भीमा एकादशीमा भीमेश्वरको मेला

‘भीमेश्वरको मेला, भेट भएको बेला, बुझ्यौ ?

लाइदिउँ माया हे साइँली, डर मान्नु पर्दैन ।’

लोकगायक कुमार बस्नेतले गाएको चर्चित गीत हो यो । गीतले भने झैँ भीमा एकादशीको अवसरमा दोखला भीमेश्वरमा मेला लागेको छ । तर विश्वव्यापी कोरोना महामारीका कारण पनि भीमा एकादशी मेलामा भक्तजनहरुको उपस्थिति भने न्यून छ ।

भीमा एकादशीको उपलक्ष्यमा मन्दिरमा संगीतमय आरतीको सुरुवात प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले गरेका छन् । आरतीका बेला जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको पनि उपस्थिति थियो ।

भीमेश्वर मन्दिरमा अबदेखि हप्ताको दुईपटक संगीतमय आरती हुने र सो आरतीको व्यवस्थापन दोलखा दर्शन होटलका सञ्चालक गम्भीर श्रेष्ठले गर्ने भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए ।

यो अवसरमा भीमेश्वर मन्दिरमा लघुरुद्री, होम यज्ञ आदिसहित रातभर बत्ती बालेर भीमा एकादशीको पर्व मनाउने गरिन्छ ।

भक्तजनहरु आफ्नो भाकल पूरा गर्न मन्दिर परिसरमा बत्ती बाली रातभर जाग्राम बस्ने गर्दछन् । आआफ्ना व्यापार, व्यवसाय, बालीनाली फस्टाओस् भनेर भीमेश्वरमा बत्ती बालेर र भजनकीर्तन गरेर जाग्राम बस्ने परम्परा छ । द्वादशीका दिन बिहान पूजा व्यवस्थापन समितिको तर्फबाट भीमेश्वरलाई बली चढाई प्रसाद ग्रहण गरेपछि पूजा यो पूजा समापन भएको मानिन्छ ।
कुन्तीपुत्र भीमसेनले माघ शुक्लपक्ष एकादशीका दिन दोलखाको कैलाश पर्वत अर्थात गौरीशंकर हिमालको नजिकमा रहेको हालको भीमेश्वर मन्दिर रहेकै स्थामा आई ब्रत बसी भगवान विष्णुको शक्तिबाट सबै पितृऋणबाट मुक्त गराएका कारण यो एकादशी भीमा एकादशी हुन गएको कुरा गरुढ पुराणमा उल्लेख छ ।


भीमा एकादशीको राती दोलखा र आसपासका जिल्लाका साथै काठमाडौँ उपत्यकाबाटसमेत ठुलो संख्यामा भक्तजनहरु आउने गरेकोमा केही वर्षदेखि यो संख्या घटेको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठ बताउँछन् । ‘यो वर्ष विश्वव्यापी कोरोना महामारीको त्रास अझै नसकिएकोले पनि भक्तजनहरुको संख्या घटेको अध्यक्ष श्रेष्ठले भने ।