‘सामन्ती गिड्ने’ र ‘सैनिकसंग भिड्ने’को सुधार- भीम भुर्तेल

‘जनवाद’ र ‘जनजीविका’को लागि ‘सामन्ती गिड्ने’ ओली र ‘सैनिकसंग भिड्ने’  प्रचण्डको पार्टी एकिकरण वामआन्दोलनको लोकतान्त्रिक रुपान्तरण र यसको माध्यमबाट देशमा लोकतन्त्रको संस्थागत विकास र आर्थिक उन्नतिको आधारशिला निर्माण गर्नेतर्फ लक्ष्यित भयो भने मात्र जनादेशको सहि उपयोग ठहरिने छ ।

 

सामन्ती सव नगिडे

सैनिकसंग नभिडे

आँउदैन है जनवाद

भाषण ठोकेर

 

मैले  २०३७/३८ साल ताका हो, यो गीत पहिलो पटक सुनेको । यो गीतको बाँकी अंश के कस्तो छ, त्यो मलाई थाहा छैन । यो गीत कसले लेखेको हो, संगीत कसले दिएको हो, त्यो ’bout पनि अन्य थप केहि जानकारी छैन । सायद, यो गीत नेकपा कोर्अडिनेसन केन्द्रहुँदै  तत्कालिन नेकपा माले बन्ने प्रक्रियाको दर्मियान पार्टीको क्रान्तिकारी विचारधारालाई विस्तार गर्ने पार्टीको ब्राण्ड गीतको रुपमा गाइएको होला भन्ने राधाकृष्ण मैनालीको गत बर्ष प्रकाशित आत्मकथा ‘नलेखिएको इतिहास’ पढेका आधारमा अदान्ज मात्र गर्न सकिन्छ । यो बिषयमा मेरो आकलन गलत पनि हुन सक्छ, कसैलाई वस्तुगत जानकारी भए अवगत गराउन आग्रह गर्छु ।

 

 

तत्कालिन समयमा नेपाल कम्युनिष्ट पार्टी (माले)कोे नेतृत्वमा मदन भण्डारी नआउञ्जेलसम्म उक्त पार्टीको तत्कालको नेपाली क्रान्तिको रणनीति माओवादी विचारधाराबाट प्रभावित नक्सलवादी क्रान्तिको माध्यम हुने वा शान्तिपूर्ण आन्दोलनबाट भन्ने पक्ष/विपक्षमा तर्क/वितर्क र वाद/विवाद भएको थियो । पार्टी स्वतन्त्रता वा राजनीतिक स्वतन्त्रता पहिला भन्ने विवाद र बहस यसै बिषयमा केन्द्रित थियो कि भन्ने लाग्छ । पछि मदन भण्डारीले नेकपा मालेको कमान समालेपछि माओत्सेतुङ्ग विचारधारा र नक्सलवादलाई औपचारिक रुपमा परित्याग गरयो ।

 

 

यसको पछाडि एक प्रमुख कारण छ । त्यो के भने खासगरि नेपाली कांगे्रसका नेता विपि कोइरालाको मृत्युपछि गणेशमान सिंह वामपन्थीसंग मिलेर पञ्चायत फ्याँक्न र देशमा प्रजातन्त्र ल्याउँन सकिन्छ भन्ने विचारधाराका पक्षपाती थिए । नेपालका छिन्नभिन्न भएको बामपन्थी शक्तिलाई संगठित गर्दै कांग्रेससंग मिलेर पहिले पञ्चायत फाल्ने र बहुदलीय व्यवस्था स्थापित गर्ने विचारधारा मदन भण्डारीले पनि बोक्थे । उनी पार्टी महासचिव भएपछि हिंसात्मक  राजनीतिक बाटो औपचारिक रुपमा त्याग्यो । खसोखास भन्ने हो भने नेपालका वामपन्थीलाई फुटको मार्गबाट जुटको मार्गमा फर्काइदिने काम चाही गणेशमान सिंहले नै गरेका हुन ।

 

फेरी गीतको प्रसंङ्गतर्फ फर्कौ । २०४५ सालपछि सो गीत गाउन पनि छोडे, खासगरी पूर्वी नेपालका वामपन्थीहरुले । माओवादीले २०५२ सालपछि सैनिकसंग भिड्ने माओवादीले यो गीत गाए कि गाएनन त्यो मलाई थाहा छैन । माओवादी’bout राजनीतिशास्त्र र समाजशास्त्रको विधार्थीको नाताले राख्नेवाहेकको धेरै चासो नराखेकोले उनीहरुले गाएका गीत’bout मेरो ज्ञान सुन्य छ ।

 

अहिले नेपालको राजनीतिको सवैभन्दा ठूलो पार्टी नेकपा एमाले र तेस्रो ठूलो पार्टी नेकपा माओवादी केन्द्रवीचको एकिकरणपछि फेरी यो गीतलाई बिस्मृतिबाट स्मृतितर्फ तान्यो ।

 

देशमा ‘जनवाद’ ल्याउनको लागि २०२० को दशकको अन्त्यतिर नक्सलवादी विद्रोहको नाममा झापाका सामन्ती गिड्ने खड्गप्रसाद शर्मा ओली र २०५२ सालको अन्त्यतिर ‘जनवाद’ नै ल्याउँनको लागि सैनिकसंग भिड्ने पुष्पकमल दाहाल प्रचण्डले करिब ८ महिना अगाडि आम निर्वाचनमा गठबन्धन गरेर आम निर्वाचन लडे । त्यो कसैले पनि पत्याउँनै नस्कने कदम थियो । गठबन्धनले स्वाभाविक रुपमा निकै ठूलो जनादेश पायो । निकै ठूलो बहुमतको सरकार चलाउने अवसर पाए । उक्त आम निर्वाचनको समयमा गठबन्धन गर्दा नै निर्वाचनपछि पार्टी एकिकरण गर्ने धोषणाअनुसार नै अहिले दुवै पार्टी एकिकरण गरेर एउटै नेपाल कम्युनिष्ट पार्टी बनाए ।

 

पार्टी एकिकरण गरेपछि संसदमा प्रस्तुत गरेको नीति कार्यक्रममा २०७२ सालमा जारी गरेको संविधानअनुसार नै तर, महत्वाकांक्षी नीति तथा कार्यक्रम धोषणा गरेको छ, नेपाल कम्युनिष्ट पार्टीले ।

 

सरकारको नीति कार्यक्रमको बुँदा ४ मा संविधानले स्थापित गरेको लोकतान्त्रिक व्यवस्थाका आधारभुत मान्यता प्रतिस्पदात्मक बहुदलीय व्यवस्था, आवधिक निर्वाचन, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन, स्वतन्त्र न्यायपालिका, मानव अधिकार र मौलिक हकप्रति सरकार प्रतिवद्ध रहेको दोहो¥याएको छ । साथै, उक्त कार्यक्रमको बुदाँ नं १० मा ‘लोकतन्त्र मासिएला र अधिनायकवाद आउला भन्ने आंशका र अपेक्षाको अव कुनै अर्थ नरहेको’ उल्लेख छ । यसबाट वामपन्थीहरु अहिलेको संविधानको दायराबाटै आफ्ना नीति कार्यक्रमको आधारमा शासन गर्ने छन भन्ने विश्वास गर्नपर्ने हुन्छ ।

 

‘सामन्ती गिडेर’ र ‘सैनिकसंग भिडेर’ होइन देशको सत्ता सञ्चालनको चावी जनताले निर्वाचनमा मतपेटिकामा हाल्दिन्छन् भन्ने स्थापित भएको छ, सवैभन्दा अन्तिम परिणामको रुपमा । यस्तो अवस्थामा राजनीतिक जीवनको प्रारम्भ र मध्यमा ‘जनवाद’ ल्याउन ‘सामन्ती गिड्ने’ ओली र ‘सैनिकसंग भिड्ने’ प्रचण्डको दुई पार्टीको एकिकरणपछिको बाटो भनेको संविधानको दायराभित्रबाट निर्वाचनमा जनतासंग गरेका महत्वाकांक्षी र चुनौतीपूर्ण वाचालाई कार्यमा रुपान्तरण गर्ने नै हो । त्यो ‘जनवाद’ भनेको मदन भण्डारीले २०४९ सालको महाधिवेसनमा अनुमोदन गराएको ‘जनताको बहुदलीय जनवाद’ हो । त्यो वामपन्थीको जार्गनमा जे भनिए पनि अहिलेको संविधानमा उल्लेखित बहुदलीय र प्रतिस्पर्दातमक लोकतान्त्रिक राज्य व्यवस्था नै हो ।

 

‘सामन्ती गिड्ने’ र ‘सैनिकसंग भिड्ने’हरु एक भएर चलाउँने अधिकतम भनेको लोककल्याणकारी राज्य हो । त्यो कस्तो चलाउने छन भन्ने कुराको मुल्याङ्कन जनताले कस्तो गर्लान भनेर चै २०७९ को आम निर्वाचनसम्म कुर्नै पर्छ ।