सिके राउतप्रति किन मौन छ सरकार ?

यदि देशको बिखन्डनमा लागेका सिके राउतलाइ सरकारले कानूनी कारवाही गर्दैन भने अब नेपाली जनता आफैँ सिके राउतसँग प्रतिकारमा उत्रन बाध्य हुनेछन ।
हाडी समुदाय र मधेसी समुदायबीचमा ठुलो पर्खालको सिर्जना गर्दै देश टुक्र्याउने अभियान चलाउँने क्रममा पटकपटक राज्य विप्लवको अपराधमा पक्राउ परेका, आफूलाई वैज्ञानिक भन्ने कथित डा. सिके राउतले पछिल्लो समयमा समग्र नेपालीको प्रतिष्ठामा आच पुग्ने खालको अभिव्यक्ति सार्बजनिक रुपमा दिंदै आएका छन् । पहाडमा बस्ने नारी जाति बेश्या र नेपाली सेना कायर हुन् भन्ने उनले केहि समयपहिला दिएको अभिव्यक्तिले समग्र नेपालीको मनमा चोट पुगेको थियो ।
सिके राउतको अभियानको अभिष्ट र त्यो अभिष्ट पुरा गर्न उनको अभियानलाई साथ दिने पर्दा अगाडि र पछाडि को को हुन्अ, ब खुल्नैपर्छ, खोतल्नैपर्छ । जुन देशमा बसेर त्यही देशका बिरुद्ध विषवमन गर्ने व्यक्तिलाई राष्ट्रघाति भनिन्छ । आफ्नो सम्प्रदायको भलो चाहनेले अर्को सम्पूदायको कुभलो चाहँदैन, अरुलाई गाली गरेर, आलोचना गरेर ठूलो हुन खोज्नु मुर्खता हो भन्ने कुरा रावतले नबुझेका होलान र ?
मधेश स्वराजको नारा लगाउदै नेपाली माटोमाथि खेलबाड गर्ने उनको प्रवृत्तिले उनलाई नेपाली भन्न सुहाउछ र ? उनको बोलीमा कतै पनि नेपालीपन भेटिदैन । नेपालमाथि त्यति घृणा बोकेर बसेको मान्छेलाई नेपालको कानुनले किन सजाय दिन सकिरहेको छैन ।
साम्प्रदायिक राजनीति गर्दै नेपाली नेपाली वीचमा फाटो सिर्जना गर्ने, जातीय द्वन्द्व मच्चाएर नेपाललार्इ टुक्र्याउन्को लागि परिचालित राष्ट्रघाती बिखण्डनकारी बिदेशी दलालको एउटा एउटा अंश हुन, सिके राउत । केहि समय पहिला पहाडमा भूकम्पको क्षति भएको नाममा मान्छे तराईमा सार्न नपाइने यदि सारिएमा त्यसका विरुद्ध आफूले युद्ध गर्ने धम्की दिनसमेत पछि नपरेका यस्ता राष्ट्रघाति पनि कतै नेपाली हुन्छ र ?
नेपालीको इज्जत गर्न नजान्नेले नेपाली माटोमा उभिएर किन राजनीति गर्दैछन । पहाडियालाई तराइमा सार्दा तराईमा वन फडानी हुने, जमिन कब्जा हुनेदेखि हैजा, वेश्यावृति र आतंक मधेश भित्रने दावी गर्ने सिकेले आरोप लगाएका छन्। साथै, तराईका बासिन्दा नेपाली हैनन्, उनीहरु मधेसी हुन् र मधेश नेपाल हैन छुट्टै राज्य हो भन्दै आएका छन् । उनले तराईका नेताहरुलाई आफ्नो यो अभियानमा नसघाएकोमा बेला बेलामा आक्रोशसमेत पोख्ने गरेका छन ।
उनले सामाजिक संजालमा केहि समय पहिला लेखेका थिए – “जाबो यौटा प्लेन त रनवेबाट हटाउन विदेशी सेनालाई गुहार्ने नेपाली सेनाको वीरता र बखान त हेर” । उनले अर्को पोष्टमा लेखेका थिए, “कहिले माओवादीसँग लड्न नसकेर मन्त्र होम गर्ने, बन्दुक चलाउन नजानेर बोको चढाउने, कहिले उद्धार र राहत गर्न अक्षता चढाउने यही हो गोरखाली विरता ?” नेपालको रास्ट्रिय सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने सेनाको संगठनलाई यतिसम्म भन्नेप्रति पनि चुप रहेको नेपाल सरकारबाट देशभक्त नेपाली आक्रोशित छन्।
यो त भयो केहि समय पहिलाको कुरा अब तत्कालको कुरा गरौ, असोज ३ गते नेपालीहरुको जीत भएको महान दिनलाई कालो दिन भन्दै भूमिगत भएको भनिएको व्यक्ति सडकमा आएर फेरी पनि नेपाल टुक्राउने अभिव्यक्ति दिन्छन, तर उनलाई कानूनी कारवाही गर्ने तागत गृहमन्त्रालयसंग छैन ।
प्रहरीको खोजीको सूचीमा रहेको भनेर प्रचार गरिएको सिके असोज तीन अर्थात् संविधान दिवसको महान दिन सडकमै मंच बनाएर ठुलो स्वरमा भाषण गर्छन, मधेश नेपाल हैन, यो त एसियाको छुट्टै एउटा देश हो । तर, प्रहरी प्रशासनले केहि पनि देख्दैन । सर्बोच्चले जेलमा नराख्न र रिहा गर्न पटक टक आदेश दिएका माओवादी नेता प्रकाण्डलाई पटकपटक पक्रिन सक्ने नेपाल प्रहरी, उसकै खोजीको सूचीमा रहेको रावत सडकमा आएर चुनौती दिदा पनि केहि गर्न सक्दैन ।
कहिले नेपाली चेलीको अपमान गर्ने त कहिले नेपाली सेनाको खिल्ली उडाउने सिके रावतलाई राज्यले नै सुरक्षा त दिएको छैन भन्ने आवाज पनि बाहिर आउन थालेको छ । लुकेर रहेको मान्छे २० मिनेटसम्म भाषण गर्छ, देश टुक्राउने अभिव्यक्ति दिन्छ, फेरी गायव हुन्छ, तर पनि कसैलाई पत्तो हुदैन । सिके रावतको बिरुद्धमा आवाज उठ्न थाल्छ फेरी खोजीको सूचीमा उसलाई राखेर यो मुद्दा नै बन्द गरिन्छ ।
नेपाल र नेपाली माटोको बिरुद्दमा यति ठुलो घात गर्ने सिके राउतलाई नेपालको कानुनले किन समात्न सक्दैन ? के सम्बन्ध छ, प्रहरी, प्रशासनसंग सिके राउतको ।आज आफ्नै आमा, दिदी बहिनीलाई बेश्या भन्दै हिड्ने व्यक्तिलाई किन कसैले छुन सक्दैनन् । यदि सिके राउतलाइ कारबाही गर्न सरकार तयार छैन भने अब जनता आफैँ प्रतिकारमा उत्रन बाध्य हुनेछन ।
सिके राउतले भन्दै आएको उसको मधेश पनि नेपाल नै हो त्यहाँ बसोबास गर्ने उनको कार्यकर्ताभन्दा बाहेकका जनता अझै पनि नेपाली हुनुमा गर्व गर्दछन । पहाडिया नेपालीले मात्र हैन उनलाई तराईबासी मधेसीले पनि प्रतिकार गर्ने छन् ।आफुलाई नेपाली हुँ भनेर स्वीकार गर्न नसक्ने सिके रावतले नेपाली माटोमा बसेर नेपाली राजनीतिमाथि औला उठाएको सुहाउदैन, यसमा सम्बन्धित निकायको ध्यान जना जरुरि छ ।
को हुन् सिके रावत ?
सप्तरीको महदेवा गाउँमा जन्मेका राउत अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत रहँदा रहँदै सन् २०११ को अन्त्यतिर राजीनामा दिई नेपाल फर्किएका हुन्। युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्कफ एकेडेमिक एचिभमेन्ट अवार्ड जस्ता सम्मानबाट उनी विभूषित भएका थिए । उनी अमेरिकामा दर्ता गरिएका तथा मधेशी हकहितका लागि अन्तर्राष्ट्रिय स्तरमा कार्यरत गैरआवासीय मधेशी संघका संस्थापक अध्यक्ष पनि हुन्।
२००६ मा अमेरिकाबाट फर्किएपछि मधेशलाई नेपालबाट छुट्याएर अलग्गै देश बनाउन उनी लागे। उनका विचारहरु पनि निकै उग्र र कतिलाई आपत्तिजनक लाग्न सक्छ। उनले आफ्नो आत्मकथामा लेखेका छन्-
तिनीहरूले हामीलाई सिकाउँछन् — नेपाल हाम्री आमा हुन्, उनको लागि हामीले प्राण दिनुपर्छ; नेपाल त चोखो कुमारी हुन् कहिले पनि कसैको वशमा नपरेकी। र अधिकांश मान्छेहरू त्यही रटेर हुर्कन्छन् र यति रट्छन् कि तिनीहरूको आफ्नो दिमाग शिथिल हुन पुग्छ, तिनीहरूको दिमागमा सदाका लागि तार जोडिए झैं तिनीहरू त्यसको तलमाथि केही हेर्नै सक्दैनन्। यदि मलाई नेपाललाई मानवीकरण गरेर हेर्न नै बाध्य बनाइयो भने, म भन्न चाहन्छु — नेपाल हाम्री आमा होइनन्, नेपाल त हाम्रो रगत चुस्ने बोक्सी हुन् जसले हाम्रो भूमि, अनाज र अधिकार खोसिरहिन् र बदलामा दासता, अन्याय र गरीबी दिइरहिन्। नेपाल चोखो कुमारी रे! नेपाल त निर्लज्ज रे हो जो राती हरेक विदेशीसँग सम्भोग गर्छे तर बिहान आफ्नो कुमारीत्वको अभिमान गर्दै हिँड्छे। इतिहासको कुन कालमा नेपाल स्वतन्त्र र स्वशासित थियो? नेपालमा त अझै गोर्खालीको शासन छ, नेपाल अझै गोर्खालीको पराधीन छ, त्यहाँ स्वशासन कहाँ छ? नेपाल हैन, मधेश हाम्री आमा हुन्, जसले हामी जन्मँदा खुट्टा टेक्न भूमि दिन्छिन्, खानलाई जीवनभरि अनाज दिन्छिन्, र मरेपछि अस्थि ढाक्न माटो। मधेश हाम्रो मातृभूमि हो, नेपाल होइन।
स्वतन्त्रता कहिले पनि ढिलो हुँदैन। र, गएको दशकमा मात्र, दुई दर्जन देशहरू स्वतन्त्र भए, र यस दशकमा पनि पूर्बी टिमोर, मोन्टेनेग्रो, सर्बिया र कोसोभो जस्ता देशहरूले स्वतन्त्रता प्राप्त गरे। र मधेशीहरूलाई पनि आफ्नो दासताबाट मुक्त हुन कसैले रोक्न सक्दैन, न त मधेशलाई स्वतन्त्र हुनबाट कसैले रोक्न सक्छ।त्यसै गरी केहीले स्वतन्त्र मधेश निकै सानो देश हुने भनेर गलत हल्ला फैलाउने गर्छन्। क्षेत्रफलका आधारमा कुरा गर्ने हो भने स्वतन्त्र मधेश विश्वका सयभन्दा बढी देशहरूभन्दा ठूलो हुनेछ, इजराइल, फिजी, कुवेत, कतार, लेबनान, साइप्रस, सिंगापुर र माल्दिभ्स् जस्ता चर्चित देशहरूभन्दा ठूलो। माल्दिभ्स् त सप्तरीको एक चौथाइभन्दा पनि सानो छ। जनसंख्याको आधारमा कुरा गर्ने हो भने स्वतन्त्र मधेश विश्वका करीब एक सय पचास देशहरूभन्दा ठूलो हुनेछ; ग्रीस, पोर्चुगल, बेल्जियम, चेक रिपब्लिक, हंगेरी, बेलारूस, हाइटी, अस्ट्रिया, स्वीट्जरल्याण्ट, डेनमार्क, भुटान र नर्वे जस्ता नाम चलेका देशहरूभन्दा ठूलो। सबै दृष्टिले, मधेश विशाल छ, मधेश महान् छ।
उनले यति बेला देखि नै मधेशलाई छुट्टै देशको रुपमा चिनाउने तयारी गर्दै आएका छन् । नेपालको कानुनले प्रत्येक व्यक्तिलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता र संघ संस्था खोल्ने स्वतन्त्रता दिए पनि नेपालको सार्वभौमसत्ता र अखण्डता र विभिन्न जातजाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पर्ने वा दुरुत्साहन दिने कार्यमा रोक लगाएको छ। सार्वभौमसत्ता र अखण्डताविरोधी काम गर्नेलाई राज्यद्रोहसम्बन्धी कानुन अनुसार कारबाही गर्ने प्रावधान छ। तर, पनि देशको अखण्डतामा खलल पुर्याउदै आएका सिके रावतलाई कारवाही भएको छैन ।
सिके रावतद्वारा लिखित ‘मधेस स्वराज’ नामक किताबको पेज नं ४० मा नेपाल राज्यलाई टुक्राएर नेपाल र मधेस अलग-अलग राष्ट्र देखिने गरी नेपालको नक्सासमेत परिवर्तन गरि स्वतन्त्र मधेस बनाउने सम्पूर्ण योजना र त्यसका लागि तयारीसम्मका सम्पूर्ण योजना समाविष्ट भएको छ । सोही किताबको पेज नं १८२ मा ‘मधेशको सार्वभौम सम्पन्न स्वतन्त्र देश घोषणा कि जाए’ जस्ता माग उल्लेख भएको देखिन्छ । नेपालमा बसेर नेपाल टुक्राउने र छुट्टै देशको लागि आन्दोलन गर्ने नेपाली नेपालीबीच फाटो ल्याउने काम गर्दै आएका रावत बिरुद्द किन कुनै कानुन लाग्दैन ?
नेपाली सेना, प्रहरी र कर्मचारीलाई मधेसबाट हटाएर छुट्टै सेना, पुलिस र कर्मचारी नियुक्ति गर्ने, नयाँ सरकार गठन गरी मधेस राष्ट्रको संविधान बनाउने भनी अभिव्यक्ति दिंदै आएका रावतले आफ्ना लेखरचनासमेतबाट नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डतामा खलल पार्ने कार्य गरेका छन् |पछिल्लो समय पक्राउको डरले केहि साम्य रहेको देखिएपनि भित्रि रुपमा उनि निकै सक्रिय रुपमा नेपालको राष्ट्रियतामाथि प्रहार गर्दैछन भनि बुझ्न कुनै कठिनाइ छैन | जसको उदाहरण उनले असोज ३ गते सार्बजनिक रुपमा भाषण गरेर र फेरी गुमनाम भएर प्रस्तुत गरेका छन् | नेपाल र नेपालीको हितमा काम गर्ने भन्दै जनताको मन जितेर बहुमतको आधारमा बनेको सरकार के हेरेर बस्दै छ ?
