राष्ट्रवाद
बिहान खाना खाएपछि लुगासुगा लाएर जोन घरबाट निस्किन तयार भयो । छोराको चाल देखेर छक्क पर्दै आमाले सोधिन– “यो लकडाउनको बेलामा तँ कहाँ लाग्या, भन्त ?”
“सँधै लकडाउनसकडाउन भनेर हुन्छ । मैले पढ्नु परेन । अनलाइन क्लासबाट मरे केही बुझिँदैन । साथीको दाईसंग सेकेन्ड सेमेष्टरको राम्रो नोट छ रे । म लिएर आइ हाल्छुँ ।” – आमाबाट थप कुनै अवरोध नआओस भन्ने हिसाबले रवाफी पारामा ऐनामा कपाल मिलाउँदै अलि ठूलो स्वरले जानकारी गरायो जोनले ।
सिँढीबाट ओर्लने बेलासम्म कोरोनाको डर हुन्छ, नजा भनेर आमाले सम्झाउने प्रयास गरिरहिन उसलाई । आमाले उसको हात समाएर रोक्ने प्रयास पनि गरिन । जोनले पटक्कै टेरेन । हुर्रिदै तल झ¥यो ।
उसको जिद्दी देखेर आमा चाहिँ लाचार भइन । सबै गतिविधि नियाली रहेका बाबुलाई पनि निस्किएको चित्त बुझेको थिएन तर भित्रभित्रै मुरमुरिदै चुपलागे । बाहिर ढोकाबाट निस्कने बेलामा आमा फेरी कराइन – ए बाबु, मोबाइल बिर्सिस तैंलै, लिएर जा । उ नसुनि कुद्यो । लकडाउन भएर होला सायद उसलाई घरमा थन्केको यामाहा आर वान फाइभको पनि पर्वाह थिएन ।
आमा बाबुको मन निकै बेरसम्म पनि छोरा नआएपछि छटपटियो । जोन लकडाउनको बेलामा पनि जिद्दी गरेर बेलाबेलामा घरबाट निस्किने गर्थियो । घरमा बस्दाबस्दा दिक्क लाग्यो, बाहिर हावा खाएर आइहाले भन्थियो । एकआध घण्टामा फर्किइ पनि हाल्थियो ।
“हजुरको छोरा आएन त, यतिखेर भइ सक्यो ।” – दिउँसोसम्म पनि छोरा नआएपछि श्रीमतीले श्रीमान्को सहानभूति बटुल्न खोजिन ।
“तिमिले पुलपुल्याएर त हो नि, आफ्नो छोरा आँफै जान ।” – श्रीमान्ले श्रीमतीकै टाउकोमा दोस थोपरे ।
“अरु बेला भएत त जे सुकै गरोस भन्न हुन्थ्यिो, चारैतिर रोग बढेको बढ्यै छ ।” – चिन्तित मुद्रामा कोरोनाको त्रास पोखिन श्रीमतीले ।
“के गर्नु त मैले । यो जहाँ मन लाग्यो त्यहीं कुद्ने बैलै हैन । तिमीहरु कुरै बुझ्न चाहँदैनौ । कोरोना स¥यो भने त सक्किइ गो नि ।” – श्रीमतिको आँखामा माया र आक्रोस सहित आफ्नो आँखा जुधाउने कोसिस गरे ।
श्रीमतीले भने तत्कालै मुन्टो निहँु¥याइन र निरिहता प्रकट गर्दै जवाफ फर्काइन– “देखि हालिसियो, हजुरको छोराले मलाई टेरे पो । मैले मात्रै पो के गर्नु ?”
एमसीसी हामीलाई चाँहिदैन, देश बेच्न पाइँदैन !
अमेरीकी साम्रज्यवाद मुर्दावाद !
अमेरीकी दलालहरु होसियार !
राष्ट्रघाती एमसीसी खारेज गर !
अमेरीकी दलाल मुर्दावाद !
एमसीसी खारेज गर, राष्ट्रिय स्वाधिनताको रक्षा गर !
ब्याक अफ अमेरीका !
राष्ट्रघाती दलालहरु होसियार !
जोन दिनभरि माइतिघर मण्डला वरिपरि एमसीसीको विरोधमा आयोजित प्रदर्शनमा घोक्रो सुक्ने गरी नारा लाउँदै थियो । प्रहरीले भिड नियन्त्र गर्न खोज्दा भएको भागदौडमा उसको टिसर्ट च्यातियो । लडेर घिसिँ्रदा पाइन्टमा पनि भ्वाङ प¥यो । एउटा जुत्ता हरायो । भिड नियन्त्रण गर्न प्रयोग गरिएको पानीको फोहराले उ निथ्रुक्क भिज्यो पनि ।
बेलुका घर फर्कदा उसको रुप हेर्न लायकको थियो । सुरुमा डराएको जस्तो गरी घर प्रवेश ग¥यो । जुत्ता नभएको नाङ्गो खुट्टा, कपाल जिंग्रङ्ग, लुगा भिजेको र च्यातिएको, तछारिएर घाउ लागेको रत्ताम्मे कूहिनो ।
तल गेटको ढोका खुलेको चाल पाएर बार्दलीबाट नियालिन आमाले । जोनको रुपरंग देख्ना साथ उनी तीनछक्क परिन ।
जोन भने दाँयाबाँया नहेरी हस्याङ्गफस्याङ्ग गर्दै सरासर हानिदै आफ्नो कोठामा पस्यो । उसले कहीँकतै केही नभएको अनुभूति दिन खोज्यो ।
आमा भयभित मुद्रामा अतालिदै जोनको पछि लागिन – “ बाबु , के भयो तँलाई ? तलाई कल्ले के ग¥योे र ? हेर यस्को विजोक !”
“ हेऽऽ नकराउनुन, केही भा छैन !” उ निडर हुँदै ओछ्यानमा पल्टियो ।
“कस्तो केही भएको छै न ? म त न जा भन्दै थिएँ ।”– निदाउरो अनुहारमा जोनको तछारिएको हात सुमसुम्याउन आफ्नो हात अगाडि बढाइन ।
“हत्तेरिकाऽऽ, नचलाउनुन मलाई । केही भएकै छैन भन्दै छुँ त । अलिअलित घाउ भाको त हो नि ।” – सुमसुम्याउन अगाडि बढेको आमाको हात झटार्दै उ रन्कियो ।
“लकडाउनको बेलामा यो केटोले कहाँ के गरेर आयो ?” – बैठक कोठामा टिभि हेर्दै गरेका बाबुले चाँसो राखे । “खै के गरेर आयो, कुहिना रक्ताम्मे पारेर आछ ।” – आँसुले रसाएका आँखा र अतालिएको स्वरमा आमा बोलिन ।
“ए जोन, कहाँ के गरेर आइस ।” – उठेर छोराको कोठाको बाहिरबाट चिहाउँदै अलि ठूलो स्वरमा बाबु कट्के ।
“एमसीसीको विरोध प्रदर्शनमा भाग लिएर आएको ।” – घोसे मुन्टो लाउँदै धोद्रे स्वरमा जोनले नढाँटी यथार्त उत्तर दियो ।
“खुब ठूलो काम गरिस हैन । कोरोनाको त्रासमा नारा जुलुस गर्न गएर । बुद्धि हराएको मान्छे । आमा चाँहि उहाँ पिर गरेर बसेको बस्यै । फटाहा !” – आक्रोशित मुद्रामा फफताउँदै फेरी बैठक कोठामा टिभी हेर्न लागे ।
आमाले छोरालाई सात्वना दिन थालिन – ल ल उठ । लगासुगा फेर । घाउ धोइधाइ गरेर औषषि लागा भोक पनि लाग्यो होला ।
जोन विहान अबेरसम्म सुति नै रह्यो । ए बाबु उठ अब, हेर घाम कहाँसम्म आइसक्यो भनेर दईतीन पटक भान्साबाटै कराइन पनि आमा चाहिँले । ओछ्यानमै चिया लगिदिएपछि उठ्छ कि भनेर चिया पु¥याउन गइन – “ए बाबु उठ, चिया ल्याइदिया छ ।”
“हेऽऽऽ, सुत्न दिनुन कति किचकिच ग¥या ।” – अर्ध निद्रामै झर्कदै चियालाई तिरस्कार ग¥यो उसले । उ बिदा हुँदा मज्जाले अबेरसम्म सुत्नेगर्छ । लकडाउनले गर्दा त उ झन बिन्दास भा छ । उसलाई आज ओछ्यान बाट उठ्नै मन लागेको थिएन । तर मोबाइलमा घंटि बज्यो । यसो हे¥यो । जिपेसको नम्बर । उ निन्द्रबाट तंग्रीयो । घोप्टिएर सुतेको मान्छे मोबालइल समाउँदै उत्तानो प¥यो ।
– अँ, जिपेस भन ।
– के छ यार तेरो हालखवर ?
– के हुनु, सुति राख्या ।
– यति खेरसम्म सुति राख्या तँ !
– के गर्नु त । हिजो त्यो मुला जुँगे डन्ठेले लछारपछार पारेको । पुरा जिउ दुखिराछ हेर्न ।
– कुरै नगर यार, मेरो पनि हालत खराब छ । भाग्न खोज्दाखौज्दै पनि कुनचाहिँले पछाडिबाट ढाडमा एक डन्टा हान्या थियो, भयंकर दुखिराछ । पुरा निलो छ यार मेरो ढाड त ।
– ए, हो ! तै त, भाते हरुले लास्टै दुख दियो ।
– अनि सुन्न एउटा कुरा । पर्सि अमेरिकन एम्बेसी घेर्ने कार्यक्रम छ नि, जाने कि नजाने ? कलेजको ऋतिक दाईको भरखरै फोन आ थियो । सबै केटाहरुलाई खवर गर्दिनु भन्याछ ।
– जानु पर्ला यार । यि मुला नेताहरुलाई कुनै पनि हालतमा एमसीसी पास गराउन दिन हुन्न ।
– अनि सुन्न, आज डिभी को रिजल्ट हँुदै छ रे नि !
– ए, होर ! थाहै छैन त मलाई ।
– फेस बुक हे¥या छैनस ? पुरा न्यूज छ््यापछ््याप छ त ।
– डिभि परे त मजा आउने थियो ।
– हो त नि यार । यो मुला नेपालमा के बस्नु । झुरै लागि सक्यो भन्या ।
आमाले थालमा पस्किएको भात एक सासमा सिध्यायो जोनले । आमालाई चित्त बुझेन– “हैन, तँलाई फेरी कहाँ जान हतार ?”
अगाडि ठीक्क पारेको एक गिलास पानी पनि एक घुट्क्यायो, अनि भन्यो – “आज डिभीको रिजल्ट रे नि। ”
“बाउले डिभिको आश गर्दागर्दा जिन्दगी बित्यो । अब यो पनि त्यै डिभिमै लागेको छ ।” –आमा दंग परिन । मुखमा हालेको गाँस निलेपछि बाबु पनि मुसुमुसु हाँसे ।
जोनको बाबु अक्षयलाई पनि डिभि भर्दा कतै आँफूलाई पनि अमेरिका जाने साइत जुरी पो हाल्छ कि भन्ने ठूलो आशा थियो । झण्डै विस वर्षसम्म नछुटाइकन डिभी भर्दा पनि कहिल्यै परेन । मन्त्री लालबाबुको पालामा आएको नयाँ नियमले जागिर नै अप्ठ्यारोमा पर्ने भएपछि मात्र भर्न छाडे । हरेक वर्ष डिभी खुल्दा बुढाबुढी न्यू रोड र नयाँ बानेश्वरमा लाइन लागेर फर्म भराउँथे । धेरै आफन्त र साथीसंगीनी डिभी परेर अमेरिका गएपछि जोनको बाबुलाईभन्दा आमालाई सँधै भरी भित्रैबाट हुटहुटी जाग्ने गर्थियो । उनैले डिभी भर्न अक्षयलाई हरेक वर्ष तताउने गर्थिन । नतिजा आउँदा भने दुबै आकासै खस्या जस्तै गरी थाप्लोमा हात हालेर बस्थे । दुईचार दिनसम्म त भातै रुच्दैन थियो दुबैलाई ।
“तिमीहरु त डिभी परेर अमेरिका गयौ, आपूmलाई त कहिल्यै परेन । लालेले गर्दा झन अब त भर्न पनि पाइदैन । भाग्यमा नभए पछि के गर्नु । नेपालमै थेचारिनु पर्ने भयो ।” – बेलाबखतमा अमेरिकामा बसेका साथीभाई र आफन्तसंग भाइबर र मेसेन्जरमा कुरा हँुदा दुखेसो पोख्थिइन जोन कि आमा पवित्रा ।
अक्षय र पवित्रालाई कमी केहीको छैन । अमेरिकाभन्दा कम सुख नभएको हैन यहाँ । छोराछोरी नाम चलेकै स्कुल, कलेजमा पढ्दैछन् । अक्षयको सानो सरकारी जागिर भए पनि कमाइ औसतभन्दा राम्रै छ । कर्मचारी युनियनको नेता भएकोले हाकिमहरु प्नि बेलाबेलामा उसको चाकरी बजाउन पछि पर्र्दैनन । जागिर अवधिमा दुर्गममा टेक्नै परेन, सरुवा हुँदा सुविधासम्पन्न र दुईचार पैसा आउने ठाउँ मै पर्छ । जागिरबाटै काठमाण्डौमा दुईटा घर र भरतपुरको वीच बजारमै एकएक कठ्ठाको दुइवटा घडेरी जोड्न भ्याइसकेका छन । सेयर कारोवार पनि बजार भाउ घट्दा निन्द्रा बिथोल्ने खालकै छ । गाडीको सोख पुरा गर्न सान्ट्रो कार भए पनि गतिलै छ ।
पवित्रालाई पनि बिहे, ब्रतबन्ध, जमघट र पार्टीमा सामेल हँुदा पहिरन र गरगहनाको मामलामा सबैले वाहवाह नै गर्छन । कसैले कुराकाटेको सुन्नु पर्ने दिन नै आएन ।
मुखमा हाल्न ठिक्क परेको गाँस लिएर निकै बेर टोलाइन पवित्रा । “के भयो पवित्रा तिमीलाई ?”– अक्षयको अलि चर्को स्वर सुनेपछि मात्र झस्किइन । “छोरालाई डिभि परे त राम्रै हुन्थियो भन्ने सोचेकी नि ।” –पतिको मुहारमा मुसुक्क हाँस्दै भनिन ।
“डिभी पर्ने हैन, स्योर पर्छ । यो वर्ष हजुरहरुको छोरा सिधै अमेरिका !” – ठाउँको ठाउँमै एक फन्को मार्दै बुरुक्क उफ्रियो जोन ।
खाइवरी मोबाइलमा गेम खेल्न बसेकी छोरी सुनैना पनि पल्लो कोठाबाट काराइन – “मम्मी, डिभि त यस पालाी मैले पनि भ¥या छुँ नि ।”
“ल ल तलाई पनि परोस” – आमाले छोरीलाई शुभकामना दिइन ।
पवित्रा फेरी एक छिन घोरिन थालिन । मनमनै सोचिन– छोराछोरीलाई डिभी परेत बुढेसकालमा भए पनि आँफू पनि अमेरिकामा खुट्टा टेक्न पाइने थियो ।

