नियतमा खोट छ गृह प्रशासनको

 

अनाहकमा एउटा अस्वस्थ मान्छेलाई अपराधी बनाएर सरकार स्वयं अपराधीको पक्षमा उभिन पुगेको छ । दोषी उम्काएर निर्दोषलाई फसाउनुले सरकारको बदनियत सावित हुँदैछ ।

 

 

कुरो त्यति बेलाको हो, जति बेला हालका प्रमुख प्रतिपक्षी दलका नेपाली काङ्ग्रेसका सभापति, पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काङ्ग्रेसको एकमना सरकारको शक्तिशाली गृहमन्त्री थिए, प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका प्रमुख सत्ता सञ्चालनका प्रमुख सहयोगी ।

 

 

तत्कालीन प्रमुख बिपक्षीमा बलिया मसल्स र हात पाखुरी भएको एमाले थियो, एमाले प्रतिपक्षी दलको रुपमा । प्रतिपक्षी भए पनि यति बलियो र शसक्त थियो कि टुंडिखेलको बार, रत्नपार्कको रेलिङ क्षणभरमा ध्वस्त पार्ने क्षमता राख्थ्यो । टेलिफोनको बुथ पलभरमा आगजनी गर्ने ल्याकत देखाउँथ्यो । बहुदल आगमनपछिको काङ्ग्रेसको गिरिजाप्रसादको एकमना सरकारको अहंकार अनि बलियो जल्दो बल्दो बलिस्ठ हात पाखुरी भएको प्रमुख प्रतिपक्षीको आक्रमक सिर्जनात्मकता खुब म्याच गरेको थियो, तत्कालिन राजनीतिमा ।

 

 

एमालेले आयोजना गरेको ध्वंसात्मक सृजनात्मक बिरोध यति उग्र र दमदार हुन्थ्यो कि सरकार गोलीले त्यो सिर्जनात्मक क्षमताको प्रतिवाद गर्दथ्यो । “मलाई पनि बेसी झर्न मन लाथ्यो, बाउले पानी लाउन जा खेतमा“ भने जस्तै भाथ्यो तत्कालीन गृहमन्त्री शेरबहादुर देउवालाई गोली चलाउने बहाना । प्रमुख प्रतिपक्षीको रचनात्मक छाया सरकारको नेतृत्वले सडकमा बबाल गथ्र्यो अनि जीउधन, र जनताको शान्ति सुरक्षाको नाममा सरकार गोली दाग्थ्यो प्रदर्शनकारी सर्वसाधारणप्रति ।

 

 

ध्वंसात्मक प्रतिस्पर्धा नै थियो मैमत्त सरकार र उदन्ड प्रतिपक्षीवीच । त्यही बेला झ्यालमा बसेर प्रदर्शन हेरी रहेका आठ बर्षका बालक अनिश शाक्य प्रहरीको गोली लागि मारिए । प्रमुख प्रतिपक्षी आगो थियो, त्यसमा सरकारले बालक अनिश शाक्यको हत्या गरि घिउ थपिदियो ।

 

 

सरकार यति छिटो बदनाम भयो तर, सरकारको रक्षा कवच मानिएका गृह मन्त्रालय हाक्ने देउवा बोले गोलीको आँखा हुँदैन । आखा नभएको गोली जसलाई पनि लाग्न सक्छ । शेरबहादुर यस्ता पात्र र प्रवृति हुन उनमा बोल्ने ढंग र तौर तरिका छैन, बोलीमा संयम धैर्यता र लगाम कहिल्यै छैन । असमयमा अमर्यादासहित बोल्छन् र विवादित बन्छन् । कतिबेला कस्तो कुरा गर्नु पर्ने हो जान्दैनन् । जिव्रोको अक्षमता एउटा र भिन्न कुरा तर शैली प्रवृति अनि बौद्धिक अक्षमता अर्को कुरा । वाण्ीामा अक्षम भएर नै देउवा आजसम्म सधै विवादमा छन ।

 

 

तत्कालीन त्यो बोली गोलीले आँखा देख्दैनले पनि सरकारको क्रुरता झन देखियो सरकार संयम छैन दमनकारी भाषा र भेषमा छ भन्ने भयो र सर्वत्र जनसाधारणदेखि बौद्धिक बर्गले पनि गम्भीर आलोचना गर्यो आपत्ति प्रकट गर्यो । हुन त बोलीमा तेज र चतुर थुप्रै नेता थुप्रैपटक विवादमा छन ।

 

 

एक पटक नेपाल टेलिभिजनको अन्तर्वार्ताको क्रममा सगै रहेका तत्कालीन एमाले नेता मदन भण्डारीतर्फ इंंगित गर्दै यी कम्युनिस्ट मु … कम्युनिस्ट भन्ने निकृष्ट शब्दसमेत बोलेका थिए देउवाले । तत्कालिन गृहमन्त्री शेरबहादुर देउवाको त्यो दम्भयुक्त बोली गोलीको आँखा हुदैन भन्ने भाषा आज लोकतान्त्रिक रुपान्तरणमा रहेको कम्युनिस्ट पार्टी र सरकार पनि दोहोर्याउँदै ।

 

 

हुन त त्यो समयमा गृहमन्त्री शेरबहादुरसंग आफैले मान्छे मारेको मार्न लगाएको अनुभव थिएन । पछि मान्छे मारेको अनुभव पनि बटुले तर, अहिलेका गृहमन्त्री जस्तो रगतको आहालमा पौडी खेलेर १७ हजार मान्छेको रगतको होली खेलेर ती त्यो ओहोदामा पुगेका हैनन । त्यसैले मान्छे मार्ने सवालमा शेरबहादुरभन्दा धेरै शक्तिशाली र अनुभवी छन, बहालवाला गृहमन्त्री रामबहादुर थापा ।

 

 

सरकारमा जो गए पनि बोलिने भाषा र गरिने व्यबहार अनि फेरीने रुप एकै हँुदो रहेछ । ठ्याक्कै उस्तै सबै सरकार विगतदेखि वर्तमानसम्म भनौं सत्ताको आदिदेखि अनन्तसम्म । सरकारमा प्रायः जानेहरूलाई मान्छे मार्ने वैधानिक लाइसेन्स प्राप्त हुन्छ, सरकार वैधानिक हत्यारा हुने हैसियत राख्छ तर, त्यो वैधानिकता अत्यन्तै प्रतिकुल चरम अराजकता र आफ्नो कावुभन्दा बाहिर परिस्थिति गएमा, देश तहस नहस हुने, घटना, थुप्रै र व्यापक जीउधनको क्षतिहुने विषम स्थिति पैदा भएमा बल प्रयोग गर्न बाध्य हुन्छ, हुनुपर्ने हो । तर, हरेक सरकारहरु बाध्यता भन्दै सौखमा गोली चलाउँछन । निर्मम बाध्यता एउटा कुरा तर, सामान्य र स्थिति अनुकुल हँुदाहुदै, सरकार गोलीको निर्मम भाषा बोल्छ, सामान्य भिडमा उग्र नारा लाग्न साथ प्रहरी गोलीको भाषा प्रकट गरिहाल्छ । प्रहरीको सामान्य उपस्थितिले पुग्ने ठाँउमा डण्डाले तर्साउदा पुग्ने अवस्थामा डण्डा, वर्साउछ, अनि डण्डा काफी हुने ठाँउमा गोली नै ठोक्नु आफ्नो कर्तव्य सम्झन्छ ।

 

 

देशमा विभिन्न पार्टी र नागरिकले गर्ने प्रदर्शन अराजक भएमा त्यसलाई शान्त पार्न सबभन्दा पहिले माइकिंगसहितको चेतावनी, त्यसपछि पानीको फोहोरा, त्यसपछि क्रमशः लाठी चार्ज, अश्रुग्यास, रब्बरको गोली, हवाई फायरिंग र अन्त्यमा मात्र गोली चलाउने (त्यो पनि घुंडाभन्दा मुनि)अन्तराष्ट्रिय मान्यता र सिद्धान्तलाई मधेश आन्दोलनदेखि हालसम्मका आन्दोलन र प्रदर्शनमा लोकतान्त्रिक वामपंथी र गणतान्त्रिक सरकारले यो कुराको हेक्का नराख्दै, बेवास्ता गर्दै सिधै नागरिकको टाउको र छातिमा गोली प्रहार गर्दैछ ।

 

 

युवा बालबालिका भनेको राज्यका होनहार सम्भावना र सम्पत्ति हुन जसको संरक्षण र अवसर दिने सरकार हो । उ पनि बलात्कारी अपराधी झै हत्या गर्छ । १४ वर्षका किशोरको कञ्चनपुरमा प्रहरी गोलीले भएको हत्याले राज्य र अपराधी बीचको भेद कति फरक पर्यो त ?

 

 

बलात्कार जस्तो जघन्य अपराधसमेतमा राज्यले विवेक गुमाएपछि, संवेदनहिन बनेपछि बाँकी त के नै अपेक्षा रह्यो र राज्यप्रति ? छोरीचेलीहरु विशेष गरि महिला कहाँ कहाँबाट भाग्ने ? को कोसंग जोगिने ? कतिबेला छलिने ? अकालमा र क्रुरतापुर्वक मृत्युवरण गर्न पुगेकी निर्मला पन्तको न्यायको लागि मात्र नभई अरु हजारौं छोरी चेली निर्मलाको नियति भोग्न नपुगुन भनेर पनि हो ।

 

 

सामाजिक चेतना र राज्यको ध्यान आकर्षण गर्न कञ्चनपुर लगायतको देशको विभिन्न भागको प्रदर्शन, बिरोध र खबरदारी । तर, यो बिरोधले सरकार तर्सेको छ । न्यायको लागि प्रदर्शन सरकार गिराउन र ढाल्ने खेल र खराव तत्वको घुसपैठ भनेर सरकार कडा र दमन गर्न लागि परेको छ, सरकार ।

 

 

हामीलाई थाहा छ सत्ता तिम्रो, सुरक्षा निकाय तिम्रो, शक्ती तिम्रो, प्रशासन तिम्रो यावत साधन र श्रोत तिम्रो तथापि तिमी निरीह जनताको आवाजसंग तर्सन्छौ ।

 

 

जनता तिम्रा होइनन् र ? जनताको न्यायिक आवाजलाई दबाउने हैन सम्बोधन आवश्यक हुन्छ । दमन र प्रतिरोधले जनतापछि हट्छन भन्ने भ्रम र मुर्खता नपाल । तिम्रो न्याय सम्पादन क्षमताप्रति जनताले प्रश्न उठाए भने त्यसको निराकरणको लागि विश्वसनीय आधार र प्रमाण पुर्याउ ।

 

 

अबोध बालीका बलात्कार र हत्या गर्नेलाई जोगाउन जनताको छातीमा गोली दाग्नु र कर्फ्यु लगाएर दोषी उम्काउदै निर्दोष मार्न अलिकति लाज पनि लाग्नु पर्ने हो । गोली दागेर जनताको सेवक बताउनु सरकारको कुरुप हर्कत हो । यस्ता कुरुप हर्कतले अधिनायकवादको ढोकातर्फ देशउन्मुख नहोला भन्न सकिन्न ।

 

 

अपराध र अपराधीसंग त डराउनु पर्छ नै अब त दण्डहिनतासंग पनि उत्तिकै डराउनु पर्छ । अपराधी जोगाउन, भगाउँन या लुकाउँन किन नागरिकमाथि गोली ठोकिँदै छ सरकार ? नेपालमा मृत्युदण्डको कानुन त छैन बरु बलात्कारी, भ्रष्टाचारीलगायतलाई मृत्युदण्ड दिने कानुनको माग भएको छ ।

 

 

सरकार मृत्युदण्ड दिन्छ अपराधीलाई होइन, न्यायमाग्नेलाई । कञ्चनपुरको घटना र परिघटना राष्ट्रिय र अन्तरराष्ट्रिय लज्जाको विषय हो । घटनापछि सरकार एउटा मानसिक रोगीलाई देखाएर जसरी छलिन खोजेको छ अनि सरकार आफ्नो दायित्वबाट च्युत भएको भनेर आवाज उठाउनेलाई गोली उपहार दिएको छ । जसले हाम्रो सामाजिक न्यायको आवाजमाथि ठुलो बज्रपात भएको छ ।

 

 

सामाजिक न्यायको बोली गोली खाएर बन्द होला र सरकार ? न्याय, प्रशासन र प्रहरीको सेवा प्रभावकारी बनाउने कि गोली ठोकिँदै सहिद घोषणा गरेर पैसा दिनुु न्यायोचित ? संयम, धैर्यता, अनुसन्धान र खोजमा पादर्शिता कि ? एक अमुक पात्र खडा गरेर विषयान्तर गर्नु बुद्धिमानी होला र ?

 

 

मानवीय क्षति र अनाहकमा कोही मारिनु र दोषी करार गरिनु सरकारको उपलब्धी हुन्छ र ? अनाहकमा एउटा अस्वस्थ मान्छेलाई अपराधी देखाउनु सरकार स्वयं अपराधीको पक्षमा हुनु हो । दोषी उम्काएर निर्दोषलाई फसाउनुको अर्थ के ? सरकारको बदनियत सावित हुँदैछ । सरकार ! सियो चोर्नेले फाली चोर्छ, फाली चोर्नेले घर फोर्छ सरकार घर फोर्ने कलामा निर्पुण बन्दैछ जसले अनिष्टको संकेतका् रुपमा आकाशमा कालो बादल देखिदैछ ।