जनताको करः राजनीतिकर्मीको तर

 

 

नेपालको राजनीतिमा सर्वसाधारण जनता किरा फटयांग्रा, कमिला, भुसुना हुन र शक्तिमा वसेका र राजनीतिकर्मी चितवन राष्ट्रिय निकुन्जको धुर्वे हात्ती जस्तो प्रतित हुन्छ ।

 

 

 

 

“ब्वाँसोको स्वतन्त्रता भन्नू नै अर्को अर्थमा भेडाको मृत्युु हो”

 

मैले कुनै कितावमा कतै पढेको यो भनाईले हाम्रो देश नेता र जनतावीचको सम्वन्धको बिम्वात्मक स्थितिको प्रतिनिधित्व गर्छ । नेता ब्वाँसा, जनता सोझा भेडा । यहाँ भेडाको अर्थ र बिम्ब सोझोपनको लागि मात्र हो, आफू सर्वसाधारण जनता हुनुको नाताले भेडाको सम्बोधन मेरा लागि पनि अप्रिय हो, तर पनि नेताको छाडातन्त्र मनपरीतन्त्र र एकपटक चुनाव जितेपछि हामीले जे गरे पनि हुन्छ भन्ने प्रवृति र मानसिकता अनि तदनुकुल व्यबहार देखेर यस्तो अभिव्यक्ति दिन जो कोही मजबुर छ ।

 

हामी जनता सोझा भेडा हौ , नेताको स्वतन्त्रता हाम्रो मृत्युको कारण हो । जनता भोकैनाङ्गै बसेर नेता मात्र पालितपोषित हुनुपर्ने, जनता रोगाएर मर्न अभिशप्त, नेता टाउको दुख्दा, रुघा लाग्दा र गोडा मर्कदा पनि लावा लस्कर लागेर बिदेशी महँगो अस्पतालमा पुग्ने स्थिति अन्त्य कहिले हुने ?

 

असमानता अन्याय र अत्याचार अब पनि नरोकिनु कम्युनिस्ट सरकारको लागि लाजमर्दो विषय बनेन भने लज्जा भन्ने चिजबिज कतै बाँकी होला र ? नारामा समानताको राग आलाप्ने दुई तिहाईको कम्युनिस्ट सरकार हुँदा पनि अब नेता र जनता पहुँच हुने र नहुने विचमा भेद रहिरह्यो भने कम्युनिष्टलाई भोलि, आगामी दिनमा कुन मुख लिएर जनताको घर दैलोमा जाने नैतिकता रहन्छ?

 

जनता हुन गाह्रो छ हजुर ! जति नेता हुन सजिलो छ । जनता भएर ज्वरो आएको बेला सिटामोलको गोली खान र पखाला चल्दा जीवनजलको धुलो पाउँन मुस्किल छ ।

 

तर, यो देशमा नेता भएपछि सरकारको उच्च ओहोदामा पुगेपछि देशको सम्पत्ति, राज्यको ढुकुटी ससुरालीको दाइजो, माइती मावलीको पेवा र दान झै छ । जतिसुकै बेला जति झिके पनि हुने जसोगरी मासेपनी हुने । देशको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री सभामुख, संबैधानिक निकायका प्रमुख र सदस्यहरु अनि सांसद कर्मचारी सेवाका उपल्लोस्तरमा पुगेकाले यो देशको ढुकुटीमा ढुक्कसँग हात हाल्न पाउँनुपर्ने प्रवृति र प्रचलन अव संस्कारकै स्वरुपमा छ ।

 

गरिब नेपाली जनता भोकै नाङ्गै रहुन त्यसको मतलव भएन । चुनाव जितेपछि जनताको काम छैन, जनता मात्र चुनावको केही समय जनार्दन कहलिन्छ्न, न्याय र निष्ठाका बिम्ब बन्छन् बाँकी दिनमा केवल किरा फटयांग्रा र भुसुना मात्रै ।

 

जीवनको मुल्य हुन्न, सामान्य ओखतिमुलोको अभावमा मर्नुपर्छ तब नेता कार्यकर्ता समवेदनाको बनी बनाउ कृतिम सन्देश दिएर श्रद्धाञ्जली स्वरुप गोहीको आँसु चुहाउँन पुग्छ्न । कात्रोभन्दा महंगो झण्डा ओढाउँने होडबाजी गर्छन् । बाचुञ्जेल एउटा थोत्रो कमेज र फाटेको चोलीमा जीवन गुजार्नेहरु मरेपछि पार्टीको महंगो झण्डा बेरेर जल्ने र गाडीने सौभाग्य पाउँछन् ।

 

बाचुञ्जेल वेवास्ताको सिकार बनेर तडपितडपि बाँच्नु परे पनि मरेपछि उच्च सम्मान दिने संस्कारको विकास भएको छ । मरेपछि राजा मान्ने चलनले प्राथमिकता पाएको छ । मुर्दातुल्य भएर जीवन धान्यो अनि मृत्युको मुखमा परिसकेपछि चै सम्मानको ओइरो ।

 

मृत्युको मुल्य होइन जीवन मुल्यवान हुन्छ । जीवनको मूल्य भनेकै अमुल्य हो । एकबारको मानव चोला अमुल्य छ, तर मुल्यहिन झै सम्झन छन शासकबर्ग । सर्वसाधारण जनताको जीवनलाई जीवन जस्तो नै ठान्दैनन र त एउटा अस्पताल बन्न पुग्ने पैसा एउटा मान्छेको जीवन बचाउँन आयु लम्ब्याउँन सिध्याउँछ राज्य ।

 

हजारौं जनताले एकै पटक सुबिधा पाउने अस्पताल बन्ने पैसा एक दुई जनाको आयु लम्ब्याउँन खर्च हुँदा जनताको जीवनको कुनै मुल्य देखियो र ? एक रुपैयाँको सिटामोल खान नपाएर मर्न बिबस नेपाली र झन्डै १८ करोड खर्चंदै बिदेशमा उपचार गर्ने नेपालीको नागरिकता एकै भए पनि सेवा र सुबिधाको असमानताले नागरिक र रैतिको भेदभावपूर्ण नीति देखाएन र ?

 

तसर्थ जनताको स्वास्थ्यभन्दा नेताको स्वास्थ्य सबैभन्दा माथी देखिन्छ । उहि शरीर, उहि प्राण, पञ्च तत्वले बनेको शरीर उही, देश उही, राष्ट्रियता उहि, नागरिकता उहि, तर सेवा र सुबिधामा यत्रो असमानता किन ? एकै देशका नागरिक र अनागरिक किन हुन्छ ।

 

प्राणी हो भन्दैमा हात्ती र बाख्रा अनि कमिलालाई उही कोटि र दाँजोमा राखेर हेर्नु हाम्रो मुर्खता हो ! हात्तीको र बाख्राको कलेजो फोक्सो र मिर्गौलाको आकारमा नै फरक हुनाले यसमा पर्ने चोटको पीडा पनि फरक हुन्छ नै ? कमिलाको खुट्टाको चोट र हात्ती को खुट्टाको चोटमा हात्तीलाई बढि पीडा हुन्छ ।

 

हाम्रो लोककल्याणकारी समाजबाद उन्मुख राज्य व्यवस्थाले यसै भन्छ र व्यवहार गर्छ पनि ! पुर्व बिशिष्टलाई दिने सुबिधा बर्तामान सांसद, मन्त्री र सामान्य जनताले पाउने सेवा सुबिधा हात्तीको खुट्टाको सामान्य चोट र कमिलाको खुट्टाको गम्भीर चोट समान हुन् सक्दैनन् ।

 

बरु हात्ती लम्कदा कमिलोको प्राणान्त हुने नियति नेपाली जनताको छ , नेता, पुर्व विशिष्ट, मन्त्री, र सांसद अजंगका हात्ती हुन् हामी सर्वसाधारण जनता धुले कमिला । जसलाई राज्यले पालेका सेता हात्तीको कुल्च्याइमा जीवन जानू सामान्य लाग्छ ।

 

राज्यकोषबाट यिनको ओखातिमुलो गर्न सेवा र सुबिधा लिन कुनै कन्जुसाई गर्न हुँदैन कन्जुसाई नगरौ । लघुचित्त र खोटो मन गर्नुको सट्टा आफ्नो मुटु र मिर्गौला बेचेर भए पनि राज्यकोषको ढुकुटीमा अर्थ जोहो गरौ ताकि नेताले आफ्नो बाबुको बिर्ता सम्झी राज्यको छातिको लाम्टा चुस्न मरिहत्ते गरुन ।

 

नेता मन्त्री र सभासदको दुखाइ र हाम्रो दुखाइ समान हुन सक्तैन किनकि उनीहरू अजङ्गको हात्ती हुन हामी कमिला , भुसुना , किरा फटयांग्रा ?

 

अहिले सुन्नमा आएको छ, सांसदलाइ तलव भत्ता, सेवा र सुबिधा कम भएको, सांसदको घर चलाउँन समस्या भएको गुनासो छ । निश्चय नै समस्यारहित मान्छे कोहि हुदैनन् र राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसदहरू पनि समस्या मुक्त छैनन् ।

 

तर, सबै ब्यक्तिगत समस्याको सामधान राज्य श्रोतको दोहन मात्रै हो त ? सांसद पदमा पुग्नु भनेको जनताले ल्याप्चे लगाएर दिएको चेक बुक बोकेर जानू हो । अनि जति मन लाग्यो त्यति रकम झिक्ने अधिकार पाउँनु हो ? राजनीतिमार्फत गरेको लगानी देश लुट्ने स्वतन्त्रता हो ? लाइसेन्स हो ढुकुटी सिध्याउँने , ढुकुटी रित्याउँने ?

 

जनताको आङमा लगौटि छैन नेतालाई गलामा सुनको सिक्री ? नेताहरु, मन्त्रीहरू, सांसदले गरेको राजनीति कुनै ब्यबसाय हो, जसको मुनाफा मिलेर खान उनीहरु राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसद बनेका हुन ।

 

अरुबेला पक्ष र विपक्ष अनि मत र बिमतमा बिभाजन हुने नेतागणको तर्क अभिमत किन आफ्नो सेवा र सुबिधा बढाउँने कर्ममा एकाकार हुन्छ ? किन राज्यको ढुकुटी हाम्रो मात्रै होइन, हामी जनताको सेवक हौ, थोरै तलब र सेवा सुबिधाले पनि चल्न सक्छौं, राष्ट्रलाई भार हुनेगरी सुबिधा बढाउँन दिन्नौ भनेर जनताप्रति जबाफदेहि बन्न किन सक्दैनन् ? खै यहाँ मत बिभाजन ? किन कुनै सांसद पनि चुइक्क बोल्न सक्दैनन् देश लुट्न पाइन्न भनेर ?

 

राजनीति सेवा हो सेवाको मुल्य खोज्नु पाप हो अधर्म हो अपराध हो हामी सेवा र सुबिधा लिन्नौ भनेर घोषणा गर्ने एक दुई सांसद पनि नदेखिनु दुःखको कुरा हो । बिडम्बना हो । बरु चोर बाटोबाट सेवा र सुबिधा बढाउँन साथ दिन्छन । मर्यादाहिन बन्न मन्जुरी, तर मर्यादामा बस्न नामन्जुर किन ?

 

अझ पेन्सन र अरु अतिरिक्त लाभको लागि पो मरीहत्ते गरेको सुनिन्छ । सांसद जागिर हो अवकाश पाएपछि जीवन निर्बाह गर्न पेन्सन दिनुपर्ने ? देश समाज र जनताको हितको लागि नजोडिने घांटि स्वार्थको लागि किन सजिलै जोडिन्छ ? सत्ता पक्ष र विपक्षमा बिभक्त रेखा कति सजिलै तोडिन्छ हगि ? स्वार्थको खातिर ?

 

कवि सबिता बिमलीको कविता अंशमा व्यक्त भाव त्यसै उब्जेको होइन सत्ताले आफ्नो स्वार्थ हेर्छ, हाम्रो हित हेर्दैन सत्ता कहिल्यै कसैको हुदैन ।

 

“सत्ताको कुनै रंग हुँदैन

लिङ्ग, जात, धर्म, वर्ग हुँदैन

क्षेत्र, विचार, सिद्धान्त, नीति केही हुँदैन

र अहिलेसम्म सत्ता कसैको भएन पनि ।

ऊ छोरीको चोलो च्यातिएको हेरिबस्छ,

ऊ स्वास्नीको फरियाको मैलोसँग खित्का छोड्छ,

ऊ भाइको टोपीको प्वालमाथि अट्टहास गर्छ,

ऊ किसानका पसिना सडकमा नारा बन्दा पनि गल्दैन ऊ विधवा बहिनीको अभिभावक होइन

ऊ टुहुरो भतिजाको नागरिकता पनि होइन

वृद्ध बाआमाको सुरक्षा, भत्ता केही होइन

ऊ कुनै पनि घरको श्री रहेन अब ।”

 

एउटा राजनैतिक प्रणाली चलाउँनसमेत ऋण लिनुपरेको छ । संघीयता यति महँगो र खर्चिलो छ, संघीय र प्रादेशिक सांसद गरि झन्डै ८ सय पचासको हाराहारीमा सांसद मात्रै पाल्नु पर्ने छ ।

 

अरु तिनको सचिवालयदेखि सारा खर्च कति हो कति तर पनि गुनासो सुनिन्छ सांसदलाई सेवा र सुबिधा कम भयो अझ निवृितभरणको ब्यबस्थापन पनि हुनुपर्ने माग ? कति लाचार छन राजनीति गर्ने नेताहरु ?

 

संसद चलेको बेला सांसदको तलब सुबिधा र भत्ता गरि एक लाख नौ हजार सात सय तीस रुपैयाँ एक जना सांसदले रकम बुझ्न सक्ने ब्यबस्था छ यो रकम कम भयो भनेर रोइलो सुनिन्छ । के यो देश केही सिमित मान्छेको बिर्ता हो ?

 

भ्रष्टहरुको आय आर्जनको माध्यम मात्र हो राजनीति ? भ्रष्टको बिर्ता होइन यो देश, तर बनाइयो किन ? जबसम्म जनता चुपचाप रहन्छ्न सोझो भएर रहन्छ्न तबसम्म देशमा ब्वाँसारुपी राजनीतिकर्मीको मनपरितन्त्र चलिरहन्छ ।

 

सोझो भेडो हुनुको अर्थमा अकाल मृत्यु उपहार मिल्छ । हात्तीको किल्च्याइमा जीवन गुमाउँनुको नियति रहि रहन्छ । जनता किरा फटयांग्रो, कमिला, भुसुना नेता र राजनीतिकर्मी सेतो धुर्वे हात्ती ।

 

जनताको हित र रक्षाको निम्ति सोच्नुपर्ने, बोल्नु पर्ने, निति निर्माण गर्नुपर्ने, नेताहरु देखेर गरिब निर्धन र पहुँचमा नहुने नेपालीको लागि आफ्नै भुमि बस्न योग्य नभएको देख्दा कसको मन दुख्दैन ? आफ्नै हातले भोट दिएर पठाएका भाग्य बिधातालाइ सधैं सराप्नु पर्ने स्थिति कहिलेसम्म खपिरहने ?