कांग्रेसलाई लागेको ‘भाइरस’
विचार, भिजन र इतिहासको गौरवमय आलोकको निरन्तरता बिना काँग्रेसको अब खैरीयत छैन । के सभापति देउवासँग विपीमा जस्तो भिजन, गणेशमानजीमा जस्तो साहस, किशुनजीमाजस्तो इमानदारीता र त्याग, गिरिजाबाबुमा जस्तो दृढ अडान अनि शुसील दाइमाजस्तो सादगीपन छ ? यो कोणबाट मुल्याँकन गर्दा देउवासँग भिजन, साहस, इमानदारीता, त्याग, अडान, सादगीपनको लेस पनि पाइदैन । नेतामा हुनुपर्ने ओज, कार्यकर्तालाई जुरुक्क जुर्मराउने खालको व्यक्तित्व, अग्रगामी विचार अनि सँगठन सुदृढीकरणको योजना केही पनि छैन । एकजना गगन थापा या विश्वप्रकाश शर्माको ओजपूर्ण कटाक्ष अनि जोशले धानीरहेको प्रमुख प्रतिपक्षीको इज्जतलाई अझ उन्नत ढंगले विस्तार गर्ने सुरसार देउवामा पटक्कै देखिदैन ।

नेपाली कांग्रेसका समाजबादी चिन्तक प्रदीप गिरीले दुई वर्षपहिले एक सार्वजनिक समारोहमा काँग्रेसका युवा नेता गगन थापा र विश्वप्रकाश शर्मालाई ‘हलगोरु’को संज्ञा दिएका थिए । ‘गोरु’ संज्ञा अपमानको अर्थमा हैन, श्रम र उत्पादनको सन्दर्भमा । गिरीले भनेका थिए, ‘अब समाजवादको हलो पार्टीका दुइ गोरुहरु गगन र विश्वप्रकाशको काँधमा छ । उनीहरु खरो उत्रिए भने पार्टी र देशको भविश्य उज्जवल छ ।’
समाजबादको आदर्श त काँग्रेसले विर्सिसकेको छ । लोकतन्त्रप्रतिको उसको प्रतिबद्धतामाथि आजसम्म प्रश्न उठाउने ठाउँ छैन । नेकपाको दुइ तिहाई बहुमतको दम्भ र अधिनायकबादी हैकमले लोकतन्त्रको हुर्मत लिइरहेको आजको निराश बर्तमानमा जनतामा काँग्रेसप्रतिको आशा अझै मरीसकेको छैन । यसको युवापुस्तातर्फ सबैले आशातित दृष्टिले हेरीरहेको अवस्था छ । मिनेन्द्र रिजाल ,चन्द्र भण्डारी, गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङदेखि भुपेन्द्रजंग शाहीसम्मले भरीएको युवा पुस्तासँग के काँग्रेसलाई नयाँ युग अनुसार नयाँ विचार र कार्यक्रमका साथ अगाडि बढाउने र नेपाली राजनीतिको मियो बनाउने संकल्प, साहस र सामथ्र्य छ ? आजको मुख्य प्रश्न यही हो ।
काँग्रेसको पहिलो पुस्तामा दम थियो । विपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको पालासम्म काँग्रेसले आदर्श र योगदानको सुनौलो इतिहास लेख्यो । गिरिजाप्रसाद कोइराला र शुसील कोइरालाले अनेक कमजोरीका बाबजुद काँग्रेसको गौरवमय इतिहासलाई गणतन्त्रसम्म निरन्तरता दिइरहे । काँग्रेस राजनीतिको मियो बनिरह्यो । जस्तोसुकै परिस्थिति र प्रलोभनबाट पनि विचलीत नभइ गिरिजाबाबुले प्रतिनिधिसभा पुनस्थापनाको एजेन्डामा अडिग रहेर माओबादीलाई शान्तिपूर्ण मुलधारमा ल्याए, गणतन्त्र नेपालको मार्गचित्र कोरे । शुसील कोइरालाले राष्ट्रिय सहमतीका आधारमा संविधानसभाबाट संविधान जारी गराए । इतिहासका यी महान घटनाहरुमा काँग्रेसले नै नेतृत्वदायी भूमिका निर्वाह गर्यो । जनवादी गणतन्त्रका हिमायती उग्रवामहरुलाई लोकतान्त्रिक गणतन्त्रको बाटो देखायो । माओको रेडबुक बोकेर हिंशात्मक विद्रोह गरिरहेकाहरुलाई सँसदीय लोकतान्त्रिक वृत्तमा ल्याउने काम काँग्रेसले नै गरेको हो । र, यसका लागि काँग्रेसको तात्कालीन नेतृत्वले शसक्त भूमिका निर्वाह गरेकै हो ।
गिरिजाप्रसाद कोइराला र शुसील कोइरालापछि काँग्रेसको बागडोर शेरबहादुर देउवाको काँधमा आयो । देउवाले भूमिगत पंचायतकालमा निर्वाह गरेको भूमिका, योगदान र शक्रियताको गर्वीलो इतिहास छ । अधवैंशे उमेरसम्म विवाह नगरी उनले युवा पुस्तालाई लोकतन्त्रमा होमिन प्रेरणा दिएकै हुन्, संगठीत गरेकै हुन् ।
२०४६ सालको परिवर्तनपछि जब उनी सत्ता राजनीतिमा सहभागी भए, त्यसपछि आफ्ना बिगतका योगदानलाई समेत छायाँमा पार्नेगरी उनी भ्रष्ट कोटरीको घेरामा परे । सत्तासमीकरणको घिनलाग्दो खेल, साँसद खरिदविक्री, पजेरो काण्ड, सुर, सुरा र सुन्दरीको संस्कृति, उम्मेदवारलाई टिकट दिंदासमेत पैसा असुल्ने परम्परा आदि अनेक विकृतीमा देउवाको नाम जोडियो । अन्ततः लोकतन्त्र चाँदीको किस्तीमा राखेर दरबारमा बुझाउने, पार्टी फुटाउने अनेक उदेकलाग्दा घटनाको मतियार बनेर देउवाले आफ्नो गौरवमय बिगतलाई मटियामेट पारे ।
देउवा निकटका मानिसहरु बेलाबेलामा ज्योतीषीको भविश्यवाणीको जिकिर गर्छन् । ‘भाग्यमानी’ देउवालाई ज्योतीषीले छैंठौ पटकसम्म प्रधानमन्त्री बन्ने भविश्यवाणी गरेका छन् रे । बुढानिलकण्ठका प्रभु् नारायणले ज्योतीषीको त्यो भविश्यवाणी पुरा गरिदिउन् र देउवा छैंठौ पटकसम्म प्रधानमन्त्री बनून्, शुभकामना छ ।
तर, अब युग बदलीइसक्यो । काँग्रेसको राजनीति ज्योतीषशास्त्र र भाग्यको भरमा मात्र अब चल्दैन । यो उपभोक्ताबादी वैश्य युगमा उत्पादनशास्त्र र सँगठनले मात्र पार्टीको भविश्य निर्धारण गर्छ । विचार, भिजन र इतिहासको गौरवमय आलोकको निरन्तरता बिना काँग्रेसको अब खैरीयत छैन । के सभापति देउवासँग विपीमा जस्तो भिजन, गणेशमानजीमा जस्तो साहस, किशुनजीमाजस्तो इमानदारीता र त्याग, गिरिजाबाबुमा जस्तो दृढ अडान अनि शुसील दाइमाजस्तो सादगीपन छ ? यो कोणबाट मुल्याँकन गर्दा देउवासँग भिजन, साहस, इमानदारीता, त्याग, अडान, सादगीपनको लेस पनि पाइदैन । नेतामा हुनुपर्ने ओज, कार्यकर्तालाई जुरुक्क जुर्मराउने खालको व्यक्तित्व, अग्रगामी विचार अनि सँगठन सुदृढीकरणको योजना केही पनि छैन । एकजना गगन थापा या विश्वप्रकाश शर्माको ओजपूर्ण कटाक्ष अनि जोशले धानीरहेको प्रमुख प्रतिपक्षीको इज्जतलाई अझ उन्नत ढंगले विस्तार गर्ने सुरसार देउवामा पटक्कै देखिदैन ।
संसदीय लोकतन्त्रमा प्रतिपक्षीको भूमिका अपरिहार्य हुन्छ । तर, नेपालको संसदीय इतिहासमा यतिबेला काँग्रेसबाट प्रतिपक्षीको जुन भूमिका निर्वाह भइरहेको छ, त्यो लोकतन्त्रकै लागि सोभनीय देखिदैन । नेकपाको अधिनायकबादी हर्कतलाई काँग्रेसले मानौं मौन समर्थन गरीरहेको छ । प्रतिपक्षी सुस्त र लुरे भइदिदा ओली सरकारको दम्भ झन चुलीएको छ । सडकमा बटुवालाई हान्दै हिंडने छाडा साँढे झैं नेकपा सरकारले भ्रष्टाचारलाई राष्ट्रिय संस्कार बनाइसक्यो । सम्पत्ती सुद्धीकरणदेखि गुप्तचरसम्मका राज्यका महत्वपूर्ण निकायलाई प्रधानमन्त्री मातहत ल्याएर शक्ति पृथकीकरणको धज्जी उडाइएको छ । अख्तीयारदेखि अदालतसम्मलाई गोजीको आइफोन बनाइएको छ । प्रेसको घाँटी निमोठन अनेक आचारसंहिता ल्याउने प्रपंच रचीदैछ । सामाजिक संजालका आवाज दबाउन साइबर क्राइमको तरबार तेर्स्याइएको छ । भ्रष्टाचारविरुद्ध आवाज उठाउने अभियन्तामाथि हातपात र झुठो मुद्दामा फँसाएर जेलमा जाक्ने हर्कत भइरहेको छ । कोरोना कोपको त्रासदीले जनता त्राहीमाम छन् । किसान, मजदुर, सिमान्त श्रमजीवी जनताको जिवन कष्टकर बनीरहेको छ । कम्युनिष्टहरुप्रति जनतामा तिब्र वितृष्णा बढीरहेको छ ।
यस्तो बेला जनताका समस्या, पीर, मर्का र एजेन्डालाई काँग्रेसले शसक्त ढंगले संबोधन गर्नुपर्थ्यो । सत्तासीनहरु अलोकप्रिय भइरहेको बेला काँग्रेसले जनतामा आफ्नो औचीत्य साबित गर्न विभिन्न कार्यक्रम ल्याउनुपर्थ्यो । कोरोना कहरकै विचमा पनि काँग्रेसले जनतामाझ आफ्नो नीति, योजना र कार्यक्रम विभिन्न माध्यमबाट पुर्याउन सक्थ्यो । कम्युनिष्टहरु यो देशका लागि अफाप सिद्ध भइसकेको यथार्थलाई काँग्रेसले जनजनमा स्थापित गर्नसक्थ्यो । प्रजातान्त्रिक समाजबादको पार्टीको नीति अब झन सान्दर्भीक भयो भनेर त्यसखालको वैचारीक र सैद्धान्तिक चेतना नेता, कार्यकर्ता र आम जनतामा फैलाउन सक्थ्यो ।
बिडम्बना, काँग्रेस अहिले कोमामा छ । काँग्रेसमा गतिशिलता, शक्रियता या जुझारुपन केही देखिदैन । काँग्रेसमा गुटबन्दी मौलाएको छ । कोही देउवाको मान्छे, कोही रामचन्द्र पौडेलको मान्छे । कोही विमलेन्द्र नीधि त कोही प्रकाशमानको । कोही शशाँक र शेखरको, कोही रामशरण महतको । यही गुटबन्दीका कारण काँग्रेसको नयाँ पुस्ता पनि दिग्भ्रमीत छ । हरेकलाई आफ्नो राजनीतिक भविश्यको चिन्ता छ । कुनै नेताको फेर नसमाते राजनीतिक सिण्डीकेटबाट किक आउट भइने हो कि भन्ने पीरलो छ ।
यही कारण नेतृत्वको आसनमा बसेका मठाधिशविरुद्ध जायज र औचीत्यपूर्ण औंला तेस्र्याउन र विमती जनाउन युवा पुस्ताका भनिने नेताहरु पनि असमर्थ छन् । हरेकले आफ्नो राजनीतिक भविश्यको मार्गचित्र बनाएका छन् । फलानो नेताको चाकडी गर्दै यहाँबाट यहाँसम्मको यात्रा तय गरीयो भने साँसद, मन्त्री र प्रधानमन्त्रीसम्म भइन्छ भन्ने हिसाबकिताब गरेर बसीरहेका युवा नेताहरुमा समग्र देश, समग्र पार्टी र लोकतन्त्रको भविश्यको खाका कोर्ने इच्छाशक्ति, साहस र तदारुकता एकरत्ती छैन । मिडियाबाजी गर्यो, चर्चामा आयो, दुइ चार शब्द भाषण ठोक्यो, सत्तासीनहरुसँग चोंचोमोचो मिलाएर आय आर्जनका बाटो खोल्यो, बिगतमा कमाएको धनको सुरक्षा गर्यो । अर्थात आफु एकजनाको मात्र भविश्य सुरक्षित राख्यो । पार्टी, देश, लोकतन्त्र जाए भाँडमे । हो, यही मानसिकता छ, युवा पुस्तामा ।
एकाध युवा नेताले काँग्रेसभित्र नेतृत्व हस्तान्तरणको आवाज झिनो स्वरमा नउठाएका हैनन् । देउवालाई राजनीतिबाट सन्यास लिन प्रकाशमान सिंह र सुजाता कोइराला आदिले फाटफुट आवाज उठाइरहेका छन् । गगन थापाले त भनिसके, ‘ग्रेसफुल्ली’ नेतृत्व हस्तान्तरण भएन भने ‘फोर्सफुल्ली’ गर्नेछौं ।’ बोलीले मात्र नेतृत्व हस्तान्तरण हुँदैन । त्यसका लागि अहिलेदेखि नै शसक्त पहलकदमी हुनुपर्छ । जब पहलकदमीको प्रश्न आउँछ, त्यसपछि सबै ठण्डाराम । गोप्य कोठाहरुमा हुने खुशामद र मोलमोलाईले यस्ता आवाजहरु एक रातमै सेलाउँछन् ।
यसको कारण छ । काँग्रेसमा अहिले ‘जर्नेल’हरु धेरै छन् । कसले कसको कमाण्ड स्वीकार्ने ? हरेकलाई आफ्नो र आफ्नो गुट बचाउनुपरेको छ । देउवा समर्थवान भएनन् भने उनको विकल्प खोज्न बाकी पँक्ति एकढिक्का किन नभएको ? किनकी, माथि उल्लेख गरे झैं हरेक व्यक्तिले आफुलाई केन्द्रमा राखेर राजनीति गरिरहेको अवस्था छ । एकले अर्काको अस्तीत्व स्वीकार नगर्ने प्रवृत्ति मौलाएको छ । यही विविध स्वार्थले जेलीएको परिस्थितिबाट देउवाले लाभ लिइरहेका छन् । फेरी पनि देउवालाई नै सभापति बनाउन एउटा पँक्ति कम्मर कसेर लागिसकेको छ । काँग्रेसको आसन्न महाधिवेशनसम्म पैसाको खोलो बग्नसक्छ । नयाँ विचार र कार्यक्रमका आधारमा हैन, गुटहरुवीचको समीकरणका आधारमा नेतृत्व चयन हुने पक्का छ । अनि युवा नेता भनाउँदाहरु पनि कुनै न कुनै टेष्टेड अनि असफल नेताको फेर समातेर पार्टीमा आफ्नो स्थान सुरक्षित गर्ने घनचक्करमा जुटनेछन् । यसले काँग्रेसलाई झन रसातलमा जाक्नेछ ।
के काँग्रेसका युवा नेताहरुको एउटा बलियो मोर्चा बन्न सक्दैन ? देउवाको विकल्प खोज्ने हो भने देउवा इतरका सबै गुटहरु एकढिक्का भएर खडा हुन सक्दैनन् ? काँग्रेसको दायित्व नेतृत्व चयन मात्र हो ? बदलीदो विश्वको बदलीदो आर्थिक, राजनीतिक, सामाजिक, सामरीक र सांस्कृतिक परिवेशमा दुइ महाशक्ति मुलुकको विचमा रहेको नेपालको समृद्धीको सपना पुरा गर्ने दुरगामी भिजन काँग्रेसले दिने कि नदिने ? गएको चुनावमा भोगेको असफलताबाट पाठ सिक्ने कि नसिक्ने ? चीनमा जस्तै कोमिन्ताङ पार्टी या नेपालको प्रजापरिषद झैं इतिहासमा बिलाएर जाने कि आफुलाई रिइन्स्टल य रिकोभर गर्ने ? काँग्रेस सामु यही चुनौती छ । राजनीतिको परम्परागत ढरर्रामै अलमलीने हो भने काँग्रेस अझै पतनको दलदलमा भासीनसक्छ । पार्टीकै अस्तीत्व कमजोर भयो भने नेता हुनुको पनि के अर्थ ?
देउवाको विकल्प खोज्नु अपरिहार्य छ । पुराना रुग्ण र प्रधानमन्त्री बन्ने घिडकिसो बोकेर गजधम्म बाटो छेकेर बसीरहेका बुढा नेताहरुलाई अभिनन्दन गर्दै बाईबाई गर्नैपर्छ । यसका लागि युवा पुस्ताका नेताहरु साहसका साथ अगाडी आउनैपर्छ । युवा नेताहरुको सामुहीक पहलका दुइवटा एजेन्डा हुनुपर्छ । एउटा काँग्रेसको भावी नेतृत्वमा युवा जुझारु पुस्ताको बर्चस्व, अर्को समृद्ध नेपालको स्पष्ट वैचारीक र कार्यक्रमिक दिशा निर्धारण ।
किसान, मजदुर, सिमान्त श्रमजिवी, वैदेशीक रोजगार, पेशाकर्मी, दैनिक ज्यालादारीका कामदारलगायत निम्न बर्गको उत्थानको विश्वासीलो, सम्भव र प्रभावकारी योजना काँग्रेसले ल्याएन भने त्यही बर्गले काँग्रेसको चिलिम फर्काइदिनेछ । कृषि, पर्यटन, जलश्रोत, उद्योग, व्यापार र वैदेशीक सम्बन्धका क्षेत्रमा विस वर्षअघिको बजेट या नीति तथा कार्यक्रमका भाषा साभार गरेर काँग्रेसले अब राजनीतिक बैतरीणी तर्न सक्दैन । रेल, पानीजहाज, फास्ट ट्रयाक, मेघा हाइड्रो प्रोजेक्ट अनि भ्यू टावर र सपीङ कम्प्लेक्स आदि मार्का विकासे मोडलका गफ दिएर पनि काँग्रेसप्रति जनताको आकर्षण बढन सक्दैन । काँग्रेसले बहुसंख्यक गरीब र गरीखाने बर्गलाई लक्षीत गरेर नेपालको धरातलीय यथार्थ र वस्तुगत विश्लेषणका आधारमा जनताको जिवनस्तर माथि उठाउने नौलो विचार र भिजन ल्याउनसक्नुपर्छ । अनि मात्र काँग्रेसलाई कोमाबाट ब्युँताउन सकिन्छ ।
यसखालको तयारी देउवाको कोणबाट त भइरहेको देखिदैन, तर ‘समाजबादी हलोका दुइ गोरु’ गगन र विश्वप्रकाश आदिबाट यो आशा गर्न सकिन्छ । यो पुस्ता पनि राजनीतिको पुरानै फ्रेमभित्र फँस्यो भने काँग्रेसलाई बुढानिलकन्ठका नारायणले पनि बचाउनसक्ने छैनन् । ‘भागशान्ति जय नेपाल’लाई काँग्रेसले जबसम्म ‘आर्थिक क्रान्ति जय नेपाल’मा परिणत गर्दैन, तबसम्म नेकपाका अरिंगाल र छौंडाहरुको रजगज नेपाली राजनीतिमा रहीरहनेछ । काँग्रेस उनीहरुकै भ्रष्ट सिण्डीकेटको सानो साझेदार भएर राजनीतिमा च्याँखे दाउ थापीरहनेछ, झर्ला र खाउँला भनेर स्यालले साँढेको पोको ढुके झैं ।

