झलनाथको अर्थपूर्ण प्रतिक्रिया– ‘विवाद शिथिल भएको छ’
कार्यकारी अध्यक्षको भूमिका पाएका भनिएका प्रचण्डले ‘हामी फेरि सम्हालिएका छौं’ भनेका छन् । राजनीतिमा सदासर्वदा विवादकै बीच रम्ने भनी परिचित प्रचण्डले यो सहमतिमै सन्तुष्टि जनाए भने कुरा अर्कै हो अन्यथा उनी नै ‘सम्हालिएको अवस्थाबाट फेरि छटपटीको बेहोसी’ मा उत्रिन सक्ने सम्भावनालाई नकारिहाल्न भने सकिँदैन । बिगतका कतिपय घटना र तिनले उत्पन्न गरेका तरंगहरु तर्फ फर्केर हेर्ने हो भने प्रचण्ड त्यति सजिलोसँग ‘सम्हालिने नेता’ का रुपमा विश्वास गरिँदैनन् ।
काठमाडौं । सत्तारुढ दल नेकपाको आन्तरिक विवाद मिलेको भनेर दुइजना अध्यक्षसहितका नेताहरुले आआफ्ना भाषा बताएका छन् । पूरै मिलिनसकेको नेकपा बीचमै विभाजन पो हुने हो कि भन्ने संशय अहिलेलाई टरेको देखिएको छ । बोली र व्यवहारमा नेताहरु इमान्दार रहेभने कम्तीमा यो प्रतिनिधि सभाले पूर्ण कार्यकाल भोग्न पाउने सम्भावना देखियो ।
दुइ अध्यक्ष नै विवादको मुख्य कारण थिए । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सत्ता साझेदारीका लागि भएको भनिएको गोप्य सहमति नै विवादको चूरो थियो । यतिन्जेल यिनै दुइजनाले सिँगो देश र जनताको समय बर्बाद गरे आपसी किचलोलाई लिएर । देशमा अनेक समस्या बल्झिँदै थिए र कोरोना महामारी पनि थपियो तर ओली र प्रचण्डको झगडा नै देशको केन्द्रीय बिषय जस्तो बनि नै रह्यो । यसले सरकार, दलहरु र राज्य प्रणालीप्रति नै जनतामा वितृष्णा बढाउन योगदान गरेको छ । यसको असर र लेखाजोखा भविष्यमा हुँदैजाने नै छ ।
शुक्रबारको स्थायी कमिटी बैठकमा विवाद अन्त्य भएको भनिएपनि त्यसमाथि विश्वास गरिहाल्ने आधारहरु एकदम कमजोर देखिन्छन् । उपाध्यक्ष बामदेव गौतमको राष्ट्रिय सभामा मनोनय हुन बाँकी नै छ । सरकारले उनको नाम शिफारिस गरिसकेको छैन । प्रधानमन्त्री ओली मनमा अर्कै योजना बुनेर बसेको कतिपयको बुझाई छ, उनी गौतमलाई कुनै किसिमले थान्को लाएर भर्खरै राजीनामा दिएका युुवराज खतिवडालाई नै फेरि पनि राष्ट्रिय सभामा मनोनित गर्न चाहन्छन् भनिँदैछ । राष्ट्रिय आवश्यकता भन्दा पनि अन्तराष्ट्रिय चासोलाई सम्बोधन गर्न खतिवडा अनिवार्य पात्र भएको बताईन्छ ।
यही बिषयले मिलेको भनिएको नेकपाको विवादलाई पुनर्जीवन दिने सम्भावना रहेको विश्लेषकहरु बताउँछन् । उपाध्यक्ष गौतमले अहिले आएर पनि पूर्व निर्णय अनुसार, अवसर नपाएमा उनी हातमा दही जमाएर बस्ने छैनन् भन्नेमा कुनै शंका छैन । त्यसकारण गौतमको थान्को बिना प्रधानमन्त्री ओलीले चैनको निन्द्रा पाउने सम्भावना देखिँदैन ।
नेकपाको विवाद मिलेको भनिएको दिन पूर्व प्रधानमन्त्री झलनाथ खनालले निकै अर्थपूर्ण शब्दहरुमा प्रतिक्रिया दिएका छन् । खनालका शब्दमा ‘दुइ अध्यक्षको प्रस्तावले विवाद शिथिल भएको छ ।’ खनालले किन शिथिल शब्द प्रयोग भन्ने बिषयमा चर्चा सुरु भैसकेको छ । उनको बुझाईमा विवाद कायमै छ तर तत्कालका लागि स्थगित मात्र भएको छ ।
अर्का पूर्व प्रधानमन्त्री माधव नेपालले पनि ‘नेतृत्व तहमा हार्दिकता होस्’ भनेका छन् । ओली र प्रचण्डवीचको तिक्तताको संघर्षमा प्रचण्डको साथ रहेका नेपालले आफू किनारामा पारिएको महसुस गरेको बुझिएको छ । तुलनात्मक रुपमा विपक्षी राजनीतिक दलहरुमाझ पनि सहज रुचाईने नेता नेपाल बितेको समयको समीक्षा गर्न आवश्यक भएको निष्कर्षमा पुगेको उनका निकट एक सूत्रले बताएको छ ।
नारायणहिटी परिशरबाट गणतन्त्रको स्मारक अन्यत्र सारिनुपर्छ भनेर बोलेका नेपाल वर्तमान पध्दतिप्रति नै असन्तुष्ट बनेको कतिपय पूर्व एमाले नेताहरुले नै ठानिरहेको बुझिन्छ ।
यता प्रवक्ता नारायणकाजी श्रेष्ठ दुइ अध्यक्षहरुको विवाद स्थगित भएपनि बैचारिक हिसाबले कुनै उपलव्धि नभएको ठान्छन् । उनले भनेका छन्, ‘हामी बिचारमा अस्पष्ट भयौं ।’
कार्यकारी अध्यक्षको भूमिका पाएका भनिएका प्रचण्डले ‘हामी फेरि सम्हालिएका छौं’ भनेका छन् । राजनीतिमा सदासर्वदा विवादकै बीच रम्ने भनी परिचित प्रचण्डले यो सहमतिमै सन्तुष्टि जनाए भने कुरा अर्कै हो अन्यथा उनी नै ‘सम्हालिएको अवस्थाबाट फेरि छटपटीको बेहोसी’ मा उत्रिन सक्ने सम्भावनालाई नकारिहाल्न भने सकिँदैन । बिगतका कतिपय घटना र तिनले उत्पन्न गरेका तरंगहरु तर्फ फर्केर हेर्ने हो भने प्रचण्ड त्यति सजिलोसँग ‘सम्हालिने नेता’ का रुपमा विश्वास गरिँदैनन् ।
दलभित्रको विवादमा बामदेव गौतमको छ बूँदे फर्मूलाले डुब्नबाट बचेका प्रधानमन्त्री ओली ‘हामी अब महाधिवेशनमा जानु पर्छ’ भन्दै स्थायी कमिटी बैठकबाट बाहिरिएका थिए । अब उनले गौतमको गुन तिर्छन् कि तिर्दैनन् भन्ने प्रश्नले नेकपाको राजनीतिलाई तताउने पक्का छ ।
नेकपाको शीर्ष नेतृत्ववीचको विवादलाई अहिलेको अवस्थामा अवतरण गराउन मुख्य भूमिका खेलेका गौतम भने स्थायी कमिटी बैठकभरी मौनता साँधेर बसे र त्यसपछि पनि उनको मुख खुलेको छैन । उनको यो मौनताले धेरैको ध्यान खिचिरहेको देखिन्छ । गौतमको यो मौनता के मा रुपान्तरण हुने हो, यो भने निकट भविष्यमा देखिँदैजाने छ ।
यता एकथरीले नेकपाको कलहको ‘मैझारो’ भएको भनी हर्ष बढाईँ गरिरहेको देखिन्छ । अध्यादेश प्रकरणसँगै चर्किएको विवाद पाँच महिनापछि शुक्रबार सहमतिमा पुगेपछि अब सदाका लागि नै झगडा मिलेजसरी व्याख्या गरिएको पाईन्छ ।
केपी शर्मा ओलीले प्रतिनिधि सभाको बाँकी अवधिभर प्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्ने र प्रचण्डले कार्यकारी अधिकारसहितको अध्यक्ष भएर पार्टीको नियमित कार्य गर्ने मुख्य बिषयमा सहमति बनेकाले विवाद स्थगन भएको कुरा भने यथार्थ हो । यसलाई आफू अनुकूल व्याख्या गरेर अन्योल बढाउने काम दलगत गुटबन्दीको शिविरहरुबाट भैरहेको देखिन्छ ।सरलपत्रिका

