भनभन भाइ हो–द्यौसी रे …

 

सदृश्य संवाददाता
काठमाण्डौं, ३ कात्तिक ।

गएका वर्ष झैं यसपाली पनि लक्ष्मीपूजाको दिन सिस्नुपानी नेपालले देउसी खेलेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्वीरमा शताब्दि पुरुष सत्यमोहन जोशीले माल्यार्पण गर्दै कार्यक्रमको थालनी भएको थियो । नेपालको राजनीति, प्रशासन, वांगमय र प्राय सबै क्षेत्रका अग्रणी ब्यक्तिहरुलाई निमन्त्रणा गरेर प्रस्तुत गरिएको प्रज्ञा—सिस्नुपानी देउसी उत्सवमा विविध प्रस्तुती गरिएको थियो ।

 

गोरु तिहारको दिन साँच्चिकै देउसी खेल्ने दिन भएकोले पाठक तथा दर्शकहरुलाई सदृश्यले त्यही देउसी प्रस्तुत गरेको छ । सिस्नुपानीको कार्यक्रमका प्रहसन, गीत र अन्य प्रस्तुती सदृश्यले यसपछि पनि खण्ड खण्ड गर्दै प्रस्तुत गर्नेछ ।

 

सिस्नुपानीको देउसीको महत्व किन पनि मौलिक छ भने जस्ले यहाँका बेथितिहरु बढाइरहेका छन्, उनीहरुलाई नै सहभागी गराएर लेखक, कवि तथा विविध क्षेत्रका सर्जकहरुले देउसी भट्याए । देउसीमा वर्ष भरि भएका घटना÷प्रतिघटना र जनताका आकांक्षाहरुलाई आमजनले बुझ्ने बोलीमा प्रस्तुत गरिएको थियो ।

 

सर्जकहरुले देउसी भट्याइरहँदा दर्शक र स्रोताहरुले कार्यक्रम अवधिभर ताली बजाएर समर्थन जनाइरहँदा नेता, ब्यापारी, प्रशासक र मन्त्रीहरु पनि लाजले रातोपिरो हुँदै ताली बजाउन बाध्य बनिरहेका थिए । विपक्षी दलका नेताहरु हौसिएर ताली बजाउदै अट्टहास गरिरहेका थिए । कार्यक्रममा भट्याइएको देउसी अक्षरमा यस प्रकार छ ः

भन भन बैनी हो – देउसिरे
कुनै बेला हाम्रो – देशैमा
भ्रष्टाचारको – केसैमा
अख्तियार भन्ने – राज्य थ्यो
लोकमान भन्ने – राजा थे
नकुरा गरौं – कस्ता थे
जंगबहादुर – जस्ता थे
शिकार खेल्थे – हेरेर
लुतेलाई लडाउँथे – बेरेर
अहिले त अख्तियार – खै कुन्नी
बन्दुकै पड्के नि – नसुन्नी

प्रमुखकै नाम थाहा – पा छैन
बस्नेत कि उठ्नेत – थाहा छैन
नाता र गोताले – सताए
साला र ज्वाइँंले – बिताए

भ्रष्टाचार फक्र्यो – फक्रिनु
सम्धीलाई कसरी – पक्रिनु
अन्यौलमा हो कि – परेका
दायित्वबाट – झरेका

हामी त्यसै आएनौं गोपाल सरले खटाए
तेल भण्डारण गर्ने जमिन खोज्न पठाए ।

दुई लाख पर्ने जमिनलाई २० लाख खन खन गन्या छन्
गोपाल सरलाई गोपाल सरले स्याबास भन्या छन् ।

अर्का गोपाल शिक्षामन्त्री डिस्को नाच नाच्दैछन्
उठ्लास भन्दै शिक्षाकै ढाड भाँच्दैछन् ।

कर आयोग नै मारेर शर्मा महत कमाउँछन्
कसले छुने ठाउँठाउँमा थैली चढाउँछन् ।

समाजवादी बाटोमा देउवा ईंटा थप्दैछन्
खुमबहादुर टिकट बाँड्छन् गगन थाप्दैछन् ।

देउवाजीले ब्याटिङमा शतक हान्लान् जस्तो छ
मन्त्रिमण्डल बोइलरको बथान जस्तो छ ।

केही मन्त्री आउनुभो, केही मन्त्री जानुभो
सबै मन्त्री अटाउन हलै सानु भो ।

बीबीसीमा देउवाजीले झण्डै जनता पिट्नुभो
पत्रकारले प्रश्न सोध्दा दाह्रा किट्नुभो ।

राहत बाँड्न जानुभो हेलिकप्टर चढ्नुभो
भाषण पढ्न खोज्दा लभ लेटर पढ्नुभो ।

मै हुँ भन्थ्यो दिल्ली पनि अहिले हे¥या हे¥यै भो
देउवाजीको कालो बोको छे¥या छे¥यै भो ।

सिस्नुपानी नेपालैका हामी कवि कलाकार नि लै लै
प्रज्ञाको दैलो, खेल्दै देउसी भैलो,
नाच्दै आयौं छमछम ।

काठमाण्डौंका खाल्डे सडक सबै सम्म पारेछन् नि लै लै
मेट्रो पनि चलेछ, मोनो रेल नि गुडेछ
चढी आयौं ठमठम ।

भ्रष्टले नि चुनाव लड्ने झण्डै बन्यो नियम
विफल भयो छक्क परे दाजु राधेश्याम ।

सांसद हुन्जेल बिकाश बजेट छाडेपछि पेन्सन
दुईटै गुम्यो हेर्दा हेर्दै भयो टेन्सन ।

प्रधानमन्त्री कुल्चिहाल्छन् माड्छन् आचारसंहिता
आयोग रुन्छ हामी त हेर्छौं रमिता ।

संबैधानिक आयोग हो कि रुञ्चे लाग्या बालक
अलिकति लाज मान देशका चालक ।

अनुदानको रासन हुम्ला जुम्ला पुग्दा कुहिन्छ
आधा पुग्छ मुखमा आधा अन्तै चुहिन्छ ।

बाटो छैन बत्ती छैन कर्णालीका पाखामा
फुलो रैछ राजधानीको हेर्ने आँखामा ।

पुनर्निर्माण सीईओ टिकट लेर कुलेलाम
वर्षौंदेखि छाप्रोमै पीडित जिल्लाराम ।

हाम्रो देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको
कदर गर्न राज्यले खोइ त जानेको ?

श्रमिक सधैं सकसमा कति आउँछन् बाकसमा
रोजगार जुटाउँ आफ्नै धर्ती आफ्नै आकाशमा ।

चुनाव आउँदा मधेसी, बाढी आउँदा परदेशी
काठमाडौंमै भुनभुन गर्छन् मन्त्री पाएसी ।

बिहान फोरम, दिउँसो कांग्रेस, साँझ हुन्छन् एमाले
मधेस कैले बन्छ ठाकुर यस्तो पाराले ।

मधेसको मुहार फेर्न देखाउ केही गरेर
हुन्न भलाइ दिल्लीको शरण परेर ।

भन भन साथी – मधेसमा
जंगली हात्ती – मधेसमा
डुवान र बाढी – मधेसमा
फोहोरका खाडी – मधेसमा
छुवाछुतले हान्छ – मधेसमा
डेंगुले लान्छ – मधेसमा
शीतलहर चल्छ – मधेसमा
तातोले पोल्छ – मधेसमा
भ्रष्ट र तस्कर – मधेसमा
सर्प र मच्छड – मधेसमा
बन्दुक र भाला – मधेसमा
विकाशमा ताला – मधेसमा
दाइजोको दलदल – मधेसमा
बोक्सीको खलबल – मधेसमा
दशगजा सर्छ – मधेसमा
गोविन्द मर्छ – मधेसमा
देवनारायण थुनिन्छ – मधेसमा
भोकमरी सुनिन्छ – मधेसमा
खानकै दरकार – मधेसमा
खोई कहाँ छ सरकार – मधेसमा

भरतपुरका कांग्रेस दाजै भोट कता हाल्या थ्यौ नि राजै
जिताउने एउटाले, बिताउने अर्कैले
तुमको ऐले कैसा लगता है ?

गठबन्धन तोडी गयौ, मलाई एक्लै छोडी गयौ नि लै लै
कि लाउ माया मैतिर, कि लाउ माया उहीतिर
क्याविनेट से क्यूँ नही हट्ता है ?

बेलाबेलै खप्की खान्छन् प्याच्चपुच्च बोलीले
दुई नम्बरमा झण्डै चिम्टा बोके ओलीले ।

गुण्डा डनले टिकट पाए एमालेमा पसेर
चरी–घैंटे रुँदा हुन् माथि बसेर ।

इन्काउण्टरमा परेर ’em मरिगए
इन्काउन्टरमा नपर्नेचैं मन्त्री हुनेभए ।

दीपक मनाङेलाई आउँदो गृहमन्त्री बनाइदेउ
नवराज सिलवाललाई गृह—राज्य देउ ।

केपी ओली प्रचण्ड मिले भन्छन् रातारात
हिजोसम्म काटाकाट आज चाटाचाट ।

खोक्रो थियो राष्ट्रवाद भरिलो भो पुटुक्कै
छिनको छिनमै लम्पसारबाद उठ्यो जुरुक्कै ।

माओवादी सिंगै एकनाथ चुरे भावर एमाले
पासवान गुप्ता त्रिपाठी माले मसाले ।

आलु केरा पिँडालुमा नुनखुर्सानी खन्याए
नयाँ नेपाल कम्युनिष्ट पार्टी सलाद बनाए ।

एमाले र माओवादीको लगनगाँठो बरी लै
दुई दिनको रामछायाँ कि जुनी भरिलाई ?

तिमी आफैं मिल्यौ कि मिलाउने ले मिलायो ?
दुईटा मिल्दा कांग्रेसको आङ् किन चिलायो ?

गर्मी हुँदा रुखतिर जाडो हुँदा घामतिर
छलाङ मार्दै प्रचण्ड पुग्लान धामतिर ।

बाबुरामको नयाँ पसल वर्ष दिनमै टाट भो
नयाँ शक्ति पार्टी नै घार न घाट भो ।

काठमाडौंमै सिंगापुर – देखियो
फोहोरले फ्लाइओभर – छेकियो
मोनोरेल मनमनै – चढियो
चिप्लेर झण्डै – लडियो
सुरुङमार्गबाट – छिरेर
द्रुतमार्ग हुँदै – फिरेर
मेलम्ची पानी – चाखियो
निजगढमा बोइङ – राखियो
चीनबाट चुच्चे – रेल आयो
पाइपलाइनबाट – तेल आयो
बाहिरी रिङरोडमा – फिलीली
बसपार्कको टावर – फिलीली
कान्छीको हात – समाउँदै
साततले बाटोमा – घुमाउँदै
स्मार्ट सिटीको – घरैमा
नेभिटेकरको – भरैमा
भान्सामै ग्यास आउँछ – भनेर
नेताका कुरा – सुनेर
सस्तैमा बेचियो – सिलिण्डर
झल्याँस्स ब्यूझेँ – गाडीमा
भाडा पो माग्छ – किलिण्डर
महानगर एक्सप्रेसको – किलिण्डर ।।

हाम्रो देशका कर्मचारी युनियनका अधिकारी नि लै लै
आफ्नो जागीर खाउ भन्दा, थानीयमा जाउ भन्दा
सरकारलाई नै ढाल्न कसिन्छन् ।

हाम्रो देशका अस्थायी शिक्षक जाँचै नदिई थायी माग्छन् नि लै लै
दलको झोला बोकेर, दलकै नारा घोकेर
यिनले कस्तो शिक्षा बक्सिन्छन् ।

तिहारको किनमेल गरौं दरबारमार्ग बजारमा
सत्र सयको जुत्तालाई २४ हजारमा ।

जति भन्छन् त्यति पैसा तिरी फुत्त भाग्नु है
नत्र कुट्लान् ब्यापारीले चुप लाग्नु है ।

बैंकहरु सुरुखुरु ब्याजमात्रै बढाउँछन्
गभर्नरज्यू तपाईंलाई के के चढाउँछन् ?

सरकार किन्ने पार्टी किन्ने टियु किन्ने अन्सारी
अपार्टमेन्टलाई अस्पतालमा गरे नामसारी ।

मेडिकलका माफियाले सरकार उठबस गराउँछन्
कारवाही गर्ने निकायलाई घाँस चराउँछन् ।

फ्रुटी बेच्ने दुगड दाजु रैछौ साह्रै बफादार
झोल किन्ने ग्राहकलाई चोक्टा उपहार ।
विश्वधनी सूचीमा विनोदले नाम टल्काए
कर छल्न यता उद्योग टाट पल्टाए ।

उद्योगी र व्यापारीले राज्यमा दाइँ गर्दछन्
नेता उनकै दाना खान आइँ गर्दछन् ।

मोबाइल देनन् मेयरसापलाई मोटर देनन् चढ्नलाई
बाधा गरे विरोधीले अघि बढ्नलाई ।

हावा हाने फुस्स फुस्स एउटै अण्डा पारेनन्
केको विद्या केको सुन्दर माखै मारेनन् ।

काठमाडौंका मेयरसा साहेब जितेपछि कता गायव नि लै लै
एकसयएक सपना जनतालाई देखायौ
आफू भने झ्याप्पै निदायौ ।

महानगर कर्मचारी, नेताजनका छोरा ब्वारी नि लै लै
फाल्न पनि गाह्रो छ, फाल्न झनै साह्रो छ
निर्वाचितलाई पिठ्युँ देखाए ।

 

 

जयजयकाररमनोज धुर्मुस

शुभकामनाः
देशबाट जाओस् – भ्रष्टाचार
सबैमा छाओस् – सदाचार
अख्तियारको निन्द्रा– भंग होस्
भ्रष्टलाई थुन्ने – ढंग होस् ।

बराबर बाँड्ने – भान्छे होस्
नेतालाई छुँदा – मान्छे होस्
गुण्डाले गोली – नताकोस्
डनले टिकट – नथापोस्

सडकमा बालक – नबगुन्
ठेक्दारले निर्माणमा – नठगुन्
डाक्टरले किड्नी – नकाटुन्
उम्मेदवारले जनता – नढाँटुन्

रेमिट्यान्सको रेट – बढ्दो होस्
हुण्डीको रजाईं – घट्दो होस्

भाइवरमा बाउआमा – नटाँसियून्
साइवरमा छोराछोरी – नगाँसियून्

बाँदरले मतपत्र – नच्यातून्
चपाएर ब्यालेट – नफ्याँकुन्
हारे नि जित्ने – दाउ हुन्
रेणुका जस्ता – बाउ हुन्
लोडसेडिङ फर्केर – नआओस्
इन्भर्टरले मौका – नपाओस्
अँध्यारो नेपाल – मूर्दाबाद
जनार्दन कुलमान – जिन्दावाद

युनियनको जालो – उध्रियोस्
कर्मचारी चाला – सुध्रियोस्
स्वास्थ्य वीमा – जिन्दाबाद
गिरीराज गगन – धन्यबाद

लालबाबुमा झैं – इमान हुन्
सुशीला जस्ता – श्रीमान हुन्
महको जस्तो – बनोट होस्
धुर्मुसको जस्तो – अठोट होस्

सर्बेन्द्र जस्तो – सिपाही होस्
बाग्मती जस्तो – सफाइ होस्

दिल्लीले निम्तो – नगरोस्
चुनावको मिति – नसरोस्

संविधान पूर्ण – सफल होस्
समृद्धि यात्रा – डबल होस्

बिदाई

बाढी पहिरो भूकम्प महामारी अनिकाल
युगौंदेखि रोएको रोयै छ नेपाल

खोलानाला बन्दकी कष्टपूर्ण जिन्दगी
कैले देख्न पाइन्छ यो देशको समृद्धि ?

कति सोध्नु एउटै प्रश्न कति खेल्नु भैलो
बन्द गर्द्यौ बिन्ती छ देशमा भाँडभैलो