कांग्रेसजनको चिन्ताः ‘देउवा पनि देखियो, शशाङ्कले सक्दैनन्’
काठमाडौं । संस्थापक नेता वीपी कोइरालाको जन्मजयन्ति नेपाली कांग्रेसको प्राथमिकताको बिषय बन्न छाड्यो भनेर गुनासो गर्नु कुनै नयाँ कुरा रहेन । सभापति शेरबहादुर देउवा र महामन्त्री पदमा आसिन वीपी पुत्र शशाङ्क कोइरालाले सामाजिक सञ्जालमा औपचारिकताका केही शब्द पोष्ट गरेर वीपीलाई सम्झिन रुचाए । अरुले पनि नेताका पदचाप अनुशरण गरे । तर कुनै बैचारिक बहस र अन्तरक्रिया गरेर वीपी बिचार’bout नयाँ पुस्तालाई अवगत गराउन कांग्रेसले आवश्यकता ठानेन । विपक्षमा रहेको दलको यस्तो आलस्य चरीत्रले के सन्देश प्रवाह भयो होला भन्ने कुरा पनि न देउवा नत शशाङ्कलाई नै चिन्ताको भएको देखियो ।
धतुराको बोटमा सयपत्री फुलाउन खोज्नु आफैंमा मूर्खतापूर्ण कुरा हो । सिस्नुघारीमा पस्ने, अनि सिस्नुले पोल्यो भनेर ‘आत्था’ भन्नु पनि बेकारै हो । त्यसैगरी दुध खुवाएर सर्पबाट अमृत पैदा हुन्छ भनेर आशा गर्नु झनै बहुलठ्ठीपन हो । शेरबहादुर देउवा नेतृत्वको वर्तमान नेपाली कांग्रेसबाट प्रजातान्त्रिक अभ्यास होला भनेर त्यस पार्टीका कार्यकर्ता एवं शुभ–चिन्तकले सोचेका हुन् भने यस्तो व्यर्थ चिन्तनमा समय फाल्नु बेकार हो ।
अर्कातिर गत महाधिवेशनमा शेरबहादुरलाई सभापतिमा जिताउन मुख्य भूमिका खेलेका कृष्णप्रसाद सिटौला आजभोलि देउवाको खूब आलोचना गरिरहेको बुझिन्छ । उनले त आउँदो महाधिवेशन लक्षित सम्पर्क कार्यालय नै खोलिसकेका छन् । महामन्त्री कोइरालाले पनि छुट्टै सम्पर्क कार्यालय खोलेर गुटबन्दीको राजनीतिलाई मलजल गरिरहेका छन् । एउटा बाँदरले रुखको एउटा हाँगो हल्लायो भने अर्को बाँदरले झन् बेस्सरी आफू बसेको हाँगो पनि हल्लाउँछ । यस्तो प्रतिस्पर्धाबाट रुखका दुईवटा हाँगा हल्लिनेमात्र हैन रुख नै भाँचिन सक्छ । अहिले कांग्रेसभित्र देखिएको असन्तुष्टि र परस्परको आलोचनाको परिणाम बाँदर–कर्मजन्य परिणाम भन्दा केही फरक देखिँदैन ।
महासमिति बैठक कांग्रेसको विधान अनुसार केन्द्रीय समितिको बैठकभन्दा धेरै शक्तिशाली हो । महासमितिका सदस्यहरु दलको विधान निर्माता व्याख्याता एवं संशोधनकर्ता हुन् । महासमिति बैठकमा सदस्यहरुले गरेको निर्णय केन्द्रीय समितिका लागि अनिवार्य पालना गर्नुपर्ने आदेश हो । तर कांग्रेस केन्द्रीय समितिका सामन्त प्रवृतिका नेताहरुले त्यो आदेश पालना गरेनन् । उल्टै लत्याइदिए । नेपाली कांग्रेस पार्टीको आवरणमा निरङ्कुश एवं गैर–लोकतान्त्रिक चरित्रको अभ्यास भइरहेको छ यतिबेला ।
आदर्श र त्यागका प्रतिमूर्ति गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई अट्न नसकेर जुनदिनदेखि पार्टीबाट बाहिरिए त्यही दिनबाट नेपाली कांग्रेस पार्टीको मौलिक लोकतान्त्रिक चरित्र र पहिचान गुम्दै जान थालेको हो । त्यसपछिका हरेक गतिविधिहरु गैर–लोकतान्त्रिक हुन थाले । केवल सत्ता र शक्तिका लागि राजनीतिक अभ्यास हुन थाल्यो । तश्करहरु, काला व्यापारीहरु एवं कमिशनखोरहरुको झुण्ड कांग्रेस नेताहरुका वरिपरि घुम्न थालेको छ । नेताहरु यिनैका सेवक जस्ता देखिन्छन् । अनेक चाकडी अनि चाप्लुसीका भाषाबाट कांग्रेस–नेतृत्वलाई आफ्नो पक्षमा प्रयोग गर्न थालेका छन् यी तत्वले । तिनै अराजनीतिक झुण्डलाई नेतृत्वले आफ्नो हितैषि कार्यकर्ता ठान्न थालेको देखिन्छ । माओवादीको डरलाग्दा हिंसालाई थेगेर कांग्रेसको धरातल जोगाउन सफल वास्तविक कार्यकर्ताहरु नेताहरुको नजरमा अयोग्य र काम नलाग्ने ठहरिन थालेका छन् । तिनको कुरा सुन्ने र साथदिने स्वभावका नेता देखिँदैनन् । नयाँ पुस्ता पनि गुटबन्दीको छातामुनि ओतिनुमै आफ्नो हित ठानिरहेको देखिन्छ ।
नेताहरुको घरमा मात्रै हैन पार्टी कार्यालयमा समेत देशलाई गैरकानूनी रुपले दोहन गरी अकूत धन आर्जन गर्ने तत्वहरुको उपस्थिति बाक्लो हुन थालेको छ । माओवादीको खुकुरीले अपाङ्ग भएका कार्यकर्ताले नेता भेट्न त कुरै छोडौं, नेताको घरको दैलो देख्नसम्म पनि नपाउने परिस्थिति पैदा हुँदै गएको छ । कोही युरोपियन यूनियनको पैसामा नेपालको संस्कृति माथि अतिक्रमण गर्ने एजेण्ट बन्न थाले भने कोही नेता दक्षिण तथा उत्तरतिरका वफादार कारिन्दा बन्न थाले । कांग्रेसको राजनीतिक, आर्थिक एवं लोकतान्त्रिक एजेण्डालाई लत्याउँदै कम्युनिष्ट एजेण्डामा रमाउने नालायकहरुको झुण्डले नेपाली कांग्रेसको मौलिक अस्तित्व नै समाप्त गरिदिएको भनेर पुराना नेता कार्यकर्ताले चिन्ता गरिरहेको पाईन्छ ।
कम्युनिष्ट शासनलाई मात्रै गाली गरेर संसदीय लोकतन्त्रमा प्रतिपक्षीलाई छाडा छोड्न सकिँदैन । सत्तापक्षको भन्दा पनि महत्वपूर्ण जिम्मेवारी प्रतिपक्षको हुन्छ । तर अहिलेको प्रतिपक्षको गतिविधि हेर्ने हो भने यति अनैतिक, निर्लज्ज, गैर–जिम्मेवार एवं अलोकतान्त्रिक चरित्र नेपाली कांग्रेसको इतिहासमा कहिल्यै थिएन । शेरबहादुर देउवासँग न नेतामा हुनुपर्ने आचरण छ, न त विचार, न निष्ठा देखिन्छ न त जिम्मेवारीबोध नै । प्रजातान्त्रिक स्पेश खुम्चिदै गैरहेको वर्तमान अवस्थामा नेपाली कांग्रेसको सभापतिका रुपमा देउवाको निस्क्रियता उदेकलाग्दो देखिन्छ ।
अर्कातिर उनीसँग सभापति पदमा प्रतिष्पर्धा गरेर झिनो मतले हारेका रामचन्द्र पौडेल अनिर्णयका बन्दी देखिन्छन् । बाहिर समाजवादका ठूल्ठूला कुरा गर्ने तर व्यवहारमा चरम संकीर्ण, असहिष्णु, अडान नभएका निरीह नेताका रुपमा प्रस्तुत भएका छन् पौडेल । कहिले शेरबहादुर देउवाको कार्यकर्ता जस्ता देखिन्छन् त कहिले पिँध नभएको लोटाझैं गन्तव्यहीन । पैत्रिक सम्पत्तिका रुपमा महामन्त्री पदमा पुग्न सफल भएका हुन् शशाङ्क । तर ती कोइरालासँग ‘पैत्रिक ब्राण्ड’ बाहेक अरु केही पनि विशेषता र क्षमता देखिएन भन्छन् उनकै कार्यकर्ता । महाधिवेशनपछिका बितेका करिब पाँच वर्षमा महामन्त्री कोइरालाका कुनै उल्लेख्य कार्य र मन्तव्य समेत थाहा पाउन पाएन नेपाली समाजले ।
अनेकौं गुट–उपगुटले क्षत–विक्षत भएको कांग्रेसमा पछिल्लो समय पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि आफ्नो गुट तयार गरिसकेका छन् । उनी देउवा र कोइरालालाई चुनौति दिने रणनीतिमा काम गरिरहेको बुझिन्छ । पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको विश्वासपात्रका रुपमा संक्रमणकालिन राजनीतिमा धेरै योगदान गरेका सिटौला प्रजातन्त्रमा आस्था भएका समुदायसँग निरन्तर सम्वादमा जुटेका देखिन्छन् । उनी आगामी महाधिवेशनको तयारीमा लागेको बुझिन्छ ।
कांग्रेसभित्र युवाहरुको चर्चा पनि निकै हुने गर्छ । तर आजसम्म युवाहरुको प्रभाव शून्य नै छ । युवा नेताका रुपमा गगन थापाले केही आशा जगाउन खोजे पनि उनी समेत गुट–उपगुटको छुद्र राजनीतिबाट पूर्णतः अछुत रहन सकेनन् । नेता सिटौलाको क्याम्पका प्रमुख सदस्य रहीसकेका थापाले त्यहीँबाट महाधिवेशनको राजनीति अघि बढाउने बुझिन्छ ।
त्यसैगरी मीठो बोल्ने, शालीन व्यवहार एवं सक्रिय देखिने विश्वप्रकाश शर्मा पनि व्यवहारमा अब्बल दरिन सकेको देखिएन भन्छन् उनका शुभचिन्तक । मीठो बोल्न सक्ने, नैतिक चरित्र दरिलो भएका सुदूर–पश्चिमबाट उदाएका प्रखर वक्ता बद्रीप्रसाद पाण्डे पनि जाडोयामको फूल झैं फव्रिmनै नसकी वैलाउने हो कि भन्ने अवस्था देखिँदैछ । प्रदीप पौडेल, चन्द्र भण्डारी, धनराज गुरुङ, भीष्मराज आङ्देम्बे, कल्याण गुरुङ र सरिता प्रसाईं जस्ता युवा नेता पनि अग्रजहरुकै पदचापमा रमाएका देखिन्छन् ।
त्यसैगरी विगतमा मन्त्री हुँदा आशलाग्दो गरी आफ्नो जिम्मेवारी सम्हालेर आजसम्म कतै पनि नैतिक रुपमा नचुकेका सरल र इमान्दार नेता नवीन्द्रराज जोशी “फ्रन्ट लाइन” मा आउन सकेको नै देखिएन । अरु केही आफूलाई सशक्त युवा नेता भन्नेहरु कि त रातो पासपोर्ट काण्डमा फसेका छन् कि त आफ्नै पार्टीका सभापति सन्त नेता कृष्णप्रसाद भट्टराईलाई हराउन खुलेआम लागेर कलंकित भईसकेका छन् । कतिपय आफ्नो मौलिक पहिचान भन्दा पनि कि त शेरबहादुरको कार्यकर्ता कि त अरु कोही नेताको “किचेन मेम्बर” हुनमा नै रमाइरहेका देखिन्छन् ।
यसरी हेर्दा नेपाली कांग्रेस इतिहासमै सबैभन्दा जटिल मोडमा आइपुगेको छ भन्दा अन्यथा हुनेछैन । अलि पुरानो पुस्ताका असल एवं इमान्दारहरु पार्टीमा टिक्नै नसकेर पाखा लागिसकेका छन् । पूर्व महामन्त्री प्रकाशमान सिंह, विमलेन्द्र निधि र शेखर कोइराला लगायतका नेतामा पनि परिवर्तनगामी संवेग देख्न सकिएको छैन । विमलेन्द्र निधि अत्यन्त विवादित ‘होली वाइन’ काण्डमा चूँक्कसम्म बोलेनन् तर स्वभाविक परम्परा मुताविक अयोध्याबाट जनकपूर जन्ति आउने परम्परामा योगी आदित्यनाथ आउन लाग्दा उधुम विरोधमा उभिए । उनको यो व्यवहारले धेरैलाई आश्चर्यमा पारेको छ ।
यसरी नेपाली कांग्रेस सबल र दूरदर्शी नेतृत्वको अभाव झेलिरहेको हुनाले गंभीर संकटमा फसेको छ । यो संकटबाट उत्रिन जस्तोसुकै भएपनि अब युवा–पुस्ता अर्थात् गगन, बद्री, विश्वप्रकाश पुस्ता नै नेतृत्वमा स्थापित हुन अग्रसर हुनुपर्ने देखिन्छ । लोकतान्त्रिक समाजले यो पुस्ताबाट कमसेकम भए पनि आशा गरेको छ ।
यतिबेला कम्युनिष्ट पार्टीको बलियो सरकार छ तर जनसेवामा असफल छ । देशको कुटनीति नै संकटमा परेको अवस्था छ । विगतमा कांग्रेसकै झैं सत्ता कलहमा फसेको नेकपा सरकार राजकीय व्यवस्थापनमा असफल जस्तो भएका बेला प्रमुख प्रतिपक्षको महत्वपूर्ण भूमिकाको आशा हुनु स्वाभाविक नै हो । तर कांग्रेस यो भूमिकामा पूर्ण रुपमा प्रभावहीन देखिएको छ । यसको मूल कारण नेतृत्व हो । यही प्रवृत्ति कायम रहेमा कांग्रेस कहाँ पुगेर विश्राम लिने हो यसै भन्न सकिँदैन । आगामी महाधिवेशन लक्षित गतिविधि केवल आफू पार्टीको सत्तामा पुग्नका लागि मात्र केन्द्रित देखिन्छ । गुटबन्दी गरेर अलग अलग सम्पर्क कार्यालय स्थापना भैरहँदा फेरि पनि कांग्रेसमा नयाँ पुस्ता केन्द्रीत बिचार र समय सान्दर्भिक कार्यक्रम आउला भनी आशा गर्नेहरुलाई निराश नै तुल्याईरहेको देखिन्छ । – सरल पत्रिका ….

