बिष्णु पौडेललाई रातो लालपुर्जा खुबै मनपर्छ अचेल !

प्रश्न उठ्छ बालुवाटार इलाकामा कम्तिमा पचास लाख प्रती आना जग्गा किनबेच हुने समयमा सात लाख आनामा जग्गा पाउने अवस्था कसरी सिर्जना भयो, खोज्ने विषय यहि होइन र ? यसरी सुभ लाभ प्राप्त हुनुको रहस्य बिष्णुले अब बताउनु पर्छ कि पर्दैन ? चोरीको माल किन्ने समेत कानुनको फन्दामा पर्छ्न भन्ने कानुन बिष्णु कमरेडको हकमा लागू हुन्छ कि हुदैन ?

 

 

 

उहिले

शीरमा रातै फेटा बाँधेर 

लडेका हुन् जनयुद्ध

रातै किल्ला घोषणा गरेर 

चलाएका हुन् जन सरकार

रातै झण्डा बोकेर

बगाएका हुन् रातै रगत

अहिले,

कमरेडको रातो स्कारपियोमा 

रातै नम्बर प्लेट छ 

रातो टाई छेउको गोजीमा

रातै कलम छ

त्यो बेला कमरेडलाई मनपरेको किताब

एंगेल्सको “परिवार, नीजि स्वामित्व र राज्यको उत्पत्ति”

तर अचेल 

लालपूर्जा असाध्यै मनपर्छ

सूर्य रेडको बिन्दास सर्को

युवतीको ओँठको रातो लिपिस्टिक

INGO ले ओछ्याएको रेड कार्पेट 

ठेकेदारले टक्रयाएको रेड लेबल

सोनागाछीको रेड लाइट एरिया

सबै सबै

औधी मनपर्छ कमरेडलाई

किनकी,

कमरेडलाई 

रातो रङ्ग खुब मनपर्छ

रातो भनेको क्रान्ति

रातो भनेको विद्रोह

 

उदृत कविता अंश महावीर विश्वकर्माको हो, जसमा आजका बाम कमरेडहरुको रातो अर्थात लालमोहको चिनारी दिइएको छ । लालवादी हुनुको कारण कमरेड हरुलाई रातो मन पर्छ । जुन अनौठो पनि होइन । रातो लालपुर्जा झन धेरै र औधी मन पर्छ ।  हो यो सबैबाट कमरेड बिष्णु पौडेल अपवाद हुन सक्नुहुन्न, हुने कुरा पनि भएन । त्यसैले रातो प्रिय हुनुको नाताले कमरेड बिष्णु उर्फ नेकपाको महासचिवले बालुवाटारमा नै लालपुर्जा लिन सफल हुनु भयो । तर दुखको कुरा त्यति दुख गरेर आर्ज्याको सम्पत्ति दुनियाँले आज थाहा पाएर महासचिव कमरेडको कालो कर्तुत सडकमा आयो । पार्टी नेता कार्यकर्ता नै तीन छ्क्क परेका छन सालिन कमरेडको सामन्ती सम्पत्ति र वैभव देखेर ।

 

नेता कार्यकर्ताले बिरोधको स्वर पनि निकालेका छन । सहि छानबिन र खोज पडताल गर्नु पर्यो यथार्थ माग गरेर सामाजिक संजाल मार्फत । तर  सरकारी प्रबक्ता कर्णप्रिय स्वरका धनी सन्चारमन्त्री भन्नुहुन्छ हाम्रो गौरवशाली पार्टीका इमानदार महासचिव  ठगीमा पर्नु भयो । उहाँलाई क्षतिपूर्ति दिनु पर्छ । ठगहरुले महासचिवको भोले भाला पनको फाइदा उठाएर ठगी गरे । पचास साठि लाख आनामा मात्रै बालुवाटार एरियामा मुश्किलले जग्गा पाइने जवानामा जम्मा सात लाख आनामा जग्गा उछिट्याउने कमरेड पक्कै पनि ठगीको शिकार बन्नु भएको कुरामा दुई मत हुन सक्दैन । महासचिव कमरेड पर्नु भएको ठगीमा सबैभन्दा बढी पिर नेकपा पार्टीलाई परेको हुनुपर्छ तसर्थ पहिलो दायित्व र कर्तव्य नेकपाका नेता र कार्यकर्ताको हो ठगीमा परेका पौडेललाई क्षतिपूर्ति उपलब्ध गराउनु ।

 

पार्टीलाई तिर्ने लेविमा वृद्धि गरि पार्टी कार्यकर्ताले कमरेड बिष्णुको आर्थिक क्षति पुर्ताल गर्न सहयोग गर्नुपर्छ । त्यो पनि सकिएन भने सबै नेपाली जनतासग एक रुपैयाँको दरले भिक्षा माग्ने पनि उपाय अपनाउन सकिन्छ । त्यो पनि झन्झट र अब्यबहारिक लाग्यो भने सिधै सरकारी ढुकुटीबाट भरण पोषण गर्न सरकार स्वतन्त्र छ किनकी सरकारी जग्गा हडप्ने, सुटुक्क आफ्नो बनाउने कमरेडलाई कसै गरि पनि हानी नोक्सानी हुन हुदैन । राता कमरेडहरु ठगीएको लामै सूची तयार गर्नु भएको छ पत्रकार कुसुम भट्टराईले त्यो पनि यहाँ सान्दर्भिक हुन्छ भनेर राख्ने धृष्टता गरेको छु, केही आफुले देखे सुनेको पनि थपेको छु ।  परेको सहुला बुझौला । ” जसरी पौडेल बालुवाटार सरकारी जग्गा खरिद कान्डमा ठगीनु भयो त्यसरी नै दोश्रो बरियताका अध्यक्ष कमरेड प्रचण्ड सुमार्गीबाट ठगिन पुग्नुभयो ।

 

दाहालजी, महतो, गुरुङ, मार्सी प्रसाईबाट व्यापक  ठगीनुभयो । मुक्ती टावरदेखि छोरीलाई करोडौंको बंगला बनाउँदा उहाँ भरमार ठगिनु भएको छ । जनार्दन शर्मा जनमैत्री अस्पतालदेखि नै ठगीनु भएको सुन्नमा आएको धेरै भयो । अनन्तजी पनि भित्रभित्र धेरै ठगहरुबाट प्रताडित हुनुहुन्छ  । महराजी चाइनाले प्रती सांसद पचास लाख नदिएर ठगीमा पर्नु भाको पहिले नै हो ।

 

खनाल र गौतमजी सुन तस्करहरुबाट धेरै मात्रामा ठगिनु भएको जगजाहेरै छ ।

 

नेपालजी होली वाइन ढकालदेखि हाल भूमाफिया शोभाकर ढकालसम्मबाट ठगिनुभएका पिडित हुुनुहुन्छ ।

 

नेम्वाङजी पश्चिमा एनजीओदेखि युरोपियन युनियनबाट धेरै पटक ठगिनुभएको छ । मगरजी मेलम्चीमा नराम्ररी ठगिनुभयो । कठैबरा !

 

बासकोटाजीलाई एनटीसी फोरजी ठेक्कामा अर्बौंको चुना लाग्यो, उहाँले क्षतीपुर्ती पाउनैपर्छ ।

 

वाइडबडीमा ठगिनुभएका अधिकारीजी आज यो संसारमा हुनुहुन्न । एनसेल कर मिनाहामा ओलीदेखि दाहालसम्म सबै ठगिनुभएकै हो ।  योगेश भट्टराई र नविना लामाहरु घर भाडा लिदा ठगीनु भयो । धेरै मन्त्री र सांसदहरू घर भाडा र दोहोरो इन्धन खर्च बुझेर ठगीनु भाछ ।

 

अँ, लडाकुको राशनमा दाहालजी कुन हदसम्म ठगीनुभयो भने उहाँको क्षतीपुर्तीका लागि तत्कालीन  नेकपाको युवासंघले अख्तीयारमा उजुरी नै हालेको थियो । हाल क्षतीपुर्ती पाएजस्तो छ । ”

 

तत्कालीन युवा संघको उजुरी बेखबर र लावारिस भएको बुझ्न कठिन छैन । किनकी अब प्रचण्ड कमरेड महेश बस्नेतहरुको आदर्श बन्नु भएको छ  हिजो जनमुक्ति सेनाको रासन पानी र खाइखर्च तलब पचाएको ’bout प्रचण्ड बिरुद्ध उजुरी गर्ने तपाईंहरु नै होइन भन्यो भने माननीय महेस बस्नेतले ढुक्कसँग भन्नू हुनेछ शायद त्यो तत्कालीन परिस्थितिको परिस्थिति जन्य उपज हो हामीले अध्यक्ष प्रचण्ड बिरुद्ध कहाँ उजुरी गरेको हो र ? पत्रकारहरुले अनावश्यक बुझे र गलत लेखे । ठगहरुबाट जो जहाँ जसरी ठगीए पनि क्षतिपूर्ति चै राज्यकोषबाट जसरी पनि उपलब्ध गराउनु पर्छ । अकुत सम्पत्ति जोडने लालशाले मान्छेलाई कहाँबाट कहाँ पुर्याउछ भन्ने एक उदाहरण हुन बिष्णु पौडेल पनि ।

 

सम्पत्तिको लोभ , मोह र भोकले कसरी भुलिन्छ कम्युनिस्ट आदर्श र सिद्धान्त भन्ने बुझ्न नेताहरूको शैली आचरण र व्यबहार हेरे पुग्छ । ब्यक्तिगत सम्पत्तिको लोभ गर्नेहरू कम्युनिस्ट हुन सक्तैनन् भनेर जि सिन पिङको भनाइ जताततै सेयर गर्ने कार्यकर्ताहरुलाई आफ्ना महासचिवको यो लुब्धता र सरकारी जग्गा हडप्ने चालाबाजी प्रति कति खेद र आक्रोश छ हेर्नू भएको छ कार्यकर्ताको क्षोभ र घृणा ? बाहिर सुकिला छविका देखिने पुर्व अर्थमन्त्री कति धमिला र हिलोमैलोमा चोपिएका रहेछन् । पार्टीमा सहजकर्ताको भुमिकामा काविल देखिएका कमरेड बिष्णु जग्गा दलालसंग पनि सहजकर्ता बनेर फाइदा लिन निपुर्ण रहेछन् । पार्टी एकीकरण पश्चात् सबभन्दा ठुलो कम्युनिस्ट पार्टीको महासचिव बन्न यिनको छ्लाङ बिपरित धुर्वका प्रचण्ड र ओलीको सेतु बनेर सहजीकरण गर्न जसरी सफल बन्यो त्यसरी नै बालुवाटारको सरकारी भुमी विभिन्न दलाल मार्फत आफ्नो भागमा पार्न यिनको फेसिलेटेड भुमिकाले सफलता प्राप्त गर्यो ।

 

महासचिवका एक से एक दावेदार, ईश्वर पोख्रेल, नारायणकाजी श्रेष्ठ , राम बहदुर थापा लगायतलाई चक्मा दिदै माधब नेपाल सम्मको विश्वास प्राप्त गर्नु चानचुने कुरा होइन । राष्ट्रिय नेताको परिचय नभए पनि केन्द्रमा नेता रिझाउन र  कसैलाई हत्तपत्त नचिढाउने स्वभाव विशेष क्षमता रहेकोले यिनको सफलता सहजीकरण मार्फत सफल देखिन्छ । सुट, पाइन्ट किन्न कम्तिमा १० टेलरिङ चाहर्ने स्वभाव भएका पौडेल कुरै नबुझी करोडौं पर्ने जग्गा झन बालुवाटार भित्रको सात लाख आनामा किन्न त्यसै राजी भएर किने भनेर बुझ्दा भुल हुन्छ भन्छ्न उनको बानी र स्वभावलाई नजिकैबाट चिन्ने, देख्नेहरु । ललिता निवास परिसरमा रहेको सरकारी जग्गा बिबादित हुनु, बैधानिक रुपले अमुक ब्यक्तिको स्वामित्वमा आउन र त्यसको किनबेच हुन सक्तैन भन्ने कुरा जान्न र बुझ्न बिष्णु कमरेड जस्ता देशको केन्द्रिय सत्तामा रहने हैसियत बोक्ने चतुर खेलाडीलाई थाह थिएन भन्नू उनको अवमूल्यन हो । बिष्णु पौडेलले आफ्ना छोरा नवीनको नाममा सो जग्गा प्रतिआना ७ लाखमा किनेको दावी गरेर कानुनी दस्तुर समेत तिरेको आफ्नो भनाइ सार्वजनिक गरेका छन । मालपोत कार्यलयमा चै प्रती आना पचास हजार भनेर उल्लेख गरिएको खुलेको छ ।

 

प्रश्न उठछ बालुवाटार इलाकामा कम्तिमा पचास लाख प्रती आना जग्गा किनबेच हुने समयमा सात लाख आनामा जग्गा पाउने अवस्था कसरी सिर्जना भयो, खोज्ने विषय यहि होइन र ? यसरी सुभ लाभ प्राप्त हुनुको रहस्य बिष्णुले अब बताउनु पर्छ कि पर्दैन ? चोरीको माल किन्ने समेत कानुनको फन्दामा पर्छ्न भन्ने कानुन बिष्णु कमरेडको हकमा लागू हुन्छ कि हुदैन ? एकै र उस्तै केसको प्रकृतिमा राज्यको कानुनले दोहोरो मापदण्ड अपनाउछ कि कार्यबाही गर्छ ? यहाँ स्मरणीय कुरा के छ भने कमरेड पौडेललाई जग्गा उपलब्ध गराउने मान्छे, डाक्टर शोभाकान्त ढकाल चिरपरिचित जग्गा कारोबार गरेर अकुत सम्पत्ति आर्जन गर्ने ब्यक्ती हुन ।

 

नवलपरासी कावासोतीका तत्कालीन एमालेका नेता र एमाले स्वास्थ्य बिभागका सदस्य हुन । उनलाई रुपेन्देहिका नेता पौडेलको जोडबलमा सत्तरी सालको चुनावमा समानुपातिक सांसदमा सिफारिस गरेका थिए । ढकाल त्यस्ता ब्यक्तिको रूपमा चित्रित छन जसले सुकुम्बासीको जग्गा आफ्नो नाममा पारेको भनेर पार्टीमा व्यापक आलोचना भएको थियो । फल स्वरुप नवलपरासीका एमाले नेता कार्यकर्ता र घनश्याम भुषालको तिव्र बिरोध पछि ढकालको नाम समानुपातिक सुचीबाट हटाइएको थियो । यिनै ढकाल कि श्रीमती उमा ढकालको नामबाट बिष्णु पौडेलका छोरा नवीनको नाममा बालुवाटार स्थित जग्गा पास भएको देखिन्छ ।

 

अतएव बिष्णु पौडेलको गहिरो दोस्ती र कनेक्सनको प्रमाण अरु खोज्नु आवश्यक होला र ? अब प्रश्न बिष्णु पौडेलको मात्रै रहेन उनी जस्ता सुकिला देखिने तर भित्र भित्र मैली सकेका , सत्ताको चास्नीमा फसेका , धेरै राजनितिक नेताकार्यकर्ताको सम्पत्ति छानबिन गरिनुपर्छ, सबै पार्टीका नेताकार्यकर्ताको सम्पत्ति कुन तवरले आर्जन भएको हो त्यो पारदर्शी हुनुपर्छ । नेता हुने बित्तिकै एकाध पटक सांसद र मन्त्री हुने बित्तिकै कसरी आर्थिक हैसियत उलट पलट हुन सम्भव हुन्छ ? भ्रस्टाचारको मुल चुरो र जरो राजनीतिक नेताहरूको सम्पत्ति छानबिन गरेर खोज्नुपर्छ अन्यथा भ्रस्टाचारी मुलुकको रुपमा नेपालको दर्जा बढने क्रम जारी रहन्छ । रातोको मोहले रातो पासपोर्ट, रातो लाल पुर्जा, रातो सूर्य रेडको बिन्दास सर्को, युवतीको ओँठको रातो लिपिस्टिक,INGO ले ओछ्याएको रेड कार्पेट,ठेकेदारले टक्रयाएको रेड लेबल,सोनागाछीको रेड लाइट एरिया सबै सबै औधी मनपर्छ कमरेडलाई । किनकि कामरेडको दुई तिहाईको सरकार छ ।