बहुमत उत्तेजित, अल्पमत त्रसित

भारतमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को नीति भने पनि नारा भने पनि धार्मिक अर्थात् हिन्दु राष्ट्रवादको हो। यसको पूर्वज अर्थात् माउ पार्टी भनेको सन् १९५१ मा राष्ट्रिय स्वयंसेवक संघ (रासस) को सहकार्यमा खुलेको जनसंघ (भारतीय) हो। सन् १९६५ मा दिनदयाल उपाध्यायले प्रतिपादन गरेको ‘एकात्म मानववाद’ नै पहिले जनसंघ र अहिलेको भाजपाको आधिकारिक विचारधारा हो, जसले हिन्दुत्वप्रति प्रतिबद्ध रहेको बताउँदै आएको छ। भारतीय जनसंघ सन् १९७७ मा जनता पार्टीमा विलय भएको थियो। त्यसबेला जनता पार्टी सत्तारुढ हुँदा यस पार्टीले लोकसभामा जितेको २९८ सिटमध्ये पूर्व जनसंघका ९३ जना थिए। सन् १९८० मा जनता पार्टी छिन्नभिन्न हुने क्रममा पुरानो जनसंघकै उत्तराधिकारीका रूपमा भारतीय जनता पार्टीको गठन भएको थियो। मौसमअनुसार भाजपाले कहिले एकात्मक मानवतावाद त कहिले हिन्दु राष्ट्रवादको खास्टो ओढिरह्यो।

कृष्ण पहाडी
अमेरिकामा जन्मिएका शिशुहरू केही अपवाद छोडेर स्वतः अमेरिकी नागरिकताको हकदार हुने गर्दछन्। यो संवैधानिक भावविपरीत भर्खरै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उद्घोष गरे, ‘अमेरिकामा जन्मिँदैमा सबै व्यक्तिले अमेरिकाको नागरिकता पाउने छैनन्।’ यस सम्बन्धमा अर्डर जारी गर्ने ट्रम्प उद्घोष आफैं विवादमा पर्यो।
झन्डै १२ हजार वर्षअगाडि एसियाबाटै वेरिङल्यान्ड ब्रिज नाघ्दै बसाइँ सरेर मान्छेहरू अमेरिका पुगेको हुन सक्ने धारणा प्रबल छ। साइबेरिया र अलास्काको बीचमा रहेको त्यो भूमि सेतु पछिल्लो हिमयुगको समाप्तिपछि जल समाधिमा रहेको बताइन्छ। सन् १४९२ मा क्रिस्टोफर कोलम्बसले अमेरिका पत्ता लगाउँदा त्यहाँका बासिन्दालाई इन्डियन (रेड) भनिएको थियो। अमेरिकाको कुल ३२ करोड ८८ लाख जनसंख्यामध्ये १.६ प्रतिशतको संख्यामा रहेका रेड इन्डियनहरू नै प्रथम अमेरिकाबासी अर्थात् मूल निवासी थिए। सन् १४९२ पछि युरोपेलीको अमेरिका आगमन तीव्र हुन थाल्यो। अमेरिकाको राजनीतिक, सामाजिक र आर्थिक सत्तामा युरोपेली आप्रबासीहरूको बलियो पकड छ। अमेरिकामा जन्मिँदैमा नागरिकता सुनिश्चित नहुने ट्रम्प आसयको सार भनेको रेड इन्डियनहरूको अस्तित्वको चिन्ता होइन, अपितु युरोपेली आप्रबासीहरूको सर्वोच्चता सदैव कायम रहिरहनुपर्छ भन्ने संकीर्ण राष्ट्रवाद हो। त्यही हुटहुटीले भर्खरै सम्पन्न प्रतिनिधिसभा अर्थात् हाउस अफ रिप्रिजेन्टेटिभको निर्वाचनको पूर्वसन्ध्यामा ट्रम्पको विवादास्पद बयान आएको हुन सक्छ, तर त्यो कथनले ट्रम्पको रिपब्लिकन पार्टीलाई प्रतिनिधिसभामा बहुमत दिलाउन सकेन। तल्लो सदनमा पराजयको पीडाले रन्थानिएका ट्रम्प, सन् २०२० को राष्ट्रपति निर्वाचनलाई दृष्टिगत गर्दै अझै केही नीतिगत उपद्रो गर्ने धुनमा रहेको देखिन्छ। समग्रमा भन्नुपर्दा संकीर्ण राष्ट्रवादको प्रवक्ताको रूपमा ट्रम्पले आफूलाई अमेरिकाको नयाँ तारा ठानेका छन्।
घोर दक्षिणपन्थी राष्ट्रवादको प्रवक्ताका रूपमा जैर बोल्सोनारो अक्टोबर २०१८ मा ब्राजिलमा सम्पन्न राष्ट्रपति पदको निर्वाचनमा विजयी भएका छन्। अमेरिकाका ट्रम्प र ब्राजिलका बोल्सोनारोको नीति र नारा हेर्दा दुवै मितजस्तो देखिन्छन्। बोल्सोनारोको उदयमा पुरानो वामपन्थी सरकारको नालायकीपन पनि त्यति नै जिम्मेवार हुन सक्छ। विशेषतः भ्रष्टाचारको महामारी, बढ्दो हिंसात्मक अपराध र डग्मगाउँदो अर्थतन्त्रका कारण आहत भएका ब्राजिलियनहरूले बोल्सोनारोको रूपमा नयाँ विकल्प चुनेका हुन सक्छन् तर बोल्सोनारोका कतिपय नारा स्वतन्त्रताविरोधी छन्, नारी विद्वेषी छन् र लोकतान्त्रिक मूल्यका प्रतिकूल छन्। घोर दक्षिणपन्थी राष्ट्रवादको प्रवक्ताको रूपमा बोल्सोनारोले आफूलाई डुब्दो ब्राजिलको नाविक बताउने गरेका छन्।
भारतमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को नीति भने पनि नारा भने पनि धार्मिक अर्थात् हिन्दु राष्ट्रवादको हो। यसको पूर्वज अर्थात् माउ पार्टी भनेको सन् १९५१ मा राष्ट्रिय स्वयंसेवक संघ (रासस) को सहकार्यमा खुलेको जनसंघ (भारतीय) हो। सन् १९६५ मा दिनदयाल उपाध्यायले प्रतिपादन गरेको ‘एकात्म मानववाद’ नै पहिले जनसंघ र अहिलेको भाजपाको आधिकारिक विचारधारा हो, जसले हिन्दुत्वप्रति प्रतिबद्ध रहेको बताउँदै आएको छ। भारतीय जनसंघ सन् १९७७ मा जनता पार्टीमा विलय भएको थियो। त्यसबेला जनता पार्टी सत्तारुढ हुँदा यस पार्टीले लोकसभामा जितेको २९८ सिटमध्ये पूर्व जनसंघका ९३ जना थिए। सन् १९८० मा जनता पार्टी छिन्नभिन्न हुने क्रममा पुरानो जनसंघकै उत्तराधिकारीका रूपमा भारतीय जनता पार्टीको गठन भएको थियो। मौसमअनुसार भाजपाले कहिले एकात्मक मानवतावाद त कहिले हिन्दु राष्ट्रवादको खास्टो ओढिरह्यो।
घोषितरूपमै भाजपाले आफूलाई हिन्दु राष्ट्रवादको पक्षधर र सामाजिक परम्परावाद (रुढिवाद) को समर्थक बताउँदै आएको छ। सन् १९८४ को लोकसभा निर्वाचनमा दुई सिट मात्र जितेको भाजपालाई कुनै बेला बनिया (व्यापारी) को पार्टी भनिन्थ्यो। त्यही भाजपाले सन् १९९६ मा १३ दिन, सन् १९९८ देखि १९९९ सम्म र १९९९ देखि २००४ सम्म तीनपटक अटलबिहारी बाजपेयीको नेतृत्वमा सरकार चलायो। भाजपा नेताहरूमध्ये बाजपेयी रचनात्मक हिन्दुत्वको र लालकृष्ण आडवाणी आक्रामक हिन्दुत्वको वकालत गर्थे।
सन् २०१४ को लोकसभा निर्वाचनमा १७ करोड १६ लाख बढी मत बटुल्दै ५४३ स्थानमध्ये आफ्नै बुतामा २८२ सिट र गठबन्धन (एनडीए) को खातामा कुल ३३६ स्थान पुर्याउन भाजपा सफल भयो र नरेन्द्र मोदी भारतका नयाँ प्रधानमन्त्री बने। भाजपाको त्यो अपार निर्वाचन सफलताको पछाडि अनेकौं कारण हुन सक्छन्, तर मूल कारण मोदी, भारतीय जनता पार्टी (भाजपा) र आरएसएस संयन्त्रहरूले प्रत्यारोपण गरेको आशंकाको रणनीतिको सफलता भन्नेहरू पनि छन्। भारतमा अहिले इन्डोनेसिया र पाकिस्तानपछि सबैभन्दा बढी मुस्लिम जनसंख्या छ (लगभग १७ करोड २० लाखको हाराहारीमा, जुन विश्वकै मुस्लिम जनसंख्याको १० प्रतिशत हो)।
संसारको सबैभन्दा ठूलो लोकतन्त्र कहलिएको भारतको लोकतान्त्रिक अभ्यासलाई अरूले सिट्ने होइन अपितु त्यसबाट सिक्ने मौका पाऊन्। सत्ताको खेलमा कतै मानवता प्रताडित नहोस्।
यथास्थितिको निरन्तरता जारी रहे केही दशकपछि भारतमा हिन्दुहरू अल्पमतमा पर्न सक्ने भन्दै संघ परिवारले वीजारोपण गरेको तर्क र अभियानबाट सर्वसाधारण मात्र होइन, भारतका नामधारी बौद्धिकदेखि कर्मकाण्डी वैदिक र विगतमा आफूलाई प्रगतिशील देखाउन तँछाडमछाड गर्ने सञ्चारमाध्यमसमेत प्रभावित भएको देखिन्छ। सन् १९२५ मा स्थापना भएको राष्ट्रिय स्वयंसेवक संघका ५६ हजार शाखा र झन्डै ६० लाख सदस्य भएको दावा संघले गर्दै आएको छ। संघ र संघ परिवारको मूल मन्त्र भनेकै हिन्दुत्व र हिन्दु राष्ट्रवाद हो। मोदीमाथि संघ परिवारको कृपाकै कारण भाजपाभित्र मोदी सर्वाधिक शक्तिशाली रहेको बताइन्छ। तथापि मोदीलाई ‘उत्ताउलो हिन्दुत्व’ को प्रवक्ताका रूपमा चित्रण गर्नेहरू पनि छन्।
सन् २०१९ मा भारतमा हुने लोकसभा निर्वाचनमा अयोध्यामा राम मन्दिर निर्माणको बहस चर्किएको छ। सरकारको कामभन्दा पनि नाम र धामको राजनीति चुलिएको छ। भाजपा नेतृत्वका प्रान्तीय सरकारहरूले फैजावाद, अहमदावाद र लखनउको नाम बदल्न थालेको कदम र बहस यसको पछिल्लो उदाहरण हो। अयोध्यामा राम मन्दिर निर्माणको विषय अहिले भारतको सर्वोच्च अदालतमा विचाराधीन छ र यस’bout अर्को सुनुवाइ सन् २०१९ जनवरीमा हुने भनिएको छ। (तथापि घटनाक्रम हेर्दा सुनुवाइको क्रम लोकसभा निर्वाचनपछि धकेलिने देखिन्छ।)
धाम अर्थात् राम मन्दिर निर्माणको एजेन्डा भाजपाका लागि त्यो कामधेनु गाई हो, जसबाट हरेक निर्वाचनमा यथेष्ट मत दुहुन भाजपा ढुंग्रो लिएर बस्ने गर्दछ। जति लोकसभा निर्वाचन नजिकिँदै छ, त्यति बहुमतलाई उत्तेजित र अल्पसंख्यकलाई त्रसित बनाउने खेल पनि तीव्र हुँदैछ, जुन भारत र विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका लागि शुभसंकेत होइन।
निर्वाचन अभियानकै क्रममा राफेल घोटाला, नोटबन्दी, अर्बन नक्सलाइट (सहरी नक्सली) र बारुदी बुद्धिजीवी जस्ता शब्दहरू अत्यधिक सुनिन थालेको छ। भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आईका मुखिया राहुल गान्धी मोदीलाई राफेल (भ्रष्टाचार) प्रकरणमा घिस्याउन चाहन्छन् जबकि मोदी राहुललाई सहरी नक्सलीको संरक्षक भनेर चिस्याउन चाहन्छन्। नोटबन्दीका नाममा मोदी सरकारले नागरिकलाई लामबन्द गराएर दुःख दिएको विपक्ष स्मरण गराउन चाहन्छ भने विपक्षले बारुदी बुद्धिजीवी उचालेर आतंकवादलाई प्र श्रय दिएको आरोप सत्तापक्ष लगाउँछ। नोटबन्दी र लामबन्दीको कुरा उठे पनि मोदी सरकारले नेपालमा थोपरेको नाकाबन्दीको चर्चा भने कांग्रेसले गरेको छैन।
सन् २०१४ को लोकसभा निर्वाचनमा मत लगभग २० प्रतिशत भए पनि सिट संख्या १० प्रतिशत नघाउन नसकेको पीडाले रन्थनिएका भारतीय कांग्रेसजनहरू सन् २०१९ को निर्वाचनमा पनि भाजपा सत्तारुढ हुन पुग्यो भने राजनीतिक सुकुम बासी हुने त होइन भन्ने भयले ग्रस्त छन्। सन् १९४७ देखि २०१४ सम्ममा कांग्रेसको बनबासको (केन्द्रीय सत्ता बाहिर) सबैभन्दा लामो अवधि भनेको (सन् १९९८ देखि २००४ सम्म) ६ वर्ष थियो। सन् २०१९ को लोकसभा निर्वाचनमा पुनः भाजपा सत्तारुढ भए केन्द्रीय सत्ताबाट उठिबास हुने भयले कांग्रेसको नीति प्रभावित हुँदै गएको देखिन्छ। चुनावी व्युह रचनामा मोदीले आफूलाई पछाडिको पंक्तिमा यस्तो ग्वालाका रूपमा प्रस्तुत गर्न खोजेका छन्, जसमाथि वाण चलाउँदा अगाडिको पंक्तिका गौ (हिन्दुत्व) लाई लाग्न सक्ने भयले विपक्ष आकुल छ। त्यसैले हुनुपर्छ कांग्रेस आईका युवराज राहुल गान्धीले मन्दिर दर्शन र पूजा–अर्चनाको व्यायाम बढाउँदै लगेका छन्। कांग्रेसका ‘युवराज’ राहुल गान्धीको नेपाल हुँदै कैलाश मानसरोवरसम्मको यात्रा त्यसैको एउटा कडी हुन सक्छ। त्यसैले होला राहुल गान्धीलाई शिवभक्तका रूपमा प्रस्तुत गर्न थालिएको छ।
त्यसो त सम्भावित प्रधानमन्त्रीहरूको व्यक्तित्वको कुरा गर्दा मोदी चेसको हात्तीजस्तो त राहुल उँटजस्तो देखिन्छन्। उमेरले ४८ भए पनि कतिपय मामलामा राहुल गान्धी अझै अपरिपक्व देखिन्छन्। यसै वर्ष लोकसभामा सत्तापक्षले आफूलाई जति होच्याए पनि मोदीप्रति आफ्नो सम्मान रहेको भन्दै मन्तव्यपछि राहुल गान्धी अचानक प्रधानमन्त्री मोदी बसेको स्थानमा पुगेर मोदीलाई अंकमाल गरेका थिए। त्यसपछि जब राहुलले कांग्रेसका युवा सांसद ज्योतिरादित्य सिंघियातिर हेर्दै आँखा झिम्क्याए, त्यो नौटंकीको पटाक्षेप भयो। लोकसभा अध्यक्ष सुमित्रा महाजनले राहुलको प्रधानमन्त्रीलाई अंकमाल गर्ने, आँखा चम्काउने (झिम्क्याउने) जस्ता गतिविधिप्रति अप्रसन्नता व्यक्त गर्दै संसद्को डेकोरम अर्थात् मर्यादाविपरीतका कृत्य नगर्न राहुललाई स्मरण गराउनुपरेको थियो।
अनेकौं उतारचढाव हुँदाहुँदै पनि मोदीको लोकप्रियता लोभलाग्दो हुन सक्छ। वर्तमानमा मोदी भारतको प्रधानमन्त्री मात्रै नभएर विश्वकै एक चर्चित राजनीतिज्ञ पनि हुन्। विगतमा मोदी कतिपटक चिप्लिएका छन्, कतिपटक लडेका छन् तर पनि सम्हालिँदै यो अवस्थामा आइपुगेका छन्। सम्भवतः यो पुँजी क्षय नहोस् भन्नेतर्फ मोदी सजग देखिन्छन् तर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जस्ता ‘ध्वंसात्मक हिन्दुत्व’ का प्रवक्ताहरूका कारण फेरि उठ्नै नसक्ने गरी मोदी पछारिन पनि सक्छन्। धर्मको नाममा राजनीतिको रोटी नसेकियोस् र सन् १९९२ डिसेम्बरमा अयोध्यामा भएको घटनाको पुनरावृत्ति नहोस्। समृद्धिको मार्गमा अघि बढेको भारतमा विगतमा गुजरातमा जस्तो दंगा र नरसंहार नदोहोरियोस्। संसारको सबैभन्दा ठूलो लोकतन्त्र कहलिएको भारतको लोकतान्त्रिक अभ्यासलाई अरूले सिट्ने होइन अपितु त्यसबाट सिक्ने मौका पाऊन्। सत्ताको खेलमा कतै मानवता प्रताडित नहोस्। सत्तामा जोसुकै आऊन् तर सभ्यता कलंकित नहोस्। लोकतन्त्रले लाज ढाकोस् तर आफैं लज्जित नहोस्। प्राचीन सभ्यताको इतिहास बोकेको, ज्ञान र विज्ञानका अनेकौं सूक्त घोकेको, अप्ठेरा कालखण्डहरूमा पनि सहिष्णुताको धारा बगेको त्यो भारत देश क्षत्विक्षत् नहोस्।
-कृष्ण पहाडीको पच्चीस आलेख बाट
