राष्ट्रनिर्माणका विश्वकर्मा दाइ

भनिन्छ, आत्मैदेखि गरेको अठोट पूरा हुन्छ ! समर्पित बन्दै गर्छु भनेर लागेको व्यक्तिले गर्छु भनेको कुरा पुग्छ, पुग्छ ! अहिले खड्गप्रसाद ओलीलाई त्यस्तै भएको छ । उनले भनेका थिए, मलाई र मेरो बामपन्थी मोर्चालाई मत दिएर चुनाव जिताउनु होस्, म मतदातालाई अहिलेको दूरावस्थाबाट पार लगाउछु ! ओलीको भनाईमा जनताले विश्वास गरे । ओली र उनको प्यानललाई स्थानीय, प्रदेश र प्रतिनिधिसभा तीनै तहको चुनावमा जनताले अत्यधिक मत दिएर जिताइदिए । अब बोलेको कुरा गरेर देखाउने पालो ओलीको हो । त्यसो भए ओलीले अब के गर्नु पर्छ ?

 

‘एउटा चिनीयाँ लोककथा छ, जो प्रधानमन्त्री केपी ओलीसंग ठ्याक्कै मेल खान्छ ।’ लामो समय अरबमा निर्माण संबन्धी काम गरेर स्वदेश फर्र्किएका वरिष्ठ इन्जिनियर गणेश उपाध्यायले भने— त्यो चिनीयाँ लोककथाको शिक्षा हो, एउटा अठोट लिएर तिमी लागिरह्यौ भने सफल हुन्छौ । ओली समृद्ध नेपाल बनाउछु भनेर लागिरहे । जनताले तिनैलाई सफल बनाए । उनी भर्खरै आधुनिक संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री बनेका छन् ।

 

 

चिनीयाँ कथा यसप्रकार छ–एउटा अग्लो डाँडो थियो । डाँडोको दुईतिरको फेदीमध्ये एकातिर उब्जाउ फाँट र अर्कोपट्टि बाक्लो बस्ती थियो । त्यसैले ओल्लोपट्टि भएको उत्पादन बिक्री गर्न डाँडो चढेर पारीपट्टि लैजानु पर्दथ्यो अथवा सामान किन्नेले काँधमा बोकेर डाँडो काट्नु पर्दथ्यो । त्यसैले किसानलाई आफ्नो सामान बिक्रि गर्न र अरुको सामान किन्न अग्लो डाँडो उक्लनु र ओर्लनु पर्दथ्यो ।

 

 

पुस्तौंपुस्तादेखि डाँडो चढेर ओहोर–दोहोर गर्दागर्दा थाकेको एउटा बुढो चिनियाँ किसानले सोच्यो, यो डाँडो काटेर अब म धेरै वर्ष आउजाउ गर्न सक्दिन । यो डाँडो हाम्रो समृद्धिको बाधक हो तर यही डाँडोमा सुरुङ खनेर पल्लोपट्टि छेड्न सकियो भने एकैछिनमा यता र उता आउजाउ गर्न सकिन्छ । हामी सबैको समृद्धिको दिन शुरु हुन्छ ।

 

 

बुढो किसान कुटो, कोदालो, घन, डोको र छिनो लिएर एक्लै सुरुङ खन्न थाल्यो । बुढो भैसकेको मानिसले अजंगको पहाड छिचोल्न सक्ला ? डाँडो नछिचोल्दै बुढो मरिसक्छ । बुढोले मूर्खतापूर्ण काम थाल्यो भनेर साह्रा गाउले हाँस्न र गिल्ला गर्न थाले । उसलाई हँस्सीमजाकको पात्र बनाइयो । तर बुढोले सुरुङ खन्ने काम रोकेन, गरिरह्यो । बुढोको ढिपी देखेर कसैले बौलाहा भने, कसैले महामूर्ख । आफन्त र घरपरिवारले पनि असंभव काममा नलाग, नगर भनेर रोक्न खोजे । तर बुढोमान्छेले पहाड कोपर्न छाडेन ।

 

 

बुढाको कामवारे गाउका केही युवाले सल्लाह गरे, हेर छोटो बाटो बन्यो भने त्यो हामीसबैका लागि पनि त हो । बुढो मात्र हिड्ने त होइन । त्यसैले बुढालाई अलिकति भए पनि सघाउन जाँउ न ! दश भाइ युवा आफूसंग भएको कुटो, कोदालो, साबेल लिएर बुढाले काम गरिरहेको ठाउमा सघाउन पुगे ।

 

 

कहाँ एकजनाले खनेको र कहाँ आठदश जना लागेपछि खनेको ? सुरुङ क्रमैसंग गहिरिंदै जान थाल्यो । ती युवाले बुढालाई यसरी सहयोग गर्नसक्छन् भने हामीले पनि किन अलिकति सहयोग नगर्ने भन्दै युवा युवती, केटाकेटी आए ? अरु मानिसको मनमा पनि बुढाको कामप्रति श्रद्धा लाग्न थाल्यो ।

 

 

उनीहरु त गए, हामी किन नजाने भनेर ओल्लोपल्लो गाउका युवायुवती गैंची–बेल्चा बोकेर पुगे । एक्लो बुढोले महिनौं गरेको भन्दा धेरै काम एकैदिनमा हुन थाल्यो । गर्दागर्दै सुरुङ छिचोल्ने मेलो छिटोछिटो सर्न थाल्यो ।

 

 

पारिपट्टिका मानिसले पनि डाँडो चढेर ओहोर दोहोर गरिरहँदा बुढाले सुरुङ खनेर बाटो बनाउदै गरेको देखिरहेका थिए । उनीहरु पनि बुढाले काम त ठीकै शुरु गरेको हो, हामीले पनि सघाउनु पर्छ भनेर हातेमालो गर्न आइपुगे । पूरा गाउले नै सलबलाउन थाले । आफ्नो पट्टि सुरुङको मुख कहाँनेर निस्कन्छ भन्ने नाँपजोख गर्दै त्यहीँबाट खन्न थाले ।

 

 

डाँडोको दुबैतिर मेला झंै हुन थाल्यो । मानिसको चहलपहल एकदमै बढ्यो । त्यहीं बजार पनि लाग्न थाल्यो । डाँडोका दुबैतिर भन्दा टाढाका मानिस पनि सघाउन जम्मा हुन थाले । सयौं मानिस सुरुङ खन्ने, ढुंगामाटो पन्छाउने गरिरहे । दिनदिनै नयाँनयाँ मानिस बाटो खन्ने काममा थपिंदै गए र एक दिन साँच्चिकै सुरुङ छेडियो । डाँडो छिचोलियो । घण्टौंघण्टा उक्लेर लखतरान भएपछि मात्र पुगिने डाँडाको दुबै फेदीका मानिस केही मिनेटमै पुग्न थाले । बिकास फैलियो । दुबै फेदी झन्झन् सुगम बने ।

 

 

त्यसपछि दुबैतिरका वासिन्दाले पहिला आफैंले मूर्ख भनेको किसान बुढाको अभिनन्दन गरे । उनको शालिक दुबै फेदीमा बनाए । एउटै व्यक्तिको भए पनि शालिक भने फरक मुडका थिए । एउटा फेदीमा शुरुमा काम गर्न थाल्दाको पिडित बुढाको र अर्को फेदीमा काम सकिएको खुशीयालीमा मस्तसंग हाँसिरहेको उही किसानको ।

 

 

कथा सकियो । यो कथाको चर्चा किन गरिएको हो भने, कुनै पनि काम थाल्दा शुरुमा बाधा विरोध हुन्छ । नयाँ काम थालनी गरे सबैभन्दा बढी उसैको बाधा बिरोध र खिसिट्युरी हुन्छ । त्यसमाथि अभेद्य जस्तो लाग्ने पहाड छेडेर सुरुङ बनाउने किसानको सपना कम्ता बहुलट्ठीपूर्ण थिएन । स्वप्नदर्शी चिनीयाँ किसानले शुरु गरेको सबैको हितहुने काम भए पनि प्रारंभमा उसलाई हँस्सीमजाकको पात्र बनाइयो ।

 

 

कुनै पनि ‘पायोनियर’ व्यक्तिको इतिहास खोतल्नुहोस्, उसको हँस्सीमजाक नै भएको पाइन्छ । म्याडम क्युरी हुन् वा अल्वर्ट आइन्स्टाइन वा धरहरा बनाउने भीमसेन थापा सबैको शुरुमा बुढो चिनीयाँ किसानको जस्तै बिरोध र हँस्सीमजाक भएको थियो । जब काम सम्पन्न भयो, सबैभन्दा पहिला बिरोध गर्नेहरु नै उनीहरुको प्रसंसा गर्नेमा अगाडि देखिए ।

 

 

चिनीयाँ किसानलाई जस्तै निकट बिगतमा स्वप्नदर्शी प्रधानमन्त्री भनिएका केपी ओलीलाई जोकर बनाउन खोजीयो । उँडाइयो । फेसबुके र ट्वीटेहरुले समेत उडाउनु सम्म उडाए । तर चिनीयाँ बुढो किसानले झैं आफूले बनाएको चीनसंग रेल जोड्ने, खुला समुद्रमा नेपाली झण्डा फहराउदै ठूला जहाज चलाउने, हावाबाट बिजुली निकाल्ने, दुबै छिमेकीसंग सुमधुर संबन्ध राख्ने, नेपाललाई संसारकै आकर्षक गन्तब्यस्थल बनाउदै देशलाई समृद्ध बनाउने रटान कहिल्यै छाडेनन् ।

 

 

उनले आफ्ना कुरा दोहो¥याइरहे । उनको भनाइ र गराइमा दम भएको नेपाली मतदाताले देखे भोगका थिए । भुकम्पले थङथिलो बनाएको नेपालमाथि छिमेकी भारतले ज्यानमारा नाकाबन्दी गर्दा डटेर सामना गर्ने लिखुरे ओली नै थिए । उत्तरी छिमेकी चीनलाई हिमालय पर्वतले छेकवार गरे पनि ओलीले हामी विज्ञान र प्रविधिको सहयोग र छिमेकी मित्रराष्ट्रको मद्धतमा आवश्यक परेको ठाउमा सुरुङ खनेर, सडक–रेलमार्ग बनाएर आवश्यक सामान आयात र निकासी गर्दै बाँकि विश्वसंग संबन्ध कायम गर्न सक्छौं भनेर ओली लागिरहे ।

 

 

त्यस्तो अप्ठेरो बेलामा चीनले पनि पेट्रोलियम पदार्थ सहयोग गरेर सच्चा मित्रताको हात अगाडि बढायो । ओली र नेपाली नेतृत्वले देखेको सपना यथार्थमा परिणत हुनसक्छ भन्ने संकेत ग¥यो ।

 

 

त्यसपछि ओलीलाई विदेशीको मिलेमतोमा सत्ताच्युत पनि गरियो । तर ओलीले आफ्ना कुरा भन्न कहिल्यै छाडेनन् । जनताले पनि पहिले स्थानीय, त्यसपछि प्रदेश र संघीय संसदको निर्वाचनमा क्रमैसंग ओलीको बामपन्थी मोर्चाका उम्मेदवारलाई जिताइदिए । त्यसैकारण अहिले स्थानीय, प्रदेश र केन्द्रीय सरकार ओलीको नेतृत्वमा भारी बहुमतका साथ बनेको छ ।

 

 

यतिखेर त ओली देशका आधुनिक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रथम निर्वाचित प्रधानमन्त्री बनेका छन् । यी तिनै ओली हुन् जसले उठाएका सोच, विचार र सिद्धान्तलाई सधैं एकलब्य जसरी विपरित परिस्थितिमा पनि शंखनाद गरिरहे । यसैकारण जनताले ओलीको पक्षमा लहर नै सिर्जना गरिदिए ।

 

 

न सबै सर्बसाधारण अखबार, टिभी र रेडियो नै सुन्छन् नत सामाजिक संजालमै उनीहरु सशक्त छन् । तर उनीहरुले के बुझे भने, भारतले अनाहकमा नाकाबन्दी लगाएर नेपाललाई थिलथिलो पारिरहेको समयमा ओलीले संपूर्ण नेपालीलाई एकताबद्ध पारे । भारतले ज्यानमारा नाकाबन्दी गरे पनि हामी स्वाधीनतापूर्वक बाँच्न सक्छौं भन्ने आशा जगाए । त्यसैले देशको स्वाधीनतालाई जोगाउने व्यक्ति यिनै हुन् भनेर आमनिर्वाचनमा यिनलाई जिताउन जनता जागे ।

 

 

जनताले ओलीलाई राजनेता सावित गरिदिए । अभूतपूर्व रुपमा चुनाव जिताए । अहिले त उनी सत्तामा पनि आसिन भएका छन् । उनकै उम्मेदवारहरुको प्रदेश सरकार बनेका छन् । स्थानीय सरकारले पदभार ग्रहण जेठमै गरे । त्यसो भए के ओलीले भनेजस्तो नेपाल अब बनिहाल्छ ? अब रेलबाट चीन मात्र होइन, विश्वभर ओहोर दोहोर गर्न पाइन्छ ? अब भारतीय ग्याँसका सिलिण्डरको भर पर्नुपर्दैन ? हावाको बिजुली फालाफाल हुन्छ ? खुला समुद्रमा नेपाली जहाजको लर्कन लाग्छ ? आदि आदि ।

 

 

ओलीले गर्छु भनेका काम रातारात सम्पन्न हुने काम भने होइनन् तर यी काम असंभव र गर्न नसकिने पनि होइनन् । तर यसको लागि धेरै नै काम गर्नसक्नुपर्छ । अहिलेको हामी नेपालीको काम गराईबाट ओलीले भनेका काम पैट्याउन पनि गाह्रो पर्छ । धेरै ठूलो सुझबुझ, योजना, खर्च, समयमा काम गर्ने संस्कृति, जिम्मेवारी बोध नगरी ओलीले भनेका काम गर्न संभव छैन । ओली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा त्यत्तीनै दवावमा पर्नेछन्, जति एकवर्षदेखि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प दवावमा रहेका छन् । ट्रम्प संसारकै शक्तिशाली राष्ट्रको शक्तिशाली राष्ट्रपति भए पनि उनको विरुद्ध विपक्षी, धनिमानी र लम्पट बाह्रमासे राजनीतिक खेलाडीहरु सदियौंदेखि खाइपाइ आएको खान्की खोसिन लागेकोमा कन्दनी कँसेर चलखेल गरिरहेका छन् ।

 

 

अलिकति पनि ट्रम्प आत्तिए भए उनलाई नारायणहरि बनाइदिन सक्छन् । त्यस्तै अवस्था नेपालमा प्रधानमन्त्री ओलीलाई पार्न सक्ने संभावना छ । उनले फुकीफुकी पाइला चालेनन् र एकठाउमा पनि कहिंकतै अलमल भयो भने देशीविदेशी शक्ति, षडयन्त्रकारी, भ्रष्टाचारी, दलाल, माफिया, डन, अपराधी, कमिशनखोरी, कालाबजारीहरु यसरी जाइलाग्ने छन् कि जनताको मतबाट चुनिएको ओलीलाई पत्तो नपाई सिध्याउन सक्छन् । यिनलाई नाफा, पैसो, धन संपत्ति, ऐसआराम भन्दा केही चाहिएको छैन । देशकै पनि माया छैन । जनताको त कता हो कता ? तर ओली निमुखा नागरिकको मत र पक्षमा भएकोले राजनेता बन्न सकेका हुन् ।

 

 

त्यसैले फुकीफुकी पाइला चाल ओली ! अहिले तिमीले पाएको जिम्मेवारी नेपालमा युग परिवर्तनपछिको हो । तिमीले जनतालाई देखाएका सपनालाई यथार्थमा परिणत गर्नलाई हो । तिमीप्रति जनताको कति विश्वास र अपेक्षा छ भने जनताले पाँच वर्षका लागि आफ्नो सर्वपूँजी तिमी र तिम्रा प्रतिनिधिलाई सुम्पेका छन् । यो उनीहरुले आफ्नो सर्वस्व सुम्पेका हुन् । त्यसैले नारायणरुपी जनतालाई केन्द्रविन्दूमा राखेर अगाडिको कदम चाल ! दायाँबायाँ नहेर । एकलब्य बनेर देश र जनताको समृद्धिमा लाग । सिधासाधा परिश्रमी र इतिहासदेखि शासकबाट सधै निचोरिएका, गिजोलिएका र चिथोरिएका नेपालीलाई स्वाभीमानी बनाउ ।

 

 

यसको लागि तिमीले पर्खने होइन, एक मिनेट नपर्खीकन अगाडि बढ्नुपर्छ ’cause फलाम तातो र रातो छँदै हिर्काएपछि मात्र विश्वकर्मा दाइले भनेका सामान बनाउने हुन् । फलाम सेलाएपछि जति ठोके पनि त्यसबाट हसियाँ, कुटो, कोदालो केही बन्दैन । तिमी पनि राष्ट्र निर्माणका बिश्वकर्मा दाइ नै हौ ओली, त्यसैले फलाम तातोछँदै अर्थात, नयाँ सरकार बनेको माहौलसंगै आफ्नो समृद्धि अभियानलाई अगाडि बढाउ ।

 

 

तिमीले पहिलो कामको रुपमा सुशासनको प्रत्याभूति दिनुपर्छ, जसलाई प्रत्येक नागरिकले अनुभूत गरुन् । बिधि र प्रकृयामा मात्रै चल ओली । देशमा कानूनी राजको प्रत्याभूति गराउ ।

 

 

पुस्तान्तरणको थालनी गर ओली । तिम्रो बस, उठ र सहवास युवापुस्तासंगै हुनुपर्छ । खोज, छान, थुत, ल्याउ र संगै राख । नयाँ पुस्ताका बहुआयामिक मान्छेसंगै तिमी भयौ भने मात्र तिम्रो समृद्धि सपना पूरा हुन्छ । यो तिम्रो मात्र सपना होइन, प्रत्येक नागरिकको सपना हो । सबै नागरिक तब न तिम्रो साथमा छन् ।

 

 

तिमीमा ब्यक्तिगत स्वार्थमा छैनौ भन्ने देखिन्छ । त्यसैले रोगसंग जुधेर तिमीलाई प्राप्त नाफाको जिन्दगी देशविकास र जनताको समृद्धिमा लगाउ । गुटगत पिरलो चटक्कै छाडिदेउ । तिमीलाई भजाउने र दुरुपयोग गर्नेहरुको चक्रब्युहबाट जोगिय । तिम्रो संमृद्धिको भीजन नै नेपालको संबिधान हो भन्ने नबिर्स ।

 

 

संबिधान अनुसारका ऐन कानून बेलैमा बनाउ । सातै प्रदेशका सातै सरकार र ७ सय ५३ स्थानीय सरकारलाई कजाउ र काममा क्रियाशील गराउ । अहिलेसम्म यी अलमलिएका छन् । यिनलाई मार्गदिशा देउ ।

 

 

शान्ति सुरक्षाको अनुभूति प्रत्येक व्यक्तिलाई गराउन सकल प्रशासन, प्रहरी, सेना र सुरक्षा निकायलाई परिचालन गर । हरेक क्षेत्रमा जिम्मेवारी देउ र काम अनुसार सजायँ र पुरस्कार दिने थालनी गर । तिम्रो सुरक्षाकर्मीले लगाएको बर्दी देख्दैमा अपराधी डन माफिया तस्कर बलात्कारीको सातो जाओस् ।

 

 

कर्मचारीतन्त्रमा सुधार गर । अहिलेकै ढाँचा र शैलीमा अगाडि बढ्यौ भने कृष्णप्रसाद, गिरिजाप्रसाद, मनमोहन, माधव नेपाल, झलनाथ, शेरबहादुर, बाबुराम र प्रचण्डलाई खाने प्रशासनतन्त्रले तिमीलाई पनि लुगै नफुकाली क्वाप्ल्याक्कै पार्ने छ । सिध्याइदिनेछ । अगिल्लो सरकारले नियुक्त गरेकाको के को राजिनामा ? अमेरिकामा जस्तै गर, सरकार गएपछि सबै नियुक्ति बदर गर ।

 

 

कुनै पनि काम फाष्ट ट्राकमा गर्ने जुन कुरा छ, जिम्मेवारी तोक । समय तोक । यो काम यति दिन वा महिनामा हुने, खर्च यति लाग्ने भन्ने निश्चित गर । विशेषज्ञहरुको सल्लाहमा ‘टिम वर्क’ गर । जस्ले चुस्ती, फुर्ती र कम खर्चमा गर्छ उसलाई मन खोलेर पुरस्कृत गर, अझ ठूलो र महत्वपूर्ण जिम्मेवारी सुम्प । गर्दैन, गर्न सक्दैन भने दण्ड, जरिवाना र कारावासको सजाय दिने बिधि प्रकृया र पद्धतिको पालना गर । तिम्रै अगाडि देशमा केही सफल रोलमोडल छन्–काठमाण्डौं विश्वविद्यालयका उपकुलपति डा रामकण्ड माकजु, गंगालाल अस्पतालका भगवान कोइराला, भाटभटेनीका मीनबहादुर, विद्युत प्राधिकरणका घिसिङ, तीलगंगा आँखा अस्पतालका सन्दुक रुइत ।

 

 

पृथ्वीका जुन कुनाका भए पनि योग्य व्यक्तिलाई खोज र जिम्मेवारी देउ । दल, गुट, नातागोताको दलदलमा नफस । मात्र योग्य खोज र योग्यता अनुसारको जिम्मेवारी देउ ।

 

 

देशव्यापी जनसंलग्नता, जनपरिचालन शुरुवात गर । रवि नपुग्ने ठाउमा पनि कवि पुग्छन् भन्ने हेक्का राख । नयाँ, सवल र गतिशील नेतृत्व विकास गर्ने अवसर सिर्जना गर । ’cause चुनौति र अवसर दुबै यहीं छ , अहिल्यै छ । ठूला प्रोजेक्ट छिटो बनाउन एक ठाउबाट होइन, दश, बीस, तीस ठाउबाट थालनी गर । तोकिएको समय भन्दा पनि पहिले काम सम्पन्न गर्न सकिन्छ भन्ने रेकर्ड कायम गरेर देखाउ । आफूले पहिले बनाएका रेकर्ड हेरेर त्यसैबाट मख्ख परेर नबस । हरेक क्षेत्रमा अझ नयाँ रेकर्ड बनाउ । तिमीलाई यसकाममा सफलता मिलोस् । हार्दिक शुभकामना !