‘शिशु प्रजातन्त्र’बाट तन्नेरी गणतान्त्रिक लोकतन्त्र

मतगणनास्थलमा सिसिटीभी क्यामेरा जोडेर त्यसमाथि तारजाली लगाएर कुखुरा थुन्ने खोर जस्तोमा निर्वाचनको मतगणना हुनु यत्रो साढे दुइ दशक लोकतन्त्रको अभ्यास गरिसकेका दलहरुलाई शोभनीय किमार्थ होइन । यसबाट लोकतान्त्रिक प्रकृयामा लोकतन्त्रकै प्रमुख ‘एजेन्सी’ राजनीतिक दलको ‘प्रेडेटर’ अर्थात शिकारी व्यवहारलाई निर्वाचन आयोगले तारजाली लगाएर नियन्त्रण गर्न खोज्नु चाही निश्चयपनि राष्ट्रिय लज्जाको बिषय पनि हो ।

मंसिर २१ गते दोस्रो चरणको मतदानको क्रममा शेरबहादुर देउवाले आफ्नो मताधिकार प्रयोग गरिसकेपछि प्रधानमन्त्रीको औपचारिक ‘ट्वीटर अकाउन्ट’बाट यस्तो गरे ‘ट्वीट’ “समृद्ध र लोकतान्त्रिक नेपाल निर्माणका लागि डडेल्धुरा, गन्यापधुराको असिग्राम माविस्थित मतदान केन्द्र पु्गेर मैले आफ्नो मताधिकार प्रयोग गरेको छु । र, तपाईंहरूलाई पनि निर्धक्कसाथ आफ्नो मताधिकार प्रयोग गरी यो ऐतहासिक निर्वाचनलाई एउटा उत्सवमा परिणत गर्न आग्रह गर्दछु ।”
प्रधानमन्त्रीको यो ट्वीटको निकै ठूलो र ऐतिहासिक महत्व रहेको छ । प्रधानमन्त्री देउवालाई २०५८ सालमा तत्कालिन राजा ज्ञानेन्द्रद्धारा धोषित संसदीय निर्वाचन सम्पन्न गर्न नसकेको कारण देखाउँदै ‘अक्षम’ धोषणा गरेर राजा ज्ञानेन्द्रले असोज १८ गतेको कदम चालेका थिए । यसै घटनाको कारणले उनलाई धेरैले प्रजातन्त्र बुझाउँन मात्र जानेको छ भन्ने टिप्पणीको पात्र बनाएका थिए ।
उनको निधारमा लागेको त्यो ‘अक्षम’को ‘ट्याग’ अहिले देउवाले आफ्नो गलाबाट हटाउन सफल भएका छन् । प्रारम्भिक मत परिणामको रुझान हेर्दा देउवाको दल नेपाली कांगे्रसको प्रतिकुल परिणाम आइरहेको छ ।
पहिलो चरणको मतदान नहुञ्जेलसम्म निर्वाचन नै हुँदैन भन्ने संसय नै थियो । पहिलो चरण मतदानपछि पनि दोस्रो चरणको मतदान नै नहोला भन्ने आशंका पनि थियो । साथै गृह मन्त्रालयमा विभागीय मन्त्री नभएको र विभिन्न स्थानमा उमेदवारलाई लक्षित गरेर बम बिस्फोटन जस्ता निर्वाचन विरोधी गतिविधी व्यापक भएकोले पनि यो आम संसयलाई मलजल गरेको थियो ।
यस्तो यावत संसय वीचमा निर्वाचन सम्पन्न गरेको छ । निर्वाचन आयोगको हिजो दोस्रो चरणको निर्वाचनपछि सम्पन्न पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्तले सरकारले गरेको तयारीप्रतिको सन्तुष्टिले पनि निर्वाचनमा नेपाल सरकारको क्षमताअनुसारको तयारी सन्तोषजनक रहेको थियो भन्ने निश्कर्ष निकाल्न सकिन्छ । यसबाट प्रधानमन्त्री देउवाको निर्वाचनको तयारीको प्रशंसा गर्ने पर्दछ ।
निर्वाचन भनेको किस्मतको कुरो नै हो । निर्वाचनमा एकले जित्छ र अर्कोले हार्छ, त्यो स्वाभाविक पनि हो । तर, अहिलेको निर्वाचनमा कुनै राजनीतिक दलले जिते पनि वा हारेपनि यस निर्वाचनमा नेपाली जनताले जितेका छन् र नेपाल देशले जितेको छ । यस निर्वाचनले विगत एक दशकदेखीको राजनीतिक संक्रमण र अनिश्चिता समाप्त भएको छ ।
आगामी ५ बर्षका लागि प्रतिनिधीसभा र प्रदेशसभामा निर्वाचित विधायिका यो निर्वाचनले स्थापित गर्दैछ । प्रतिनिधीसभा, प्रदेशसभा र स्थानीय तीनै तहको निर्वाचनपछि संविधानले परिलक्षित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत रुपमा नै स्थापित भएको छ । साथै यो संविधान काम लाग्दैन र यो संविधान प्रयोगमा नआइकनै खारेजीको भागिदार बन्छ भन्ने तमाम दावीहरु पनि यस निर्वाचनले खारेज भएको छ । यो संविधानमा भावी दिनमा राजनीतिक मतका आधारमा सुधार गरेर लैजाने विधिगत बाटो पनि अझै बलियो र सुद्रिढ बनाएको छ । यसको लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिन कसैले पनि कन्जुस्याई गर्न हुदैन ।
यो निर्वाचनले एक महत्वपूर्ण र अपरिहार्य तथ्य र आम चिन्ताको बिषय पनि अगाडी ल्याएको छ । त्यो के भने नेपाली कांगे्रसका नेता स्वर्गीय गणेशमान सिंहले २०४७ सालपछि भन्ने गरेको ‘शिशु प्रजातन्त्र’ अहिले तन्नेरी र गणतान्त्रिक लोकतन्त्रमा रुपान्तरित भै सकेको छ । तरपनि लोकतन्त्रको अभ्यास गर्दा चाँही केहि असहज र ‘अकवार्ड’ अर्थात भद्धा अवस्था महसुस भै रहेको छ । त्यो के भने लोकतन्त्रको प्रमुख अभिकर्ता राजनीतिक दल हुन र तिनै राजनीतिक दलबाट लोकतान्त्रिक अभ्यासमा जोखिम पैदा भएको महसुस सर्वत्र हुन्छ ।
मतगणनास्थलमा सिसिटीभी क्यामेरा जोडेर त्यसमाथि तारजाली लगाएर कुँखुँरा थुन्ने खोर जस्तोमा निर्वाचनको मतगणना हुनु यत्रो साढे दुइ दशक लोकतन्त्रको अभ्यास गरिसकेका दलहरुलाई शोभनीय किमार्थ होइन । यसबाट लोकतान्त्रिक प्रकृयामा लोकतन्त्रकै प्रमुख ‘एजेन्सी’ राजनीतिक दलको ‘प्रेडेटर’ अर्थात शिकारी व्यवहारलाई निर्वाचन आयोगले तारजाली लगाएर नियन्त्रण गर्न खोज्नु चाही निश्चयपनि राष्ट्रिय लज्जाको बिषय पनि हो । व्यवहार र जीवनपद्धतीको रुपमा लोकतन्त्रको अभ्यास भएन भने आवधिक निर्वाचनले मात्र लोकतन्त्रको साख कायम गर्न सक्दैन । यसको लागि राजनीतिक दलको नेतृत्व र तिनका कार्यकर्ताले पनि लोकतन्त्रको गरिमा र मर्म कायम गर्न निर्वाचन प्रत्रियाको पवित्रता जोगाउन न्युनतम मानक कायम गर्नै पर्छ र त्यसलाई आत्मसात गर्नै पर्छ ।
हाम्रो निर्वाचनको गरिमा कस्तो छ भन्ने बिषयमा विदेशी मित्रसंग ढाकछोप गर्न झुठ पनि बोल्न बाध्य भइदो रहेछ । मंसिर १० गतेको पहिलो चरणको मतदानको भोली पल्टै सिन्धुपाल्चोकको मानेखर्कसम्म एक जर्मन ‘ह्युमन एनाटोमिस्ट’संग यात्रा गरियो । मेलम्चीबजार पुगेको चिया खान गाडीबाट झरियो । त्यहाँ धेरै मात्र नेपाल प्रहरी र म्यादी प्रहरी देखेर जर्मन मित्रले किन यति धेरै प्रहरी छन यो बजारमा भनेर सोध्यो । हिजो यस जिल्लामा मतदान थियो र त्यसको लागि सुरक्षाको लागि प्रहरी परिचालन गरेको भनेर जवाफ दिइयो । यसले आफ्नो देशको अवस्था सम्झेर किन सुरक्षा गर्न पर्यो भनेर सोध्यो । जेष्ठ नागरिकहरुलाई सहजकर्ताको रुपमा कामगर्न मतदातालाई लाइनमा लगाउँन र मतदाता नामावलीमा नाम लिष्ट हेर्न सहयोग गर्ने काम हो भनेर असली कुरो ढाँटियो । निर्वाचनमा बुथ क्याप्चर हुन्छ । भरतपुर चितवनमा जस्तो मतपत्र च्यातिन्छ । त्यसको लागि सुरक्षा गर्ने हो भन्दाखेरी चाँही देशकै वेइज्जत हुने ठानेर असली कुरो चाँही ढाँटियो ।
आगामी निर्वाचनमा बुथ क्याप्चर गर्ने र तारजाली वीचमा मतगणना गर्ने स्थितिको अन्त्य गर्न सवै राजनीतिक दलको नेतृत्वले सोच्नै पर्दछ । त्यसले मात्र लोकतन्त्रलाई बलियो बनाउँदै जाने छ । होइन भने लोकतन्त्रमाथि कुनै तानाशाह वा सैनिक ‘कु’बाट होइन राजनीतिक दलबाटै खतरा पैदा हुने छ ।

