जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड ! –सौरभ

 

रुसको भोड्का होस् वा स्पेनको सेरी, फ्रान्सको स्याम्पेन र कन्याक होस् वा बेलायतको ह्वीस्की, हाम्रो मार्फाले चाँहि कुनै प्रचार पाउन सकेन ।

 

जान्जिवर–कुल क्षेत्र ६४० स्क्वायर माइल । विश्वको सबैभन्दा ठूलो ल्वाङ उत्पादक

 

ग्रेनाडा–कुल क्षेत्रफल १३३ स्क्वायर माइल । विश्वको सबैभन्दा ठूलो जाइफल उत्पादक देश । जसको झन्डामा समेत जाइफलको चिन्ह छ ।

 

साने मेरिनो–कुल क्षेत्रफल २४ स्क्वायर माइल । विश्वमा सबैभन्दा ठूलो हुलाक टिकट उत्पादक देश । जसले पैसा चाहिने बित्तिकै नयाँ हुलाक टिकट निकाल्छ, टिकट संकलनलाई हेरेर ।

 

ट्रिनिडाड–कुल क्षेत्रफल १,९८० स्क्वायर माइल । विश्वको एकमात्र ‘एडग्नस्ट्रा विटर्स’ नामक हल्का पेयको उत्पादक । जुन संपूर्ण उत्पादन अमेरिकाले किन्ने हुँदा हामी के युरोपकैले समेत त्यो चीज पाउँदैन ।

 

सेन्टभिन्सेट–कुल क्षेत्रफल १५० स्क्वायर माइल । विश्वको ८० प्रतिशत एरारोटको उत्पादक ।

 

र, नेपाल– कुल क्षेत्रफल ५६, ८२७ स्क्वायर माइल । याने यीभन्दा निसन्देह ठूलो । तर एउटै पनि कुरामा राम्ररी केन्द्रित हुन नसकेको देश ।

 

नामिबियाको ‘रक लोवस्टर’ खानलाई एउटा सानोतिनो जायजेथा नै खर्चिनु पर्छ भन्ने भनाइ छ । जो पाएसम्म अमेरिकाले नै किन्छ ।

 

बेइजिंगको हाँस धेरैले सुनेको हुनुपर्छ । बेइजिंग पुग्ने र बेइजिंग डक रेष्टुराँको दैनिक खपत हुने ७ हजार हाँसमध्ये एउटै पनि नखाई फर्कनेलाई जान्नेहरु भन्छन्–‘त्यसो भए के बेइजिंग घुम्यौ त ?’

 

फ्रान्सको रकफर्ट चीज नखाउन्जेल जस्तोसुकै चीज चाखोस् त्यसले चीजको स्वाद पाएको हुँदैन–पोख्तहरुको बिचार छ ।

 

कृष्णसागरको ‘क्यारिभर’ याने साल्मन माछोको फुल नख्वाएकोमा चेज म्यानहाटन बंैकका डेभिड रकफेलरजस्ता विश्वका धनाढ्य मान्छेले समेत इरानका एक शासकको आलोचना गरेका छन् । अमेरिकामा २५ देखि ३० डलर प्रतिऔंस पर्ने त्यसको महत्व बेग्लै छ ।

 

कोही गोवा पुगेको छ र उसले ‘फेनी’ पिएको छैन वा पश्चिम बंगाल वा बंगलादेश पुग्दा हिलसा वा इलिस (नाम फरक कुरा एउटै) माछा खाएको छैन भने त्यसलाई माछा खान जान्ने मान्छे मानिदैन ।

 

तर हामी कहाँ जनकपुरको माछाको खेती गरेर त्यसलाई व्यापक प्रचार प्रसारमा लाने र प्रशिद्ध बनाउने कुरा हुन सकेन । श्रीलंका र फिलिपिन्सले पाल्तु माछा, हल्याण्डले टुलिप फूल, चीनले कस्तुरी मृग र दक्षिण अफ्रिकी देशहरुले अस्ट्रिच चराको खेती गर्न हुन्छ भने हामीले नहुने कुरा थिएन ।

 

रुसको भोड्का होस् वा स्पेनको सेरी, फ्रान्सको स्याम्पेन र कन्याक होस् वा बेलायतको ह्वीस्की, हाम्रो मार्फाले चाँहि कुनै प्रचार पाउन सकेन ।

 

बिकानेरले हामीलाई दालमोठ खान सिकायो तर हामीले बाह्र मज्जा खान नजानेका थियौं र ? नाम फरक हुने बित्तिकै कुनै चीज ठूलो हुन सक्दैन । यसैले अजिनोमोटो हामीलाई जेमा पनि प्रयोग गर्न हुने चीज भयो तर इलामको सिलाम प्रशिद्ध हुन सकेन ।

 

पढ्नेहरु भन्लान् सौरभ कस्तो हल्का प्रसंगमा लागेको ? तर नवीनचन्द्र दासले रसवरीको आविष्कार गर्नु र त्यो अचेल निकारागुवाका शासक डानियल ओर्टेगाका निम्ति वेलावेला मगाइनु साधारण कुरा हो र त्यसबाट एउटा देश चिनिदैन ठान्ने हो भने हाम्रो देशमा नेपाली दाल भात र मस्यौरा मात्रै ख्वाउने उद्धेश्यले चिलंखा ( जो बन्द भैसक्यो ) र भान्छाघर (जो भर्खर खुलेको छ) जस्ता एक छाकको दुइसय पचास रुपैंयाँ पर्ने रेष्टुराँ खोलिनु पर्ने आवश्यकता थिएन ।

 

सिन्धीको खानेकुरामा पीरो हुन्छ, मद्रासीकोमा अमिलो र बंगालीकोमा गुलियो । तर हाम्रो चाहे भक्तपुरको होस् चाहे ललितपुरको, चाहे कान्तिपुरको, देवकोटाले भनेजस्तै दाल भात डुकु । यो कुनै वैवभको परिचायक संस्कार होइन, बरु गरिब खाद्य सांस्कृतिक चिन्ह हो । अन्यथा चीनको क्यान्टोनिज र सेंचुआंनिज वा म्युनिखमा बभेरियन र बर्लिनमा पर्सियन स्पेसियालिटी जस्ता कुराहरु सुनिने थिएनन् ।

 

जापानमा यसरी नयाँ वैकल्पिक मेनु भेइजीकालमा आयो, अब त्यहाँ प्रयोग गर्दा खानेकुरा खेर फाल्न सक्ने शक्ति भएका र फुर्सद पनि भएका धनाढ्य महिलाहरु यो काममा लागे । तर हामी कहाँ आज त्यो स्थिति जहाँ छैन यहाँ ‘न्युट्रिसन’ ‘होम साइन्स’मा ठूलठूलो डिग्री ‘डक्टरेट’ हासिल गरेका महिलाहरुको ज्ञान र श्रम कर्मचारी प्राध्यापिकाहरुमा खेर गइरहेको छ, जो खाद्य संस्कारका निम्ति एउटा संगठित र वैज्ञानिक आन्दोलन गर्न सक्थे ।

 

माथिका यावत् हरफहरुको तात्पर्य यत्ति नै हो केवल के–१ कम्प्युटर नेपालमा झिकाउन र इट कारखानामा रोबोट फिट गर्न खोज्नु मात्रै विकास हैन । हामीलाई सायद सिल्भ्यास्टर ग्राहामले भनेजस्तै डायटरी रिफर्मको आवश्यकता छ ।

 

स्वीसहरुले जिरीसम्म ल्याइपु¥याएर नेपालमा ‘एभोक्यादो’ नामक एउटा फल रोपेर नयाँ थालनी गरे । कुरो अवश्य सुन्दर हो, तर खुमलटार कृषि फर्म जस्ताहरुले हरिताल लागेर पुराना भइसकेका शायल लुथर घरब्याँकका १५०० प्रयोगहरुलाई केलाउनु पर्ने आवश्यकता छ । आरुभित्र कागजी बदाम फलाउने जस्ता तरिकाहरु हामीलाई काम लाग्दैनन्, कसरी भन्न सकिन्छ ?

 

र, अहिले ‘पर्माकल्चर’ नामक एउटा नयाँ वैज्ञानिक प्रविधिको विकास हुँदै गएको छ र ब्रिस्वेन विश्वविद्यालयले ब्रिस्वेन नै नपुगी कतिलाई डिप्लोमा दिने गरेको छ ? के यसलाई फैलाउनु जरुरी छैन ?

 

उत्तरी यमन नेपाल भन्दा ठूलो छ तर कुल आयातको ६ प्रतिशत मात्र निर्यात गर्न सक्ने हुँदाहुँदै पनि त्यसको ‘मोकाकफी’ ठीक त्यस्तै बहुमूल्य कफी हो, जो ट्रिनिडाड टोबागोको विटर्सजस्तै सबै नै अमेरिकाले किन्छ ।

 

ट्युनिसिया नेपाल भन्दा ठूलो अर्को देश हो जसका केवल डेढ लाख हेक्टर जमिनले उसलाई विश्वको दोस्रो ठूलो जैतुन तेलको निर्यातक बनाएका छन् ।

 

र, हामी भारतसंगको तनाउमा नुनमाथि अल्झिन थालेका छौं । इटालीको तीन चौथाइ भन्दा बढी भाग भूमध्यसागरमा जोडिएको छ, याने नुनको खानीमा र त्यही नुनमा ७० प्रतिशत कर लाग्छ ।

 

र, हामी भारतसंगको खिचलोमा अल्झिन थालेका छौं । आइसल्यान्ड याने जसका नाम नै बरफ छ, त्यहाँ प्रत्येक काठको फल्याक बाहिरबाट झिकाउनु पर्छ । यसैले त्यहाँ सबै कंक्रिटका घर बनेका छन् र कल्पना गर्नोस्, त्यो देख्दा अलास्काको एस्किमोको इग्लु पनि काम्न थाल्छ । तर उनीहरुले ज्वालामुखी फुट्दाको ग्याँस र लाभा दुबैलाई आफ्ना घरहरु चौबीसै घण्टा ताप्ने गरी प्रयोग गरेका छन् र हामी भारतसंगको मनमुटावमा औषधीमाथि अल्झिन थालेका छौं । दलाई लामाको हिमांचल प्रदेशस्थित धर्मशालामा एक जना प्रमुख लामा तिब्बती शैलीमा संपूर्ण रोग निको गर्ने जिम्मेवारी लिएर बसेका छन् । (यद्यपि त्यो संपूर्ण रुपमा भरपर्दो अवश्य छैन ।) तर त्यहाँ एनासिनदेखि डिटलसम्म ल्याउनु पर्दैन होला ।

 

र, हामी भारतले उसका आफ्ना कामदारहरुका ’boutमा यसो भन्यो, उसो भन्यो भनेर अल्झिन थालेका छौं । इटाली र पोर्चुगलले युरोपलाई, लेसोथो, स्वाजील्यान्ड, जाम्बियाले दक्षिण अफ्रिकालाई, स्वीट्जल्र्यान्डले फ्रान्सलाई श्रमिक दिएजस्तै त्यो भारत जसका कामदारहरुलाई बेलायतीहरुले दक्षिण अफ्रिका, फिजी, मरिसस, श्रीलंकाजस्ता देशहरुमा प्लान्टेसनका निम्ति लगेका थिए, त्यहाँ उनीहरु कराउन पाएनन् भने न्याय होला ? बेलायतीहरुले उनीहरुलाई कहिले यहाँ ल्याए ? हामीले पनि कहिले त्यसरी मजदुर भएर नेपालीहरुलाई जान दियौ ? (उल्टो चन्द्रशमशेरले त फिजीमा नेपालीहरुलाई नलानुसमेत भनेका थिए, लुकेर गएर पो त !) यसैले अर्काको देशमा बोलाउदै नवोलाई पाहुना लाग्ने र उल्टो मान पाइन कसरी भन्न मिल्छ र हामी डराउने ?

 

र, हामी भारतीय पत्रपत्रिकाले कुरा बंग्याए भनेर अल्झिन थालेका छौं, तर घनश्याम दास बिडला र जमनालाल बजाजका समयदेखि ब्यापारीहरुले भारतको राजनीतिलाई आफ्नो राजनीति बनाएको तथ्यबाट एउटा आँखा बन्द गरेर र टाइम्स अफ इन्डिया, नवभारत टाइम्स इत्यादि ३०–३२ पत्रपत्रिकाको प्रकाशक बेनेट कोलमेन एन्ड कम्पनीमा स्व. शाहु शान्ति प्रसाद जैन, श्रेयास प्रसाद जैन, अशोक जैन, ऋचा जैन आदिका झन्डैं शतप्रतिशत सेयर छन् र अशोक जैन, फिक्की ( हाम्रो चेम्बर्स अफ कमर्सजस्तै ) का अध्यक्षसमेत भइसकेका ब्यक्ति हुन् भन्ने तथ्यबाट अर्को आँखा चिम्लेर हामी साइलकहरुसंग किन तर्सिने ?

 

राम्रो सिलिका भएका बालुवा नभेटिएर बेल्जियमदेखि काँच मगाउनु जायज थियो । तर गोदाबरीका सिंगमरमर नचिनेर इटालीको करेरा सिंगमरमर मगाउनु तर्क संगत थिएन र अहिले पनि त्रिपुरेश्वरको दक्षिण कबलभरिका पसलहरुमा राजस्थानी सिंगमरमर छर्नुमा कुनै तुक छैन । त्यसरी नै भारतले विजयनगर साम्राज्यको गोलकुण्डालाई अझै पनि किम्बर्लेको समकक्ष पु¥याउन खोजेर विदेशबाट हीरा झिकाउने र कटान गरेर पठाउने नगरेको भए भारत विश्वको सबैभन्दा ठूलो हीरा निर्यातक हुँदैनथ्यो । र, त्यसको सिको इजरायलले नगरेको भए भारतलाई आच्छु आच्छु पार्दैनथ्यो । प्रतिटन ढुंगा १५ ग्राम सुन ? भनेको भए दक्षिण अफ्रिका धनी हुँदैनथ्यो र प्रतिटन ढुंगा शून्य दशमलब तीन ग्राम सुन ? भनेको भए भारतको कोलार गोल्ड फिल्डसको नामै सुनिने थिएन ।

 

वास्तविक कुरा त के हो भने नेपोलियनले बेलायतका यावत् ब्यापार युरोपमा बन्द गर्न चारवटा ‘डिक्री’ जारी गरे, युरोपमा कसैले बेलायती सामान किन्न र ओसार्नसमेत नपाउने भए । पोर्चुगल घुमेर बेलायती सामानवाहक जहाजलाई जान दिइयो भनेर उनले पोर्चुगल नै निलिदिए । यही बेला बेलायतमा बाली सफल भएन । बेलायत भोकै मर्ने भयो, तर नेपोलियनले गोप्य रुपमा खाद्य सामग्री महँगोमा बेलायतमा बेचेर त्यसलाई झन् टाट पल्टाउने कोसिस गरे, तर नेपोलियनलाई के थाहा, बेलायत भित्रभित्रै बेजोड रुपमा बलियो भइरहेको छ र उसको आखिरी धैर्य ‘वाटर लू’ हो । माथिको हरफको तात्पर्य के हो, बुझ्नेले बुझिहाल्लान् । ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड’ पनि बुझिँदैन भने कुरो बेग्लै हो ।

(साभार: सौरभका पच्चीस वर्ष)