नयाँ युग, नयाँ नेपाल ! –कृष्णमुरारी भण्डारी

यो संबिधानलाई कार्यान्वयन हुन नदिएर नारायणहरि बनाउन छिमेकी मुलुक भारतले ज्यानमारा नाकाबन्दी लगायो । संबिधान बनेको केही दिनपछि केपी ओली देशका नयाँ प्रधानमन्त्री बने । र, ओलीले भारतीय नाकाबन्दीको डटेर मुकाविला गरे ।

 

 

बिक्रम संबत २०७४ बिदा हुँदै छ । नयाँ वर्ष २०७५ संघारमै आइपुगेको छ । शुभकामनाहरु आदान प्रदान हुन थालिसकेकोे छ । हरेक व्यक्ति आफन्त, साथीभाइ र आदरणीय व्यक्तित्वहरुलाई मन खोलेर उनीहरुको , समाजको, देशको र विश्वकै कल्याणको कामना गरिरहेका छन् ।

 

 

तर यो आलेख, नयाँ वर्षमा नयाँ कामना होइन, विदा हुन लागेको २०७४ को वर्ष हामी नेपालीका लागि कति महत्वपूर्ण थियो यसले कसरी नेपालमा नयाँ युगको शुरुवात ग¥यो ? यो वर्ष नेपालीहरुलाई किन ज्यादै अविष्मरणीय छ ? यसले नेपाल र नेपालीहरुलाई के गुन लगाएर जाँदैछ ? यही विषयमा विदा हुन लागेको वर्षलाई फर्केर हेर्ने प्रयत्न गर्न खोजीएको छ ।

 

 

आउदो शुक्रबार राती बाह्र बजे २०७४ सधैंका लागि बिदा हुँदैछ । मंगलबार, बुधवार, बिहीबार गरेर ७२ घण्टा तथा शुक्रबार राती बाह्र बज्न बज्न लागेपछिका केही घण्टा मात्र बाँकि छ, त्यो समय सकिएसंगै नयाँ वर्ष २०७५ टुप्लुक्क आइहाल्ने छ र यो वर्ष पनि अरु वर्षजस्तै ३ सय ६५ दिनपछि सकिने छ र फेरि अर्को नयाँ वर्ष शुरु हुने छ । समयको चक्र आफ्नै रफ्तारमा घुमिरहने छ ।

 

 

२०७२ सालको वैशाख १ गते आउदा पनि २०७१ साल हामीबाट बिदा भएको थियो । तर नयाँ वर्ष शुरु भएको बाह्रौं दिनमा महाप्रलयङ्कारी भुइचालो आयो । जसले दश हजार मानिसको ज्यान मात्र लिएन, खरबौंको धन पनि नष्ट ग¥यो । ठूलो भुइचालो गैसकेपछि पनि पराकम्पहरु यतिधेरै गैरहे, जसको लेखाजोखा नै रहेन ।

 

 

त्यही हल्लिइरहेको वर्ष, नेपालको इतिहासमा पहिलो पल्ट जनप्रतिनिधिहरुले जनताले जनताकै लागि लोकतान्त्रिक संबिधान बनाएर जारी गरे । संविधानसभाका सदस्यहरुलाई संविधान बनाउन यही हल्लाउने बेलामा खास गरेर तीन हस्तीहरु कांग्रेसका सभापति सुशील कोइराला, एमालेका केपी ओली र एमाओवादीका प्रचण्डले मिलेर संबिधान जारी गराई छाडे । २०७२ असोज २ गते नेपालको संबिधान जारी भयो ।

 

 

यो संबिधानलाई कार्यान्वयन हुन नदिएर नारायणहरि बनाउन छिमेकी मुलुक भारतले ज्यानमारा नाकाबन्दी लगायो । संबिधान बनेको केही दिनपछि केपी ओली देशका नयाँ प्रधानमन्त्री बने । र, ओलीले भारतीय नाकाबन्दीको डटेर मुकाविला गरे । तर भारतले बिगतका नाकाबन्दीलाई पनि बिर्साउने गरी सिमानामा मधेशी दलका नेताहरुलाई दूरुपयोग गरेर नेपालविरुद्ध प्रयोग गर्यो ।

 

 

नेपालमा अत्यावश्यक सामान औषधीसमेतको हाहाकार मच्चाउदै नेपाललाई घुँडा टेकाउन भारतले कुनै कसर बाँकि राखेन । जसले गर्दा संबिधानसभाले जारी गरेको संबिधान बेलैमा कार्यान्वयन नै हुन पाएन । न संबैधानिक प्रतिबद्धताहरु कार्यान्वयन हुन पाए नत, संबिधान अनुसारको स्वरुपले नै आकार लिन पायो । भारतीय नाकाबन्दीको त्रास र डर भय कतिसम्म थियो भने नाकाबन्दी हटेको एकवर्षपछि शुरु भएको स्थानीय निर्वाचन मात्र होइन, त्यसपछिको संघीय र प्रदेशसभाको चुनाव सकिइसक्दा पनि मतगणना नहुन्जेलसम्म पनि आशंका रहिरह्यो । जनताले मतदान गरेका बक्सा सिलबन्दी नहुन्जेलसम्म पनि चुनाव हुन्छ कि बिथोलिदेला भन्ने त्रास रहिरह्यो ।

 

 

गतवर्ष वैशाखमा शुरु भएको स्थानीय निर्वाचन सकिन नै असोजसम्म पर्खिनु पर्यो । स्थानीय चुनाव हुन नदिन अनेक तिकडम र धोकाधडी भैरहे । तर पनि आम मतदाता निर्वाचनमा उत्साहसाथ सरिक भए । तीन चरणमा स्थानीय निर्वाचन सकिए पछि मात्र कर्मचारीले संचालन गरेका स्थानीय निकाय दुई दशकपछि बल्ल जननिर्वाचित जनप्रतिनिधिहरुबाट भरिपूर्ण भए ।

 

 

त्यसपछि प्रदेश र संघीय संसदको चुनाव दुई चरणमा भए । परिणाम आयो तर सरकार बन्न नै तीन महिना लाग्यो । कुनै पनि बेला जे पनि हुन सक्छ भन्ने शंकार  उपशंका व्याप्त रहिरह्यो ।

 

 

गत फागुन ३ गते बल्ल नयाँ नेपाल सरकार बन्यो । नेपाल नयाँ युगमा औपचारिक रुपमा प्रवेश गर्यो । संघीय सरकार बने । स्थानीय सरकार त गत वर्ष नै बनिसकेका थिए । त्यसपछि राष्ट्रियसभा निर्वाचन भयो । दुबै सदनका सभामुख र उपसभामुखहरुको निर्वाचन भयो । प्रदेशसभाहरुमा पनि सभामुख उपसभामुखहरु चुनिए ।

 

 

देशमा नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको पनि चुनाव भयो । संबिधान जारी भएपछि बनेका राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुन पाँचवर्षको लागि पुन निर्वाचित भए । यसरी केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पूर्णता पाए । नेपालको संबिधान पूर्णरुपमा कार्यान्वयनमा आयो ।

 

 

यसपछि मुलकमा संबिधानको कार्यान्वयनपछि अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा तरंग शुरु भएको छ । संबिधानले नागरिकका अधिकारलाई ग्यारण्टी गरेपछि हिजोका निरंकुश र अधिनायकवादी भावना र धारणाहरुमा परिवर्तन आयो । यतिखेर कर्तव्य निर्वाह गर्ने चरण प्रारंभ भएको छ । जिम्मेवारीकासाथ कर्तव्य, दायित्व निर्वाह नगरेसम्म र कर्मशील नबनेसम्म सुखी नेपाली र समृद्ध नेपाल संभव छैन भन्ने नयाँ जागरण जताततै सिर्जना भैरहेको छ ।

 

 

राजनीतिले संघीय लोकतान्त्रिक गणतन्त्रको एउटा निश्चित कोर्ष लिएपछि अब मुलुक विकासको चरणमा जवर्जस्त रुपमा प्रवेश गरेको छ । अब जताततै सुनिदैछ–विकास, विकास र विकास । डेलिभरि, डेलिभरि र डेलिभरि सर्वत्र सुनिदैछ । अब यताउता अलमलिने र लटरपटर अडिने अड्याउने कुनै एजेण्डा बाँकि छैनन् । विकास र डेलिभरिको राजमार्ग खुला छ ।

 

यही विकास र डेलिभरिलाई प्रधानमन्त्री केपी ओलीले नयाँ वर्ष पारेर कर्णाली अंचलको मुगु जिल्लामा अवस्थित स्वर्गकी रानी भन्ने संबोधन पाएको रारा तालबाट विश्वभर रहेका नेपाली र नेपालका शुभचिन्तकहरुलाई आह्वान गर्दैछन् । प्रधानमन्त्री ओलीले नयाँ युगमा प्रवेश गरेको नेपालको सन्देश दिन नयाँ वर्ष २०७५को पहिलो दिनलाई छानेका छन् । त्यसैले आउदो बैशाख १ गते विशेष दिन बनेको छ ।

 

 

ओलीको त्यसदिनको आह्वान नयाँ नेपाल बनाउने ऐतिहासिक संबोधन हुने अनुमान गरिएको छ । जसले १ सय ७२ देशमा फैलिएर रहिरहेका नेपालीहरुलाई एकिकृत गर्ने राष्ट्रिय जागरण ल्याउदै नेपालको विकास र समृद्धि संभव छ भन्ने संदेश दिनेछ । आउदो शनिवार तीन करोड नेपालीका ६ करोड हातहरुलाई क्रियाशील पार्ने तरंग उत्पन्न गराउने अपेक्षा गरिदैछ ।

 

 

नेपालमा शुरु भएको नयाँ युगले विगतका विकृति र विसंगतिलाई स्थायित्व, विकास र समृद्धिबाट विस्थापित गर्नेछ । कानूनको शासन र लोकतान्त्रिक संस्कृतिको जग मार्फत जहाँसुकै र जुनसुकै पेशा व्यावशाय र कार्यप्रति दत्तचित्त नेपालीहरुलाई नयाँ नेपालले अभिप्रेरित गरिरहने छ । प्रत्येक नेपाली नागरिक कामप्रति क्रियाशील र हरेकमा मैले मेरो जिम्मेवारी पूरा गर्दै काम गर्नुपर्छ भन्ने लय सिर्जना गर्ने छ । नैराश्यता, असन्तुष्टि, दरिद्रता र असभ्यता जस्ता नकारात्मक कुरा अन्त्य हँुदै जानेछन् ।

 

 

सत्ता साझेदार गरेका पार्टीहरु केही दिनमा एकिकरण हुँदैछन् । जसले जिम्मेवार थिति, संस्कार, संस्कृति, कर्मशीलता, जागरण र सकारात्मक संस्कृतिको श्रीबृद्धि गर्ने अपेक्षा गरिएको छ । त्यसैगरी हिजो सत्तामा रहेर निर्वाचन गराउने पार्टी आज प्रतिपक्ष बनेको छ । उसले निर्वाह गरेको भूमिकाको पनि प्रशंशा नगरी रहन सकिदैन ’cause हिजोको सत्तापक्ष निर्वाचन गराउन सफल बन्न नसकेको भए निर्वाचन संभव देखिदैनथ्यो ।

 

 

त्यस्तै निर्वाचन आयोग जस्ले वर्षदिन जसो लगाएर भए पनि निर्वाचन संभव बनाएर देशमा स्थिरता ल्याउन भूमिका निर्वाह गर्यो , यो पनि कम प्रशंसनीय काम होइन । संबिधानरुपी कागजमा रहेका निकायहरु निर्वाचनमार्फत जनप्रतिनिधिहरुले लदालद भरिन त्यसैले गर्दा संभव भएको हो ।

 

 

आउदो वर्ष प्रतिपक्षमा रहेका पार्टीहरु पनि सही गलत ठम्याउने र जनताका दैनिक समस्याहरुसंग प्रत्यक्ष जोडिन सकुन् । उनीहरुबाट अझ सिर्जनशील मार्ग पहिल्याउन बाटो देखाउने विश्वास नयाँ वर्षमा गर्नु एकदमै जायज हुने छ ’cause यस्ता सिर्जनात्मक काम गरेर मात्रै उनीहरुले जनताको मनमा स्थान पाउनेछन् र आगामी निर्वाचनमा चुनाव पनि जित्न सक्नेछन् । त्यसपछि उनीहरुको भूमिका प्रतिपक्षको मात्र होइन, सत्तापक्षको रुपमा पनि हुन सक्ने छ ।

 

 

देशमा यतिखेर संसदबाट बनेको केन्द्रीय सरकार छ । प्रधानमन्त्री र मन्त्री छन् । प्रतिनिधिसभा छ । राष्ट्रियसभा छ । त्यसका पदाधिकारी छन् । राजनीतिक नेतृत्वमात्र होइन, प्रशासनिक संयन्त्र नै छ । सेना, सशस्त्र–जनपद र गुप्तचर प्रहरी छन् । पूरै कार्यकाल भएका राष्ट्रपति उपराष्ट्रपति छन् ।

 

 

त्यसैगरी सातवटै प्रदेशमा प्रदेश सरकार बनेका छन् । मुख्य मन्त्री र मन्त्रीहरु छन् । संसद छ । ७ सय ६६ स्थानीय सरकारहरु एकैसाथ देशभर कार्यरत छन् । जो चल्ने चलाउने, दिशानिर्देश गर्ने र फड्को मार्न प्रयत्नरत रहने माहौल बनाउन दत्तचित्त रहिरहेका छन् । सबैलाई नयाँ वर्षमा नयाँ नेपाल बनाउने काममा सफलता मिलोस् । नयाँवर्षको हार्दिक शुभकामना !