किन रहस्यमय मानिन्छ मानसिक रोग ?

 

 

मानसिक रोग फरक–फरक प्रकारका हुन्छन् र तिनका कारण पनि फरक हुन्छन् । शारीरिक रोगको जस्तै मानसिक रोगहरुको पनि आफ्नो छुट्टै पहिचान हुन्छ । मुख्य–मुख्य मानसिक रोगहरु जस्तै डिप्रेसन, साइकोसिस, न्यूरोसिस वा छारेरोग (मिर्गी), सुस्त मनस्थिति, लागूपदार्थको दुव्र्यसन आदि’bout विस्तारमै बुझ्नुपर्ने हुन्छ ।

 

 

रोगको प्रकृतिअनुसार सबै मानसिक रोगलाई मुख्य दुई समूहमा विभाजित गरिन्छ– सामान्य र कडा खालका मानसिक रोग । सम्पूर्ण मानसिक रोगीमध्ये ९० प्रतिशतजति सामान्य खालका रोगी नै हुन्छन् । यिनीहरुलाई मानसिक रोगी भनेर शंका गर्नै सकिँदैन । यिनीहरुमध्ये प्रायः सबैजसो सामान्य जीवन बिताइरहेका हुन्छन् र आफ्नो दैनिक काम र व्यवसायमा समेत संलग्न हुन्छन् । बिरामीले मात्र भित्र–भित्रै मानसिक रोगको पीडा भोगिरहेको हुन्छ । कहिलेकाहीँ ऊसँग नजिकको व्यक्तिले घनिष्ठ र निकट भएको अवस्थामा केही शंका गर्न सक्छ । तर, यस्ता बिरामीका बहुसङ्ख्यक आफन्त कुनै बिमार नै नभएको अवधारणा राख्छन् । यस्ता रोगलाई समाजले अति सामान्य रूपमा लिने गरेको भए पनि बिरामीका लागि भने निकै पीडादायक र असह्य हुन सक्छन् ।

यति भए पनि सबै साधारण मानसिक रोगको एउटा साझा विशेषता चाहिँ हुन्छ । बिरामीलाई आफू  रोगी भएको पूर्ण ज्ञान हुन्छ र ऊ उपचारको खोजीमा हुन्छ । उपचारका लागि ऊ क्लिनिक वा अस्पताल धाउँछ । तर, दुर्भाग्य ! धेरैजसो बिरामीले आफ्नो समस्या मानसिक रोग हो भन्ने नै ठान्दैनन् र सम्झाउँदा पनि स्वीकार गर्दैनन् ।

दोस्रो समूह हो, कडा खालका मानसिक रोगको । यस्तोमा बिरामी मानसिक रूपले विक्षिप्त हुन्छ । समाजले यसै समूहका रोगीलाई मगज बिग्रेको वा पागल भन्नेगर्छ । सम्पूर्ण मानसिक रोगीमध्ये यस्ता बिरामी केवल १० प्रतिशत मात्र हुन्छन् । तोडफोड र मारपिट गर्नेदेखि उद्दण्ड स्वभाव देखाउने मात्र हैन, कहिलेकाहीँ चुपचाप बस्ने शान्त प्रकृतिका बिरामी पनि यसै समूहभित्र पर्छन् । कडा खालका मानसिक रोगहरु भिन्न–भिन्न रूपमा देखिए पनि एउटा विशेषता चाहिँ सबैको हुन्छ । रोगीले आफूलाई कुनै रोग लागेको स्वीकार गर्दैन र एकदम स्वस्थ सम्झन्छ ।

तर, उसको दैनिक जीवन, व्यवसाय, सामाजिक सम्बन्ध सबै खल्बलिँदै जान्छ । आफूलाई  रोगी नठान्ने भएका कारण यस्ता बिरामी उपचार गर्न मान्दैनन् । अभिभावक या मान्यजनको दबाब वा कर–बलले मात्र यिनीहरुको उपचार गराउन सकिन्छ । अटेरी र अधम स्वभावको व्यक्ति वा परिवारमा कसैको डर नमान्ने व्यक्ति नै यस्तो रोगबाट पीडित भयो भने त अझ शक्ति प्रयोग गरेर भर्ना गर्नुपर्ने र जबर्जस्ती उपचार गर्नुपर्ने स्थितिसमेत आउँछ । तर यस्तो अवस्था कमै मात्र आइपर्छ ।

सामान्य र कडा खालका भनेर रोगको प्रकृतिअनुरूप गरिने विभाजनबाहेक अन्य आधारमा पनि मानसिक रोगको वर्गीकरण गरिन्छ । जस्तै मस्तिष्कमा परेको खोटले गर्दा लाग्ने मानसिक रोग र मस्तिष्क दुरुस्त हुँदा पनि देखिने मानसिक रोगहरु (ORGANIC AND FUNCTIONAL MENTAL ILLNESS)। त्यस्तै, बाह्य वातावरणीय (भौतिक र सामाजिक) घटनाले उब्जाएका या आन्तरिक (व्यक्तिङ्खव स्वयम्मा अन्तर्निहित) कमजोरीले जन्माएका मानसिक रोग (EXOGENOUS OR ENDOGENOUS MENTAL ILLNESS )। सारांशमा मानसिक रोगहरु विभिन्न प्रकारका हुन्छन् । कुनै दुई मानसिक रोगीहरु भिन्नाभिन्नै किसिमका रोगबाट पीडित भएका हुन सक्छन् ।

हाम्रो मनमा मानसिक रोग किन लाग्छ भन्ने प्रश्न सहज र स्वाभाविक रूपमा उठ्छ । निश्चित उद्देश्यसाथ अनेकौँ इच्छा, आकाङ्क्षा बोकेर जीवनको गोरेटोमा अगाडि बढिरहेको व्यक्ति मानसिक रोग लागेपछि अकस्मात् आफ्नो गन्तब्यबाट विचलित हुन्छ । ऊ रोगको विकृत संसारमा व्यस्त हुन्छ र चिन्नै नसक्ने गरी बदलिन्छ । अथवा भनौँ, दह्रो मुटु भएको हँसिलो, रसिलो र साहसी व्यक्ति अचानक काँतर भएर सामान्य कुरामा पनि चिन्तित हुँदै विरक्तिन थाल्छ । मानसिक रोग किन र कस्तो परिस्थितिमा लाग्छ भन्ने विषयसँगै मानसिक रोग र यसका कारण’bout जनमानसमा के कस्ता धारणा छन् भन्ने पनि बुझ्न जरुरी छ ।

हाम्रो समाजमा मान्छेलाई कुनै आपत आइपर्दा वा बिरामी हुँदा उसको गल्ती, कमजोरी या कसैको दुष्प्रभाव, श्राप, दोष, कुदृष्टि या ग्रह–दशा लागेको हो कि भन्ने चलन छ । ज्वरो, झाडापखाला लाग्दा पनि जान्ने भनिने धामी–झाँक्रीसँग सम्पर्क गर्ने गरिन्छ । ढाडको हड्डी खिएर कम्मर दुख्दा या गाईभैँसीले दूध नदिँदा नाग लागेको भन्दै नागपूजा गरेको म आफैंले पनि धेरै पटक देखेको छु । हाम्रो समाजमा सम्भावित कारणको सहजै अनुमान गर्न सकिने स्वाभाविक समस्यालाई पनि अदृश्य शक्तिको भूमिका ठान्ने गरिन्छ । अनौठो असर देखिने मानसिक रोग जस्तो ‘रहस्यमय’ समस्याका लागि विभिन्न अन्धविश्वास विद्यमान हुनु अस्वाभाविक पनि होइन । समाजमा अझै पनि कैयौं अगुवाहरु नै बोक्सी, वायु, नाग, कुलदेवता आदिको असरले नै मानसिक रोग लाग्छ भन्ने विश्वास गरिरहेका छन् । ग्रामीण र कम शिक्षित व्यक्तिमा मात्र हैन, आधुनिक र शिक्षित सहरी बासिन्दामा पनि मानसिक रोग’bout अनेकौं भ्रम र झूटा विश्वास विद्यमान छन् ।

अङ्ग्रेजी स्कुलमा पढाउने एक शिक्षिकाको किशोर छोराको स्वभाव र व्यवहारमा हल्का मानसिक अस्वस्थता र सामान्य परिवर्तन देखिएछ । ती महिलाले मसँग छोराको विषयमा सल्लाह गर्दा बीच–बीचमा भन्ने गर्थिन्, ‘मेरो छोरा पानीदेखि डराउने गरेको छैन, नुहाउन पनि छाडेको छैन र सहजैसँग ऐनामा हेर्नेगर्छ ।’ उनले त्यसो भन्दा मैले पानी र ऐनाको प्रसंग बुझ्न सकेको थिइनँ । एकै छिनपछि प्रस्ट भयो, उनले मानसिक रोगलाई पागलपन मात्र ठानेकी रहिछन् । र, बौलाहा हुनु भनेको बौलाहा कुकुर र त्यसले टोकेर हुने रेबिजको रोगी जस्तै हुनु हो भन्ने सोचेकी रहिछन् ।
तिब्बती शरणार्थी परिवारका एक युवक आफ्नो मानसिक समस्या’bout सल्लाह लिन बेला–बेला मलाई भेट्न आउँथे । एक पटक उनीसँग साथीको रूपमा आएका अर्का एक जनाले बिदा हुने बेलामा मलाई सोधे, ‘तपाईं जिब्रोको रोग पनि निको पार्न सक्नुहुन्छ ?’

मैले आफ्नो क्षेत्रभित्र नपर्ने भनेर पठाइदिएको भए सायद उनको समस्याले अर्कै रूप लिन्थ्यो होला । हामी मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने व्यक्तिले कसैको भनाइ र गराइको सोझो अर्थ मात्र लगाएर पुग्दैन । सोधपुछ गरेपछि उनले बुझ्न खोजेको कुरा पत्ता लाग्यो– जिब्रोको रोग लागेको भन्ने ठानिएकी एक तिब्बती महिला विगत दुई महिनादेखि हिँडडुल नगर्ने र नबोल्ने गरेकी रहिछन् । मलाई प्रस्ट भयो, यति लामो समयसम्म बोल्ने चेष्टा नै नगरी मौन बस्नु ठूलै मानसिक रोगको लक्षण हो । पछि तिनी उपचार पाएर पूर्णरूपले निको भइन् । तर, नबोल्नु नै रोगको मुख्य लक्षण देखिएकाले उनका आफन्तले मानसिक रोगभन्दा जिब्रोको रोग भएको लख काटे । कुनै रोगको लक्षण मानसिक क्षेत्रमा नै देखा परे पनि बाहिर हेर्दा शारीरिक वा अन्य रोगका रूपमा देखिन्छ ।

सामान्य खालका मानसिक रोग (न्यूरोसिस, डिप्रेसन) लागेका कतिपय महिलाले आफ्ना ती रोगलाई सुत्केरी हुँदा चिसो पसेकाले देखिएको समस्या मान्छन् । उनीहरु सुत्केरी वायु घुसेको वा सुत्केरी भएपछि चाहिने जति मालिस गर्न नपुगेकैले समस्या देखिएको ठान्छन् । यस्तो विश्वास गर्नुको मुख्य कारण के भने यी लक्षण पहिले कहिल्यै नदेखिएका र सुत्केरी भएको केही समयपछि मात्र देखा परेका हुन्छन् । यो सोचाइमा आधा चाहिँ सत्यता छ । अर्थात्, सुत्केरी भएपछि मात्र देखा पर्ने केही कडा मध्येका (साइकोसिस) विशेष मानसिक रोग पनि हुन्छन् । त्यसबाहेक सुत्केरी भएपछि कतिपय महिलाको मन कमजोर हुन जाने तथा थप जिम्मेवारी र तनाव पैदा हुने हुँदा साधारण खालका मानसिक रोग (न्यूरोसिस) देखिन सक्छन् । तर, वायु घुसेर या तेल लाउन नपुगेर रोग निस्केको चाहिँ होइन ।

केही वर्ष अगाडि मानसिक रोगबाट पीडित एक युवकलाई मेरो क्लिनिकमा ल्याइयो । उनमा धेरै किसिमका रोगका लक्षण थिए । भौँतारिँदै हिँड्ने र कैयौँ दिनसम्म हराउने गरे पनि उनी आक्रामक या उत्तेजक चाहिँ थिएनन् । भनेको मान्ने र सजिलैसँग औषधि खाने हुनाले उनलाई भर्ना गर्नुपर्ने जरुरी थिएन । मैले उनका आफन्तलाई राम्रोसँग रेखदेख गरी घरमै राखेर औषधि गर्ने सल्लाह दिएर पठाएँ । केही दिनपछि बिरामीका बाबुआमा निराश अनुहार लिएर अस्पताल आए । औषधिले फाइदा गर्न नभ्याउँदै उनी फेरि भागेछन् । मलाई घरका मान्छेदेखि रिस पनि उठ्यो । त्यत्रो सम्झाएर पनि कसरी भाग्ने मौका दिएका होलान् ? ‘दिनभरि त गोठालो लागेजस्तै कुरेका थियौं, राति भाग्यो,’ बाबुको यस्तो जवाफ सुनेर म झन् जिल्ल परें । घटना के रहेछ भने दिनभरि उसलाई कुरेर बसे पनि राति बिरामीको कोठामा उनीसँग नजिकै सुत्दा उनको मानसिक रोग आफूलाई सर्ला कि भन्ने डरले राति कोही पनि उनीसँग सुत्न नमान्ने रहेछन् । राति एक्लै भएको मौका पाएर बिरामी घरबाट भागेका रहेछन् ।

मानसिक रोग किन र कसरी लाग्छ भन्ने विषयमा यस्ता धेरै गलत अवधारणा छन् । बहुसंख्यक व्यक्तिलाई यो क्षेत्र नै रहस्यमय लाग्छ । बौद्धिक जमातमा मानसिक रोग विशेषज्ञको रूपमा चिनिँदा मैले अनौठा प्रश्नको झटारो पाउने गरेको छु । कोही भन्छन्, ‘ममा पनि डा. साहेबले कुनै रोगको लक्षण देख्नु होला नि हैन ?’ ‘बिरामीसँग हेलमेल गर्दा तपाईं आफैंलाई पनि केही असर त पर्दो हो, है ?’ अर्कोले भन्छ, ‘तपाईंले आफ्ना लागि यस्तो विषय रोज्नुको पछाडि पनि कुनै आफ्नै मानसिक कारण पो छ कि ?’ ‘सबै महान् व्यक्तिमा पागलपनको आंशिक रूप हुन्छ रे, हो ?’ आदि आदि ।
यस्ता विभिन्न प्रश्न सोधिनुका पछाडि मानसिक रोगलाई रहस्यको रूपमा लिइनु नै मुख्य कारण हो । प्रायः धेरैजसो मानसिक रोग एक पटक पूरै निको भएपछि पनि पटक–पटक दोहोरिन्छन् । कुनै–कुनै बिरामीमा मानसिक लक्षण पुनः देखिने वा रोग चर्कने निश्चित महिना, समय वा तिथि पनि हुन्छ । केही कडा खालका मानसिक रोगीहरु पूर्ण चन्द्रमा (पूर्णिमा) को दिनमा बढी प्रभावित हुने हुनाले पुराना लेखहरुमा यस्ता मानसिक रोगीलाई लुनाटिक भन्ने प्रचलन पनि भेटिन्छ । मौसम, सौर्य विकीरण, तापव्रmम, आकाशमा ग्रहहरुको स्थान आदिले हाम्रो मन र व्यवहारलाई प्रत्यक्ष प्रभाव पार्ने हुनाले मानसिक रोगहरुको उत्पत्ति र उतार–चढाव समय–समयअनुसार फरक हुनेगर्छ ।

मानसिक रोग किन लाग्छ भन्ने प्रश्न जति रहस्यपूर्ण लाग्छ त्यसको उत्तर उत्तिकै सरल र स्वाभाविक छ । मन, सोचाइ, विचार, भावना, चाहना आदि मानसिक व्रिmयाहरु मस्तिष्क (गिदी) मा अन्तर्निहित गुण हुन् । जुन–जुन कारणले मस्तिष्क र त्यसबाट सञ्चालन प्रव्रिmयामा प्रभाव पर्छ, तिनै–तिनै तत्वहरु नै मानसिक रोगका कारण बन्न सक्छन् । समाज या प्रकृतिमा हुने घटनाका जुनसुकै कारणमध्ये पहिला बाह्य प्रभाव (घटनामा प्रभाव पु¥याउने तत्व) र दोस्रो आफैंमा अन्तर्निहित संरचना या कमजोरी (घटनाका लागि पृष्ठभूमि) आवश्यक हुन्छन् । पहिरो जानुका पछाडि भू–क्षय, वनस्पति नाश, अविरल वर्षा बाहिरी कारण हुन्छन् भने जमिनको बनावट कमजोर र ध्वजा फाटेको चट्टान आन्तरिक कारण बन्न जान्छन् ।

त्यसैगरी, मानसिक रोगका बाहिरी कारणमध्ये मस्तिष्कलाई असर पार्ने चोटपटक, लामो ज्वरो, शारीरिक रूपमा कडा रोग, लागूपदार्थको दुव्र्यसन या मनलाई प्रभावित पार्ने असाधारण तनाव, दबाब, पीडा, सामाजिक बन्धन आदि मुख्य हुन्छन् । साथै आन्तरिक कारणमध्ये रोगीको स्वभाव, व्यक्तित्व, सोचाइ, मनको भित्री विशिष्टता आदि मानिन्छन् । बाहिरी र आन्तरिक गरेर सिद्धान्ततः मानसिक रोगका कारण विविध हुन सक्छन् । तापनि व्यवहारतः केहीलाई विशेष महङ्खव दिनुपर्ने हुन्छ । ’emको छोटकरीमा चर्चा गरौं ।

मान्छेका प्रारम्भिक बाल्यकालका अनुभव र अनुभूति पनि मानसिक रोगका प्रमुख कारण बन्न सक्छन् । निकै कलिलो उमेरमा हामीले अनुभव गरेका घटना र तिनको असर हामीलाई पछिसम्म प्रायः याद नै हँुदैन । तर, मनोवैज्ञानिक दृष्टिकोणले भन्नुपर्दा मान्छेको अवचेतन र अचेतन मनमा केही महिना मात्र पुगेको बालकको उमेरमा भएको घटना र अनुभवको पनि स्थायी छाप रहिरहन्छ । यसलाई मान्छेले चाहेको बेला स्मरण गर्न सक्दैन पनि । तर, त्यो कहिलेकाहीँ अनायासै (Spontaneously) गरिने अभिव्यक्ति वा क्रियाकलापमा झल्किन सक्छ । ती घटना सपनामा पनि देखिन सक्छन् । मानसिक रोग उत्पन्न हुने प्रक्रियामा बाल्यकालदेखि सञ्चित हुँदै गइरहेका अवचेतन र अचेतन मनका यी अभिलेखको महत्वपूर्ण भूमिका हुन्छ ।

मानसिक रोगका लागि अर्को महत्वपूर्ण कारण परिवार र समाजसँगको निरन्तर प्रतिकूल सम्बन्ध र त्यसको प्रभाव पनि बन्न सक्छ । परिवार र समाजको प्रभाव मानसिक रोगका लागि मात्र होइन, व्यक्तित्व निर्माण तथा उसको स्वभाव र चरित्रका लागि पनि जिम्मेवार हुन्छ । सोझो अर्थमा भन्ने हो भने हामी सबै आ–आफ्ना परिवार, सामाजिक परिवेश र आफ्नो समयका उपज र उत्पादन हौं ।

व्यक्तिले अपनाएको जीवनशैली, प्राप्त गरेको शिक्षा, अपनाएको पेसा, उसको आफ्नै रुचि र त्यसअनुसारको बौद्धिक अभ्यासले पनि व्यक्तित्व निर्माण र मानसिक रोगको उत्पत्तिमा सहायक भूमिका खेल्छन् । यसै प्रसंगमा मदिरा सेवन या कुनै लागूपदार्थको दुव्र्यसनले सहजै मानसिक रोग पैदा गर्न सक्छ भन्ने कुरालाई विशेष जोड दिनु आवश्यक छ । दैनिक जीवनमा घट्ने घटनाहरु ? (Life events) पनि मानसिक रोगका कारण बन्न सक्छन् । यस्ता घटनामा मुख्यरूपमा नजिकको व्यक्तिको मृत्यु, पतिपत्नीको सम्बन्ध विच्छेद, नोकरी गुमाउनु, बसाइ सर्नु, व्यापारमा टाट पल्टिनु, मुद्दा लाग्नु आदि कारण पर्छन् । पाश्चात्य समाजमा नजिकको नातेदार (लोग्ने, स्वास्नी, छोरा–छोरी, बाबु–आमा) को मृत्युलाई निकै ठूलो मानसिक आघातको रूपमा लिइन्छ र मानसिक असन्तुलनका लागि महङ्खवपूर्ण कारक तङ्खवका रूपमा लिइन्छ ।

हाम्रो लागि पनि आफ्ना अति प्रिय व्यक्तिको मृत्यु त्यत्तिकै पीडादायी हुन्छ । तर, शोक मनाउने हाम्रो आफ्नै शैलीले गर्दा हामीलाई त्यो चोट बहन गर्न केही सजिलो हुन्छ भन्ने विश्लेषण गरिन्छ ।

माथि उल्लेख गरिएका यी बाहिरी कारणले मात्र मानसिक रोग हँुदैन । मानिसको भित्री कमजोरी र उपयुक्त पृष्ठभूमिमा मात्र यी कारणहरुले रोग जन्माउन सक्छन् । मानिसले जन्मँदा नै रोग लाग्ने त्यस्तो पृष्ठभूमि पनि लिएर आएको हुन्छ । अर्थात् व्यक्तिविशेषमा निहित त्यस्तो कमजोरी वंशाणुगत रूपले एउटा पुस्ताबाट अर्को पुस्तामा जान्छ । कुनै रोग लाग्नुमा बाहिरी कारणको गौण र भित्री कारण नै मुख्य छ भने त्यस्ता रोगलाई केही हदसम्म पैतृक रोग भन्न मिल्छ । यसरी मानसिक रोगका कारण’bout छलफल गर्दा हामी केही महत्वपूर्ण निष्कर्षमा पुग्छौं ।

पहिलो कुरा, मानसिक रोग एक दुई कारणले मात्र नभई धेरै कुराको संयोजन भएपछि मात्र निस्कन्छ । यसरी मानसिक रोग निस्कनका लागि त्यो व्यक्तिको स्वभाव र मनमा त्यस्तै कमजोरी हुनुपर्छ । यसरी मानसिक रोगका लागि आवश्यक विविध कारणमध्ये केही मूल कारक तत्व (Precipitating Factors) का रूपमा हुन्छन् । त्यो रोगलाई उत्पत्ति गर्ने आवश्यक पृष्ठभूमि (Predisposing Factors) का रूपमा केही कारण रहन्छन् । त्यस्तै, व्यक्तिको सामाजिक–पारिवारिक वातावरण या कुलतले पनि रोगलाई थमाई राख्ने तत्व (Supportive Factors) का रूपमा काम गरिरहेको हुन्छ ।

मानसिक रोग लाग्ने कारण र त्यसको प्रभाव सव्रिmय भएको निकै लामो समयपछि मात्र मानिसमा समस्या देखिन सक्छ । त्यस्तै, उस्तै कारणबाट मान्छे र ठाउँअनुसार फरक–फरक रोग लाग्न सक्छन् भने विविध कारणपश्चात् एकै किसिमका रोग पनि देखा पर्न सक्छन् । त्यस्तै, सामान्य कारणको परिणामस्वरूप जटिल रोग पनि देखा पर्न सक्छ भने अर्कोतिर कडा र ठूलो कारणको प्रभावपछि पनि सामान्य खालको अस्थायी मानसिक असन्तुलन मात्रै पनि देखिन सक्छ । अन्य क्षेत्रमा देखिने कारण र परिणामबीचको अन्तरसम्बन्ध मानसिक रोगको क्षेत्रमा लागू हुँदैन । रोग पैदा गराउने मूल समस्याको समाधानपछि या कारणको निवारणपछि रोग स्वतः हट्नैपर्छ भन्ने जरुरत पनि छैन । उदाहरणका लागि एउटा व्यापारीलाई आफ्नो व्यापारमा अप्रत्याशित घाटा लागेपछि मानसिक असन्तुलन भएमा व्यापारको अर्को त्यस्तै उतार–चढावपछि उसको घाटाको क्षतिपूर्ति भए पनि मानसिक रोग आफैं हट्दैन, यसको आवश्यक उपचार गर्नैपर्ने हुन्छ ।

मानसिक रोगका कारण’bout चर्चा गर्दा ‘स्वस्थ शरीरमा स्वस्थ मन’ भन्ने पुरानो उखान बिर्सनु हँुदैन । शारीरिक अस्वस्थताले मनलाई प्रत्यक्ष प्रभाव पार्छ भने कति शारीरिक रोगका कारण कडा खालको मानसिक रोगको पनि उत्पत्ति हुन्छ । शरीर, मन र विचार मात्र हैन, हाम्रो जीवनशैलीलाई पनि स्वस्थ र सरल राख्दै सहज हुने कोसिस ग¥यौं भने हामी मानसिक रोग कम गर्न सक्छौं । हामीले दैनिक जीवनका घटनालाई स्वाभाविक परिणतिको रूपमा लियौं अनि अरूको अप्रत्याशित र अस्वाभाविक व्यवहारलाई पनि बुझ्ने कोसिस ग¥यौं भने हामी धेरै हदसम्म मानसिक रोगबाट भोग्नुपर्ने पीडाबाट मुक्त हुन्छौं ।

(मञ्जरी पव्लिकेसनले प्रकाशन गरेको मानसिक रोग विशेषज्ञ डा विश्ववन्धु शर्माको पुस्तक ‘मानसिक स्वास्थ्यका विविध अनुभव’को एक अंश हो   यो । यसमा संकलित सामग्री निकै उपकारी र ज्ञानवध्र्दक ठानेर प्रकाशकसँगको सहमतिमा हामीले प्रकाशन गरेका हौं । पुस्तकका प्रत्येक अंश निकै उपयोगी छन्,जसलाई क्रमश प्रकाशन गरिने छ ।) saralpatrika.com बाट साभार