दुई तिहाईले दिएको दुःख

लोकतन्त्रको गणितअनुसार दुई तिहाई त जनताको सुखको कारक हुनुपर्थ्यो । किनकी, दुई तिहाई त स्थिरताको प्रतिक पनि हो । यसले त स्थिरताको स्वाद जनतामा चखाउनुपर्ने हो । तर, स्थिरताको प्रत्यूत्पादक प्रतिफल भोग्न आज हामी विवश छौं । स्थिरताको अर्थ अधिनायकवाद पो भएछ । पाँच वर्षसम्म सरकार टिक्नुको अर्थ पाँच वर्षसम्म राज्यको ढुकुटीमा ब्रम्हलुट मच्चाउँने भन्ने पो भएछ।

 

 

 

 

 

दुई तिहाई भनेर के गर्ने ? ति त झन दुःखका कारण बन्दारहेछन् । यतिबेला मुलुकको एक मात्र समस्या भनेकै ‘नेकपाको दुई तिहाई’ हो । दुई तिहाई भित्र दम्भ छ, अहँकार छ । अनुत्तरदायी रवैया छ । न्याय दिन नसक्ने हुतिहारापन छ । राज्यको ढुकुटी लुटने लोभीपापी मन छ । माफीयासँग साँठगाँठ गर्ने भ्रष्ट सोच छ ।

 

यो दुई तिहाईको थैलो मानौं यस्तो भुँडी हो, जहाँ दुधसँगै रक्सि छ, खिरसँगै मासु छ, समोसासँगै मम छ, हलुवासँगै बलुवा छ । भक्ष्य अभक्ष्य चिजले भरिएको यो दुई तिहाई भुँडी आफैमा दुःखको कारक बन्न पुगेको छ, यो कतिबेला फुटेर छरपस्ट हुन्छ, भन्न सकिन्न ।

 

लोकतन्त्रको गणितअनुसार दुई तिहाई त जनताको सुखको कारक हुनुपथ्र्यो । किनकी, दुई तिहाई त स्थिरताको प्रतिक पनि हो । यसले त स्थिरताको स्वाद जनतामा चखाउनुपर्ने हो । तर, स्थिरताको प्रत्यूत्पादक प्रतिफल भोग्न आज हामी विवश छौं । स्थिरताको अर्थ अधिनायकवाद पो भएछ । पाँच वर्षसम्म सरकार टिक्नुको अर्थ पाँच वर्षसम्म राज्यको ढुकुटीमा ब्रम्हलुट मच्चाउने भन्ने पो भएछ ।

 

चुनावताका ‘आर्थिक समृद्धिका लागि नेपालमा बलियो सरकार चाहिन्छ’ भनेर कम्युनिष्टले जनतामा प्रभाव पारे । हुन पनि नेपालमा संगठित शक्तिलाई सरकारमा पुर्याएर स्थिरता प्रदान गर्ने काम यसअघि हुँदै भएन । एक त नेपाली जनता विभाजित भए । अर्कोतीर बिदेशी शक्तिले पनि हामीलाई एक हुन दिएनन् । पूर्ण बहुमत कसैको नआउने, हङ पार्लियामेन्ट हुने, त्रिसँकु संसदमा सत्ता समिकरणका घृणित खेलहरु भइरहने, सांसदहरुको खरीदविक्री हुने र लोकतन्त्रकै धज्जी उडाउने काम बिगतमा हुँदै आए ।

 

यस्तो किन भयो भने जनताले भरपर्दो कुनै एउटा दललाई पूर्ण विश्वास गरेर झयाप्पै मत दिएनन् । जसरी भारतमा गएको चुनावमा सिँगो देशको झयाप्पै मत भाजपालाई गयो, त्यसरी झयाप्पै मत दिएर लौ पाँच वर्षसम्म शासन चलाउ भन्ने अवस्था नेपालमा रहेन । २०१५ साल र २०४८ सालमा नेपाली काँग्रेसलाई जनतालाई झयाप्पै बहुमत दिएका त हुन् नी, तर त्यतिबेला काँग्रेसले त्यो बहुमत जोगाउँन सकेन ।

 

अहिलेसम्म एउटा सरकारले कुनै हाइड्रो प्रोजेक्टको ठेक्का भारतीय कम्पनीलाई दिने, नौ महिना नबित्दै त्यो सरकार ढल्ने र नयाँ सरकारले त्यो हाइड्रो प्रोजेक्ट चिनीया कम्पनीलाई दिने । अर्को सरकार आएपछि फेरी गंजागोल । अनि हाइड्रो प्रोजेक्ट कहिल्यै नबन्ने । नेपाली आफैले नबनाउने ।

 

कल्पना गर्नुस त, भारतमा आठ–दश महिनामै नरेन्द्र मोदीको सरकार ढलेको भए त्यो नोटबन्दीको हालत के हुन्थ्यो ? गाउँ गाउँमा महिलालाई ग्यास सिलिण्डर बाँडने उनको अभियान के हुन्थ्यो ? स्वच्छ भारत अभियानको अवस्था के हुन्थ्यो ? बहुमतको सरकार भएकै कारण पाएको अधिकार उपयोग गर्दै मोदीले जस्तोसुकै निर्णय गर्दा पनि आज कसैले हल्लाउन सकिरहेको छैन।

 

भारतमा जसरी भाजपाले एकछत्र बहुमत ल्याएकाले प्रधानमन्त्री मोदीले आफ्नो सपना र सोच बमोजिम विकासको अभियान अगाडी बढाइरहेका छन्, नेपालमा पनि त्यस्तै बलियो सरकार अपरिहार्य थियो । सत्तरी वर्षको राजनीतिक रस्साकस्सिपछि मुलुकमा राजनीतिक एजेण्डालाई विश्राम दिएर आर्थिक एजेण्डातर्फ अग्रसर हुन बलियो सरकार नै चाहिन्थ्यो । त्यसैले जनताले बाम गठबन्धनलाई बलियो सरकार बनाउने म्यान्डेट दिए र मुलुकमा अहिले दुई तिहार्ई बहुमतको सरकार छ ।

 

जनताले बाम गठबन्धनलाई सरकारमा बलियो बनाएर पठाउनुको एक मात्र उद्देश्य थिति बसाल्नका लागि थियो । अर्थात लोकतान्त्रिक पद्धतिको जग बसालेर मुलुकलाई समृद्धितर्फ लैजानका लागि थियो । किनकी, आजको युगमा अब कुनै एक व्यक्तिको भरमा देश बन्दैन ।

 

कोही महानायक या नायकले देश बनाउने युग यो हैन । आजको विश्व न त डोनाल्ड ट्रम्पको चाहनाले मात्र चल्छ, न सि चिन फिङको चाहनाले । न पुिटन, न मोदी न किम जोङ इनले चाहेर चल्छ । यसैगरी देश पनि कुनै एक व्यक्तिको सपना या सोचले चल्दैन, जुन भ्रम प्रधानमन्त्री केपी ओलीमा देखिन्छ ।

 

देश नीति, नियम र पद्धतिले अगाडी बढाउँछ । आजको युगमा मुलुकमा गुण्डागर्दी तह लगाउन एकजना रमेश खरेल या सर्वेन्द्र खनाल मात्र बहादुर भएर पुग्दैन, सिँगो प्रहरी सिस्टम त्यस अनुकुल हुनुपर्छ । एकजना डा. डम्बर नेपालीले स्वदेशी लगानीमै चिलिमे हाइड्रो प्रोजेक्ट बनाएर मात्र हाम्रो हाइड्रो पावरको विकास हुँदैन, जलश्रोतको समग्र विकास हुनुपर्छ । ठिक छ, एकजना डा. गोविन्द केसीले अनसन बसेर केही आवाज उठाए, तर, उनी एक्लैले अनसन बस्दैमा मुलुकको स्वास्थ्य क्षेत्र पनि नसुध्रदो रहेछ ।

 

त्यसका लागि सरकारले नै उपयुक्त स्वास्थ्य नीति ल्याउनुपर्छ । एकजना रवी लामिछानेले टेलिभिजन शोमा होहल्ला गरेर मात्र हत्या, अपहरण, बलात्कार, ठगी धन्दालगायतका सामाजिक विकृतिमा कमी आउने त हैन, बरु बलियो सरकारले नै मुलुकमा ‘ल एण्ड अर्डर’को कडाइका साथ पालना गराउने हो । ट्राफिकका कुनै एकजना सिताराम हाछेथु असल भएर मात्र नपुग्दोरहेछ, मुलकुरा ट्राफिकका जामको समस्या हटनुपर्छ र त्यसका लागि बलियो सरकारले नै समग्र ट्राफिकका सिस्टमको व्यवस्थापन गर्र्ने खालको नीति, योजना र कार्यान्वयनको ग्यारेन्टी गर्नसक्छ ।

 

राजनीतिमा पनि एकजना गगन थापा, राजन भट्टराई, विश्वप्रकाश शर्मा, योगेश भट्टराई, धनराज गी, घनश्याम भुषाल, रविन्द्र मिश्र र रन्जु दर्शना आदि असल होलान् । तर, यसले समग्र राजनीतिमा केही फरक पार्दैन । घनश्याम भुषालजी असल त हुन नी, तर उनी असल हुँदैमा उनको पार्टीले डनलाई उम्मेदवार बनाउँन छाडेन क्यार।

 

गगन थापा असल त हुन् नी, तर उनी असल हुँदैमा उनको पार्टीको हालत सुध्रन सकेन क्यार । किनकी, उनीहरु असल भए पनि समग्रमा उनीहरुको दलको सँस्कार असल हुन सकेन । समग्रतामै संस्कार, व्यवहार र आचरण असल बनाउंनका लागि पनि समग्रतामै रुपान्तरण हुनुपर्छ । र, बलियो सरकारले नै त्यसखालको थिति बसाउँनसक्छ । सिस्टम ठिक भयो, त्यसले ठिक ढँगले काम गर्न थाल्यो भने एकाध व्यक्ति खराब हुँदैमा त्यसले समाजमा केही फरक पार्दैन ।

 

हामीले अहिलेसम्म के गर्दै आयौं भने कुनै एउटा असल समाजेवीको मोडल, कुनै एउटा असल प्रहरी या कर्मचारीको मोडल, कुनै एउटा असल महिलाको मोडल, कुनै एउटा असल सडकको मोडल, कुनै एउटा असल गाउँको मोडल बनाएर त्यसमै दंग पर्यौं । यसबाट के भयो भने ति मोडलको व्यक्तिगत जिवनमा त लाभ भयो, तर त्यसले समाजमा समग्र बदलाव ल्याउन सकेन । अतः देशमा एउटा बलियो सरकारले हरेक बेथितिलाई थितिम बदलोस्, विधि,पद्धती र प्रणालीले मुलुक चलोस् भनेर जनताले नेकपालाई भारी बहुमत दिएका थिए ।

 

बिडम्बना, बलियो र स्थीर सरकार बनेर पनि मुलुकको मुहार भने फेरिन सकेन । थिति बस्न सकेन, उल्टै बेथितिको ग्राफ बढदै गयो । सरकार गठन भएको आठ नौ महिना बितिसक्दा पनि प्रधानमन्त्री र मन्त्रीहरु भाषणबाजीमै व्यस्त छन् । बलियो र स्थीर सरकार भएपछि सब ठिक हुन्छ भन्ने चुनाबी नारा आज आएर फजुल साबित भएको छ ।

 

नेकपाको दुई तिहाई बहुमतको सरकार त झन बिगतका सरकारभन्दा तन्नम भएर निस्कियो । सात आठ महिनाभित्रै यो सरकार जनतामाझ अलोकप्रिय भएको छ । यसका हरेक हर्कतहरु जनताको आँखामा बिझाउने खालका छन् । सामाजिक सँजालहरु सरकारको विरोधले भरिएका छन् । नेकपाभित्रैबाट सरकारको तिब्र आलोचना भइरहेको छ । तर, प्रधानमन्त्री भने आफ्नो सपनाको दुहाई दिदै टिभीमा गफ दिनु छाडि रहेका छैनन् ।

 

अल्पमतको या सामान्य बहुमतको सरकार त बरु कुनबेला सरकार ढल्ने हो भन्ने चिन्तामा जनताप्रति केही हदसम्म उत्तरदायि देखिन्थे, तर कम्युनिष्टहरुको दुई तिहाईवाला सरकारमा त जनउत्तरदायित्वको साटो चरम दम्भ र अहँकार पो देखियो । हामीलाई पाँच वर्ष कसैले ढाल्न सक्दैन, हामीले जे गरे नी हुन्छ भन्ने अहँकारका कारण यो सरकार चरम निरंकुश र सर्वसत्ताबादी बन्न पुगेको छ । आखिर नेता, दल र नेतृत्व इमानदार भएनन् भने दुई तिहाई बहुमतको सरकार जनताका लागि उल्टै घाँडो हुँदोरहेछ ।

 

फेरी एकपटक नेपाली मतदाता रत्नपार्कमा आएर जादु देखाइ नक्कली सिलाजित बेच्नेको भुलभुलैयामा परेछन् । चुनावलगत्तै मुलुक समृद्धितर्फ होमिइहाल्छ भन्ने सपना फोस्रो रहेछ । यस्तै चाला हो भने यो पंक्तिकारले आफ्नै जुनीमा केरुङबाट काठमाडौंसम्म रेल आएको हेर्न नपाउने भो । तिन चार वटा मेगा हाइड्रो प्रोजेक्ट बनेको हेर्न पनि नपाउने भो । काठमाडौंबाट रेल चढेर पोखरा हुँदै बुटवलमा आफ्नो घरसम्म पुग्ने धोको पनि पुरा नहुने भो।

 

नेकपाले जनताको भावनामाथि खेलबाड गरेको छ । हाम्रो समृद्धि प्रकृयालाई मिठा र उत्तेजक नाराका साथ सुस्त गतितर्फ धकेल्ने काम भइरहेको छ । अब दश वर्षपछि कुनै नयाँ दलले बहुमत ल्याउला र नेपालको विकास गर्ला भनेर कुर्ने समय पनि हामीसँग छैन । भएकै शक्तिशाली दलमाथि विश्वास गरेर बलियो सरकार बनायौं । हामीसँग अलमलिने समय पनि थिएन । विकासको भोक लागि सकेको थियो । खाना कति शुद्ध छ भनेर ‘तराजु’ले जोख्ने समय पनि हामीसँग थिएन ।

 

तर, नेकपाले पस्किएको विकासको खाना कुहिएको परेछ । नेताहरुले माफियाको डाइनिङमा गएर मार्सी चामलको भुजा ज्यूनार गर्ने, जनतालाई विकासको किरा परेको चामलको भात खिलाउने काम गरे । शितल निवासदेखि प्रधानमन्त्री निवाससम्म दिनहुँ भोज भतेर र चियापान चलिरहेको छ । तर, जनता भोकै छन् । चियापानकै नाममा बिसौं करोड सकिएको छ । शासकहरु राज्यको ढुकुटीमा मस्ति मारिरहेका छन्, मानौं यो देश उनीहरुको ससुराली हो र उनीहरु ज्वाई हुन् । दुई तिहाईको गलैंचामा बसेर शासकहरुको यो ज्वाई रजाई कहिलेसम्म ?