‘नोस्टाल्जिया’मा सिमित बन्दै गाउँघरको दशै

गाउँमा शिक्षा र स्वास्थ्य उपचारको राम्रो व्यवस्था छैन । रोजगारको अवसर छैन । त्यसैले सवै पलायन भएका छन् । मान्छे मर्दा मलामी छैनन, बिरामी हुँदा बोकेर स्वास्थ्य चौकीसम्म लैजाने तन्नेरी छैनन् । त्यसैले दशै तिहार जस्तो महत्वपूर्ण चाडमा मात्र सम्झन्छन् मान्छेहरु गाउँलाई ।

दशैले ल्याएको खुशी, रौनकता र बहार अब अर्को वर्षसम्मको लागि सकिदै छ । बर्ष दिन भरिको हर्ष, खुशी र उमंग पर्वको समाप्तिसँगै कम हुँदै जान्छ । दुलही अन्माएको घर जस्तो हँुदैछ गाउँघर, फुंग, उदास र कान्तिहिन हँुदैछ, गाउँ ।
दशैमा भरिएको गाउँ खाली खाली हुँदैछ । अब गाउँ कुर्ने पालो बुढाबुढी, अशक्त र केहि बालबालिकाको मात्रै हो । अरु त शहर पस्ने, सहर बस्ने र परदेश जाने हुन । थोरै युवा चाँही युरोप अमेरिका र विश्वका उत्कृष्ट शैक्षिक गन्तव्य र रोजगारको शिलशिलामा बाहिर छन भने अधिकांश युवा जनशक्ति चै खाडी मुलुकहरु, मलेसिया र संसारकै जुनसुकै मुलुकको श्रम बजारमा खुनपसिना बेच्न विवश छन ।
बुहारी प्रायः काठमाडौं या आफुलाइ पायक पर्ने शहरी ईलाकामा झिल्के सपना बोकेर लालाबालाको शिक्षाको बहानामा अनुत्पादक, खर्चिलो र बिलासी जीवनशैलीमा अभ्यस्त छन । रहर, बाध्यता र अवसरको लागि पनि गाउँ छोडने बाध्यता छ, तर सबथोक यो मात्रै होइन ।
सहर पस्ने एउटा संस्कृति बनिसकेको छ । शहर जानु सान, मान र औकातको रूपमा बुझिन्छ वा अथ्र्याइन्छ । सहर पस्नु देखासिखी पनि हो । अप्रत्यक्ष रूपमा सरकारले प्रोत्साहित गरेको अवस्था पनि हो । गाउँ घर खाली हुनुको एउटा उदाहरण केटाकेटी पढाउने बहाना हो । आफ्ना नानीबाबुको सुखरक्षित भविश्य कुन बाबूआमाको चाह नहोला र ?
यहीँनेर एउटा गम्भिर र सहर केन्द्रित हुनुको मुल चुरो र अन्तर्य हो । सरकार र देश चलाउँनेहरु विगतदेखि बर्तमानसम्मका लागि प्रश्न छ ? किन शहरमुखी शिक्षालाई प्राथमिकता दिइयो ? गाउँमा राम्रा स्कुल र शिक्षालयहरु बनाउँन किन सकिएन ?
शिक्षामा लिएको बिभेदको नीति र अव्यवहारिक उदारताले शिक्षा र शैक्षिकस्थल तहसनहस पारियो । शैक्षिक उत्पादनमा बिबिधता भित्रियो । कमशल गुणस्तर भने प्राय ग्रामीण भाग र यसका बासिन्दाको भागमा पर्यो ।
भौगोलिक विकटता र दुर्गमको बासिन्दा हुनुको घाटा त स्वभाविकै थियो, तर नीति निर्माताहरुको कलुशित मानशिकता र दुराग्रहपुर्ण सोच र अल्पभिजनको कारण पनि गाउँ पछाडि पर्यो ।
गाउँलाई हेर्ने दृष्टीकोण र गाउँ हेरेर लिनुपर्ने नीति नलिएको कारण पनि गाउँ शिक्षा स्वास्थलगायत सारा क्षेत्रमा तल रह्यो जसको परिणति आज गाउँ बैँशविहिन र रङ्गबिहिन बन्यो । गाउँ खाली गर्ने सरकारी नीतिको कारण चाडबाडको बेला फुर्सदमा र यसो नोस्टालजिक हुँदा सम्झने मेलो बन्यो । गाउँ दुःखपर्दा सम्झने सुखमा बिर्सने अपायक ठाँउ बन्यो ।
हाम्रो शिक्षा नीतिले गाउँ फर्कन र गाउँमा आकर्षण दिन सिकाएन केवल गाउँ बिर्सन गाउँलाई हेला गर्न सिकायो । गाउँको महत्व र गरिमा घटाएर शहरमुखी हुन प्रेरित गरायो । आफ्नोपन रैथानेपन भुलाएर आयातित संस्कृतिमा बानी पार्यो । आफ्नोलाई निच सम्झेर अर्कोलाई उच्च र महान सम्झन बुझ्न सघायो ।
शिक्षाले आत्मनिर्भरताको बाटो स्वरोजगार र स्वाभिमानी बनाउँन छोडेर परनिर्भरता र पराश्रित हुन मद्दत गर्यो । उद्दमी र पौरखी बन्न छोडेर अर्काको कारिन्दा र कामदार बन्न उक्सायो । दिने, बांँडने हैसियत बनाउँन हैन लिने, माग्ने, र खोस्ने मनस्थितिको विकास गरायो ।
गाउँ बस्ने हैन गाउँ छोडने, गाउँ भुल्ने मानसिकता तयार गर्यो फलस्वरूप आज गाउँ रित्तै छ । दशै सकिएपछि गाउँ सुनसान र उजाड बन्दैछ । गाउँको स्वत्व आज बेबारिसे र अस्तित्वहिन छ । चाडमा रमाउँने गाउँ माडको ब्यबस्थाको कारण युवाबिहिन छ ।
चाडपर्व पनि पहिले जस्तो हुन छाडेको छ । आधुनिकताको नाममा कृतिमता भित्रिएको छ । रैथाने संस्कृति र आफ्नोपन गुमाएर ठिमाहपनको चपेटामा परेको छ । आफ्नो परम्परा र चलन क्रमशः मासिदैछ ।
परायापनको मारमा हाम्रा चाडपर्व दशै तिहारलगायत पर्दैछ्न जसको प्रभाव सजिलै देख्न र अनुभव गर्न सकिन्छ । रोटेपिङ झन्डै झन्डै विस्थापित बन्दैछ , लिङेपिङ हाल्ने जागर र जोश कम हुँदै गएको पाइन्छ ।
तिहारमा देउसी भैलोको लागि अत्याधुनिक साउन्ड सिस्टमले रैथाने भाका र भटटाइ खेल्ने देउसी भैलो विस्थापित बन्दैछ । दशैको मालश्री धुन र तिहारको गाइतिहारे भुलेर ‘तेरी कुर्ति सेक्सी लगति हे’ भन्ने टाइपका गीत र धुनमा लिप्त छौ । खुशी र उमंग साटने रमाइलो गर्ने पिङमा जम्माहुने मादल बजाएर नाचगान गर्नुको बदला जाड रक्सीमा रम्ने, अत्याधिक रूपमा जुवातास खेल्ने र रमाउने संस्कृतिमा रुपान्तरण भएको छ ।
गाउँ फेरिएको छ । सकारात्मक परिवर्तन समयको माग र आवश्यकता हो, तर नकारात्मक परिवर्तन बर्जित र बन्देज गर्ने विषय हो यसमा समाजको ध्यान गएको छैन आफ्नो रैथानेपन नासिनु सकिनु र लोप हुनु भनेको देशको आफ्नोपन सकिनु हो । देशको असामाजिक रुपान्तरण हुनु हो यसले अन्ततः देश छिन्नभिन्न बनाउन भुमिका खेल्छ ।
आधुनिक बन्ने देखिने र उदार हुनुको अर्थमा हामी आफ्नोपन सकाएर त्यसैको मलामी गैरहेका छौं । आफ्नो मौलिक परम्परा र निरन्तरतामा विश्वास र गर्व गर्नुपर्नेमा परसंस्कृतिकरणमा मख्ख छौ ।
दशै तिहारमा सयपत्री मखमली र गोदावरी फुल जसरी पहिले फुल्थ्यो अहिले त्यसरी फुल्दैन, घर सजाउँन प्लास्टिकका फुलको सहारा लिन बाध्य हुनुपरेको बिडम्बनापूर्ण स्थिति छ । तुलसी मासेर गांजाको खेति गर्दैछौ, हामी ।
दशै तिहारको खाद्यान्नदेखि अतिथी सत्कारको परिकारसमेत आयातित वस्तुमा भर पर्नुपर्ने अवस्था छ । पाहुना आउँदा दूध दहि र महिको परिकारबाट गर्दा सत्कार गरेको महशुस गरिन्न । तर, कोक, फेन्टा, पेप्सी, र रियल जुसले सामाजिक प्रतिष्ठाा बढाएको अनुभुत गरिन्छ ।
रैथाने सेलरोटी, अनरसाको ठाँउमा लालमोहन रसवरी र मिठाईका परिकार दिनु र लिनुमा गर्व गरिन्छ । लोकल कुखुरा छैन गाउँमा, ब्रोइलर कुखुराले लोकलको इज्जत धानी दिनु पर्ने कठिनाइ छ ।
बालन, भजन, किर्तन र खैजडी करिबकरिब मासियो यदि कतै बचेखुचेको भएमा त्यो आधुनिकता नदेखेको असभ्य र पाखे संस्कृतिको रूपमा पुकारिन्छ । आधुनिकता नदेखेको चलन र परम्परा भनेर खिल्ली र उपहास गरिन्छ ।
हामीले सामाजिक संस्कृतिका धेरै र महत्वपूर्ण कुरा सबै गुमाइरहेछौ । आफ्नो संस्कृति , आफ्नोपन, रैथाने मौलिकता र स्वपहिचान सबै गुमाएपछि बाँकी के रहन्छ होला ? अब आफ्नो छुट्टै, बेग्लै र अलग्गै पहिचान गुमाएर हामी के हुन्छौ ? कुन बाटो हिडछौ र कहाँ पुग्छौ होला ? शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मा लिएर बस्नेहरुको भेजामा यो घुस्ला या नघुस्ला ?
संस्कृति क्रमशः नासेको जिम्मेवारी कसले लिने होला ? संस्कृति त जोगाउँन र संरक्षण गर्न हुनुपर्ने हो, तर हामी तिव्र गतिमा मास्न उद्दत छौ । सकारात्मक उर्जा दिने महत्त्वपूर्ण चाड पर्व रितिथिति परम्परा र चलन त उदाहरणीय बनाउँन र जोगाउँन राज्यको आवश्यक चासो सरोकार र नीति हुनुपर्ने हो ।
हाम्रो संस्कृतिबाट हामी मात्रै होइन अरुले पनि लाभ लिन अनुकरण र अनुसरण गर्ने बाताबरण बन्नु उचित हुन्थ्यो । विश्वमै संस्कृतिका अध्येताको लागि अनुसन्धान र अध्ययनको महत्वपूर्ण गन्तब्य स्थल बन्थ्यो ।
गाउँ किन बस्ने ?
गाउँमा शिक्षा छैन, स्वास्थ्य उपचारको लागि राम्रो ब्यबस्था छैन, रोजगारको अवसर छैन अनि कोही किन गाउँ बस्छ ? मान्छे मर्दा मलामी छैनन् गाउँमा । बिरामी हुँदा बोकेर स्वास्थ्य चौकी लगिदिने बलिस्ठ पाखुरी छैनन् । बाटोमा लडेको कांडा फालीदिने मान्छे छैनन् गाउँमा । त्यसैले दशै तिहार जस्तो महत्त्वपूर्ण चाडमा मात्र सम्झन्छन् मान्छेहरु गाउँलाई ।
गाउँको माया ममता बढाउँने र गाउँ सुगम बसोबास स्थल बनाउँन नीतिनिर्माताले अब विशेष चासो राखेर गाउँमा आकर्षण दिन पुन प्रभावकारी गाउँफर्क योजना, नीति र कार्यन्वयन बनाउँनुपर्छ । कृषिको अथाह सम्भावना र अवसरलाई ध्यानमा राखेर कृषिनीति कृषकमुखी, गाउँमुखी बनाउँन र गाउँलाई कृषि र संस्कृतिको उपयुक्त स्थल बनाउँन सरकारी दृष्टि आजको आवश्यकता हो ।
होइन भने यथास्थितिमा गाउँका उर्वर भुमी अरु बन्जर र खण्डहर बन्नेछ । हाम्रो आफ्नोपन सकिनेछ । आफ्नोपन सकिएपछि हामी सकिनेछौ । परनिर्भरता र परसंस्कृति ग्रहणले चकनाचुर र भताभुङ हुनु अगावै सोचौं । गाउँ दुख्दा देश दुख्नु पर्छ । देशले गाउँ दुखेको उपचार खोज्नुपर्छ, देश दुखेको औषधि हामी सँगैछ ।
देश बनाउँने सामथर््य पनि हामीसँगै छ । दशै बर्षमा एक दिन सम्झिए झै देश, गाउँ एकदिन मात्रै सम्झने दुर्भाग्यपूर्ण स्थिति नबनोस । गाउँ गएर मैले यस्तै सोछे, सम्झे सबैलाई यो विषयलाई गम्भिरता साथ लिने सोच्ने, छलफल गर्ने र बहस चलाउँने प्रेरणा मिलोस । दशै समाप्तिको यो घडीमा पुन शुभकामना ! गाउँको गुमेको रौनकता र सान र कान्ति फर्काउन हामी सबै जिम्मेवार बनौं ।
आफ्नो गाउँ आफै बनाऔ । गाउँ बनेपछि देश नबन्ने कुरै छैन । बिदेशी श्रम बजारमा रगत, पसिना, आँसु र जीवन बेच्ने झन्डै पचास लाख श्रम सीप र लगन देश बस्ने वातावरण बन्यो भने देश साच्चिकै स्वर्ग बन्छ ।
