दलदलमा दाहाल

अचेल पनि नेकपाभित्र खेल्न खोज्दैछन् । गत वर्ष नै बामदेव गौतमलाई संघीय संसदमा ल्याउनुपर्छ भन्दै उनले नै उक्साएको हो । चुनाव हारेका गौतममा साँसद बन्ने महत्वाकाँक्षा उनले नै जगाइदिएको हो । यसमा पूर्व एमालेका शिर्ष नेताहरुवीचको दुरी बढाइदिने उनको अभिष्ट थियो, जसमा उनी केही हदसम्म सफल पनि भए । तर, ओलीजस्ता चतुर खेलाडी सामु दाहालको पनि जोर चलेन । ओलीले ‘अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाडदीन, जेसुकै गर’ भनेर हाकाहाकी चुनौती दिदा पनि दाहाल र उनको गुट निरिह छ ।


–कुसुम भट्टराई

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अचेल खुमलटारदेखि बालुवाटारसम्म, भैंसेपाटीस्थित बामदेव गौतम निवासदेखि शितलनिवाससम्मको घनचक्करमा रुमल्लीएका छन् । स्थायी समिति, सचिवालय समिति, केन्द्रीय समितिको बैठकलाई समेत प्रधानमन्त्री केपी ओलीले घोर उपेक्षा गरिदिएपछि माधव नेपाल, बामदेव गौतम र झलनाथ खनालसँग मिलेर सत्ताको खिचडी पकाउने उनको मनसुवा पुरा हुन सकिरहेको छैन ।


ठिक यसैबेला प्रम ओलीले भैंसेपाटीमै गएर नेता गौतमसँग खुशामद गरेपछि दाहालको दाउपेच सँकटमा छ । गौतमले ओली पाँचै वर्षसम्म प्रधानमन्त्री रहीरहने, दाहाल कार्यकारी अध्यक्ष रहने र आगामी महाधिवेशनलाई एकता महाधिवेशन बनाउने सहमतीको शूत्र अघि सारेपछि अढाइ वर्षमै ओलीलाई सत्ताच्यूत गर्ने दाहालको चलखेलले धक्का खाएको छ । जहाँसम्म महाधिवेशनको कुरा छ, त्यहाँ दाहाललाई अध्यक्ष बनाउने कि नबनाउने भन्ने’bout नयाँ रडाको पक्कै सुरु गर्नेछन्, पूर्व एमालेका धुर्त नेताहरुले ।

पूर्व एमालेका नेताहरुवीचको अन्तर्विरोधमा खेलेर लाभ लिने दाहालको दाउ सफल नभएमा उनी राजनीतिक आइसोेलेसनमा जाने करीब करीब निश्चीत छ । सत्ताको आगो ताप्न अभ्यस्त हाम्रो राजनीतिक संस्कारका कारण स्वयं दाहाल निकटका नेताहरु पनि उनको पक्षमा उभिने छैनन् । राजनीतिमा कोही पनि स्थायी शत्रू र मित्र हुँदैन भन्ने मदन भण्डारीको उक्ती चरीतार्थ गर्दै हरिबोल गजुरेलदेखि टोपबहादुर रायमाझीसम्म, लेखराज भट्टदेखि नारायणकाजी श्रेष्ठसम्मले दाहालको साथ छाडने संकेत देखाइसकेका छन् । अरु त अरु स्वयं रामबहादुर थापा बादल कतातिर लाग्लान् भन्न सकिन्न ।

आफ्नो खाडलमा आफैं

राजनीतिमा सँधै दाउपेच र धोखाधडी चल्दैन । दाहालले राजनीतिलाई सँधै चतुर्याईंको विषय बनाए । आफुले दिएका बचनलाई समेत उनले लत्याउँदै आए । बाह्रबुँदे समझदारीदेखि सँविधानसभा निर्वाचनसम्मको शान्तिपूर्ण मुलधारमा ल्याउन महठत्वपूर्ण भूमिका निर्वाह गर्ने काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बन्नबाट दाहालले नै रोके । दाहालको त्यो गम्भीर धोखाधडी थियो, जुन कुरा स्वयं दाहालले बेलाबेलामा स्वीकार्ने गरेका छन् । जनयुद्ध तथा लोकतान्त्रिक गणतन्त्रको वैचारीक, रणनीतिक खाका कोर्ने र बाह्रबुँदे समझदारीको पृष्ठभूमि तयार गर्ने आफ्ना सहयात्री डा. बाबुराम भट्टराईलाई उनले देखी सहेनन् । उनकै स्वभाव झेल्न नसकेर बाबुरामले माओबादी केन्द्र नै त्यागे ।

आफ्ना गुरु मोहन बैद्य किरणलाई जडशुत्रबादी भन्दै सरापीरहे । विप्लवजस्ता जुझारु युवाको संबेदनालाई बुझ्न सकेनन् । यी यावत कारणले अहिले दाहाललाई ‘जनयुद्ध’का अधिकांश सहयात्रीले छाडेका छन् । प्रचण्डको व्यक्तित्व भनेको जनयुद्धका समग्र नेतृत्वको सामुहिक विम्व थियो, अचेल उनी फगत दाहालमा परिणत भएका छन् र आफ्नै दाहाल परिवारको झिनो स्वार्थमै रुमल्लीएका छन् । बुहारीलाई मन्त्री, छोरीलाई मेयर, आफन्तलाई राजदूत र अनेक लाभका पदमा नियुक्ती दिलाउन थालेपछि दाहालको राजनीतिक ओज र उचाई हवात्तै तल खस्कीएकै थियो, अब राजनीतिक शक्ति सन्तुलन र हैसियत पनि खस्कीन थालेको छ । उनी राजनीतिक धुर्तताको आफैंले बनाएको दलदलमा फँस्दै गएका छन् ।

दाहालले आजसम्म शक्ति केन्द्रहरुवीचको अन्तरविरोधमा खेल्ने नीति अपनाउँदै आए । शक्ति केन्द्रहरुवीच अन्तरविरोध चर्काएर राजनीतिक घटनाक्रमलाई आफु अनूकूल दिशामा मोडने उनको चाल रहँदै आयो । बिगतमा उनले मोहन बैद्य र डा. बाबुराम भट्टराइवीचको अन्तरविरोधमा खेले । पछि भट्टराई र नारायणकाजी श्रेष्ठवीचको अन्तरविरोधमा खेले । बादल र विप्लवहरुवीचको अन्तरविरोधमा पनि खेले । राजा र संसदवादी दलहरुवीचको अन्तरविरोधमा खेलेर धराशायी भइसकेको माओवादी विद्रोहलाई सत्ता राजनीतितिर अवतरीत गराए र प्रधानमन्त्री पनि भए ।

अचेल पनि नेकपाभित्र खेल्न खोज्दैछन् । गत वर्ष नै बामदेव गौतमलाई संघीय संसदमा ल्याउनुपर्छ भन्दै उनले नै उक्साएको हो । चुनाव हारेका गौतममा साँसद बन्ने महत्वाकाँक्षा उनले नै जगाइदिएको हो । यसमा पूर्व एमालेका शिर्ष नेताहरुवीचको दुरी बढाइदिने उनको अभिष्ट थियो, जसमा उनी केही हदसम्म सफल पनि भए । तर, ओलीजस्ता चतुर खेलाडी सामु दाहालको पनि जोर चलेन । ओलीले ‘अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाडदीन, जेसुकै गर’ भनेर हाकाहाकी चुनौती दिदा पनि दाहाल र उनको गुट निरिह छ । ओलीले परिआए दाहाललाई लडाकुको राशन पचाएको आरोपमा अख्तीयार लगाइदिने चुनौतीसमेत दिएको बुझीन्छ । आफ्नो सुरक्षालाई लिएर निकै चिन्तीत रहने दाहाल यस मामिलामा पनि बडो रक्षात्मक अवस्थामा पुगेका छन् ।

उपयोगबादी नीति नेकपाका एक प्रभावशाली नेता बामदेव गौतममा प्रधानमन्त्री बन्ने तीब्र महत्वाकाँक्षा छ । समकालीन नेताहरु माधव नेपाल, झलनाथ खनाल र केपी ओली प्रधानमन्त्री भइसकेको अवस्थामा गौतमले आफुलाई प्रधानमन्त्रीको दावेदार ठान्नु स्वाभाविक नै हो । चुनावी सभाहरुमा उनले हाकाहाकी आफुलाई भावी प्रधानमन्त्रीको दावेदार घोषणा गरेका थिए । प्रधानमन्त्रीको दावी गरेकै कारण पार्टीभित्रैबाट आफुलाई चुनाव हराउने प्रपञ्च रचिएको र त्यसमा प्रधानमन्त्रीका प्रवल दाबेदार केपी ओलीकै भूमिका रहेको आशयका अभिव्यक्ति गौतम पक्षबाट परोक्ष-अपरोक्ष रुपमा व्यक्त भएकै हो । दाहालले गौतमको यही महत्वाकाँक्षामा खेल्न खोजेका थिए । तर, ओलीले त्यसमा पानी फेरीदिए ।

वरिष्ठ नेता माधव नेपालमा पनि फेरी प्रधानमन्त्री बन्ने महत्वाकांक्षा पलाएको हुनसक्छ । झलनाथ खनालमा सके राष्ट्रपति नै बन्ने महत्वकाँक्षा होला । यसरी माधव, बामदेव र झलनाथका अनेक महत्काँक्षाहरुको उपयोग गर्ने दाहालको नीतिका कारण केहीदिन अघिसम्म प्रम ओली झण्डै निरिह भइसकेका थिए । उनले आफुलाई हटाउन दाहाल लगायतका नेताहरु भारतको इशारामा चलेकोसमेत आरोप लगाएका थिए । तर, केही दिन यता दाहालको चलखेल शान्त भएको छ भने बामदेवको नयाँ प्रस्तावले उनको नूर झन गिराइदिएको छ ।

दाहालकै उपयोगबादी नीतिको अनुशरण गर्दै प्रम ओलीले पनि माधव, बामदेव र झलनाथ कित्तालाई आफ्नो पक्षमा उपयोग गर्ने रणनीति अख्तीयार गर्न थालेको बुझीन्छ । आफुभन्दा बरियताक्रममा कनिष्ठ नेता बामदेवको घरमै सपरिवार गएर मित्रमिलापकै शैलीमा बार्ता गर्नुबाट उनले दाहालको गुटलाई फुटाएर राज गर्ने नीति लिएको स्पष्ट छ । यदि यस मामिलामा ओली सफल भएमा दाहालको राजनीतिक भविश्य ओरालो लागेको हरिणको चाल सरह हुनेछ ।

सदा अस्थीर र ढुलमुले स्वभावका दाहालको कमजोरी के हो भने उनले जनतामा आधारित राजनीतिलाई पनि फौजी रणनीतिक दाउपेचका हिसाबले विश्लेषण गरिरहे । राजनीतिमा शत्रु शक्तिसँग पनि इमानदारीता कायम राख्नुपर्ने हुन्छ । राजनीति भनेको फगत पद, प्रतिष्ठा र पैसा मात्र हैन, यो त आदर्श, आस्था र विश्वासको आधार पनि हो । राजनीतिमा आस्था र आदर्श कायम भएन भने त्यो बानियागिरी या धन्दामा परिणत हुन्छ । दाहालले राजनीतिलाई धन्दामा परिणत गरिदिए । ठेक्कापट्टामा अनियमितता गर्ने निर्माण व्यवसायीकै घरमा डेरा जमाउने, शैक्षिक माफीयाको घरमा गएर मार्सी चामलको भात खाने, जनताका दिनन्दीनका समस्यातर्फ ध्यान नदिने र सत्ताकै खेलमा लिप्त रहने व्यवहारका कारण उनको छवी धमिलो भइसकेकै थियो । उनी राजनीतिको क्वारेन्टाइनमै थिए, अब आइसोलेसनमै जाने संभावना बढेको छ ।