मान्छे अक्षम कि पद्दति खराब, प्रमज्यू ?

पश्चिमा जगतमा एउटा भनाइ छः एउटा खराव प्रणालीले एउटा असल मान्छेलाई हरेक पल्ट पछार्छ (A Bad System Will Beat a Good Person Every Time) ।

 

नेपालको नेतृत्व न “भर्च्यू र वेनेभोलेन्स”मा आधारित देखिन्छ, न “करिश्मा र पावर”मा । करिश्मामा ठूलो विश्वास गर्ने डा.बाबुराम भट्टराई बरू करिश्मा केसीलाई नेतृत्वमा ल्याउन सफल भए, चमत्कार देखाउन सकेनन् । राजनैतिक रुपमा असफल नै भए । इतिहासमा केही सदगुणी शासक नभएका होइनन तर तिनले तिनको शक्तिको स्रोत पहिचान गर्न  नसक्दा असफल भएका छन । 

 

 

बीसौँ सताब्दीको अन्तीम दशकबाट शुरु भएको चीनको समृद्धिको अभियान एक्काइसौँ सताब्दीको दोस्रो दशकमा उत्कर्षमा आइपुग्यो । लोकतान्त्रिक पद्दति नभएपनि शान्ति र स्थायित्व सम्भव छ  र समृद्धि पनि भन्ने उदाहरण पर्खिएर बसेका विश्वका “अनुदार लोकतन्त्र”का पक्षधरहरूलाई के चाहियो र? सिङ्गापुरको उदाहरणमा चिनियाँ थपियो, र उदार तथा प्रतिस्पर्धी बन्ने बाटोमा हिँडेको हाम्रो कम्युनिष्ट आन्दोलनमा पनि सानो-ठूलो आँधी सिर्जना गरि नै रह्यो ।  प्रचण्डको माओवादी भन्नुस कि विप्लवको माओवादी, तिनको एउटा आँखा देश भित्रको बस्तुगत परिस्थितिमा छ तर अर्को आँखा मुलुक बाहिर यस्तै उदाहरण खोज्नमा तल्लीन छ ।

प्रचण्ड र ओलीका पार्टीको शक्ति-बाँडफाँड (एकिकरण भने पनि हुन बाँकि रहेकोले)को सहमति पनि यस्तै दुई आँखा दुई तिरै हेरेर भएको हो । “कम्युनिष्टहरूको एकता” र “बैकल्पिक प्रजातन्त्रिक शन्ति निर्माण” आफैँमा दुई तिर फर्केका दुई आँखा थिए । ति मध्ये एउटाले देश कम्युनिष्टमय भयो, अव चुनावबाटै साम्यवाद सम्भव छ भन्ने देखि रहेको थियो अर्कोले माओवादीको  एमालेकरण अर्थात प्रतिस्पर्धात्मक राजनीतिको आत्मसात । घोषणा नगरिएपनि प्रो-चाइनिज  चुनावी अभियान र सरकार गठन पछि विस्तारै बढेको इन्डियन वा वेस्टर्न झुकाव यस्तै दुई आँखाको दुईतिरको हेराईकै अंश हुन । अरू जति गफ गरे पनि सरकारको दिमागको मूख्य अंश नै यिनै दुई वास्तविकतालाई खोल हाल्ने मेहनतले खाइरहेको छ, दुवै देखाउन नमिलेर ।

दुई वास्तविकतामा वाँचेको मानिसको दिमागको उत्पादनमा त्यो दोधारेपन वेलाबखत निस्किरहन्छ। एकातिर छोप्यो, अर्को तिरबाट फुत्त निस्कन्छ । र नेताहरू जनता द्वारा निरन्तर हेरिइरहेका मान्छे भएकोले उनीहरूको दिमागको हरेक उपज जनताको दृष्टिमा आइहाल्छ, जति बहाना गरेपनि, जति मखुण्डो लगाए पनि ।

परस्पर बिरोधी विचारहरूको बुद्धिमतापूर्ण सन्तुलन चिनियाँहरूले धेरै हद सम्म कायम राखेको देखिन्छ । चिनियाँ समाज मूलतः  बौद्ध दर्शन, ताओवाद र कन्फ्युसियसको शिक्षा कै जगमा बनेको मानिन्छ । कन्फ्युसियस र मेन्सियसको “रुल अफ भर्च्यु” र हान-फेइको “रुल बाई ल”को सन्तुलनको रुपमा चिनियाँ कम्युनिष्ट शासनको जग बसेको भए पनि  गुरु वा दार्शनिक कन्फ्युसियसको नैतिकता, अनुशासन र कर्तव्य कै प्रभाव शासनमा हावी छ। यिनै पक्षहरूलाई एउटा “पद्दति”को रुपमा ब्याख्या गरेर “लिगालिस्ट स्कूल” अर्थात हान-फेइको “रुल बाई ल”को अबधारणा अघि बढेको हो । कन्फ्युसियसले र खास गरी मेन्सियसले  मानव स्वभावलाई   “गुणी र भलो मात्रै सोच्ने” भनेर ब्याख्या गरेका थिए तर हान-फेइले “बैगुणी र दुष्ट” भन्दिए, तिनलाई तह लगाउन “कानून”को वकालत गरे ।

असल, चरीत्रवान, कर्तव्यपरायण मान्छे मात्र शासन गर्न योग्य हुन्छ भन्ने कन्फ्युसियसको मान्यता थियो, त्यसैले उनले असल शासन, चरीत्रवान शासक र कर्तव्य परायण जनताको निर्माणमा सारा जीवन व्यतित गरे, चीन भरि डुलेर । शासनको आधार जनहीत/भलाई हुने र शासन गर्ने कर्मचारी गुणी हुने पद्दतिको खोजीकै क्रममा कर्मचारीको परीक्षा मार्फत छनौट गर्ने चलन चीनमा  चलेको हो, उनै कन्फ्युसियसाका पालामा, अर्थात  २५०० वर्ष भन्दा अघि ।

माओको शासनको शुरुवाति दुई दशक सम्म कन्फ्युसियसका शिक्षा विरुद्ध संगठित आक्रमण भए पनि  बौद्ध दर्शन, ताओवाद र कन्फ्युसियसको शिक्षाको गहिरो प्रभाव चिनिया शासन पद्दतिमा छ । यि तिनैको सारतत्व भनेको हरेक चिजका विभिन्न पक्षबिचको एकता र समन्वय हुन, अन्तरसङ्घर्ष होइन । त्यो समन्वय गर्न एउटा प्रभावकारी प्रणाली चाहिन्छ ।  (चीनिया क्रान्ति रिभोल्युसनरी भनिएपनि इभोल्युसनरी प्रकृतिको छ)।

एउटा शासकको गुण वा भर्च्यूमा जोड दिए पनि कन्फ्युसियसले त्यो शासक ज्ञानको हिसाबले पूर्ण हुने विश्वास कहिल्यै पालेनन । उनको यो भनाईमा त्यो विश्वास झल्किन्छः “जव म अरू दुई जना सङ्ग हिँड्छु, ति मध्ये कम्तिमा एउटासङ्ग म केही सिक्न सक्छु” । कन्फ्युसियसको यो भनाई हेर्दा  जस्ता  सुकै सहयात्री भए पनि तिनहरू मध्ये आधा सङ्ग अफूले सिक्ने केही न केही कुरा हुन्छ । आफू जति नै  पूर्ण भए पनि कुनै व्यक्ति सङ्ग केही सिक्ने ठाउँ रहन्छ । कुनै कुरा अरू बाट सिक्नु पर्ने रहेनछ भने पनि अरू सबै मूर्खका हुलमा त्यो बौद्धिकता परीक्षण हुनै नपाई मर्छ ।

नेपालको नेतृत्व चरित्र अनौठो तरिकाले बनेको छ। न “भर्च्यू र वेनेभोलेन्स”मा आधारित देखिन्छ, न “करिश्मा र पावर”मा । करिश्मामा ठूलो विश्वास गर्ने डा.बाबुराम भट्टराई बरू करिश्मा केसीलाई नेतृत्वमा ल्याउन सफल भए, चमत्कार देखाउन सकेनन् । राजनैतिक रुपमा असफल नै भए ।  इतिहासमा केही सदगुणी शासक नभएका होइनन तर तिनले तिनको शक्तिको स्रोत पहिचान गर्न  नसक्दा असफल भएका छन ।

अहिलेका प्रधानमन्त्रिलाई बिगत ९ वर्षमा मैले ५० फीट नजीकबाट देखेको सम्झना छैन तर उनका सार्वजनिक भएका बक्तव्य र टिप्पणीका आधारमा मैले मेरो धारणा बनाएको छु, उनी वारे, हुन सक्छ ति वास्तविकता भन्दा अलि टाढाका हुन सक्छन । उनी आफूलाई सदगुणी मान्छन र जनताको भलाईलाई केन्द्रमा राखेको सन्देश दिन्छन । आफू  एउटा  “पूर्ण मानव” भएको सन्देश उनका हरेक कर्म र बचनमा पाइन्छ ।

उनको नियतमा खोट नहुन सक्छ ।  तर पूर्ण-गुण -सम्पन्न मानव भएकाले सबैलाई अर्ति दिने,आदेश दिने र नियन्त्रण गर्ने  र देशको हरेक प्रणालीलाई अर्डरमा राख्ने उनको मात्र दायित्व हो जस्तो तरीकाले उनले काम गरेको चाहिँ उनैका नजीकका मान्छेको अनुभूति छ ।

प्रधानमन्त्रि र उपप्रधानमन्त्रि भैसकेका थुप्रै नेता नेकपा भित्र छन, तिनलाई कुनै पनि नीति निर्माणका क्रममा सोधिन्न । दलको बैठक बस्दैन । मन्त्रि परिषद बैठक समेत नीतिमाथि छलफल गर्ने थलो भन्दा एउटा निर्णय लिने औपचारिक थलोको रुपमा परिणत भैसकेको छ, अर्को अर्थमा ब्युरोक्र्याटिक । आ-आफ्ना एप्पल कम्पुटर देखाउने, एजेण्डा फरवार्ड गर्ने, पास गर्ने एजेण्डा एकातिर सेभ गर्ने, प्रधानमन्त्रिको निर्देशन सुन्ने बस त्यति । निर्णय के भए, किन भए सबै ब्याख्या ओली-गृहमा बस्ने मन्त्रिको जिम्मा।

अहिले सुनिन्छ प्रधानमन्त्रिले मन्त्रिहरूलाई बाइपास गरेर कतिपय सचिव सङ्ग सोझै ब्रिफिङ्ग लिनु हुन्छ रे । सचिव त मख्ख पर्ने नै भए जोझै प्रधानमन्त्री सङ्ग पहूँच बढेर ।

प्रचण्ड र ओली, पार्टीका दुई अध्यक्ष बिचको सम्बन्ध त झन औपचारिक भैसके रे । अर्काले आफ्नो सरोकार राख्ला वा नमान्ला भन्ने शंकालागेका एजेण्डा भित्र भरसक प्रवेशनै नगर्ने ।  कम्युनिष्ट पार्टी भित्र अर्कोलाई मन नपर्ने कुरा राख्न छोडियो भने त्यो पार्टीको हबिगत के भैसक्यो आफैँ बुझिन्छ।

सरकारका दैनिक कार्य सञ्चालन र सार्वजनिक नीति निर्माणमा जति बढि जनताको चासो बढ्छ, सहभागीता बढ्छ र प्रभाव बढ्छ, त्यति नै लोकतन्त्र दह्रो र कामयावी वा फङ्सनल  हुने हो ।  तर  तौड-तरिका हेर्दा लोकतन्त्र विस्तारै औपचारिक लोकतन्त्र हुँदै गएको देखिन्छ । “शासन गर्ने  भनेको जनताले जसलाई म्याण्डेट दिएका छन तिनले हो, तलाइँ के को चासो? आफ्नो काम गर न खुरुक्क” भन्ने खालका तर्क समेत सुनिन्छ अचेल ।

सहभागीतामूलक, सङ्घीय लोकतान्त्रिक पद्दतिको सफ्टवेयर हामीले एकात्मक प्रणाली, चमत्कारी नेतृत्वको हार्डवेयरमा हालेर जबर्जस्ती चलाउन खोजे जस्तो आभास हुँदैछ ।  सरकार गठन लगत्तै फेब्रुअरी २०१८ को अन्तीम साता परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा र आर्थिक तथा वित्तीय अपराध हेर्ने निकाय प्रत्यक्ष रुपमा प्रधानमन्त्रि मातहत आए,  सेप्टेम्बरमा राजस्व अनुसन्धान, राष्ट्रिय अनुसन्धान र सम्पत्ति शुद्धिकरण विभाग  उनी मातहत आए अहिले  राष्ट्रिय सुरक्षा परिषद र विश्वविद्यालय सम्बन्धी  कानून बन्दैछन “माथि जे भनेता पनि ….आवस्थामा प्रधानमन्त्रिले सोझै….”भन्ने खालका प्रावधान सहित।

अन्तरराष्ट्रिय व्यवस्थाले साथ दियो, नेतृत्व समेत केही सौम्य र सुझबुझपूर्ण देखियो होला, परराष्ट्रनीतिका सम्बन्धमा नराम्रो केही भै सकेको छैन भलै चाइना-घेर्ने र चाइना-हेर्ने नीति बिच सन्तुलन कसरी कायम गरिन्छ हेर्न बाँकि नै छ । तर सुरक्षा, वित्तीय अपराध नियन्त्रण, सम्पत्ति शुद्धिकरण निवारण आदि सम्बन्धमा नयाँ व्यवस्थाले के परिवर्तन ल्यायो?  राष्ट्रिय सतर्कता केन्द्रले के गर्दैछ ? राष्ट्रिय अनुसन्धान  विभाग त्यहाँ गए पछि त्यसको काममा के सुधार आयो? ति परिणामको मूल्याङ्कन भएका छन कि छैनन?  ठूला आयोजनामा प्रधानमन्त्रि कार्यालयले सोझै हेर्ने नीति ल्याए पछि कति, कुन कुन आयोजनाको कस्तो प्रगति भयो? यसको कतै लेखा जोखा छ?

केही परिणाम राम्रा निस्के होलान, तर ति हस्तक्षेपले हाम्रा पद्दति र प्रणालीहरू निकम्बा बनाएर एउटा ब्यक्तिको सर्वोपरि नेतृत्वमा सुशासनको अवधारणा बलियो बनायो भने महेन्द्रको पालाको शासन दोहोरिन्छ । के थाहा अहिलेका प्रधानमन्त्रिको उत्तराधिकारी वहाँ जत्तिकै सर्वगुण सम्पन्न नभैदिन पनि सक्छ, त्यस्तो अवस्थामा गुणहीन व्यक्ति मातहत असिमित अधिकार गए त्यसको परिणाम त सबै जनताले भोग्नु पर्छ । व्यक्तिलाई केन्द्रमा राखेर बनाएको वा भत्काएको पद्दति फेरि आफ्नो ट्र्याकमा ल्याउन कति सङ्घर्ष गर्नु पर्ला, त्यता केही सोचिएको छ?

नेपाली राजनीतिमा गज्जब लाग्ने एउटा चरित्र छ । नेता संसारभरका सबै ज्ञानको ज्ञाता हो र स्रोत पनि ।  उसको काम सबैलाई अर्ति दिने, आदेश दिने, नियन्त्रण गर्ने हो। अरूलाई सिकाउने हो उसले सिक्नु पर्ने केही छैन । सर्व गुण सम्पन्न भएपनि हाम्रा अहिलेका नेतामा केही अवगुणहरू छन, ति मध्ये एउटा होः केही सदगुणी व्यक्तिहरूले देश बनाउने हो कि धेरैलाई सदगुणी बनाउने पद्दतिको विकास गर्ने भन्नेमा अस्पष्टता।

पश्चिमा जगतमा एउटा भनाइ छः एउटा खराव प्रणालीले एउटा असल मान्छेलाई हरेक पल्ट पछार्छ (A Bad System Will Beat a Good Person Every Time) ।  प्रधानमन्त्रिले आफू बाहेक अरू कसैमा विश्वास गर्न छोड्नुभयो, आफूमा मात्रै अति-विश्वस्त भएर अरूको ज्ञान, बुद्धि र विवेकको मानमर्दन गर्नु भयो, पार्टीका पद्दति, सरकारका पद्दति/प्रणाली सबैलाई आफू अनुकूल चलाउने लालच देखाउनु भयो भने भोली जव देश खराब व्यक्तिका हातमा जान्छ, त्यतिवेलाको अव्यवस्थाको दोष वहाँ माथि जान्छ । आशा गरौँ अवको चार वर्षमा हम्रा प्रधानमन्त्रिले यस्तो व्यवस्थाको प्रवर्द्धन गर्नु हुनेछ जसलाई जति खराव शासक आए पनि तोड्न सक्ने छैनन । आफू बाहेक अरू सबै खराब भएर हो कि जुन प्रणाली अन्तरगत तपाइँ मुलुकको प्रमुख कार्यकारी हुनुहुन्छ त्यो प्रणाली नै खत्तम भएर हो सवै संस्थालाई जहाँ छन त्यहीँ स्वतन्त्र रुपमा बलियो बनाउन छोडेर आफैँ मातहत राख्न लागि पर्नु भएको, मैले बुझ्या छैन ।