अपराध संहिता : चिकित्सकको संसय

 

 

डाक्टर मानिसको जीवन बचाउँने उद्देश्य लिएर चिकित्सा पेशामा लागेको हुन्छ । केही अपराध मनोवृत्ति भएका, ठग र समाजका थिगारवाहेक अधिकांश चिकित्साकर्मी स्वच्छ, सहृदयी र उच्च मानवीय चेतनायुक्त छन् । त्यसैले उनीहरूको आत्मसम्मानको रक्षा गर्नु एउटा सभ्य समाजमा राज्य र नागरिक दुवैको दायित्व हो ।

 

 

 

 

उपचारमा चिकित्सकको लापर्वाहीको कारण विरामीको मृत्यु भएमा सम्वन्धित चिकित्सकले अपराधिक दायित्व लिनुपर्ने गरी मुलुकी अपराध संहितामा समेटिएको संसोधित प्रावधानका विरूद्ध आन्दोलनमा उत्रिएका देश भरिका स्वास्थ्य संस्थाका कर्मचारीले समस्या समाधान गर्ने सरकारको वचनवद्धतापछि एक हप्ताका लागि आन्दोलन स्थगित गरेका छन् । यसले समृद्धि र स्थायित्वतिर लम्केको वामपन्थी सरकारलाई स्वास्थ्य क्षेत्रसंग सम्बन्धित समस्याको जटिलतातर्फ ध्यान आकृष्ट गराएको छ ।

 

 

नेपालमा २०७२ आश्विन ३ गते जारी भएको नयाँ संविधानसंग एकरूपता ल्याउँनका लागि विद्यमान मुलुकी ऐनमा संसोधन गर्नु सरकारको कार्यसूचिको प्रमुख विषय थियो । त्यसको अतिरिक्त स्वास्थ्य शिक्षा क्षेत्रको सुधारको माग राखेर डा. गोविन्द केसीले गरेको २७ दिन लामो हडतालले यस क्षेत्रमा जेलिएका समस्यातर्फ सरकारको ध्यान पर्याप्त रूपले आकर्षित भइ सकेको थियो । त्यसैले सरकारले सामना गर्नु परेका विभिन्न व्यवधानहरू र व्यस्तताका वाबजुद २०७५ भाद्र १ गते उपरोक्त अपराध संहिता कार्यान्वयनमा ल्याइयो ।

 

 

यो संसोधित संहिता कार्यान्वयनमा जानुभन्दा पहिले यसको मस्यौदा सार्वजनिक भइसकेको थियो । तर, यस्को घोषणा हुनुभन्दा पहिले चिकित्सा जगतले यसप्रतिको आफ्नो प्रतिक्रिया जनाएको थिएन । यसको घोषणासंगै विरामीको उपचारमा चिकित्सकहरूको लापर्वाहीप्रतिको अपराधिक दायित्वका सम्बन्धमा यसमा समेटिएका प्रावधानका विरूद्ध सम्पूर्ण स्वास्थ्यकर्मीहरू गोलबन्द भएर संघर्षमा उत्रे । यो परिस्थितिले नेपालको स्वास्थ्य सेवा क्षेत्र भित्रका गम्भिर विचलनलाई सतहमा ल्याएको छ । यो विचलनका समस्यालाई समाधान गर्न अव सरकारले चाल्ने कदमले स्वास्थ्य क्षेत्रको विकासको दिशालाई निर्देशित गर्नेछ ।

 

 

संसार भरि नै चिकित्साकर्मीहरूको विरामीप्रतिको नैतिक र कानुनी दायित्वका विषयमा बहस जारी छ । चिकित्सकहरू आफ्नो सेवा सुरू गर्नुभन्दा पहिले पश्चिमी जगतमा चिकित्सा विज्ञानका पिता मानिने हिप्पोक्रेट्स नाममा उनीहरूले लिने सपथलाई आफ्नो व्यवसायिक आचरणको मानक मान्दछन् । यो सपथले उपचार’bout विरामीको गोपनियताको रक्षा र विना दुर्भावना विरामीको सेवा गर्नु पर्ने चिकित्सकहरूको दायित्वलाई जोड दिन्छ ।

 

 

तर, आधुनिक कालमा विरामीको उपचारमा संलग्न चिकित्सकहरूमाथि उपचारको क्रममा भएका सम्भावित लापर्बाहीको अपराधिक दायित्वको विषय पनि संसारभरी नै गम्भीररूपले उठि नै रहेको छ । पश्चिमी मुलुकहरूमा पनि उपचारको क्रममा लापर्बाहीका कारण बिरामीको मृत्यु हुन गएमा, उ अशक्त तथा अपाङ्ग भएमा त्यसको निमित्त क्षतिपूर्ति तिराउँने प्रचलन छ । तर, हाम्रो समाजमा भने त्यसरी उपचारको क्रममा कसैको मृत्यु अथवा अङ्ग भङ्ग भएमा कानुन बमोजिम क्षतिपूर्ति दिलाउने व्यवस्था अहिले सम्म थिएन । अहिले आएर मात्र संसोधित अपराध संहिताले त्यस्तो लापर्वाहीलाई अपराध मानेर दण्डित गर्ने व्यवस्था गरेको हो । तर, संसोधित संहिता लागु नभइसकी त्यसका प्रावधानहरूको विरोध हुन थाल्नु दुःखद र आश्चर्यजनक दुबै छ ।

 

 

संसारका विभिन्न देशहरूमा भएको प्रचलनअनुसार स्वास्थ्य सेवा सम्बन्धी ठगी, अनुचित व्यवहार र औषधी विज्ञानले विकास गरेका प्रविधिहरूको दुरूपयोगलाई चिकित्सकहरूले गर्न सक्ने अपराध मानिएको छ र, त्यसको लागि सजाय तोकिएको छ । यी अपराधमा नदिएको सेवाको भुक्तानी लिनु, तेस्रो पक्ष समक्ष खर्चको दाबी गर्न उपचारको झुटो प्रतिवेदन तयार गरिदिनु, कुनै खास कम्पनीका औषधी अथवा सेवा प्रयोग गर्न सहयोग गर्नु वा घुष लिनु, दिएको सेवाभन्दा खर्चिलो सेवाको लागि भुक्तानी दाबी गर्नु, विमारीलाई चाहिएको भन्दा भिन्नै सेवा दिएको भन्दै त्यसको खर्च भराउँन मदत गर्नु र आवश्यकता नभएका जाँचपडताल र परिक्षणहरूका लागि भुक्तानी लिनु आदि पर्दछन् ।

 

 

त्यस्तै उपयुक्त लाइसेन्स विनै स्वास्थ्य सेवा उपलब्ध गराएमा, उपचारका क्रममा लापर्वाहीका कारण विमारीको मृत्य भएमा, विमारीको सहमति विना नै उपचार गरेमा, विमारीसंग अनुपयुक्त सम्बन्ध राखेमा या राख्न प्रयास गरेमा, विरामीसंग असम्बन्धित अवस्थाको उपचारको बील पेश गरेको पाइएमा र विरामीमाथि लागुपदार्थ र ‘स्टेरोइड’ जस्ता औषधीको ज्यादा प्रयोग गर्न अनुमति प्रदान गरेमा पनि सम्बन्धित चिकित्सकले त्यसको जवाफदेयिता लिनुपर्ने हुन्छ ।

 

 

यसको अतिरिक्त विरामीको गोपनीयता, उपचारको अभिलेख र चिकित्सकसंग विरामीले गरेको कुराकानी सार्वजनिक गरि दिएमा पनि चिकित्सकले अपराधिक दायित्व बहन गर्नु पर्ने कुरा विश्वव्यापीरूपमा स्वीकृत प्रचलन हो । त्यसै गरी कसैलाई आत्महत्या गर्न सहयोग गरेमा, गैरकानुनीरूपले गर्भपतन गराएमा र कानुनले निषेध गरेका लागुपदार्थमा गणना भएका औषधी आफूसंग राखेमा पनि चिकित्सकहरू अपराध कानुनका दायराभित्र आउँछन् ।

 

 

यी यस्ता विश्वव्यापी मान्यताहरू हुन जुन चिकित्सा क्षेत्रमा कामगर्ने चिकित्सक र अन्य स्वास्थ्य व्यवसायीहरूको लागि अनुलंघनीय छन् । मलाई लाग्छ नेपाली चिकित्साकर्मीहरूले पनि यी अपरिहार्य दायित्वबाट उन्मुक्ति खोजेका होइनन् होला ।

 

 

नेपालमा स्वास्थ्य क्षेत्रमा विसंगतिहरू छन् । ती स्वास्थ्यसेवा दिने चिकित्सकहरूको बीचमा पनि छन् र स्वासथ्य सेवा लिने जनतामा पनि छन् । नक्कली प्रमाणपत्रका आधारमा चिकित्सा पेशा अँगालेकाहरूको ’boutमा नेपाली समाज परिचित छ । देब्रे खुट्टाको शल्यक्रिया गर्नु पर्नेमा दाहिनेको शल्यक्रिया भएको कुरा पनि सञ्चार माध्यममा आएकै हुन् । शल्यक्रिया गरेपछि कैंची, कटन स्वब पेटभित्रै छोडेर घाउ सिलाउने डाक्टरहरूको वारेमा पनि समाचार नआएका होइनन् ।

 

 

के यस्ता लापर्वाहीपूर्ण र विरामीको जीवनमा खेलबाड गर्नै क्रियाकलापहरूका लागि चिकित्सकहरूले दायित्व वहन गर्नु पर्दैन । व्यवसायिक आचार र नैतिकता पालन गर्नुपर्ने दायित्व र देशका कानुन पालन गर्नुपर्ने कर्तव्यबाट बँच्न युनियन, सिण्डिकेट, सडक संघर्ष, घेराउ र भोक हडताल जस्ता हथकण्ठा प्रयोग गर्दै स्वैच्छाचारितालाई वैधानिकीकरण गर्दै जाने हो भने व्यवसायिक मर्यादा र प्रतिष्ठा कायम रहन र स्वास्थ्य सेवाको गुणस्तर बृद्धि हुन सक्छ ? यी गम्भीर प्रश्न हुन् जसलाई स्वास्थ्यसेवामा लागेका सवै जिम्मेवार स्वास्थ्यकर्मीहरूले मनन् गर्नुपर्छ ।

 

 

तर, यो समस्याको अर्को पक्ष पनि छ जसलाई उपेक्षा गर्न मिल्दैन । नेपाली समाजको स्वास्थ्य सेवाप्रतिको धारणा, अपठित, असँस्कृत, अवैज्ञानिक र मनोगतवादी छ । समाजले विरामीका स्वास्थ्य समस्यालाई सतहि, संबेदना प्रेरित र शरिर विज्ञानका नियमहरू विपरित छ । उपचारका लागि अस्पताल गएका सवै विरामीहरू एकै किसिमले स्वस्थ भएर नफर्कन सक्छन्, कति बाँचेर अङ्ग भङ्ग हुने स्थितिलाई स्वीकार गर्न बाध्य हुन्छन्, कोही नसोचिएको गतिमा स्वस्थ भएर फर्कन्छन् र कति अविश्वसनीय किसिमले र संदेहात्मक परिस्थितिमा मृत्युबरण गर्न पनि वाध्य हुन्छन् । विरामी लिएर अस्पताल जाने जो कोहीले यी सम्भावनाप्रति सजग र सचेत हुनु पर्छ ।

 

 

हिंडेर अस्पताल पुगेको मेरो विरामीलाई डाक्टरले लापर्वाही गरेर मारिदियो । डेलिभरी हुन जाँदासम्म राम्रो छ भनेको डाक्टरले लापर्वाही गरेर बच्चा पेट भित्रै मर्यो । कलरबोन भाँचिएर उपचार गर्न गएको, डाक्टरले लापर्बाही गरेकाले अपरेसन गरेपछि मेरो मान्छेको मृत्यु भयो जस्ता आरोप लगाएर हुलहुज्जत गर्ने, गुण्डा ल्याएर डाक्टरलाई हातपात गर्ने, अस्पताल ताडफोड गर्ने र ठूलो रकम क्षतिपूर्ति तिराउनको लागि प्रयत्न गर्ने जस्ता क्रियाकलाप संस्कृति जस्तै भइ रहेका छन्, नेपाली समाजमा ।

 

 

डाक्टरले मानिसको जीवन बचाउँने उद्देश्य लिएर चिकित्साशास्त्र अध्ययन गरेको हुन्छ । केही अपराध मनोबृत्ति भएका, ठग र समाजका थिगारवाहेक अधिकांश चिकित्सा सेवामा लागेका व्यक्तिहरू स्वच्छ छन् र उच्च मानवीय चेतनाका धनी छन् । त्यसैले उनीहरूको आत्मसम्मानको रक्षा गर्नु एउटा सभ्य समाजका नागरिकको दायित्व हो । त्यसैले व्यवसायिक आचार र नैतिकताबाट च्यूत भएर अपराधकार्यमा प्रबृत्त हुने चिकित्साकर्मीलाई कानुनको फन्दामा ल्याउँने प्रवधानहरूसंगै उपचारमा आफूले सोचेभन्दा फरक परिणाम निस्केर विरामीको अवस्थामा दुःखद मोड आयो भने त्यो स्थितिलाई धैर्यता र जिम्मेवारी पूर्वक स्वीकार गर्न लगाउने काम पनि कानुनले गर्नुपर्छ । त्यसो नगरी चिकित्सकलाई दुव्र्यवहार गर्ने, मानिसका मृत्यु हुने अपरिहार्य स्थितिलाई क्षतिपूर्तिको रूपमा पैसा कमाउँने माध्यम बनाउँने खालको अहिले ब्यापक हुँदै गरेको प्रवृतिमा पनि कानुनले अंकुश लगाउन सक्नुपर्छ ।

 

 

यस्तो भएन भने गम्भीर विरामीलाई अस्पतालले भर्ना नलिएर उपचार ढिलो हुने, सामान्य परीक्षणपछि रोग निदान हुने अवस्थामा पनि विस्तृत परीक्षण र रोगको अनुसन्धान गरिने हँदा उपचारको खर्च बढ्ने, दुर्गम ठाउँमा आवश्यक उपकरण र प्रयोगशालाका अभावको कारण जोखिम मोलेर पनि तुरून्तै शल्यक्रिया गर्नु पर्ने ‘एपेण्डिसाइटिस’, ‘सिजेरियन सेक्सन’ जस्ता प्रक्रिया अपनाउनबाट चिकित्सकहरू पञ्छिने हुँदा विरामीले अनावश्यक मृत्यु पनि स्वीकार्नु पर्ने हुन सक्छ ।

 

 

त्यसैले चिकित्सकहरूले अहिले राखेका मागहरूलाई सरकारलाई असफल बनाउँने बृहत डिजाइनको अंशको रूपमा हेर्नु गलत हुन सक्छ । देशमा स्थायित्व र कानुनी राज्यको सुदृढीकरणका निम्ति यो अपराध संहिताको कार्यान्वयन अति महत्वपूर्ण छ तर, यसको सम्वेदनशिल पक्षलाई यस क्षेत्रमा कामगर्ने चिकित्साकर्मीहरूको चस्माबाट पनि हेर्न जरूरी छ । जिम्मेवार स्वास्थ्य सेवा आजको आवश्यकता हो भने कानुनको विवेकपुर्ण प्रयोग पनि स्वास्थ्य सेवाकर्मीहरूको आत्मसम्मान र उनीहरूको पेशाको प्रतिष्ठाको निम्ति अपरिहार्य शर्त हो ।