कम्युनिष्ट कुहिने प्रतीक्षामा काङ्ग्रेस

जव वीपी र महेन्द्र साँझमा वस्थे, ह्विस्कीको बोतल खुल्थ्यो र सिगारको धुवाँले कोठा भरिन्थ्यो त्यसपछि निस्कन्थे देश बनाउने सपना र तिनलाई कार्यान्वयन गर्ने योजना । महेन्द्रले सत्ता हत्याएपछि लिएका केही क्रान्तिकारी कदम वीपीको योजना भित्रका आगामी कार्यभार थिए, भूमिसुधार, राजमार्ग, परराष्ट्रनीति र घरेलु राजनीति समेत ।

 

 

 

मेरो दिमागमा राजनैतिक चेतना प्रवेश गर्दै गर्दा वीपी कोइराला कसै-कसैका कुल देउता थिए, म राजनीतिमा प्रवेश गर्दै गर्दा उनी राष्ट्रिय देउता भएर निस्किए। भन्न चाहिँ महामानव भनिए तर देउताकै रुपमा पूजिए। भन्नेले वीर वीपी भन्यौँ तर उनको वीरताको ब्याख्या गरेनौँ, अलौकिक शक्ति उनीमा थियो भन्ने विश्वास मात्र गर्यौँ । नारायण गोपालले गाएको एउटा गीतले भने झैँ मैले पुण्य मन पराएँ या पाप मन पराएँ, जे होस मैले तिमिलाई चुपचाप मन पराएँ । साहित्य, दर्शन र राजनीतिक विचारको त्रिवेणी, उनलाई पहिले काँग्रेसीहरूले मात्र मन पराए, २०४६ पछि कम्युनिष्टको एउटा ठूलो समूहले समेत मन परायो ।

 

उनी आफ्नो समय भन्दा एक सताब्दी अघि थिए, बुद्धिको उन्नत-स्तर र विचारको परिपक्वता हेर्दा। उनको जीवन हेर्ने, जगत हेर्ने, समाज हेर्ने, राजनीति हेर्ने दृष्टिकोण हेर्दा उनी समय भन्दा १०० वर्ष अघि नै जन्मेका थिए । त्यही भएर पनि होला समकालिन नेताहरूलाई वीपीको सोच्ने शैली नै अलौकिक थियो । मैले न देखेँ, न भेटेँ । उनका प्रायःजसो रचना पढेको आधारमा तयार भएको मेरो उनी वारेको मूल्याङ्कन हो यो। यस्तै अरू अरूका मूल्याङ्कनले उनलाई मानव भन्दा माथि पुर्याएको हो ।

 

मैले उनका दुईवटा कमजोरी देखेको थिएँ तर मैले उनलाई दिमागमा राख्ने वेला सम्म उनका बानीमाथि, उनका विचारमाथि र उनको व्यक्तित्वमाथि प्रश्न गर्ने जमाना नै सक्किसकेको थियो, प्रश्न गर्ने जमात नै सक्किसकेको थियो । त्यसैले उनका यि कमजोरी वारे प्रश्न दिमागमा मात्रै राखेँ वर्षौँ सम्म। उपयुक्त वातावरण बिनै निश्चित समय सम्म भण्डारण गरेपछि ति प्रश्नको म्याद गुज्रियो, ति कुहिए अर्थात अर्थहीन भए । मेरो दिमागमा वीपीका दुई आधारभूत कमजोरीमाथि प्रश्न उब्जेका थिए। एउटा कमजोरी थियोः राजासङ्ग ह्विस्कीका तालमा मन-पेट खोल्नु, योजना र सपना सुनाउनु, दोस्रो कमजोरी थियो राजाले मन नपराउने गरी कुनै कुरामा आँखा डूलाउनु ।

 

दोस्रो कमजोरी ’bout वीपीले आफैँ लाक्षणिक रुपमा लेखेका छन, उनको आत्म वृत्तान्तमा। महेन्द्रमा जन्मेको मनको बाघ वीपीको यही कमजोरीको उपज थियो। यसमाई म नैतिक कारणले ब्याख्या गर्दिनँ र बहसमा उत्रन समेत चाहन्न। तर पहिलो कमजोरी चाहिँ दोस्रो जस्तो व्यक्तिगत नभै अर्थ-राजनैतिक विषय भएकोले चर्चा आवस्यक छ। जव वीपी र महेन्द्र साँझमा वस्थे, ह्विस्कीको बोतल खुल्थ्यो र सिगारको धुवाँले कोठा भरिन्थ्यो त्यसपछि निस्कन्थे देश बनाउने सपना र तिनलाई कार्यान्वयन गर्ने योजना । महेन्द्रले सत्ता हत्याएपछि लिएका केही क्रान्तिकारी कदम वीपीको योजना भित्रका आगामी कार्यभार थिए, भूमिसुधार, राजमार्ग, परराष्ट्रनीति र घरेलु राजनीति समेत ।

 

जङ्गबहादुरको उदयसङ्गै हैसियत गुम्न पुगेका पश्चिम नेपालका राजा रजौटाका सन्तानको राणा बिरोधी भावनाले राणालाई धक्का दिने एउटा आन्दोलनको छहारी खोजेको थियो, काङ्ग्रेसले त्यो धक्का दिने दुस्साहस गरेकोले ठूलो सङ्ख्यामा राजा रजौटा काँग्रेस भएका थिए। वीपीले राजालाई कसरी राजा रजौटा उल्मूलन पछि काङ्ग्रेसले त्यो कन्स्टिचुएन्सी गुमाउँछ भन्ने सम्म भन्न भ्याएका रहेछन ।
राजासङ्ग व्यक्तित्वको टकराव थियो भन्ने जान्दा जान्दै आफ्ना सपना, योजना र कमजोरी समेत उनैलाई सुनाएका वीपीको पतनको कारण त्यही खुला हृदय बन्यो। यत्रा सपना, योजना र ति योजना कार्यान्वयन गर्ने तरिका समेत सुनि सके पछि यो बाहुनलाई त्यो जिम्मा किन छोडिदिने भनेरै महेन्द्र वीपीकै अनुयायीहरू तान्ने कसरतमा लागे र तिनै वीपीलाई अपदस्थ गर्ने निर्णयमा पुगे । यो निर्विवाद छ ।

 

वीपीलाई पूजा गर्दा गर्दै वीपीका यि कमजोरीमाथि विमर्शमात्रै शुरु भैदिएको भए काङ्ग्रेस अहिले जस्तो निरीह हुन्नथ्योर विचार-विहीन जमातको नियन्त्रितमा जाँदैनथ्यो। होला, गर्नलाई ठिक उल्टो गरेका हुन सक्छन तर जे जे काङ्ग्रेसले गर्न चाहेको थियो, त्यो त्यो कम्युनिष्टले बोलेका छन ।काङ्ग्रेसले बोकेको विचारको समाजमा प्रधानता छ तर यसका मठाधीशहरूको बोली हेर्ने हो भने तिनले ति विचारको अगुवाई गर्ने सम्भावना नै छैन। आफ्नो विचार, दर्शन, योजना अघि सारेर जनतामा आशा जगाउनुको सट्टा यसका नेताहरू कम्युनिष्टको ससफलताको कामनामा तल्लिन छन । हुँदा हुँदा पार्टीका उपसभातिले त भन्न भ्याएछनः “सरकारको काम गराइकै कारण कांग्रेसप्रति जनताको विश्वास फर्किएर आउँछ, सरकारको काम गराइका कारण जनता निराश छन् त्यसकारण कांग्रेसप्रति जनताकोे विश्वास फर्किएर आउँछ।” उनलाई थाहा हुनु पर्ने थियो कम्युनिष्ट कुहिएको मलमा काँग्रेस होइन अर्कै चिज उम्रिन्छ, मौलाउँछ।

 

आफ्नो विचार, आदर्श र योजना अर्कोले लगेर लोकप्रिय बनाइसक्यो, मठाधीशहरू अर्काको गल्तीले आफ्नो जनमत बढ्ने घडिको प्रतीक्षा गरेर बसेका छन । अझै मूल्याङ्कन गर्दैनन आफ्ना के के कमजोरीले गर्दा कम्युनिष्ट बलिया भए भनेर । आफूले भोली प्रतिस्पर्धा गर्नु पर्ने शक्तिलाई आफ्नो गुह्य शक्ति कसरी देखाइदिए? आफ्ना कमजोरी कसरी देखाइदिए? आफ्ना सपना कसरी सुनाइ दिए? योजना कसरी देखाइदिए? कुनै प्रश्न छैन, सिर्जनात्मक वहस छैन र पार्टी पङ्तिमा छलफल छैन।

 

विचार-विहीन लठैतहरूले जसरी वीपीलाई प्रश्न गरिने व्यक्ति होइन पूजा गरिने बस्तु बनाए, आफ्ना कार्यकर्ताले आफूलाई समेत त्यसैगरी प्रश्न नगरी पूजा गरून भन्ने सोच्छन होला। जस-जसले पार्टीको नीति र कम्युनिष्टसङ्गको सहकार्यको वारे प्रश्न गरेका छन तिनका प्रश्न समेत नकारात्मकता-सिर्जित छन । वीपी र राजाको काँध जोडिएको,काङ्ग्रेस र धर्म जोडिएको आदि आदि प्रतिगामी तर्क गरेर सिर्जनशिलताको ढोका थुन्दै छन ।

 

वीपीले जसरी गलत ठाउँमा योजना सुनाए र गलत चिजमा आँखा लगाए त्यसलाई मात्रै पार्टीको उपल्लो तहमा वहसको विषय बनाएको भए पार्टीले कसरी आफू हिँड्ने लिग छोड्दैछ थाहा हुन्थ्यो । पार्टीको समाजवादि कलेवर भित्रै उदारवादि अर्थतन्त्र अट्थ्यो, जसरी अहिलेको कम्युनिष्ट सरकारले क्रान्तिकारी आवरन भित्र दलाल पूँजीवाद अटाएको छ ।

 

हुन त पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले नीति, सिद्धान्त’bout जनतालाई बुझाउने, विगतमा कांग्रेस नेतृत्वको सरकारले गरेका काम’bout जानकारी गराउने, वर्तमान सरकारको गलत कार्य’bout जानकारी गराउने लगायतका उद्देश्यका साथ पार्टीले अभियान सञ्चालन गर्ने जानकारी दिए । तर उनी आफैँ अस्पष्ट छन कुन नीति, कुन सिद्धान्तको कुरा उनी गर्दैछन भन्ने वारेमा।

 

मैले राजनीति बुझ्ने भए पछि काङ्ग्रेसको नीतिमा फेरबदल आएको दुई पल्ट मात्रै हो, ४६को आन्दोलन अघि कम्युनिष्टसङ्ग मिलेर प्रजातन्त्रको आन्दोलन गर्ने, ६२-६३को आन्दोलन अघि माओवादि समेत सङ्ग मिलेर (निरङ्कुश) राजतन्त्र विरुद्धको आन्दोलन गर्ने । अरू तपशिलका विषय त विश्वव्यापी लोकतन्त्रका मापदण्ड भित्र रहेका विषय छन, जसमा ठुलो फेरवदल गर्ने कुनै ठूलो ठाउँ छैन । महासमिति बैठकले पार्टी संरचना र निर्वाचनको खाका फेरवदल गरे, नीति होइन । तर तिनलाई नै नीति भन्ने बुझेको हो भने मेरो भन्नु केही छैन । सरकारको भण्डाफोर कुनै नीति नै होइन, एउटा जनपरिचालन रणनीति मात्रै हो ।

 

पार्टीले अहिले गर्न जरूरी काम भनेको सहिष्णु राजनीतिको सामाजिकीकरण र भ्रष्टाचार र खराब शासनको दस्तावेजीकरण हो । जानी बुझिकन हो कि आफ्नो सानैदेखिको बानीका कारण हो प्रधानमन्त्रीको तह बाटै हरेक दिन क्षुद्र शब्द निस्कन्छन। वहाँलाई लाग्दो हो वहाँ दैवी शक्ति लिएर मुलुकका सबैलाई निर्देशन र नियन्त्रण गर्न यो देशमा जन्मनु भएको हो । गाली नगर्नु पर्नेलाई पनि गाली गर्नु भाको छ, आफू बाहेक यो देशमा कोही नैतिकवान छैन भन्ने सन्देश दिनमा दुई चार पटक दोहोर्याउनु हुन्छ, पार्टी, सरकार कसैको पद्दतिमा विश्वास गर्नु हुन्न । भलै वहाँको बाणी आउन थालेपछि एउटा न्युट्रल मासले टिभि बन्द गर्न थालेको सन्देश दिईसकेको किन नहोस। यसले बढाउने असहिष्णु राजनीति नै हो। स्रोतमाथि कब्जा मात्रैले त्यति इर्श्या बढाउँदैन जति कब्जा गर्नेले बचनले चित्त दुखाउँछ ।

 

यस्तो वेलामा असहिष्णूता बिरुद्ध नेपाली काङ्ग्रेसले सहिष्णुताको सन्देश सहित गाउँ जान सक्थ्यो। तिनै कम्युनिष्ट पार्टीका कार्यकर्तालाई सङ्गै राखेर कसरी कम्युनिष्ट-काँग्रेस सहकार्य हुँदा देश अग्रगामी दिशामा अघि बढेको थियो र कसरी क्षुद्र राजनीतिले दुर्घटना निम्त्याउँदैछ भनेर स्थानीय तहमै वहस लैजान सक्थ्यो। जनजाती, मेधेशी, दलित लगायतका समूहलाई मूलधारी राजनीतिमा विश्वास जगाउन सक्थ्यो।

 

तर त्यता उसको खासै ध्यान गएको देखिन्न । न भण्डाफोर गर्ने र तुरुन्त नतिजा निकाल्ने राजनीति उसलाई चाहिएको छ किनकि ७५ पुगेका नेता ५ वर्ष पर्खिँदा ८० हुने डर छ। उनीहरू राजनीतिको वैचारिक धरातल दह्रो बनाउने अभियानमा अर्को एक दुई साल कुर्ने पक्षमा समेत छैनन । भण्डाफोरको अभियान भन्दा अगाडी कम्तिमा खराब शासन, आर्थिक अनियमितता र भ्रष्टाचारको दस्तावेज तयार गरेर राख्ने तिर ध्यान दिएका भए सरकार बिरुद्ध ठूलो अभियान चाल्नै पर्दैनथ्यो, मात्रै तथ्य सार्वजनिक गरिदिए पुग्थ्यो। सरकारलाई दवाव हाल्ने त एउटा जमात तयारै थियो, र सरकारका हरेक निर्णयले खुशी भन्दा रिस बढाएकै थिए।

 

सत्ताधारी नेताको सानो पङ्तिको श्री-बृद्धि जनताले देखेकै छन, कति नीतिगत भ्रष्टाचार भए त्यसको राम्रै अभिलेख छन, खोला कसले दान पाए लुकेको छैन, ठेक्का कसले पायो प्रस्टै छन, ठेकेदारका हिस्सेदार को हुन प्रस्टै देखिन्छ, नयाँ कम्पनि खुले साझेदार को छ सबै छर्लङ्गै छ । जव यि मुद्दा काँग्रेसले उठाउँछन, मुद्दा नै स्वतः कमजोर भएर जान्छन ।

 

काङ्ग्रेसी जनले अहिले महसूस गर्नु पर्ने तथ्य के हो भने तिनले सामाजिक जागरणको अभियन्ताको क्षमता र हैसियत गुमाइ सकेका छन। काँग्रेसले आफ्नो विचार के हो भन्ने स्पस्टता बिनै समाजमा विचार निर्माणको नेतृत्व गर्न तम्सिनु भन्दा पार्टी भित्र वहसको संस्कृति निर्माण गर्न सक्थ्यो । सरकार विरुद्ध अभियान छेड्नु अघि आफ्नो सञ्जाल र कर्मचारीतन्त्रमा बचेको सिमित पहूँचलाई प्रयोग गरेर भ्रष्टाचार, खराब शासन, अनियमितताका तथ्य संकलनमा केही मेहनत गरेर तथ्य सार्वजनिक गरिदिए पुग्थ्यो, समाज आफैँ आन्दोलित हुन्थ्यो ।

 

स्वीकार गरे पनि नगरे पनि काङ्ग्रेसले सामाजिक जागरणको र विचार निर्माणको अगुवाई गर्ने क्षमता गुमाएको छ। वीपी पुजेर पाँच दशक विताए झैँ कार्यकर्ताले मलाई पुजेर अर्को दुई चार दशक बिताउन भन्ने नेतागणको लालसाले गर्दा। सत्ता बाहिर रहेकै वेला हो पार्टीले वैचारिक धरातल बलियो बनाउने । तर विचार विहीन नेतृत्व पङ्तिका, गुटको भऱ्याङ्ग चडेर पार्टी नेतॄत्वमा पुगे कम्युनिष्टको असफलतामा आफू सत्तामा पुग्ने आकाँक्षामा बसेका बृद्धहरू र तिनको चाकरीबाट गुजारा चलाउने युवाहरूको त्यता ध्यान पार्टीको वैचारिक धरातल बलियो बनाउने तर्फ पटक्कै छैन ।

 

मलाई त यिनीहरूको विमर्श-क्षमता ह्रास हुनुमा पनि वीपीकै दोष छ जस्तो पो लाग्न थाल्यो । वीपीले जीवन,जगत, समाज र व्यक्तिको सम्बन्धवारे यति विमर्श र चिन्तन गरिदिए कि उनका छोरा-नातीका पुस्ताले गर्नै परेन । जव समाज सङ्ग जोडेर कुनै राजनैतिक-आर्थिक मुद्दाको वहस नै गर्नु पर्ने आवस्यकता छैन भने त्यो दल कसरी जनता सङ्ग जोडिन्छ? त्यसैले होला पार्टीका उपसभापतिले सगर्व बोल्ने दिन आए,हाम्रो राम्रो कामका कारण होइन कम्युनिष्टका नराम्रो कामका कारण हाम्रो जनमत बढ्छ ।