राजनीतिक स्थिरताका लागि बैदेशिक रोजगार

नेकपाका पूर्व युवा नेता, सांसद योगेश भट्टराईले बजेटमाथि गरेको टिप्पणी चाहिँ कसैले सामाजिक सञ्जालमा शेयर गरेको पाएँ । उनले उठाएको एउटा प्रसंग भने मेरो दिमागमा घुसेछ। युवा सङ्घकै उनका पूर्वनेता गोकर्ण बिष्ट ‘युवा युवती निर्यात प्रवर्द्धन केन्द्र’ का प्रमुख छन । काम अनुसारको नाम नभेकोले मैले उनको मन्त्रालयको नाम सम्झिन सकिनँ । दारी पालेको बुर्का लगाएको कोही देखे भने दौडि हाल्छन ‘हाम्रा युवालाई चौकिदार राखिदेऊ, हाम्री युवतीलाई घरेलु….’भन्दै। बजेट भाषण गर्ने युवराज चाहिँ ति युवा युवतीको निर्यातबाट प्राप्त ‘पसिना-द्रब्य’ व्यवस्थापनमा लागेका छन । तर योगेश चाहिँ ति निर्यात-योग्य बस्तुलाई देश भित्रै खपत नगरेअर्को १५-२० वर्षमा देशले ठूलो ‘कन्फेशन एसेम्ब्ली’ आयोजना गर्नु पर्ने अवस्था आउछ भनेर डराउँछन।

सैन्य जगतमा एउटा गज्जबको चलन छ। अघिल्लो महिना जवानलाई खाल्डो खन्न लगाउने, अर्को महिना खाल्डो पुर्न, अघिल्लो महिना ढुङ्गा एक ठाउँमा थुपार्न लगाउने अर्को महिना हटाउन। मेरो गैरसैनिक दिमागले प्रश्न उठाउँथ्योः त्यस्तो योजनाबिहीन काम गरेर जवानहरूलाई किन दुःख दिएको होला?
पुर्ने खाल्डो किन खन्न लगाएको होला ? हटाउने ढुङ्गा किन थुपार्न लगाएको होला ? आदि आदि। तर सैन्य दिमागले लगाउने अर्थ फरक रैछ, यो तालीमको एक अंश त हो नै त्यो भन्दा बढि एङ्गेजमेण्ट स्ट्राटेजी रैछ, र अझ त्यो भन्दा बढि ‘कन्ट्रोल एक्सर्साइज’ रैछ। अहिले बुझ्दैछु हाम्रा नेताले अनावस्यक रुपमा युवा सडक उतार्ने, नहुने काम गर्न लगाउने, पहिले औटा काम गर्न लगाउने पछि भत्काउन लगाउने आदि कामको भित्रि अर्थ।
यसपाली बजेट माथि टिप्पणी गर्दै नेकपाका एक जना भुपू युवानेताले दिएको भाषण सुन्ने मौका मिल्यो। युवा जनशक्ति र विकासको सम्बन्धलाई उनले तथ्याङ्कको सहाराले रमाइलो व्याख्या गरेका छन । हुन त बजेट’bout बोल्ने यो देशको सबै भन्दा अयोग्य पात्रमा म पर्छु। आफ्नो तलबको राउण्ड फिगर नै लेखापाललाई सोधेरमात्रै भन्न सकेको, करयोग्य आयमा बीमाबापत पाउने १५,००० छुट छ महिना सम्म नलिएर महिना कै दुई-तीन हजार बढि कर तिरेको जस्ता अनेकन किस्सा छन, मेरो बजेट सम्बन्धमा सून्य-ज्ञान झल्काउने। त्यसैले बजेट’boutका ठट्यौला टिप्पणी नै मेरो ज्ञानका अधिकतम सीमा हुन, गहिरो विश्लेषण मेरो ज्ञानको क्षेत्र होइन।
यसपाली पनि त्यस्तै संयोगले मात्रै बजेट भाषणको एक-दुई लाइन सुनेको। टिभिमा आफ्नै तालले एउटा युवराज बजेट पढ्दै थिए, अर्को युवराज आफ्नै तालमा बासी अखबारका पाना पल्टाउँदै थियो । यत्तिकैमा पाऊरोटी किन्न पसल जान उठ्नै लागेको, उता ‘कुनै नेपालीले भोकै मर्नु पर्दैन’ भन्ने लाइन आउँदै रैछ । पाऊरोटी किनेर फर्किएँ, मैले साँझ सम्म भोकै बस्नु परेन। बजेटको मेरो सम्बन्ध पाउरोटी सङ्ग मात्र छ जस्तो लाग्यो।
यस्ता किस्साका लागि बजेटको गम्भीर सुनाइ र अक्षरसः पढाइको कुनै अर्थ छैन। पहिले के के न हो भन्ने लाग्थ्यो कानमा रेडियो टाँसेर बजेट भाषण सुनिन्थ्यो, अचेल वार्षिक श्राद्ध जस्तै लाग्छ, पुरेतले न्याम-न्याम गर्छन, ‘अतःसभ्यन’ भन्छन जनै उता साऱ्यो,’ ;अतः अपसभ्यन’; भन्छ उता फर्कायो, पानी समाउ भन्छन समायो छोड भन्छन छोड्यो । बजेट भाषण नै सुन्न र हेर्न खासै रेडियो- टिभि नै खोलिन्न भन्दा हुन्छ । यो बजेट भन्ने चिजले मेरो जीवनमा पारेको प्रभाव शून्य-प्रायः छ। न तलवी कर्मचारी, न करका दरमा खेलेर कमाउने व्यापारी । त्यसैले आम्दानीमा यो बजेटको कुनै अर्थ छैन । खर्चमा पनि त्यस्तै।
मैले तिर्ने कर यमराजको डण्डा जस्तै छ, तलब भन्दा पहिले काटिन्छ; तिर्ने अर्को प्रत्यक्ष कर गाडीको कर हो, वर्षको शुरुमै काटिन्छ, पछि चढौँ-नचढौँ । खाने कुरा, बच्चाको स्कूल फी, घरभाडा सबै यस्ता खर्च छन करका दरले असरै गर्दैनन। नेकपाका पूर्व युवा नेता, सांसद योगेश भट्टराईले बजेटमाथि गरेको टिप्पणी चाहिँ कसैले सामाजिक सञ्जालमा शेयर गरेको पाएँ । उनले उठाएको एउटा प्रसंग भने मेरो दिमागमा घुसेछ। युवा सङ्घकै उनका पूर्वनेता गोकर्ण बिष्ट ‘युवा युवती निर्यात प्रवर्द्धन केन्द्र’ का प्रमुख छन । काम अनुसारको नाम नभेकोले मैले उनको मन्त्रालयको नाम सम्झिन सकिनँ । दारी पालेको बुर्का लगाएको कोही देखे भने दौडि हाल्छन ‘हाम्रा युवालाई चौकिदार राखिदेऊ, हाम्री युवतीलाई घरेलु….’भन्दै। बजेट भाषण गर्ने युवराज चाहिँ ति युवा युवतीको निर्यातबाट प्राप्त ‘पसिना-द्रब्य’ व्यवस्थापनमा लागेका छन । तर योगेश चाहिँ ति निर्यात-योग्य बस्तुलाई देश भित्रै खपत नगरेअर्को १५-२० वर्षमा देशले ठूलो ‘कन्फेशन एसेम्ब्ली’ आयोजना गर्नु पर्ने अवस्था आउछ भनेर डराउँछन।
उमेरले ५५ पुग्न लागे पनि जिम्मेवारीका हिसाबले योगेश युवा नै हुन। त्यसै पनि राजनीतिमा एकपल्ट मन्त्री नभै युवा राजनीतिकर्मी बृद्ध हुँदैन । योगेश भट्टराईको त्यो ‘ग्र्याजुएशन डे’ आइपुगेको छैन । त्यसैले उनको युवा चिन्ता मननीय छ। उनकै शब्दमा आज एउटा गम्भिर बहस हाम्रो नेपाली समाजमा हामीले गर्नु पर्नेछः डेमोग्राफिक डिभिडेण्ट। नेपालमा १९९२ देखि सन २०४७ सम्म जनसांख्यिक अनुकूलताको अवस्था छ। झण्डै ५५ वर्ष। त्यसमा हामीले आधा जति समय विताइसकेका छौँ। यो आधा समयमा यसलाई राम्रोसँग उपयोग गर्न सकेनौँ किन कि हाम्रो आफ्नै राजनीतिक समस्याले बढि व्यस्त भयौँ।
अब झण्डै २७ वर्षजति जनसांख्यिक लाभको अवस्था कायम हुनेछ। हामीले २५औं वर्षमा पुगेर काम थाल्यौँ भने हुँदैन। कमसेकम आउने दश वर्षपछि यसको डेमोग्राफिक डिभिडेण्ड अर्को चरणमा प्रवेश गर्छ। त्यसैले नेपाल बन्छ कि बन्दैन? नेपाल कता जान्छ? आर्थिक हिसाबले हामी बन्छौ कि बन्दैनौँ भन्ने कुराको निश्कर्ष निकाल्ने समय आउने दश वर्ष हो। त्यसैले यो दशवर्ष हाम्रो निम्ति ज्यादै महत्वपूर्ण छ। मैले यसपालीको बजेट भाषणमा जोडेको प्रसङ्ग त्यही मेरो पाउरोटीको हो, र बजेट-प्रतिको टिप्पणीमा सम्झेको कुरा यिनै योगेश भट्टराईका दुई-चार वाक्यांश हुन। यि वाक्यांश मैले किन सम्झिएँ? म पनि ५० वर्ष पुग्न दुई वर्ष चानचुन बाँकि छ।
भट्टराईले यूएनएफपीएको हवाला दिँदै देखाएको आंकडाले १५ वर्ष भित्र केही गर्न मलाईवाध्य बनाउँछ, त्यसपछिको मेरो जीवन अनुत्पादक। मेरो बाँकि जीवनमा दालभात खान र दुई सन्तान हुर्काउन कै लागि ममा पनि यो उमेरमा विदेश जाने सोच पलाउँदैछ। गोकर्ण विष्टको योजना सफल बनाउन र युवराज खतिवडाको हिसावमा रेमिट्यान्स्को योगदान बढाउन सकेकोमा गर्व महसूस गर्नु पर्ने दिन आउला जस्तो लाग्छ।
योगेशको चिन्ता र युवराज खतिवडाको पाँचलाखलाई रोजगारी सिर्जना गफको म कतै मेल देख्दिनँ। कुन कार्यक्रमले वाहिर जाने युवा रोक्छ भनेर हेर्न बजेटका पाना पल्टाएँ, कतै देखिनँ, कुन कार्यक्रमले बाहिर गएकालाई फर्काउँछ भन्ने पनि देखिनँ । एउटा समूह छ हामीले बाहिर रोक्न जति प्रयत्न गरे पनि आउँछ-आउँछ। अर्को समूह छ जति सहुलियत दिए पनि फर्किँदैन, देशलाई नाफा-घाटासङ्ग जोडेर हेर्छ । एउटा समूह छ जग्गा बेचेर कमाउन जान्छ र कमाएर फर्किन्छ अर्को समूह छ पढ्न भनेर जान्छ, पढ्छ, जागीर खान्छ, व्यवसाय गर्छ र यताको घर- जग्गा बेचेर उतै गएर राम्रो जिन्दगी जिउँछ ।
यि दुई सहूमको मनोविज्ञानमा आधारभूत रुपमै केही फरकपन छ्न। एउटा समूह पूँजीवादी भासमा यसरी फसेको छ उसलाई ल्याउन तपाइँले पहिले देश समृद्ध बनाइदिनु पर्छ। उसको उता किस्ताबन्दिमा किनेको गाडी छ, घर छ र सन्तानको पढाई छ । थप समृद्ध बनाउने कुरामा चाहिँ ऊ सहयोगी हुन्छ यदि यताको वातावरण अनुकूल बन्यो भने । अर्को समूह छ उता बस्नै पाउँदैन । साहूको चरम शोषणमा परेको तर स्वदेशी ठालूको ‘शोषण मात्रै’ नभोगेको शोषित भए बापत केही पैसो पनि पाएर घर चलाएको उसलाईविदेशमा पाएको पैसो भन्दा आधा दिएपनि उ विदेश जाँदैन, देश समृद्ध बनाउन फर्किन्छ, निशर्त रुपमा। यसलाईफकाउनै पर्दैन, उसको पसिनासङ्ग साटेको पैसाको सदुपयोग मात्रै भए ऊ रमाउँछ ।
स्वदेशी ठालूहरूबाट थप शोषण हुँदैन भन्ने आश्वासनमात्रै भए ऊ रमाएर बस्छ। खतिवडाको भाषणमा देश भित्रै रमाएर बस्नेकालागि शब्द खर्चिनमा चाहिँ अलि कञ्जुस्याइँ भएछ।फरकपन मात्रै होइन यि दुवैको बीचमा एउटा अनौठो समानता पनि छ। देशभित्र कुनै काम नगरी काम गराएरमात्रै बस्नेहरू अहिले देशको सबै भन्दा धनीको कोटीमा पर्छन।
राजधानीमा तीन-चार वटा घर र गेट छेऊमा पालेघर सहीत भएकाहरूले जिन्दगीभर कुनै काम गरेको देखिँदैन, उसले तिरेको प्रत्यक्ष कर हेर्ने हो पाँच अङ्कमा पुग्दैन, उसको रबाफ, बैभव र शक्ति हेर्यो भने विदेशबाट फर्केको युवाले पचाउन सक्ने खालको हुँदैन । एकाध फर्किएर राजनीतिक र दलाली पेशा अँगाल्ने बाहेक फर्किने युवाको त्यो समूह श्रमको सम्मान गर्ने, अर्कालाई शोषण नगर्ने, अर्काको सम्मान गर्ने र पसिनासङ्ग साटेको हरेक पैसाको सदुपयोग खोज्ने खालको हुन्छ । दलाली मार्फत आर्जित ‘इजी मनी’ खेलाउने सङ्ग उसको दृष्टिकोणमै फरक-पन देखिन्छ, ठ्याक नमिल्ने निश्चित छ।
अन्तरराष्ट्रिय श्रम सङ्गठनको तथ्याङ्कले मलेसिया र अरबको खाडी जानेको सङ्ख्या मात्रै ३५ लाख भन्दा बढिदेखाउँछ। वार्षिक कम्तिमा सात अर्ब रुपियाँ विप्रेषण ल्याउने, कुल गार्हस्थ उत्पादनमा एक चौथाइ बराबरको योगदान दिने यो समूह अहिले छरिएर विदेश तिर रहेकोले मात्रै हामीले गम्भीरतापूर्वक नलिएको हो। यो समूह समृद्धिसङ्गमात्रै जोडिएको छैन, देशको राजनैतिक प्रणालीको स्थायित्व सङ्ग पनि जोडिएको छ। अहिले मलेशिया पठाउने कुरामा परे जस्तै किचकिच अरब तिर पर्यो र तिनको आधा हिस्सामात्रै देश फर्कियो भने त्यसको राजनैतिक प्रभाव हामीले नसोचेको हुनेछ।
तीनकरोड जनसङ्ख्या भएको मुलुकमा आन्दोलन गर्ने उमेरका युवा झण्डै एक करोड हुन्छन, ति मध्ये ५० लाख देश भित्रै केही गर्दै होलान, ५० लाख विदेश छन । तिनलाई ल्याएर तिनका पैसामाथि यहाँका काम नगर्ने दलाली गर्नेको नाङ्गो नाच देखाइदिने हो भने भोलिपल्टै सत्ता ढल्छ ।
त्यसैले देश बरू बिस्तारै बन्दै गर्छ, हतार नगरौँ, तिनको विदेश बसाइ भने लम्ब्याउनै पर्छ। नयाँ नयाँ गन्तव्य खोजिदिने, पाले, घरेलु कामदार, जोखिम-पूर्न काम गर्ने मजदूर जे जे हुन्छ उतै खोजिदिनु पर्छ ताकि यता हतपत नफर्किऊन, यस्तो बेलासम्म नफर्किऊन जतिबेला सम्म तिनको विद्रोह गर्ने जाँजर कायम रहन्छ, सरकारी सम्पत्ति माथिको दोहन विरुद्ध बोल्ने जोश कायम रहन्छ । अरबमा उनीहरूको शरिर फ्रीज र ओभनको निरन्तर यात्राले ५- ७ वर्षमै गल्छ, फर्किए पनि समस्या भएन, मलेसियामा १५ वर्ष गल्दैन र अन्य मुलुकमा २० वर्ष गल्दैन । राजनीतिक स्थायित्वकै लागि पनि उनीहरूलाई उतै रोक्नु पर्छ, यो वा ऊ बहानामा । आर्मीले जवानहरूलाई खाल्डो खन्दै पुर्दै गर्न लगाए जस्तै अनुत्पादक काममा अल्झाएर भए पनि राजनीतिक स्थायित्व कायम राख्नु पर्छ ।अर्थमन्त्री युवराजको यता दिमाग चल्यो चलेन, यो लेख लेख्ने युवराजको दिमाग त त्यता तिर पो चल्यो ।
