‘आत्मघाती आत्मवृत्तान्त’

आत्मकथाको बाढीमा आएका कतिपय आफैमा आत्मघातीसमेत छन् । निवृत्तिको वर्षदिन भित्रै फैसलाका सन्दर्भ, ६ महिना भित्रै सैन्य विप्लवका प्रसङ्ग, ३ महिना भित्रै करोडौँ मूल्यका उपहार पाएको बिषय आत्मवृतान्तमा समेटिदा यदि कानूनी राज्य वास्तविकतामा बहाल हुन्थ्यो भने अहिलेका धेरै आत्मकथाकार जेलखानामा हुन्थे, तर…….।

आत्मवृत्तान्तमा ‘सत्यको सिद्धान्त’लाई झण्डै ‘सर्वमान्य’ सिद्धान्त नै मानिन्छ । यसको प्रमुख कारण जसले आत्मवृत्तान्त लेख्छ, उसले जीन्दगीको महत्वपूर्ण चरण पार गरिसकेको हुन्छ । र, यस क्रममा भोगेका भोगाई अर्को पुस्तालाई सुनाएर जान चाहन्छ । लेखाईबाट प्रसिद्ध हुनभन्दा उसको इतिहासबाट अरूलाई शिक्षा मिलोस भन्ने उद्देश्य यसमा लुकेको हुन्छ ।
प्रसिद्ध टेनिस खेलाडी आन्द्रेइ आगासीले आफ्नो आत्मकथा ‘ओपन’मा आत्मकथा लेखनको उद्देश्य’bout ब्यक्त गरेको एउटा अनुच्छेद मलाई उनको आत्मादेखि आएको ‘आत्माकथा’ लाग्यो । “तपाईं आफ्नो जीन्दगीप्रति कसरी दुःख व्यक्त गर्नु हुन्छ । र, साँचो कथा सुनाउँदा कसरी पश्चाताप गर्नु हुन्छ?” उनी भन्छन “मेरो यो नै एकमात्र मौका हो आफ्नो खेल यात्राको तागत तपाईँहरूसङ्ग संप्रेषण गर्ने ।” उनले तीन बर्ष लगाएर लेखिएको आफ्नो कितावको नाम नै ‘ओपन’ राख्नुको कारणसमेत आफूले कहिल्यै नभेटेका लाखौँ मानिसमा यसले प्रभाव पारोस भन्नु रहेकोसमेत उल्लेख गरेका छन ।
बावुको दवावमा जवर्जस्ति खेल जीवनमा होमिएकोले उनमा परेको मनोवैज्ञानिक असर र उब्जिएको निराशाले आगासी ‘क्रिस्टल मेथ’ सेवनसम्म पुगेका रहेछन । त्यसलाई चिर्दै कसरी १९९९ को फ्रेन्च ओपनमा आश्चर्जनक पुनरागमन गरे र सबैभन्दा पाको उमेरको ‘नम्बर वान’ खेलाडी बन्न सफल भए भन्ने कथा अरूलाई सुनाउँदा पक्कै निराशामा बाँचेकामा प्रभाव पार्ने छ भनेरै उनले आफ्नो गोप्य कुरा खोलेको देखिन्छ ।
कुनै महत्वपूर्ण भूमिकामा रहेको व्यक्तिको इतिहास अरूले पनि लेखिदिएको हुन्छ । गिरिजाप्रसाद कोइरालाको औपन्यासिक कथा ‘एक्लो नायक’ र जीवनी ‘सिम्पल कन्भिक्शन’ हुन वा कृष्णप्रसाद भट्टाराईको ‘मेरो म’ हुन् । अथवा विनोद चौधरीको ‘आत्मकथा’ होस वा विवेककुमार शाहको ‘मैले देखेको दरवार’ हुन, सबैमा कथाका पात्रको भूमिकालाई थप उचाई दिने काम भएका छन, खासमा अर्कैका हातबाट, सहयोगीमार्फत वा सहलेखकमार्फत ।
तर, आफ्नै कथा किन लेखिन्छ भन्नेमा एउटा सामान्य मान्यता छ । इतिहासमा ‘म’ पात्रको उपस्थितिले महत्वपूर्ण प्रभाव पारेको हुन्छ । अथवा ‘म’ पात्रमा त्यो इतिहासले महत्वपूर्ण प्राभाव पारेको पनि हुनसक्छ, तर लेखाईमा त्यो ‘म’ गौण, अदृश्य वा तिरस्कृत भै दिन्छ । अर्काले भन्दा आफूले आफूलाई नजिकबाट चिनेको हुन्छ । त्यसैले यदि इमान्दर भएर लेखियो भने आफूले लेख्ने जति सत्य अर्काले कुनै हालतमा लेख्न सक्दैन, र न्याय पनि गर्न सक्दैन ।
यही सत्यको सिद्धान्तकै अर्को पाटो यही ‘प्रतिनिधित्वको सिद्धान्त’ पनि हो । दोस्रो ब्यक्तिले लेखिदिँदा आफ्नो भावना वा सोचाईको पूर्ण प्रतिनिधित्व सम्भव छैन । पूर्ण प्रतिनिधित्व नहुने भावना भन्नु नै सत्य ‘आंशिक’ मात्रै भयो । वा असत्य हुने सम्भावनासमेत बढ्यो ।
आत्मकथा लेख्ने दोस्रो कारण पनि त्यस्तैत्यस्तै छ । सत्य त उजागर गर्ने नै हो, तर अलि रोचक पाराले । यसको उद्देश्य सिकाईमा सिमित नभएर विभिन्न रसको प्रयोगमार्फत चाख लाग्दो बनाइन्छ । कसैको हुर्काई देखिको सबै अनुभव अर्काको लागि रहस्यमय र अनौठो हुन्छ, वा जीन्दगी नै विडम्बनापूर्ण हुन्छ । कुनैकुनै आत्मकथाले रहस्य, अनौठोपन र विडम्बनाले भरिएका चर्चित व्यक्तिदेखि गुमनामसम्मका र प्रसिद्धदेखि वदनामसम्मका कथालाई चाखलाग्दो पाराले संप्रेषण गरिदिन्छ । हरिबंश आचार्यको ‘चिना हराएको मान्छे’, पढ्दा शिक्षाप्रद कुनै प्रसङ्ग छैन, पढाई मात्र सफलताको एकमात्र मानक हो भन्ने तथ्यलाई खारेज गर्नेबाहेक । तर, लेखाई रोचक छ, प्रसङ्ग रमाइला छन । महको ‘म’ त्यस्तै छ ।
अहिले नेपालमा आत्मकथाको माहोल छ । कुनै ठूलो अनुसन्धानको आवश्यकता नपर्ने, स्रोत र साधन जुटाउँनु नपर्ने भएकोले होला अधिकाँश निवृत्तहरू, ‘सल्लाहकार’मासिमित नेताहरू र महत्वाकाँक्षी ब्यापारीहरू आत्मकथा लेख्न र लेखाउँन लागेका देखिन्छन । तर, आत्मकथा कहिले लेख्ने, के लेख्ने र कसले लेख्ने भन्ने बिषयमा भने प्रशस्तै टिकाटिप्पणी भएको पाइन्छ, खासगरी निवृत्तको निवृत्तोत्तर दायित्व, व्यापारी र नेताको इमान्दारी र कथाले विगार्ने वा सपार्ने अन्य व्यक्तिको सम्बन्धका कारण ।
भनिन्छ आत्मकथाको ‘सत्यता’ कुनै व्यक्तिको जीन्दगीमा देखिने खालका ऐतिहासिक तथ्यमा भर पर्छ । जति आकर्षणमुक्त जीन्दगी छ, त्यति यथार्थपरक आत्मकथा बन्छ रे । त्यसैले उत्कृष्ट जिन्दगीकै उत्कृष्ट कथा बन्छ भन्ने छैन । उत्कृष्ट प्रस्तुतिमार्फत आफ्नो जीन्दगीका खराब कामसमेत बाहिर ल्याउँने चलन छ, आफैँलाई ‘ड्यामेज’ गर्ने हदसम्म नपुगी त्यो सम्भव छ भने ।
तर, नेपालमा लेखिएका धेरै आत्मकथा ‘स्वप्रसस्ति’मा रमेका देखिन्छन । खेताला लगाएर तयार भएका आत्मकथाको त झन कुरै अर्कै छ । दुई सेनामुखसहित तीनजना जर्नेलका आत्मकथा उनीहरू निवृत्त हुना साथ आए । ३ जना पूर्व सिडिओ र २-३ जना सचिवका आत्मकथा देखिए । पूर्व प्रधानमन्त्रीहरूका आफैँँ लेखेकादेखि अर्कैले लेखिदिएकासमेत ३-४ वटा आत्मकथा देखिए । एकादुईबाहेक सबै आत्मप्रशंसामा केन्द्रित छन ।
खासगरी नेता र निवृत्तका आत्मकथा पढ्दा लाग्छ, यो देशमा सूर्य उदय नै चाहीँ वहाँको कारणले भएको होइन रहेछ अरू सबैको कारक हुन् । कतिपय अवस्थामा दुई जनाको आत्मकथा पढेर तिनले जे जे भनेनन त्यो सत्य हो भनेर बुझ्नुपर्ने अवस्थासमेत आउँछ । ति ‘सेल्फ रिफ्लेक्शन’, ‘सेल्फ रियलाइजेशन’, ‘कन्फेशन’ नभएका निश्चित घटनाकेन्द्रित ‘स्मरण’हरूसमेत हामी अज्ञानतावस होस वा जानाजान ‘आत्मकथा’को नाम दिईरहेका हुन्छौँ ।
पूर्व प्रधानन्याधीश सुशिला कार्की र वहाँका श्रीमान दुर्गा सुबेदीका आत्मकथा एक महिना भित्रै प्रकाशित भए । सुबेदीको इमान्दारी भनेको उनले आफ्नो कथा विमान अपहरण वरिपरि मात्रै घुमाए । उनले आफू कसरी हुर्के, कसरी महान भए, कतै उल्लेख गरेनन । कहिल्यै लाभको पदमा बसेनन, किताबले नाफाघाटा जे गर्छ, उनलाई मतलब भएन । उनले जसजसलाई किताबमा उल्लेख गरे, त्यसले न लेखकको व्यक्तित्वलाई निर्माण वा ध्वस्त गर्छ, न उल्लिखित ब्यक्तिलाई ।
तर, पूर्व प्रधानन्यायाधीश कार्कीले उल्लेख गरेका नामले त्यस्तो गर्न सक्छ । त्यही भएर उनले कान्तिपुर टिभीको एक कार्यक्रममा भनेकी थिइन, “कतिपय ठाउँमा नाम लिएकी छैन । तर, कतिपय ठाउँमा भएका विकृति त बाहिर ल्याउनु पर्यो नि”। निवृत्त हुना साथ लेख्ने हतारो वारे उनले भनेकी छन, आफू महिला भएकै कारण खेपेका दुःख तुरुन्त बाहिर ल्याउँन आवश्यक भएकोले निवृत्त हुना साथ लेखेको रे ।
जति विवादमा आए पनि र महाभियोगको लागि निलम्बनसमेत परे पनि सुशिला कार्कीको कार्य सम्पादन क्षमता र नैतिकतामा प्रश्न उठेनन् । त्यही भएर होला उनले पुरुषवादी चिन्तनलाई आक्रमण गर्दा पनि खासै आलोचना भएका छैनन । यो लेखकको व्यक्तित्वसिर्जित सुबिधाजनक धरातल हो । तर, कानूनी पाटो अलग हुन सक्छ । उनले गरेका फैसला अझै पुनरावलोकनका चरनमा हुन सक्छन, निश्चित मुद्दामा जोडिएका उनका सहकर्मी अझै काममै हुन सक्छन र उनका विचारले भोलीका न्याय सम्पादनमा असर पुग्न पनि सक्छन ।
ढिलो लेख्दा बिर्सन सक्ने र प्रभाव कम हुने वा मान्छे नै मरेर जान सक्ने तर, तुरुन्त लेख्दा त्यसले संस्थाको कामकार्वाहीमा नराम्रो असर पर्न सक्ने । त्यसो भए लेख्ने सही समय हुन हो त? मैले उत्तर कतै भेट्टाएको छैन ।
अरू सरकारी दस्तावेजको हकमा गोप्य राख्नु पर्ने समय देशअनुसार फरक छ । अमेरिकामा राष्ट्रपतिको कार्यकारी आदेशले ‘कन्फिडेन्सियल’, ‘सेक्रेट’ र ‘टप सेक्रेट’ दस्ताबेजलाई कति समयपछि सार्वजनिक गर्नुपर्छ भन्ने तोक्छ । बेलायतमा ‘अफिसियल सेक्रेट एक्ट’ छ । तर, निवृत्त हुनेले कति समयसम्म आफ्नो कामसँङ्ग सम्बन्धित कुरा नलेख्ने भन्ने कुरालाई यस्ता कानून वा आदेश भए पनि काम गर्दैन । त्यसैले अमेरिकामा बेलायतमा ‘राष्ट्रिय सुरक्षा’लाई केन्द्र विन्दुमा राखेर यस्ता व्यवस्था भए जस्तै हाम्रो देशमा केलाई आधार मान्ने भन्ने स्पष्टता छैन ।
आर्मीका पूर्व प्रमुखहरू निवृत्त हुना साथ राजनैतिक नेतृत्वसँङ्ग्को सामिप्यता वा दूरीलाई बाहिर ल्याउँन उद्यत देखिन्छन । न्यायालयको प्रमुखले प्रधानमन्त्रीसँङ्ग भएको कुराकानी बाहिर ल्याएकी छिन । उनको तर्क सत्य र खुलापनको सिद्धान्तमा आधारित छ । जनताको न्यायिक क्षेत्रको अन्तिम आशा भित्रका कथाब्यथा कस्ता छन भनेर बाहिर ल्याउँनै आफूले आत्मकथा लेखेको उनले उल्लेख गरेकी छन ।
यि भए हाम्रा परम्परा, नैतिकता र व्यक्तिगत सोचाइका कुरा । तर, कतिपय निवृत्तले लेख्दा रौसिएर आफ्ना गैर कानूनी कामसमेत उल्लेख गरेका छन । एक पूर्व प्रधानसेनापतिले आफ्नो छोराको बिहेमा एक धनाढ्य सम्धिले मर्सि्डिज कार उपहार दिएको कुरा गर्वसाथ उठाएका छन । उनलाई हेक्का हुनेपर्ने नेपालमा दाइजो र उपहारको वैधानिक सीमावारे । त्यति महँगो उपहारको कानूनी जटीलता’bout ।
भोली निवृत्त प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्व गुप्तचर प्रमुख देवीराम शर्मा, पूर्वा राजा ज्ञानेन्द्रसमेतले सके आफैँ नत्र खेतालामार्फत भए पनि आत्म कथा लेख्ने छन । ज्ञानेन्द्रको त कुनै सपथ छैन अरूको त पदबाट हटेपछिसमेत आफू पदमा हुँदाका बखत पाएका सूचना गोप्य राख्छु भन्ने सपथ सुरक्षित छन ।
३७ बर्ष अमेरिकी सेनामा काम गरेका र १४ महिना सिआइएको प्रमुख रहेका डेभिड पिट्रेयसलाई उनले रिटायर्ड भएपछिसमेत रिपोर्टरमार्फत अति गोप्य सूचना चुहाएको आरोपमा अदालतले २ बर्षे निगरानीमा राखेको उदाहरण छन । जगत नेपालको पुस्तक विमोचनका वेला बोलेका कुरालाई लिएर एक पूर्व राष्ट्रपतिले गरेको गल्ति महसूस र एकदिने सेना प्रमुखले लेख्न थालेको आत्मकथामा जङ्गी अड्डाले लगाएको रोकसमेत हामीलाई थाहा छ । भर्खरै निवृत्त सेना प्रमुखले चाहिँ आफू आत्मकथा भने लेख्दिनँ भन्दै बाहिरिए भन्ने चर्चा चलेको थियो, उनको बिदाइको दिन ।
देशलाई खुला, पारदर्शी लोकतान्त्रिक मुलुक बनाउनसमेत कति बर्षसम्म कस्ता कुरा गोप्य राख्ने रर गोपनियता र पारदर्शी शासनका सीमा के हुने भन्नेसमेतको एउटा कानून आबश्यक छ ।
आत्मकथाको बाढीमा आएका कतिपय आफैमा आत्मघातीसमेत छन् । २००९ मा प्रकाशित आफ्नो पुस्तकमा आगासीले आफूले लागू औषध प्रयोग गरेको स्वीकार गरेकोले उनीमाथि कुनै अभियोग लगाउँने कि नलगाउँने भनेर लागू औषध विरुद्धको अन्तरराष्ट्रिय संस्था (वाडा)ले अनुसन्धान गर्न चाहेको थियो । निवृत्तिको वर्षदिन भित्रै फैसलाका सन्दर्भ, ६ महिना भित्रै सैन्य विप्लवका प्रसङ्ग, ३ महिना भित्रै करोडौँ मूल्यका उपहार पाएको बिषय आत्मवृतान्तमा समेटिदा यदि कानूनी राज्य वास्तविकतामा बहाल हुन्थ्यो भने अहिलेका धेरै आत्मकथाकार जेलखानामा हुन्थे, तर……..।

