क्याबात्, प्रकाश दाहाल !

 

किन नेपालका कम्युनिष्टहरुलाई यस्तो आतुर हुन्छ ? किन उनीहरु कम्बल ओढेर घिउ र चुक्कुल लगाएर रक्सी खान्छन् ? तर प्रचण्डको दशैं मनाउने फोटो सार्वजनिक भएपछि त्यसले कम्युनिष्ट आचरण पनि सहज हुन सक्छ भन्ने संकेत गरेको छ । कृत्रिम, भोगी, पाखण्डीको कम्युनिष्ट पर्दा तुरुन्तै नच्यातिए पनि खुकुलो भने ०७४ को दशैंले पारेको छ ।

 

 

नेपाल कम्युनिष्ट पार्टी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति, प्रकृति र नेपाली जीवनपद्धति अनुकूल यो वर्ष दशैं मनाएका छन् । सपरिवार बसेर प्रचण्डले यो वर्षको दशैं मनाएका हुन् ।

यो समाचारप्रति धेरैले प्रतिक्रिया जनाएका छन्, ठीक कि बेठिक भनेर । पत्रकार भरत पोखरेलले त त्यसवाट दिक्क बनेर प्रतिक्रियामाथि प्रतिक्रियाको झटारो नै प्रहार गरे–बीस बाइस वर्षपछि घर फर्केको छोरालाई खिसी टिउरी गरेर नलखेटौं । बरु अब मुुलुकका अरु कुरा बुझ यति लामो समय नलागोस भन्ने कामना गरौं । लाजिम्पाट दशैं मंगलमय होस् !

जनयुद्धकालदेखि दशैंको टीका बहिष्कार गर्दैै आएका प्रचण्डले शान्ति प्रक्रियामा आएपछि पनि दशैंको टीका लगाएका थिएनन् । यसपाली परिवारका सदस्यलाई टीका लगाइदिने मात्र होइन, दुई दशक बढि समयपछि आफूले पनि दशैंको टीका–जमरा बिधिपूर्वक ग्रहण गरेका छन् ।

प्रचण्डले मनाएको यो दशैको गतिविधि उनले होइन, उनका छोराले सामाजिक संजाल फेसबुकमा फोटोहरु सहित खबर पोष्ट गरेपछि दुनियाँदारीले थाहा पाएका हुन् । त्यसैले प्रचण्डको यति ठूलो सांस्कृतिक रुपान्तरणलाई जनताको अगाडि सार्वजनिक गरेकोमा उनका पुत्र प्रकाश दाहाल धन्यवादका पात्र बनेका छन् । क्या बात् प्रकाश !

प्रचण्डपुत्र प्रकाशलाई पारससंग तुलना गर्नेहरुलाई हिस्स पार्दै प्रकाशले प्रचण्डको जीवनमा सामाजिक सांस्कृतिक मूल्यमान्यताहरुलाई स्वीकार गरेको ठूलो फड्कोलाई सार्वजनिक जानकारीमा ल्याइदिएर पितृ ऋण तिरेका मात्र होइनन्, जनतालाई पनि ठूलो गुन लगाएका छन् । भड्किएका जनयुद्धका नायक संस्कृति, प्रकृति र जीवन पद्धतिको लयमा आउन थालेको सत्य जानकारी गराएका छन् ।

 

खबर अनुसार प्रचण्डले मामा ससुरा र सासुको हातबाट टीका लगाए । उनले आफूले टीका ग्रहण गरेपछि परिवारका सदस्यलाई मर्यादाक्रम अनुसार टीका लगाइ दिए । प्रचण्डसंगै उनकी पत्नी सीताले परिवारका सबै सदस्यलाई पालैपालो टीका मात्र लगाइ दिइनन् प्रचण्ड बसेको सोफाको हातमा बसेर जोइपोइको तस्वीर पनि खिचाइन् । प्रचण्डले टीका लगाएर निकै हँसिलो मुद्रामा पत्नी सीता र परिवारका साथमा खिचाएको फोटो यतिखेर सामाजिक संजालमा भाइरल भएको छ ।

 

छोरा प्रकाशले दशैंका तस्वीर पनि फेसबुकमा राखिदिए । उनले दशैंलाई धार्मिक भन्दा पनि पारिवारिक जमघटको भएको जनाउदै पार्टीभित्र रहेका कठमुल्ला कम्युनिष्टहरुलाई पनि सन्तुलनमा राखेका छन् । यसले उनमा रहेको राजनीतिक कुटनीतिलाई प्रदर्शन गरेको छ । यसो नगरेका भए उनकै पार्टीका जडसुत्रवादीहरु प्रचण्डमाथि खनिने थिए, जसरी अहिले कतिपय फेसबुके र ट्वीटेहरु रनभुल्ल भएका छन् ।

 

 

प्रचण्डले पहिलो पल्ट लगाएको दशैंको टिकाको खबरले उनी अब सांस्कृतिक रुपमा अरु नेपालीहरुको लहरमा उभिन आइपुगेको जानकारी गराएको छ । यो संपूर्ण देशवासीहरुका लागि मात्र होइन, १ सय ७८ देशमा फैलिएर रहेका प्रत्येक नेपालीहरुको बिजयको मूहुर्त हो ।

 

दशै पिण्डेहरुले भनेजस्तो होइन, यो त प्रकृतिसंग जोडिएको त्यस्तो चाड हो जो नेपाली जीवन पद्धतिसंग नछुट्टिने गरी जोडिएको छ । यो चेतना नभएकाले बिचार, सिद्धान्त, वैज्ञानिक कारण भनेर दशैमा टिका लगाउनेहरुलाई मार्ने र दशैं जस्तो सामाजिक चाडलाई बहिष्कार गरेका थिए ।

 

ढिलै भए पनि संस्कृति, प्रकृति र जीवन पद्धतिसंगसंगै जोडिएको हुन्छ भन्ने चेत उनीहरुमा पलाएको छ, त्यो आफूलाई भौतिकवादी र नास्तिक भन्नेहरुमा आएको परिवर्तनको ठूलो फड्को हो । यसलाई नेपालको जडसुत्रवादी चिन्तनमा आएको ठूलो यथार्थवादी फड्को भन्दा हुन्छ ।
दशैंको सिधा र स्पष्ट सन्देश हो–काम, क्रोध, लोभ, मोह, इश्र्या र द्वेषले मानव सभ्यतालाई ध्वश्त बनाउछ, त्यसैले यसलाई नास गरौं ! दशैं गलत दिशामा गएका क्रियाकलापहरुलाई सही दिशातिर लगेर सन्तुलन कायम गर्न सांस्कृतिक पर्वको रुपमा मनाइन्छ । देवी देवताका आकृति त्यसैका लागि सिर्जना गरिएको हो ।

 

आधुनिक समयमा बुझिने गरी भन्ने हो भने चाडवाडहरु समाजका त्यस्ता संकेत चिन्ह हुन्, जो ट्राफिक चिन्ह जस्तै स्पीड ब्रेकर, कजवे, घुम्तीहरुलाई त्यो ठाउ आउनु अघि नै देखाइन्छ ।

 

चाडवाडको तिथिमिति गणीतमा आधारित छ । त्यसैले यो वैज्ञानिक पनि छ । सही ब्याख्या गरिएन र जातीय लगायत पश्चगामी ब्यवहारलाई विभिन्न शासकहरुले दूरुपयोग गरे । त्यसैले गणतन्त्रका शासकहरुले परिमार्जन गरेर चाडपर्वलाई राष्ट्रिय रुपमा लैजान अगुवाको भूमिका निर्वाह गर्न लाग्नुपर्ने आवश्यकता छ ।

 

जसरी अरु धर्मकाहरु, आफ्ना चाडपर्व आउदा गर्ने गर्छन्, हामीले पनि चाडपर्वहरुलाई जाती विशेष भन्दा पनि त्यसलाई राष्ट्रिय स्वरुप दिन लाग्नु पर्छ । जसरी क्रिश्मस वा अरुहरु चाड आउदा सबै मान्छे त्यसमा लागेर हिंड्छन् । साना बालबच्चाहरु समेत पैसा जम्मा गरेर सामाजिक–मानवीय सेवाका काममा लगाउछन् । त्यो संस्कृतिलाई अझ प्रभावकारी बनाउन राजादेखि रंकसम्म लागिरहेका हुन्छन् ।

 

भनौंन, राष्ट्रपति विद्या भण्डारीले परिवार, नाता–कुटुम्बदेखि प्रधानमन्त्री र सर्वसाधारणलाई टिका लगाइदिइन्, यसले के संकेत गरेको छ भने राष्ट्रपतिको पदमा जो पुगे पनि उ राष्ट्रप्रमुख हो । उसले सबैलाई शुभकामना दिनसक्छ नकि राजा महाराजा अथवा विष्णुको अवतार भनेर जुठो पूरा खाएकाहरुलाई । दासताको संस्कृतिमा हुर्केकाहरुले जनतालाई दास बनाउने कार्य नै संस्कृति बनेको ठान्छन् । आफूलाई राजा र अरुलाई दास बनाउने चलनको विरुद्धमा छ, गणतन्त्रको टिका र जमरा !

 

भनौंन, प्रचण्ड र सीताले टिका लगाएपछि जसरी एउटा सोफामा बसेर फोटो खिचाए, त्यो एकदमै स्वाभाविक छ । अनौपचारिक रुपमा तस्वीर खिच्दा काख वा साइडमा राखेर पनि फोटो खिचिन सकिन्थ्यो ।

 

यो तस्वीरलाई गतवर्ष प्रचण्ड प्रधानमन्त्री बनेको बेला गोवामा भएको सम्मेलनमा चीनका राष्ट्रपति सिजिन पिंग र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग बसेको प्रचण्ड–सीताको तस्वीर यिनै प्रकाशले सार्वजनिक गरेका थिए, टेवलमा सीताको ब्याग र उनीहरुको बसाई एकदमै नकारात्मक थियो । तर यसपालीको तस्वीर सहज र राम्रो छ ।

यदि भारतमा खिचिएको त्यो तस्वीर गुलाफको काँडा हो भने दशैंको तस्वीर चाँहि पूूरा फक्रिएको गुलाफको फूल हो ।

 

 

अनौपचारिक फोटोलाई पनि सहज रुपमा लिनु पर्छ । संसारभर त्यस्तै रुपमा लिइन्छ । हात समातेर उठाउने, गला मिल्ने, अंगाले मार्ने, ढल्कने गरी तस्वीर खिचिन्छ तर गलत ब्याख्या गर्ने विभिन्न खालका बादीका चश्मा लगाउनेहरुले मात्र यस्तो तस्वीरको विरोध गरिरहेका छन् र ती नित्तान्त गलत छन् । कसैको क्रियामा प्रतिक्रिया जनाउनेहरुलाई प्रतिक्रियावादी मात्र भन्न सकिन्छ !

हिजो दशैं नमान्ने मात्र होइन, मान्नेहरुलाई मारेर हिंड्नेहरुलाई सद्बुद्धि आउनु चानचुने परिवर्तन होइन । जसरी भुइचालो आएपछि ०७२ वैशाखमा धनी से धनी र गरीव से गरीव सडकमा सुते । दशैंले पनि संस्कृति, प्रकृति र जीवन पद्धतिलाई यथार्थ सतहमा ल्याइदियो ।

 

वास्तविक परिवारमा त्यसरी नै दशैंको टिका लगाइन्छ, जसरी प्रचण्ड र उनकी पत्नी तथा उनका नाता कुटुम्बले टिका र जमरा लगाए । बसे र फोटो खिचे !

 

प्रकृतिले सानो ठूलो गर्दैन, नत धनी र गरीव नै भनेर बिभेद गर्छ । सुनको थालीमा वा रुखको पातमा हालेको भए पनि दशैको पर्साद भनेको टिका र जमरा नै हो । त्यो चाहे जुन रंगको होस्, शुभ नै हुन्छ । कालो पनि बिरोधको होइन, धेरै मध्ये एउटा रंग मात्र हो ।

 

लेखक, बुद्धिजीवी र बौद्धिकले यसलाई सरलीकरण गर्नु पर्ने हो–प्रचण्ड जोडीको त्यो फोटो जुन भाषाकाले हेरे पनि बुझ्ने कुरो एउटै हो । अक्सफोर्ड, हार्वार्ड वा एल विश्वविद्यालयमा पढेको होस् वा वरिष्ट अधिवक्ता वा जुनसुकै पदमा रहेको ब्यक्ति भए पनि उस्ले मात्र देख्ने र बुझ्ने फोटो त्यो होइन । फोटोले गजबले देखाएको छ, दशैको टिका र जमराले प्रचण्ड जोडी सजीएको छ ।

 

प्रचण्डलाई उनका विरोधीहरु भन्थे, यो क्रिश्चियन हो । यसकी स्वास्नी उ भन्दा पनि ठूलो पदकी क्रिश्चियन हो । बीस वर्ष भन्दा पनि बढी वर्षदेखि राष्ट्रिय चाडमा उनीहरुले टिका लगाएको देखिएको पनि थिएन । तर यसपाली उनका छोरा प्रकाशका कारण दशैंमा मज्जाले टिका लगाएको देखियो ।

 

 

प्रचण्डले संस्कृतिको खिलाफ अंगालेको अपारदर्शी कारणले उनीजस्ता जनयुद्धका नायक समाजको नजरमा स्खलित भएका थिए । जोकर नै भए । परिवर्तनको संवाहक खम्बाको छवि आचरण, जीवन र संस्कृतिलाई उनले सन्तुलनमा ल्याउन सकेका थिएनन् ।

 

०७४को दशैमा प्रचण्ड नेपालीहरुको संस्कृतिको अंगको रुपमा रहेको देखियो । यसले उनको हाइट बढेको छ । तर उनका छोराको कारण जे कुरा बाहिर आयो त्यसलाई प्रचण्ड आफैंले आफ्ना परिवार, इष्टमित्र, नातागोता, भक्त, कार्यकर्तालाई संगसंगै राखेर संस्कृतिको पद्धति अनुसार टिका जमरा लगाएको भए उनी हिरो नै बन्ने थिए ।
एक राजनीतिक विश्लेषकले कुरैकुरामा भने, प्रचण्डले माओवादी नेता कार्यकर्तालाई भित्रभित्रै सर्कुलर गरेर÷नगरेर जमरा राख्ने, फुलपाती भित्राउने देखि दशमीका दिन टिका जमरा लगाएर मनाउन उर्दी जारी गरेका थिए ।

 

किन नेपालका कम्युनिष्टहरुलाई यस्तो आतुर हुन्छ ? किन उनीहरु कम्बल ओढेर घिउ र चुक्कुल लगाएर रक्सी खान्छन् ? तर प्रचण्डको दशैं मनाउने फोटो सार्वजनिक भएपछि त्यसले कम्युनिष्ट आचरण पनि सहज हुन सक्छ भन्ने संकेत गरेको छ । कृत्रिम, भोगी, पाखण्डीको कम्युनिष्ट पर्दा तुरुन्तै नच्यातिए पनि खुकुलो भने ०७४को दशैंले पारेको छ ।

 

तिनले थपे, प्रचण्ड पनि ढोंगी, पाखण्डी नभएका भए मुलुकले छिटै प्रगतिको गति लिने थियो । उनले यही दशैं पनि जुन प्रकारले मनाए, यसपालीदेखि सरलीकृत गरेर यसरी मनाउनु पर्छ भनेर उनले आफ्ना कुरा सार्वजनिक रुपमा भनेका भए त्यो उनको जीवनमा कति ठूलो छलांग सावित हुन सक्ने थियो ? स्वागत, प्रशंसा र कर्तलध्वनीले उनको कदमको देशभित्र मात्र होइन, विदेशमा रहेका नेपालीबाट पनि स्वागत गरिने थियो । तर जे भए पनि छोरो प्रकाशको कारण जे कुरा बाहिर आयो, त्यो सबैले नोट गर्नुपर्ने परिवर्तन हो । क्या बात् प्रकाश दाहाल !
शुभ बिजया !