसरी चिन्नु आफ्नी जीवनसाथी ?
दशैं । हीन्दूमात्रको महान चाड । असत्यमाथि सत्यको विजय भएको उपलक्षमा मनाइने पर्व । शक्तिस्वरुपा दुर्गा भवानीले महिषासुर वध गरेको पावन स्मृतिमा मनाइने उल्लाशामय समारोह । दशैं मनाइने परम्परा सम्बन्धमा धेरैका धेरै मत छन् तर सबै मतमा असत्यमाथि सत्यको , अज्ञानमाथि ज्ञानको , अन्यायमाथि न्यायको र अभिमानमाथि नम्रताको विजयको रुपमा लिइएको पाइन्छ । त्यसैले दशैंलाई विजया दशमी पनि भनिन्छ । यी त भए शास्त्रीय कुरा , परम्पराका कुरा र वौद्धिक वृत्तमा गरिने कुरा । दशैं मनाउने सामान्य मानिस चाहे त्यो बयस्क उमेरको पुरुष होस् या महिला , बृद्ध होस् या बालक , उसलाई यी शास्त्रीय विषयहरु सरोकारका कुरा हैनन् । उसको सरोकारको कुरा त दशैं हो । वर्षदिनमा एक पटक आउने दशैं ।
आज विजया दशमीको पूर्वसन्ध्यामा झन्डै पचास वर्षअघिका दशैहरु को सम्झना भयो । यहाँ मैले आफ्नै परिवेश अर्थात लुम्बिनी अन्चलका पहाडी जिल्लाको दशैंको ’boutमा वर्णन गर्ने हुँदा अन्य क्षेत्रसंग केही मात्रामा लौकिक र व्यावहारिक चलनहरु फरक पर्न सक्छन । दशैं त्यसै पनि बाह्रै महिना सुन्दै आनन्द लाग्ने शब्द , अझ भाद्र महिना लागेपछि त सारा समुदायमा अर्कै वातावरण छाउने । केही कुरा उठ्यो कि दशैसंग गाँसिने । हरेक कामलाई दशैंअघि , दशैंमा या दशैपछि गर्ने भनी थेगो नै हुने । भाद्रमा मकै स्याहारेपछी दशैं अगाडि नै बारी जोत्ने , हिउदे बाली छर्ने , बारीका कान्ला सफा गर्ने , लहराहरू तह लाउने र घर नजिकको बारी सफा र सिनित्त पार्ने चलन थियो । भदौरे गर्मीमा यी काम फत्ते गर्न चानचुने कुरा थिएन तर आसन्न दशैंमा यस्तो शक्ति थियो कि सबैजना यी काम समाप्त गरेर मात्र दशैं मनाउन चाहन्थे । यति ठूलो चाडमा कामको टेन्सन बाँकी राख्नुभन्दा रातदिन दुख गरेर भए पनि फुर्सदिला हुन चाहन्थे सबै । दशैंको रोमान्चले सबैलाई काममा लाग्न प्रेरित गर्थ्यो । अरु बेलाभन्दा यस बखतमा घरका जहान मात्र हैन खेताला समेत बढी जाँगरिला हुन्थे । दशैंको अनुभूति नै अद्भूत रुपमा कार्य सम्पन्न गर्ने प्रेरक तत्व ( Motivating Factor ) हुन्थ्यो । यो प्रेरणाको ’boutमा आफैले अनुभव गरेको बाहेक अर्को व्यक्तिलाई यी शाब्दिक वर्णनबाट बुझाउन गाह्रो छ ।
यसै पनि यो शारदी शोभाले भरिपूर्ण समय , डाडाकाँडा सबै हरिया , सफा र शुभ्र हिमाली दृश्य , कन्चन तर प्रशस्त वहावयुक्त नदीनालाले जताततै रमाइलो देखिने , अझ दशैंको आगमन ! के चाहियो । यही समय हुन्थ्यो बाटाघाटाका भडखारा पुर्ने , काँढा पन्छाउने , सम्म परेर आउने जाने बटुवालाई रातसाँझमा समेत निर्वाध हिड्न मिल्ने बनाउने । टाढा टाढाबाट सबैभन्दा गुणस्तरीय कमेरो र माटो खनेर सकी नसकी बोकेर ल्याई आफ्नो घरलाई लिपपोत गरी गाउँको सबैभन्दा सुन्दर घर बनाउने प्रेरणा दशैं बाहेक अरु केले दिन सक्दो हो ? दशैं नहुँदो हो त माकुराको जालले भरिएका खरका छाना मुनिका भित्ताहरु सफा र सुन्दर पार्ने प्रतिष्पर्धा कुन शक्तिले गराउँदो हो ?

दशैंमा बाबियो खरको मोटो र बलियो डोरी बाटेर सबैलाई CENTRE मा पर्नेगरी ठूलो र बलियो रुखको हाँगामा बधिन्थ्यो । के बालक के बृद्ध , के महिला के पुरुष सबैले पिंग खेल्ने समय निकाल्थे । यस मामिलामा जातपातको कुरा हुन्नथ्यो । अझै दशैंमा टाढा टाढा जाने बटुवालाई लक्षित गरेर समेत मूल बाटोमा पिंग हालिन्थ्यो । बटुवा पनि एक्क्कैछिन भए पनि पिंग खेलेरै बाटो लाग्थे , थकाइ मरेको अनुभूति हुन्थ्यो । परदेशीहरु भरसक दशै पारेरै घर आउथे । केही नगद र लत्ता कपडा लिएर आउने हुँदा लाहुरे हुने घरका मान्छेको सान छुट्टै हुन्थ्यो , तर कसैले कसैलाई हेप्दैनथ्यो ।
लगभग सबै परिवारका केटाकेटीहरुले नयाँ लुगा पाउने समय हुन्थ्यो दशैं । एकै समयमा सबैतिरबाट सिलाउनुपर्ने कपडाको थुप्रो लागेपछि दर्जीहरुलाई हम्मे पर्थ्यो । एकातिर कपडाको चांग अर्कोतिर दशैंको समय , अलि अलि रक्सी पनि खानुपर्ने । दर्जीको घरको वरीपरी लुगाको ताकिता गर्न आउनेहरुको भीड । त्यत्रो थुप्रो काम छ कसरी प्राथमिकता निर्धारण गर्नु । आफ्नो लुगा सिलाएर तयार भयो कि भनेर पुग्ने केटाकेटीमा दर्जी दाइसंग सोध्ने हिम्मत हुदैनथ्यो । यसो उनले देख्नेगरी नजिकमा उभिनेसम्म हो तर देखे पो , वास्ता गरे पो । दशैंको दिन बिहानसम्म कुर्दा पनि लुगा तयार नभएपछि दुखी भएर फर्कने बालक र किशोरको नया लुगाबिनाको दशैं कति खल्लो र निराशाजनक हुन्थ्यो , ब्यहोरेकालाई सम्झना होला ।
बिहा पछिको पहिलो दशैंमा दुलाहा सेल , अर्सा , अनरसा , फिनी आदि रोटी , मालभोग केरा , दही र प्रशस्त कुराउनी बोकाएर सानाकासाथ ससुराली जाने गर्थे । आफूले बिहा गरेकी दुलही नचिनेका ती किशोर ज्वाईहरु उस्तै परे यसपाली पनि जीवंसंगीनीलाई नचिनिकनै फर्कनु पर्थ्यो । एकछिन मुख ढाकेर ढोग्न आउँदा लाजले आफ्नै मुख रात्तै पार्ने दुलहाले कसरी चिन्नु आफ्नी जीवनसाथी ? अनि बिचरा ती किशोरीले कसरी सोध्नु ” हजुरलाई सन्चै छ ? ” भनेर त्यो जमानामा । तैपनि ससुराली भनेपछि छुट्टै रोमान्चको विषय हुन्थ्यो , कौतुहलमा ससुराल पुगेको ज्वाईं कौतुहलमै फर्कन्थ्यो , अर्को दशैंमा केही गर्न पाउने आशा बोकेर । झन् ससुरालमा के के गरिस भनेर परिहास गर्नेहरुलाई के उत्तर दिने उसले ?

कहिलै मीठो मसिनो खान नपाउनेहरु पनि अनेक जुगाड गरेर दशैंमा मीठो खानेकुरा खाई छाड्थे I वर्षमा एक पटक मात्र मासु खान सक्ने औकात हुनेहरुको त्यो एक पटक दशैमै पर्थ्यो । घर घरमा रोटा पाक्थे , मासु पाक्थ्यो , सेतो चामलको भात पाक्थ्यो र मानिसहरु यस्तो सानले खान्थे , देख्नेलाई यिनीहरु सधै यसरी नै खान्छन कि भन्ने भान पर्थ्यो । केटाकेटीहरुको त झन् फूर्ति नै बेग्लै । नया लुगा , मीठो खानेकुरा , दशैंमा आएका नया भिनाजु र भान्दाइले ल्याइदिएको कोशेली , दाइको ससुरालीबाट आएको पाहुर , के के हो के के दौतरीबीचमा गफ लाउने बिषयहरु । यसै पाली बिहा भएका तर घर गर्न नगएका र लोग्ने नचिनेका नववधुहरु आफ्नो लोग्ने टन्न कोशेली लिएर आएपछि साथी संगातीको बीचमा फुलेल हुन्थे । आफू कोहीभन्दा कम घरमा नपरेको महसुस गर्थे । यी सबै अवसर दशैंले जुटाउंथ्यो ।
लुम्बिनी अंचलको पहाडी जिल्लाहरुमा ब्राह्मण समाजमा विजया दशमीको दिन ( एक दिन ) मात्र टीका लाउने चलन थियो । घरमा बाबुआमाको हातको टीका लाएर मावली र ससुराली जानेको दौडादौड हुन्थ्यो ।सामान्य अवस्थामा एक दिनभरि हिड्नुपर्ने बाटो ३/४ घन्टामा भ्याउनु पर्ने । तैपनि हिम्मत गरेर टीका लाउन जान्थे बा आमा र बालबालिकाहरु । त्यस बखत बुटवलबाट तानसेनसम्म बाहेक कतै पनि मोटरबाटो थिएन । त्यो दिन बाटाभरि मानिसहरु हिडेको हैन दगुरेको देखिन्थ्यो । महिलाहरुमा माइतको माया , बाबुआमाको माया ,ज्वाईंहरुमा अलि अलि ससुरालीको माया , अलिअलि श्रीमतीको कर , केटाकेटीहरुमा अलि अलि बुढो बाउ बुढी आमा , मामा माइजुको माया , दक्षिणाको आशा र ठुलीआमा सानीआमाका छोराछोर्रीलाई आफ्नो नया नानाको सान देखाउने अवसर । संचारको कुनै सुविधा थिएन , कहिलेकाहीं त पुगेपछि मात्र थाहा हुन्थ्यो मावली / ससुरालीमा त जुठो पो परेको , केको टिका केको दक्षिणा ।

पाँचै दिन टिका लाउने समुदायमा ठूलो दौडादौड त पर्दैनथ्यो । तर दशैंको मस्ती न हो मादक पदार्थ सेवन पनि गर्नु पर्ने । वर्षदिनको चाडमा मापसे नगर्यो खल्लो हुने के के गुमेजस्तो हुने , मापसे गर्यो मात्रा बढी हुने । कतिपय मावली ससुराली जान हिंडेका युवाहरु बाटैमा झुम्म परेर भुलेको , बाटो बिराएको र कति त गन्तव्यमा नै नपुगी फर्केको पनि देख्न पाइन्थ्यो । तर यस्तो हुँदा पनि खिसी गर्ने , आलोचना गर्ने र अस्वाभाविक रुपमा लिने चलन थिएन । नितान्त सहज रुपमा लिइन्थ्यो र केही मात्रामा हाँसो र दिल्लगीको विषय मात्र बनाइन्थ्यो । कोजाग्रत पूर्णीमाको दिन ठाउठाउमा मेला लाग्थ्यो । चर्खे पिंग खेल्ने ( यो पिंग सशुल्क हुन सक्थ्यो ) सराय खेल्ने ,हसीमजाक गर्ने र दशैंपछिमात्र सिलाएको लुगा पाएका केटाकेटीले नयाँ लुगा लगाउने अवसर थियो यो । मापसे गर्नेहरु यत्रतत्र ढलेका देखिन्थे तर यसलाई सहज रुपमा लिइन्थ्यो र मापसे गर्नेहरुले पनि झगडा बबाल गर्ने होहल्ला गर्ने जस्ता क्रियाकलाप त्यति गर्दैनथे । हिन्दुस्थानबाट छुट्टीमा आउने कतिपय लाहुरे हरुले यसैबाट आफ्नो गम बिर्सने प्रयास गर्थे । परिवार र समुदायमा यो अनुशासित मापसेप्रति अद्भूत सहनशीलता हुन्थ्यो ।
दशैं नै यस्तो चाड थियो जसले सबै उमेर समूहका व्यक्तिलाई खुशी पार्थ्यो । अरुबेला खासै महत्व नपाएका बूढा बूढीमा नया रक्त संचार हुन्थ्यो । छोरा बुहारी , टीका थाप्न आउने ज्वाईं , छोरी , नातिनातिना , भान्जा भान्जी ,भतिजाहरु , छिमेकीहरु सबैले त्यो दिनमा पूर्ण विश्वासकासाथ् बृद्ध बृद्धाको आशिर्वाद थाप्थे र बृद्ध बृद्धाले पनि बिगतमा कुनै मनमुटाव भएको भए तापनि सबै बिर्सेर चोखो मनले आशीर्वाद दिन्थे । उनीहरुमा आफू पनि केही भएको भान पर्थ्यो , त्यो दिनमा जीवन सार्थक भएको महसुस हुन्थ्यो । पढे लेखेका र नपढेका भए पनि संगतले सिकेका बृद्धहरुले पुरुषलाई टीका लाइदिदा यो श्लोक पढेर आशिष दिन्थे ।

आयु द्रोण सुते , श्रीयं दशरथे शत्रुक्षयं राघवे
ऐश्वर्य नहुसे गतिश्च पवने मानन्च दुर्योधने
शौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्तीसुते
विज्ञानं बिदुरे भवन्तु भावाताम कीर्तिश्च नारायणे
यसैगऱी नारीलाइ टीका लगाई आशिष दिंदा यस्तो श्लोक पढिन्थ्यो
जयन्ती मंगलाकाली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नामोस्तुते
आशीर्वाचानको त्यो क्षणमा आशिष दिने र पाउनेबीचको भाव तरङ्गको अवस्था वर्णनातीत हुन्थ्यो ।
समय बदलिएको छ । पचास वर्ष अघिको दशैं र अहिलेको दशैंमा धेरै भिन्नता आइसकेको छ । अव केटाकेटीमा चाडपर्वको कुनै जिज्ञाशा , उल्लाश र कौतुहल रहेन । शहरी त के ग्रामीण समाजमा पनि संयुक्त परिवारको चलन हरायो । सधै नया लुगा , सधै खेलकुद र मनोरन्जनका साधन र सधै मीठो चोखो खाना पाएपछि केको लागि उत्सुक हुनु ? चाहिएको बेलामा पैसा पाउने भएपछि कुन दक्षिणाको लोभ गर्नु ?
अव माटो र कमेरो लिन कोही पनि टाढा जान्न । एक त गाउँमा मानिस नै बस्दैनन् कोही बसे पनि सक्नेले किनेको चुना या रंग लाउछ नसक्नेले नजिकमा जे जस्तो माटो कमेरो भेट्टायो त्यसैबाट काम चलाउछ । काँढा पन्छाउने र भडखारा सम्याउने कामको जिम्मा सरकारमा आइसक्यो । परदेशीहरु भरसक गाउँमा नजाने , गए पनि एक दुइ दिनलाई जाने , कमाएको पैसा गाउँमा नलैजाने चलन आयो । ससुराल जाने काइदा बेग्लै छ । रोटा पाक्दैनन , कुरौनी घोटिदैन । हुने खाने वर्गमा रोटी , मासु , फलफूल , नया लुगा जस्ता कुराको महत्व अब रहेन । दशैं साँस्कृतिक चाडभन्दा पनि आमोद प्रमोद , रमाइलो , फजुल खर्च र आडम्बरको अवसरमा परिणत हुँदै छ । भावनात्मक महत्व खस्कदै छ , तैपनि दशैं भिन्न स्वरुपमा जीवीतै छ । दशैं नै एउटा जरिया बाँकी छ जन्म ठाउमा जम्मा हुने , दुख सुखका कुरा गर्ने , अनुभवहरु साटासाट गर्ने , पुराना कुरा सम्झने र फेरि भेट्ने बाचा गर्ने ।

