मनाइयो जनै पूर्णिमा (फोटो फिचर)

हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन हिन्दु धर्मावलम्बीहरुले जनैपूर्णिमा (ऋषि तर्पणी) अथवा रक्षाबन्धन पर्व सोमवार पनि देशभर मनाएका छन् । पूर्णिमाका दिन बिहानैदेखि धर्मावलम्बीहरुले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट नव यज्ञोपवीत एवं रक्षाबन्धन (रक्षासूत्र) धारण गर्दछन् ।

गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो र जनै (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । नेवार समुदायले श्रावण शुक्ल पूर्णिमाको अवसरमा क्वाती पुन्ही (गुंपुन्ही) मनाउँछन्। आजकै दिन टुसा पलाएका चना, मटर, मस्याङ, मुगी, बोडी, मास, भटमास, केराउ, सिमी लगायतका नौ थरीका गेडागुडी भिजाएर त्यसलाई पकाएर क्वाती पिउने गरिन्छ ।

निश्चित समय भिजाएर तयार गरिने तातो झोल युक्त क्वाती सन्तुलित मात्रामा खाए शरीरमा स्फूर्ती बढ्ने भनाइ छ। नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व रक्षाबन्धन पर्वको रुपमा मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । पशुपति क्षेत्र,पाटनको कुम्भेश्वर,गोसाईकुण्ड तथा ताल,पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन मेला लाग्ने भएतापनि यस बर्ष कोरोनाका कारण खासै उत्सवको माहौल देखिएन ।

अहिलेको कोरोनाको संक्रमनको समयमा पनि सामाजिक दुरीको परवाह नराखि हनुमानढोका नजिकै रहेको मखन स्थित सानो पशुपतिमा मानिसहरु जनै र डोरो बाँध्न तल्लिन देखिन्थे ।